देशको विकास क्षेत्रीय, जातीय, लैंगिक रूपमा असमान भएका कारण जनताको क्षमता विकास र शासन प्रणालीका प्रत्येक पक्ष र चरणमा विविध तप्काका जनताको समान सहभागिता हुन नसकेका कारण देशमा भौतिक, सांस्कृतिक एवं क्षेत्रीय विकास समान रूपमा हुन सकेको छैन । सांस्कृतिक सम्पदाको संरक्षण, विकास र विस्तार अहिले राजनीतिक, आर्थिक तथा सामाजिक मुद्दाका रूपमा उठेको छ । प्रकृतिले हाम्रो देशलाई यसरी बाँडेको छ कि हाम्रा प्रत्येक हिमचुचुरा, बेंसी, पहाड, उपत्यका र समथरमा बेग्लाबेग्लै खालको बसोबास, खेतीपाती, रहनसहन, भाषाभाषी, चाडबाड र खानपान हुर्र्किएको छ । भौगोलिक विविधताका साथै मानवीय, सांस्कृतिक, पर्यावरणीय, धार्मिक र कार्यजन विविधता देशको अनुपम सम्पदा बनेका छन् । विकास र बसोबासको नियमअनुसार सबै जातजाति देशभर सूक्ष्म रूपमा छरिएर रहेका छन् । मिश्रित समाज विकास हुँदै गएकाले कुनै पनि जिल्ला र क्षेत्रमा एउटै जातजातिको बाहुल्यता र संस्कृतिको बोलवाला छैन । यसकारण सबै जातजाति अल्पसंख्यक जातजातिका रूपमा रहेको पाइन्छ ।
प्रत्येक हिमचुचुरा, बेंसी, पहाड, उपत्यका र समथर भूभागमा बेग्लै खेतीपाती, रहनसहन, भाषाभाषी, चाडबाड, खानपान जस्ता सांस्कृतिक विविधता हुर्किँदै विकास भएका र अटल बनेका छन् । संस्कृति व्यक्ति र समुदायको पहिचान बनेर रहेको छ । प्रत्येक संस्कृति नेपाली संस्कृतिका रूपमा बिस्तारित हुँदै गएका छन् । झन्डै एक सयभन्दा बढी किसिमका भाषाभाषी मात्रै छन् । संस्कृति, भाषाभाषी तथा संगीत, कलासाहित्य हाम्रा अमूल्य निधि हुन् । ऐतिहासिक कालदेखि रहिआएको धार्मिक सहिष्णुता हाम्रो अनुकरणीय सम्पदा हो । शिक्षित जनता र सूचना सञ्चार प्रविधिको विकासले चेतनामा वृद्धि र परम्परागत पेसाप्रतिको वितृष्णाले सांस्कृतिक संरक्षण र उपयोग आज चुनौती बनेर आएको छ । चीरकालदेखि हुर्किएको जातीय एवं सांस्कृतिक सद्भावलाई जोगाइराख्नु आमनेपाली र सरकारको कर्तव्य बनेको छ ।
नेपाली समाज धेरै जातीय समुदाय र सांस्कृतिक विविधताको भण्डार हो । प्रत्येक सामाजिक समूहको आफ्नो पहिचान र व्यक्तित्व हुन्छ । आफ्नै रहनसहन, खानपान, संस्कृति, भाषा, साहित्य र भौगोलिक क्षेत्रसमेत हुन्छ । मानिस आफ्नो संस्कृतिबाट भिन्न वा अलग भएर रहन सक्दैन । र त, विदेशमा पुगेका नेपाली संस्कृतिप्रति भुतुक्क हुने, मिलेर मनाउने र रमाउने गर्दछन् । यसैले भन्न सकिन्छ संस्कृति मानवीय सभ्यताको परिचय हो र मानिस बाँच्ने र बाँचिरहने आधारशीला पनि हो । सांस्कृतिक बहुलता भनेको समाजमा धेरै संस्कृतिको उपस्थिति, सबै संस्कृतिप्रतिको समान सम्मान र सबै संस्कृतिको समान संरक्षण र विकास गर्ने सिद्धान्त, मान्यता, विचार, संस्कार र व्यवहार सांस्कृतिक बहुलवाद हो । अर्थात् जुन समाजमा धेरै संस्कृतिबीच समानता र सहअस्तित्वको आधारमा स्वस्थ र सुमधुर सम्बन्ध रहन्छ त्यो नै सांस्कृतिक बहुलवाद हो ।
सांस्कृतिक बहुलवाद बहुसांस्कृतिक समाजमा सबै संस्कृतिको समान संरक्षण र विकासको वकालत गर्ने एक सिद्धान्त हो । यसले संस्कृतिलाई राष्ट्रिय सम्पदा, राष्ट्रिय पहिचान र राष्ट्रिय एकताको बलियो आधार मान्दछ । सांस्कृतिक बहुलवादले आफ्नो संस्कृति मात्रै सर्वोत्तम हो भन्ने भावनालाई भन्दा सबै सांस्कृतिक मूल्य र सांस्कृतिक विविधतालाई महत्व दिन्छ । सबै भाषा, कलासंस्कृति र साहित्यको समान ढंगले संरक्षण र विकास गर्ने मनसाय र कर्मलाई जोड दिन्छ । साथै, सबै संस्कृतिबीच समानता, अन्तरनिर्भरता र सहअस्तित्वको आधारमा आपसी सम्बन्ध विकास गर्न सकिन्छ भन्ने विश्वास गर्दछ । यसर्थ सांस्कृतिक बहुलवाद सांस्कृतिक समूहको अस्तित्व र सहअस्तित्वको आधारशीला हो ।
सांस्कृतिक बहुलवादका केही आप्mनै मान्यताहरू छन् । प्रजातन्त्र, सांस्कृतिक सहनशीलता, सामाजिक समानता, सार्वभौमसत्ता, व्यक्ति र समूह अधिकारको प्रत्याभूति तथा सांस्कृतिक अन्धवादको अनुपस्थिति सांस्कृतिक बहुलवादका मान्यताहरू हुन् । प्रजातान्त्रिक शासन प्रणालीमा मात्र विविधताको सम्मान, संरक्षण र विकास गर्ने अवसर प्राप्त हुन्छ । प्रत्येक व्यक्ति र समुदायसँग आफ्नो संस्कृति सँगसँगै अर्को समुदायको संस्कृतिको समान विकासलाई आत्मसात गर्ने सहनशील भावना र क्षमता हुनुपर्छ ।
बहुसांस्कृतिक समाजमा सबै संस्कृतिका लागि समानताका आधारमा समान संरक्षण र विकासको अवसर प्राप्त हुनेगरी सामाजिक समानता प्रत्याभूति गरिएको हुन्छ । सिद्धान्ततः प्रत्येक संस्कृति आफ्नो संस्कृतिको विकास गर्न सार्वभौम हुन्छ । अर्थात्, आफ्नो संस्कृतिको विषयमा निर्णय लिने सार्वभौम अधिकार सम्बन्धित व्यक्ति समुदायलाई मात्र हुन्छ । यसकारण प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो संस्कृतिको संरक्षण, विकास र अवलम्बन गर्ने व्यक्ति र समूह अधिकार सुरक्षित हुनुपर्छ भने आफ्नो संस्कृति मात्रै ठीक र अरूको संस्कति बेठीक भन्ने सांस्कृतिक अन्धवादको सोचाइको पूर्णरूपमा शून्य रहनुपर्छ ।
विगतमा नेपालमा एकात्मक शासन प्रणाली थियो । देश धर्मसापेक्ष अर्थात् हिन्दु राज्यका रूपमा स्थापित थियो । समाज र देशका आर्थिक, सामाजिक राजनीतिक नीति कानुन र व्यवहार सांस्कृति समानता कायम गर्नेतर्फ केन्द्रित थिएनन् । बहुसांस्कृतिक समाजको यथार्थतालाई स्वीकार गरे पनि संस्कृतिको समान विकासमा राज्य उदासीन भएकाले समाजमा असन्तोष, असमानता बढेको, प्राकृतिक वातावरण विनास भएको र समाजमा द्वन्द्व तथा हिंसा निम्तिएको स्पष्ट दृश्य वर्तमान पुस्ताले प्रत्यक्ष अनुभव गरेको छ ।
सांस्कृतिक बहुलता सामाजिक यथार्थता र राष्ट्रिय एकताको आधार हो, हिजोको जस्तो एक संस्कृति, एक समाज, एक राज्य सम्भव छैन
संस्कृति राष्ट्रराज्यको पहिचान मात्र नभएर अनुपम सम्पदा पनि हो । सांस्कृतिक पहिचान र सम्पदाको जर्गेनाले राष्ट्रको शिर उँचो हुन्छ । तापनि, सांस्कृतिक बहुलवादका केही बाधा समाजमा उपस्थित रहेको पाइन्छ । राज्यले एउटा संस्कृति, एउटा भाषा, एउटा भेष, एउटा धर्मलाई प्राथमिकता दिनु, समूह अधिकार (समुदायको आर्थिक, सामाजिक विकास गर्ने आधिकार)को अपर्याप्तता, शासक र बहुसंख्यकले मान्ने संस्कृतिको सांस्कृतिक साम्राज्यवाद, हिन्दु तथा शासक र बहुसंख्यकले मान्न संस्कृतिमा अन्य जेजस्तो संस्कृति भए पनि प्रमुख संस्कृतिअनुरूप परिवर्तन हुने (मेल्टिङ पट प्रिन्सिपल) सिद्धान्त र सोअनुरूप अन्य संस्कृतिमाथि गरिएको व्यवहार प्रमुख बाधाका रूपमा रहेको पाइन्छ ।
साथै, देशका प्रचलित संस्कृतिको सांस्कृतिक नक्सांकन, सांस्कृतिक आमलेखीकरण सांस्कृतिक सचेतना, सांस्कृतिक संरक्षण र सांस्कृतिक विकासको कमी, एकात्मक राज्यढाँचा, समावेशी र प्रतिनिधिमूलक शासन प्रणालीको अभाव, केन्द्रीकृत विकास प्रक्रिया, सूचना सञ्चार प्रविधिको विकासले ल्याएको नेटवर्क प्रणाली तथा विश्वव्यापीकरणले सिर्जना गरेको सामाजिक सांस्कृतिक समिश्रणलाई सांस्कृतिक बहुलवादका बाधाका रूपमा चित्रण गरिएको छ ।
आज विश्वभर पहिचान र मौलिकताको खोजिभइरहेको छ । राष्ट्र, राष्ट्रियता र संस्कृति देशका अमूल्य निधि हुन् । सांस्कृतिक संरक्षण, विकास र विस्तारका लागि सांस्कृतिक बहुलवाद प्रवद्र्धनको आजको आवश्यकता हो । व्यक्ति, समुदाय र समाजले आफ्ना आदिम कालदेखि चलिआएका सांस्कृतिक प्रचलन र व्यवहारलाई जोगाउँदै र अवलम्बन गर्दै आएका छन् । यातायात र सूचना प्रविधिको अभूतपूर्व विकास एवं विश्वभरका देशको उदार व्यापार र मासिको आवागमन नीतिले विश्व क्षेत्रीय, राष्ट्रिय र स्थानीय समाज अत्यन्त मिश्रित, अन्तरनिर्भर, अन्तरसम्बन्धित र अन्तरघुलित भएका छन् । नेपाली समाजमा माघी, देउडा, ल्होसार, यामरी, तीज, लक्ष्मीपूजा, दसैं, बुद्धपूर्णिमा छठ एकसाथ मनाउने परम्पराको थालनी भएको तथा प्रेमविवाहमा जातीय भावना बिस्तारै मत्थर हुँदै गएको वर्तमानले पुष्टि गर्दछ ।
आधुनिकीकरणका साथसाथै समाजमा साझा संस्कृतिको विकास स्वाभाविक बन्दै गएको छ । सबै जातजातिका मानिस दसैंतिहारलगायत नयाँवर्ष, तीज, छठ, ल्होसार, माघी, यमरी, गौरा पर्व ईद सांस्कृतिक पूर्वाग्रहबिना सामूहिक रूपमा मनाउने गर्दछन् । विदेशमा पनि नेपाली परम्पराअनुरूपमा चाडवाड र संस्कार मान्दै रहनुलाई सांस्कृतिक समभावको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ । यसर्थ, सांस्कृतिक बहुलवाद मिश्रित समाजका लागि अझ महत्वपूर्ण एवं आवश्यक बनेको छ । सांस्कृतिक बहुलवाद समाजलाई समान, न्यायपूर्ण, शान्त, वातावरणीय रूपमा हराभरा र समृद्ध बनाउने एक अचुक सिद्धान्त र नीति हो ।
सांस्कृतिक बहुलवाद प्रवद्र्धनका लागि सिद्धान्त, नीति, कानुन तथा व्यक्ति र समुदायको व्यवहार महत्वपूर्ण हुन्छ । देशमा रहेका सबै सांस्कृतिक सम्पदाको विकासका लागि राज्य तटस्थ, निष्पक्ष र क्रियाशील हुनुपर्छ । राज्यले समाजको स्थायित्व, एकता र शान्तिका लागि देशमा प्रचलित संस्कृतिको समानताका आधारमा खोजी, समान संरक्षण र विकास गर्दै इन्द्रेणीमा सबै रंग वा सलादमा सबै फलफूल वा तरकारीका टुक्रा देखिए झैं नेपाली समाजमा सबै संस्कृतिको स्पष्ट अस्तित्व देखिने (रेन्बो प्रिन्सिपल) सांस्कतिक नीति लिनुपर्छ) ।
संविधान तथा कानुनले कुनै एउटा संस्कृतिलाई समर्थन गर्ने र अरू संस्कृतिको संरक्षण र विकासमा उदासीन रहने गर्नुहुँदैन । राज्यका लागि सबै संस्कृति समान सम्पदा हुन् । सबै संस्कृतिको समान विकास गर्न तटस्थ संविधान र त्यसको पालना निष्पक्ष रूपमा हुनुपर्छ । सरकार सबै संस्कृतिको अभिभावक हो । सरकारले सबै संस्कृतिको विकास, सबै संस्कृतिबीच सहसम्बन्ध र सहअस्तित्वका लागि समन्वयकारी भूमिका खेल्नुपर्छ । मेरो मात्र संस्कृति ठीक र अरूका गलत भन्ने जातीय र सांस्कृतिक अन्धताबाट माथि उठी सबै संस्कृतिको समान विकास गर्ने सोच र सहनशीलता आवश्यक हुनुपर्छ । समूह अधिकार समुदायको संस्कृति संरक्षण गर्ने प्रमुख आधार हो । यसकारण, संस्कृतिको विकासका लागि व्यक्ति, समुदाय तथा सांस्कृतिक समूहका लागि आफ्नो संस्कृतिको सम्बन्धमा निर्णय लिन सक्ने आर्थिक र सामाजिक अधिकार उपलब्ध हुनुपर्छ ।
सांस्कृतिक बहुलवादको व्यवस्थापन राजनीतिक एवं सामाजिक आयाम हो । भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताका लागि सांस्कृतिक समूहबीच सद्भाव कायम गर्न अनिवार्य हुन्छ । संस्कृतिको समान संरक्षण र अभ्यास गर्ने अवसरले सांस्कृतिक एकीकरणलाई मजबुत बनाउँछ । सबै संस्कृतिको समान संरक्षण र विकास प्रवद्र्धन गर्न समावेशी सरकार, समावेशी कर्मचारीतन्त्र र समावेशी नागरिक समाजसहितको समावेशी र प्रतिनिधिमूलक शासन प्रणालीको विकास गर्नुपर्छ । सांस्कृतिक नक्सांकन सांस्कृतिक खोजीको आधारशीला हो । समाजमा पछाडि परेका संस्कृतिको पहिचान गरी संरक्षण र समान विकासका लागि विशेष सहुलियत दिएर समान अवस्थामा पु¥याउनुपर्छ ।
सांस्कृतिक बहुलवादले सबै संस्कृतिको समानताका आधारमा समान संरक्षण, विकास, जोड र अवलम्बनको अवसरलाई महत्व दिन्छ
संघीय शासन प्रणालीमा तीनै तहका संघ, प्रदेश र स्थानीय सरकारले सरोकारवालाको सहभागिता र उनीहरूसँग सामाजिक संवाद गरी समानता र सहअस्तित्वका आधारमा बनाइएका सांस्कृतिक नीति कार्यक्रमको तर्जुमा र कार्यान्वयन (जस्तैः जातीय संग्राहलय, भाषा शब्दकोष निर्माण गर्ने) गर्नुपर्छ । सबै क्षेत्रमा बसोबास गर्ने सबै जातजातिको सांस्कृतिक पहिचान खुल्नेगरी भाषा, साहित्य, कला, गीतसंगीत, लवाइखवाइ, नाँचगान, पूजाआजा गरगहना, जन्ममृत्यु, बिहेवारी र जात्रा पर्वको खोजबिन, संकलन तथा अनुसन्धान गरी सांस्कृतिक बैंक स्थापना गर्नाले संस्कृतिको दिगो जर्गेना हुन जान्छ ।
सांस्कृतिक सद्भाव विकासका लागि विभिन्न जातजातिका व्यक्ति तथा समुदायलाई सबै संस्कृतिको महत्व तथा संस्कृति संरक्षणको आवश्यकता’bout सांस्कृतिक सचेतना बढाउनुपर्छ । संघीय तथा विकेन्द्रीत शासन प्रणालीको माध्यमबाट स्थानीय तहदेखि स्थानीय सरकारले स्थानीय संस्कृतिको संरक्षण र विकास गर्नुपर्छ भने प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई हरतरहले सहयोग गर्नुपर्छ । सांस्कृतिक बहुलताका लागि शासन सञ्चालन प्रणाली समावेशी र सहभागितामूलक हुनुपर्छ । गणतन्त्रात्मक, संघीय र समावेशी शासन प्रणालीले सरकारलाई जनताको नजिक पु¥याउँछ र समान सामाजिक सांस्कतिक विकास र संरक्षणलाई सहज एवं सम्भव बनाउँछ । साथै समाजमा रहेका सांस्कृतिक कुसस्कारको परिवर्तनका लागि सरकार, समाज नागरिक अगुवाले सांस्कृतिक सुधारमा जोड दिनुपर्छ ।
सांस्कृतिक बहुलता आजको समाजिक यथार्थता हो । राष्ट्रिय एकताको आधार हो । हिजोको जस्तो एक संस्कृति एक समाज, एक संस्कृति एक राज्य अब सम्भव छैन । किनकि, मानिस कुनै क्षेत्र वा कुनै खास रहनसहनमा मात्र सीमित रहन सक्दैन । एक्लो समूह संस्कृतिले विकास गर्न पनि सक्दैन । विश्व खुलापन र सञ्चार नेटवर्कले आज मानिसमा अत्यधिक गतिशीलता र अन्तक्र्रिया बढेको छ । जसले समाजलाई अलग गर्नै नसकिनेगरी मिसाइदिएको र अदृश्य बनाई दिएको छ । समाजमा विविध संस्कृत, भाषा, चालचलन, कला साहित्यको उपस्थिति देखिन्छ । विविधतायुक्त समाजको विकासका लागि पुरातनवादी एकल संस्कृतिमुखी सोच फलदायी हुन सक्दैन । यसर्थ आजको सैद्धान्तिक आवश्यकता सांस्कृतिक बहुलवाद हो ।
सांस्कृतिक बहुलवादले सबै संस्कृतिको समानताका आधारमा समान संरक्षण, विकास र जोड र अवलम्बनको अवसरलाई महत्व दिएको हुन्छ । वर्तमान समाजमा आपसी सद्भाव, सहयोग र सहकार्यका लागि सांस्कृतिक बहुलवाद र सोअनुरूप व्यक्ति, परिवार, समाज र राष्ट्रको सोच तथा नीति, कानुन र कार्यक्रम बन्न र कार्यान्वयन हुनुपर्छ । केन्द्रीकृत शासन प्रणाली, चुहिएको भरमा विकास हुने विकास रणनीति र अपर्याप्त सिद्ध सभ्रान्तवर्गको शासनाधिकार तथा संकीर्ण र असन्तुलित विकास भएपछि फराकिलो, समावेशी र विकेन्द्रित विकासका निमित्त समावशीकरण नवीन सिद्धान्त र रणनीतिका रूपमा स्थापित भएको छ । सांस्कृतिक सम्पदालाई संरक्षण र प्रचलन गराउन समुदायको ठूलो भूमिका हुने तथ्य नीति निर्माताले बिर्सनुहुँदैन । देशमा संघीय शासन प्रणाली छ । सांस्कृतिक, सामाजिक र मानवीय विकासका लागि शासन प्रणालीलाई समावेशी बनाउँदै संघ, प्रदेश र स्थानीय तहले संस्कृतिमैत्री नीति अबलम्वन गरी समृद्ध, शान्त र सभ्य समाजको निर्माण गर्नुपर्छ ।