लाखौंलाख सामान्य बचतकर्ताको अर्बौं रकम जम्मा रहेको सहकारी क्षेत्र समस्याग्रस्त रहेको कुरामा अब कुनै दुविधा रहेन । सरकारले औपचारिक रूपमा ‘समस्याग्रस्त’ घोषणा गरेका केही सहकारीबाहेक पनि सयौंको संख्यामा सहकारीहरूले बचतकर्ताको रकम फर्काउन सकेका छैनन् । आखिर किन त ? यी सबै सहकारीका सञ्चालकहरू वा सञ्चालकको पृष्ठभूमिमा रहेका ठूला नायकहरूले यी सहकारीबाट करोडौं अर्बौं रकम ऋणका रूपमा प्राप्त गरे र त्यो ऋणलाई घरजग्गा प्लटिङ, होटेल, नर्सिङ होम र आयातनिर्यात आदि व्यवसायमा लगाए । कतिपय लगानी त गैरकानुनी तस्करी आदि इत्यादिमा समेत प्रवाह भएको हुनसक्छ । विभिन्न काबूबाहिरको परिस्थितिले वा नियतबस नै अहिले त्यो रकम सहकारीमा फिर्ता हुनसकेन र परिणामस्वरूप सहकारीहरूले बचतकर्तालाई रकम फिर्ता दिन सकेनन् ।
‘स’ अक्षरबाट सुरु हुने बुटवल, पोखरा, चितवन र काठमाडौंका पाँच–सात सहकारी अहिले निकै चर्चामा छन् । यी सहकारीका बचतकर्ताहरू पीडित छन् । आफ्नो रगत पसिनाको कमाइ आवश्यक परेको समयमा नपाउँदा तिनीहरू क्षुब्ध हुनु स्वाभाविक हो । अत्यन्तै चाखलाग्दो पक्ष के छ भने प्राय ‘स’ नामधारी सबै सहकारी जीबी राई र रवि लामिछाने सम्बद्ध रहेको गोर्खा मिडियासँग ठोक्किन पुग्छन् । समस्याग्रस्त यी सहकारीको अत्यन्तै ठूलो रकम गोर्खा मिडियामा प्रवाह भएको छ । यिनीहरूले बचतकर्तालाई रकम फिर्ता दिन नसक्नुको मूल कारण गोर्खा मिडिया नै हो । यस्तो अवस्थामा गोर्खा मिडियाका सञ्चालक एवं प्रबन्धकहरूले जिम्मेवारी लिनुपर्ने कि नपर्ने ?
वर्तमान गृहमन्त्री रवि लामिछानेको नाममा यी सहकारीबाट व्यक्तिगत ऋणसमेत प्रवाह भएको देखिन्छ । आज रवि ‘मेरो खातामा पैसा आएको छैन, मेरो नाम प्रयोग मात्र भएको हो’ भन्दै छन् । ल, भैगो एकक्षणका लागि उनलाई पुरै अँध्यारोमै रहेको मानौं । तर उनको नाममा प्रवाह भएको ऋण रकम गोर्खा मिडियामा आएको हो र गोर्खा मिडियामा उनी स्वयं प्रबन्ध निर्देशक थिए । त्यस संस्थाको प्रमुख कार्यकारी अधिकृत रवि लामिछानेलाई ‘रवि लामिछाने’ नामक व्यक्तिको नामबाट करोडौं रकम संस्थामा आएको पटक्कै थाहा भएन ? भयो भने चासो भएन ? त्यसरी आएको एक कलम रकम गोर्खा मिडियाको सेयर खरिदबापतको भुक्तानीबापत हो भनेर सरकारी निकायमा हस्ताक्षरसहित सकारेका नै छन् क्या र ! खोइ के हो हो ! कहिले ‘स्वेट सेयर’ (पसिनाको मूल्य सेयर) भन्ने अनि कहिले चाहिँ मेरो भुक्तानी भन्ने !! सत्य के हो ? उनी साँच्चिकै अहिले प्रचारित गर्न खोजिएझैं ‘सामान्य जानकारीविहीन साना कर्मचारी’ थिए ? उनले निकट भविष्यमा गृहमन्त्री पदलाई पनि ‘लाए अह्राएको गर्ने अर्दली सरहको’ भन्दै परिभाषित गर्लान् है ! प्रधानमन्त्री होशियार रहनु ठीक होला !! हुन त प्रधानमन्त्रीलाई झिनामसिनाको चिन्ता छैन होला र ‘सुकिलामुकिला’को परवाह पनि छैन होला !!
सहकारी हिनामिना र आर्थिक भ्रष्टाचारमा रवि लामिछानेको संलग्नताका ’boutमा धेरै वादविवाद गरिरहनुको अर्थ छैन । उनको संलग्नताको परिमाण र मात्राका ’boutमा चाहिँ थप अनुसन्धानको आवश्यकता पर्छ । अहिले प्रतिपक्षले पनि ठीक यही खोजिरहेको छ । छानबिनको मात्रै माग भइरहेको हो । यस क्रममा कसैले कसैका लागि न्यायाधीश बनेर सुनपानी छर्किन खोज्छ भने त्यस व्यक्तितर्फ नै शंकाको सुई घुम्न पुग्छ भन्ने हेक्का रहोस् ।
आर्थिक भ्रष्टाचारको कुरा आफ्नो ठाउँमा छ । अर्को अत्यन्तै महत्वपूर्ण विषय छायामा पर्दा नेपाल न्यायप्रणालीरहित दण्डविहीन मुलुक हो भन्ने छवि बन्न पुगेको छ । रवि लामिछानेले गोर्खा मिडियाको सेयर होल्डर बन्दा, प्रबन्ध निर्देशक बन्दा वा सामान्य जागिरे भएर काम गर्दा नै किन नहोस् नेपाली नागरिकताको प्रमाणपत्र त पेस गरेकै थिए होलान् । निश्चित रूपमा उनी अमेरिकी नागरिक बनेका थिए । पुनः नेपाली नागरिकता प्राप्त गरेका थिएनन् । उनीसँग उनकै शब्दमा नेपालको ‘प्यारो नागरिकता’को पुरानो कागज थियो । त्यो कागज उनले विदेशी नागरिकता प्राप्त गरेपछि स्वतः खोस्टो कागज बनिसकेको थियो । त्यसको कुनै ‘सोभेनियर’को भन्दा बढी महत्व थिएन । के उनले त्यही सोभेनियर देखाएर बन्द व्यापार व्यवसाय गरेका होइनन् ? किर्ते कागज पेस गरेर नेपाललाई झुक्याएको आरोपमा उनी दण्डित हुनुपर्ने होइन ? चुनाव रद्द हुनु दण्डित हुनु होइन । झन त्यस्तो कागज देखाएर राहदानीसमेत प्राप्त गरेर विदेश भ्रमण गर्नु के राज्यविरुद्ध गम्भीर फौजदारी अपराध होइन ? के कति कारणले उनले उन्मुक्ति पाइरहे भन्ने प्रश्न अनुत्तरित नै छ ।
खोतल्दै जाने हो भने मुलुकको कानुन प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्छ । रविलाई हाईहाई गर्दै मत हाल्ने जनताको विवेकमाथि पनि प्रश्न तेर्सिन्छ । यतिबेला रविको प्रतिरक्षामा प्राविधिकतर्क गर्ने वा आक्रामक भएर अरूलाई गाली गर्दै रविलाई चोख्याउन खोज्ने प्रवृत्ति सबैभन्दा जोखिममा छ । अरूले जेजस्तो गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका निकै ठूला सैद्धान्तिक भाषण गर्न माहिर ‘लोकप्रिय’ र ‘आशालाग्दा’ भनाउँदाहरूचाहिँ निकै ठूलो जोखिममा छन् । भोलिका दिनमा आफूले गरेका र बोलेका विषयका कारण मुख लुकाएर हिँड्नुपरे के गति होला ? उज्ज्वल भविष्यको सम्भावना भएकाहरूले हिम्मत गर्ने बेला भएन र ?