थपलियाले लिए मन्त्रीको शपथ

मकवानपुर । वाग्मती सरकारमा नेकपा एमाले सहभागी भएको छ । एमाले वाग्मती संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजनामन्त्री पदको शपथ लिएका छन् । शनिबार साँझ उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । केन्द्र सत्ता समीकरणअनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका थपलियालाई मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री थपलियाको परिचय
विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका जगन्नाथ थपलिया ४ मंसिरमा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । चितवनका पुराना कम्युनिस्ट नेता स्व. जागृतप्रसाद भेटवाल (जेपी)को झल्को मेटाउने थपलिया ‘जेएन’ उपनामले पनि परिचित छन् ।

२० साउन २०१३ सालमा जन्मिएका थपलियाका बुवा धर्मानन्द थपलिया र आमा प्रेममाया थपलिया हुन् । उनी २०२८ सालमा दोलखाको खिमावती माविमा स्ववियु सचिव बनेर विद्यार्थी राजनीतिमा उदाएका थिए । थपलिया २०३१÷३२ सालसम्म आइपुग्दा तत्कालीन कम्युनिस्ट पार्टी कोअर्डिनेसन केन्द्रमा आबद्ध भएका थिए । उनी २०३६ सालमा मिनभवन क्याम्पसको स्ववियु सभापति भएका थिए । २०३९ सालमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिव भएपछि २०४० सालदेखि ४४ सालसम्म चार वर्ष राजनीतिका कारण मुद्दा खेप्नु परेको थियो ।

मुद्दाका कारण थपलियाले केही समय केन्द्रीय कारागारमा बस्नुपरेको थियो । थपलियाले पटकपटक गरी पाँच वर्ष जेलजीवन बिताएका थिए ।

राजनीतिलाई कमाइको पेसा बनाइनुहुँदैन भन्ने धारणा अवलम्बन गर्ने थपलिया सुरुमा शिक्षण पेसामा आबद्ध थिए । जनजीवन मावि खैरहनी चितवनमा २०४३ सालदेखि २०५१ सालसम्म प्रधानाध्यापक भएर काम गरेका थिए । व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनले २०६५ देखि २०६७ सालसम्म चितवन, भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस प्रमुखको जिम्मेवारीमा समेत रहेका थिए । यस्तै २०६८ सालमा मदन भण्डारी फाउन्डेसन चितवनको सस्थापक अध्यक्ष पनि भए ।

लामो समय नेकपा एमाले चितवन जिल्ला कमिटीमा प्रभावशाली भूमिका खेल्दै आएका उनी २०७० देखि २०७४ सम्म चार वर्ष एमाले जिल्ला कमिटीको नेतृत्वमा पनि रहेका थिए । मुलुकमा भएका दुई ठूला आन्दोलन जनआन्दोलन २०४६ र २०६२÷६३ मा नेतृत्वदायी भूमिका खेलेका थिए । उनी २०७३ सालदेखि करिब साढे तीन वर्ष वाग्मती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारीमा रहे ।

उनले १४ पुस २०७९ सालमा नेकपा एमाले वाग्मती प्रदेशसभा दलको नेता चयन भए भने २६ पुस तत्कालीन सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । हाल थपलिया नेकपा एमाले केन्द्रीय सदस्य, भरतपुर महानगर पालिका इन्चार्ज एवं पार्टीको केन्द्रीय शिक्षा विभाग उपप्रमुखका रूपमा पार्टीमा क्रियाशील छन् ।

उनले अमेरिका, चीन, सिंगापुरलगायतका देश भ्रमण गरिुकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६५ प्रतिशत मत खस्यो