काठमाडौं । सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा सोमबार राति अबेरसम्म भएको आगलागी घटनापछि त्यस दिन ड्युटीमा खटिएका एक जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)सहित १३ जनालाई सोधपुछका लागि सशस्त्र मुख्यालयमा झिकाइएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका र त्यस दिनको ड्युटीमा रहेका भण्डार महाशाखामा कार्यरत एसपी राजेन्द्र श्रेष्ठसहित ११ र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मेनगेटमा खटिएका दुई जनालाई सोधपुछका लागि मुख्यालय झिकाइएको हो । सोधपुछका लागि झिकाइएकामा भण्डार महाशाखाबाट एसपी श्रेष्ठसहित सात जना छन् ।
भवनको बीचमा रहेको कोठाबाट सानो मात्रामा धुवाँ आएको केही सेकेन्डभित्रै ठूलो मुस्लो देखिएको सीसीटिभी फुटेजमा देखिएको छ
आगलागी घटनापछि सशस्त्र प्रहरीको कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा गठित ९ सदस्यीय समितिले छानबिन गरिरहेको छ । समितिले मंगलबार बिहानैदेखि घटनास्थललाई सिल गरेको छ भने सुरक्षाका लागि नयाँ टोली राखिएको छ ।
छानबिन समितिले सो स्टोरको सुरक्षार्थ राखिएको सीसीक्यामेराको फुटेजसमेत अध्ययन गरिरहेको सशस्त्र मुख्यालयले जनाएको छ । सो फुटेजमा भवनको बीचमा रहेको कोठाबाट सानो मात्रामा धुवाँ आएको केही सेकेन्डभित्रै ठूलो मुस्लो देखिएको र बाहिनीभित्र रहेका सुरक्षाकर्मी तत्काल घटनास्थल पुगेको देखिएको छ । सो आगलागीबाट फ्री स्केलका सामान, विपद् उद्धारका सामानसमेत जलेर नष्ट भएका छन् ।
यसका साथै आगलागीबाट क्षति भएका सामानको विवरण संकलन गर्ने कार्यसमेत तीव्र रूपमा अघि बढाइएको र प्रयोगमा ल्याउन मिल्ने सामान छुट्याई सिल गरी सुरक्षित स्थानमा राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले बताए ।
उनका अनुसार समितिले भण्डार महाशाखामा रहेका सम्पूर्ण सक्कल अभिलेखको अध्ययन गरी के–कति सामान रहेको र कति क्षति भएको भन्ने विवरणसमेत संकलन गरिरहेको छ ।
सशस्त्र प्रहरी बलको मुख्य स्टोर हलचोकमा रहेकामा केही वर्षअघिदेखि शाखा स्टोरका रूपमा सो ठाउँमा जिन्सी सामान भण्डारण गरिएको थियो । केही फ्री स्केलका सामान भण्डारण गरिएको र त्यसको पूर्ण प्रक्रिया समाप्त नभएकाले मातहत कार्यालयमा पठाउने तयारीको अवस्थामा अचानक आगलागी भएको सशस्त्र मुख्यालयले जनाएको छ ।
उता, घटनालाई अतिरञ्जित गर्न खोजेको भन्दै सशस्त्र प्रहरीले दुःख व्यक्त गरेको छ । आफ्ना कर्मचारीलाई वितरण गर्न तयारी अवस्थामा राखिएका सामान अचानक जलेर संगठनलाई अपूरणीय क्षति भएका बेला यसलाई तोडमोड गरेर शंकास्पद भन्दै घटनालाई मोड्न खोजेकामा सशस्त्र प्रहरीका एक उच्च अधिकारीले दुःख व्यक्त गरे । ‘यी सामान टेन्डरदेखि खरिद गरेर स्टोरमा राख्दासम्म सबै विधि र नियमसंगत छन्, न त यसमा कुनै नियामक निकायले प्रश्न नै गरेको छ, यस्तो अवस्थामा शंकास्पद भन्दै प्रचारबाजी गरिनु संगठनलाई सुनियोजित ढंगले बदनाम गर्न खोजेको रूपमा हामीले लिएका छौं,’ ती अधिकारीले भने ।