मड्रिड । स्पेनिस क्लब रियल मड्रिडले पनि कोरोना भाइरस (कोभिड–१९)का कारण क्लबको आम्दानीमा आउने गिरावटलाई ध्यानमा राख्दै खेलाडीको पारिश्रमिक कटौती गर्ने निर्णय गरेको छ ।
यसअघि स्पेनका दुई क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले पनि खेलाडीको पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो । दुवै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो । रियलले २० प्रतिशतसम्म खेलाडीको पारिश्रमिक कटौती गर्ने निर्णय गरेका छन् । क्लबको आम्दानीमा गिरावट आउने भएपछि १० देखि २० प्रतिशतसम्म पारिश्रमिक कटौती गर्ने निर्णय गरेको हो । पछिल्लो अवस्थालाई हेरेर रियलले फुटबल टिम र बास्केटबल टिमका खेलाडीको तलबमा कटौती गरेको हो ।
रियलको शीर्ष टोली, बास्केटबलको पहिलो टिमका खेलाडी, प्रशिक्षक र कप्तानको तलब १० देखि २० प्रतिशत कटौती गर्न क्लबको बोर्ड बैठकले सहमति गरेको क्लबले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । क्लबले सिजन पुनः सुरु भएको अवस्थामा १० प्रतिशत र सिजन अन्त्य भएको अवस्थामा २० प्रतिशित पारिश्रमिक कटौटी गर्न खेलाडी, प्रशिक्षक र कर्मचारीले निर्णयमा सहमति जनाएको यो कठिन अवस्थामा साथ दिने सबैमा क्लबले धन्यवादसमेत ज्ञापन गरेको छ । विश्व खेलकुद नै अहिले ठप्प छ । स्पेनिस ला लिगा मार्चसम्मका लागि स्थगित गरिएको छ । लिग सुरु हुने वा नहुने अनिश्चित बनेको छ ।