मरूभूमि त बन्दै छैन मुलुक !

नेपाल श्रमस्रोतको मुलुक बन्दै छ । बौद्धिक स्रोत स्थायी रूपमा पलायन हुँदै छ । दैनिक औसतमा ३ हजार युवायुवती मुलुकबाट बाहिरिन्छन् । ‘प्लस टु’पछि क्याम्पस पढ्ने विद्यार्थी पाइन मुस्किल छ । गाउँघर रित्तिनेक्रम जारी छ । बूढाबूढी र बच्चाबच्ची मात्र गाउँमा देखिन्छन् । श्रमिक बोकेका जहाज आकाशतिर जति उकालो लाग्छन्, उति नै मुलुकको अर्थतन्त्र ओरालो लागिरहेको छ । मुलुकको वैदेशिक ऋणको भारी चुलिँदो छ ।

नैतिकता, इमान र प्रतिबद्धता हावामा उडिरहेको छ । भ्रष्टाचार, कमिसनखोर, अराजकता र बेथिति सिस्नुझैं मौलाउँदै गएको छ । मुलुकव्यापी आर्थिक मन्दीका कारण कसैको अनुहारमा उत्साह छैन । राजनीतिज्ञहरू महाठगमा परिणत हुँदै गएका छन् । यस्तो गति, सोच, कार्यशैली र यिनै नेतृत्व रहेमा अबका १० वर्षमा मुलुक सोमालिया बन्छ । मुलुक उठाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने र अघि बढ्ने बेलामा पार्टीका शीर्ष नेता एकले अर्कोलाई सिध्याउने खेलमा लिप्त छन् ।

अहिले छिमेकी मुलुक भारतबाहेक अन्य मुलुकमा रोजगारीको सिलसिलामा ७ लाख ७१ हजार ३ सय २७ जना युवा बिदेसिएका छन् । भारतमा परिवारसहितका ८० लाखभन्दा बढी नेपाली श्रम गरेर बाँचिरहेका छन् । मुलुकमा रोजगारीका अवसर बाँकी देखिँदैनन् । राज्य उदासीन छ, यस मामलामा । संविधानले रोजगारीको हकलाई मौलिक हकका रूपमा प्रदान गरेको छ । सरकारले बेरोजगारी घटाउने भाषण र प्रतिबद्धता जाहेर गर्छ, तर फगत ती कागजी र नाराबाजीमै सीमित छन् । यदि, यस्ता भाषण र नाराबाजी हेर्ने हो भने नेपालको विकासले विश्व ढाकिसक्ने थियो ।

अहिले मुलुकमा भइरहेको विकास शतप्रतिशत ऋणबाट भइरहेको छ । बाटो सफा गर्ने, नयाँ बाटो निर्माण गर्ने र प्रशासनिक खर्च चलाउने पैसासमेत ऋणभारबाट चलिरहेको छ । तर, मुलुकमा देखाउनका लागि र हात थाप्नका लागि गरिबी निवारण कोष खडा गरिएको छ । रोजगारी सिर्जना गर्ने, विभिन्न निकायसँग समन्वय गर्ने र रोजगारी क्षेत्रलाई बढाउने भनिएको छ । स्थानीय जनताले व्यावसायिक, प्राविधिक र सीपमूलक तालिम पनि पाउन सकिरहेका छैनन् ।

स्थानीय तहमा रोजगार सूचना केन्द्रहरू स्थापना गर्ने भनिएको छ । बस यति भनेपछि पुग्यो । त्यस दिनको शासन व्यवस्था कानसम्म पवित्र भयो । सुशासन आएजस्तै भयो । शान्ति छाएजस्तै भयो । कृषि क्षेत्र दिनानुदिन संकुचित हुँदै गएको छ । कृषिप्रधान मुलुकमा कृषिमा संलग्न जनसंख्या ५० प्रतिशत मात्र छन् । निकै गिर्दो छ, यो प्रतिशत !

सबै उपभोक्ता पसलमा झुम्मिएका छन् । अहिले त पसलमा हरिया तरकारी फल्छन् । चामल जुट र प्लास्टिकका बोरामा फलिरहेका छन् । घरअघिल्तिर रहेको करेसा बारीमा धूलो उडिरहेको देखिन्छ ।
(नवरत्न शाक्य, धुलिखेल, हाल मलेसिया)

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हरिकृष्ण व्यञ्जनकारको प्रतिबद्धता : सम्पदा संरक्षणदेखि चिल्ला सडकसम्म