कोशीमा विशेष अधिवेशन आह्वानः मुख्यमन्त्री कार्कीले लेलान् त विश्वासको मत ?

इटहरी । कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सभाका एक चौथाइभन्दा बढी सदस्यको मागनुसार आगामी ६ वैशाखका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।

‘कोशी प्रदेशसभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूको मिति २०८०।१२।२६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ः०० बजे कोशी प्रदेशसभाहल विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघीय सरकारमा सत्ता गठबन्धन हेरफेर भएसँगै त्यसको प्रभावमा परेको कोशीमा पनि सरकार परिवर्तनको चलखेल भइरहेको छ । एमाले–माओवादीका ५२ सांसदले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराइसकेका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई संसद्का रूपमा समर्थन गरेका माओवादी र एमालेका सांसदहरूले समर्थन फिर्ता लिएसँगै विशेष अधिवेशनको माग गरेका थिए ।

एक चौथाइ बढी सदस्यहरूले विशेष अधिवेशनको माग राखेपछि अधिवेशन आह्वान गरिएको हो । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता श्रेष्ठका अनुसार बिहीबार ६ वैशाख २०८१ दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशन हुनेछ ।

गत २७ असोजमा एमालेका ३९ जना सांसद र नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहका आठ जना सांसदसमेत गरी ४७ जना सदस्यको समर्थनमा केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गत १ कात्तिकमा विश्वासको मत दिएको माओवादी केन्द्र र एमालेले सोमबार समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अल्पमतमा परेको एमालेको दाबी छ । अब मुख्यमन्त्रीले विश्वासको मत माग्नुपर्ने एमालेको माग छ । मुख्यमन्त्रीले विश्वासको मत नमागे स्वतः उनी पदमुक्त हुने एमालेले दाबी गर्दै आएको छ ।

२८ असोजमा सरकारमा सहभागी भए पनि एमाले १८ फागुनमा सरकारबाट बाहिरिएको थियो । मुख्यमन्त्री कार्कीले माओवादीसहितका गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको थिएन । पछिल्लोपटक केन्द्रको गठबन्धन परिवर्तन भएसँगै कोशीमा पनि सरकार परिवर्तनको छलफल चलेको थियो । पटकपटकको छलफलपश्चात गत सोमबार माओवादी र एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएसँगै विशेष अधिवेशनको माग गरेको थियो ।

एमाले–माओवादीले प्रदेश प्रमुखसमक्ष एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीको वैकल्पिक दाबी पेस गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमेश्वरको मेयरमा कांग्रेसका मानन्धर र उपमेरमा एमालेकी बस्नेत निर्वाचित