विद्यार्थीमा विद्यालय परिर्वतनको असर

हरेक अभिभावकले आफ्ना छोराछोरीहरूले पढाइलेखाइ राम्रो गरून् भन्ने चाहन्छन् । त्यसैले आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन चाहन्छन् । तर, राम्रो विद्यालयको खोजीमा कतिपय अभिभावकले अर्काको लहैलहैमा लागेर यो विद्यालय राम्रो, त्यो विद्यालय राम्रो भन्दै घरिघरि आफ्ना छोराछोरीका लागि विद्यालय परिर्वतन गरिरहन्छन् । यसरी बालबालिकालाई घरि यो वा घरि त्यो विद्यालयमा पठाउँदा अधिकांश विद्यार्थीको मनमस्तिष्कमा विद्यालय परिवर्तनको कुप्रभाव पर्छ । विद्यार्थीको पढाइलेखाइ सप्रिने ठाउँमा बिग्रने मात्र होइन, विद्यार्थीमा अनेक मानसिक समस्यासमेत पैदा हुन सक्छन् । उदाहरणका लागि निम्न दुई केसहरू हेरौं ।

केस नं. १
एक सम्पन्न परिवारमा जन्मिएका अमिर (नाम परिवर्तन) सानैदेखि नै पढाइ लेखाइमा औसत थिए । तर, उनका बाआमाले उनीमाथि निकै ठूलो आशा गरेका थिए । आफ्नो एक मात्र सन्तान डाक्टर बनोस् भन्ने चाहन्थे । कुन विद्यालयमा पढाए छोराको पढाइ राम्रो हुन्छ भन्दै ९ कक्षा पढ्दासम्म ४ वटा विद्यालय परिर्वतन गराइसकेका थिए । तर अमिरको पढाइ झन् खस्किँदै गएको थियो । दिनप्रति दिन उनका लागि पढाइलेखाइ ठूलो बोझ हुन थालेको थियो । अनि ९ कक्षा पढ्दापढ्दै उनले स्कुल छोडे । विगत ४ वर्षदेखि उनी निठल्ल घरमा बस्छन्, धेरै खान्छन्, मोटाउँदै गएका छन् । दिनभरि टिभी हेरेर तथा संगीत सुनेर दिन काट्छन् । साथीसंगीसँग खेल्न तथा घुम्न पनि हिंड्दैनन् । उनका लक्षणहरू हेर्दा उनी डिप्रेसनको चपेटामा परेको देखिन्छ ।

केस नं. २
मेधा (नाम परिर्वतन) १० वर्षकी बालिका हुन् । उनी ४ कक्षामा पढ्छिन् । विगत १ वर्षदेखि स्कुल जाने बेलामा उल्टी हुने, टाउको दुख्ने हुन्छ । तीन÷चारपटक त उनी बेहोसै भइन् । गुल्मीमा नर्सरी, केजी पढ्दा उनमा यस्तो समस्या देखिएको थिएन । बसाइसराइका कारण केजी पढ्दापढदै उनी बाआमासँग बुटवल आइन् । बुटवलको एक स्कुलमा पढ्न थालिन् । त्यहाँ छोरीको पढाइ खस्केको देखेपछि साथीसंगीको सुझावमा मेधाका बाबाले मेधालाई एक नाम चलेको विद्यालयमा भर्ना गरिदिए । तर, त्यो चर्चित विद्यालयबाट पनि मेधाका बाआमा सन्तुष्ट भएनन् र विगत दुई वर्षदेखि उनी अर्को विद्यालयमा पढ्न थालिकी छन् । त्यो स्कुलमा पढ्न थालेको केही महिनापछि उनमा पुनः समस्या देखापरेका छन् ।

हो, कतिपय अवस्थामा विद्यालय परिर्वतन आवश्यक पनि हुन्छ । बसाइसराइ गर्दा विद्यालय परिर्वतन एक बाध्यता पनि हो । तर, विद्यार्थीको इच्छाविपरीत राम्रो विद्यालयको खोजीमा घरिघरि विद्यालय परिर्वतन गर्नु ठीक होइन, यसप्रति हरेक अभिभावक सचेत हुनुपर्छ । र, सबैले बुझ्नुपर्ने कुरा के भने हरेक व्यक्तिको मानसिक तथा बौद्धिक क्षमता फरक फरक हुन सक्दछ । कोही पढाइलेखाइमा तेज हुन्छन् भने कोही गीत, संगीत, गायन, कला तथा खेलकुद आदिमा तेज हुन्छन् । पढाइलेखाइले मात्र व्यक्तिको बौद्धिकता मापन हुँदैन । के तीनपटक एसएलसी फेल भएका अभिनेता हरिवंश आचार्य कम बुद्धिमान् व्यक्ति हुन् र ?

बसाइसराइका कारण विद्यार्थीका लागि विद्यालय परिर्वतन एक बाध्यता बनिरहेको छ

सिकाइ भनेको परिवर्तन हो । सिकाइ जन्मदेखि नै सुरु हुन्छ । स्नायु विज्ञानका अनुसार ९० प्रतिशत बौद्धिक क्षमताको विकास पहिलो पाँच वर्षभित्र नै हुन्छ भने ८० प्रतिशत सिकाइ पहिलो आठ वर्षभित्र हुन्छ । यस समयमा बालबालिकालाई स्वतस्फूर्त सिक्ने अवसर र वातावरणको आवश्यकता पर्दछ । अभिभावक र शिक्षक दुवै बालबालिकाको सिकाइका प्रभावकारी सहयोगी हुन् भने उत्प्रेरणा र सहयोग सिकाइका आधार हुन् । तसर्थ, सिक्नका लागि विद्यालयमा मात्र भर पर्नुभन्दा पनि बालबालिकालाई घर र विद्यालयमा केही विशेष वातावरण तयार गरिदिएमा उनीहरूलाई छिटो सिक्न सहयोग पुग्दछ । बालबालिकाको सिक्ने क्षमताको विकास हुन्छ ।

बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन केही मनोवैज्ञानिक क्रियाकलापहरूमा ध्यान दिनु अपरिहार्य हुन्छ । बालबालिका सिक्नका लागि तयार भएर जन्मेका हुन्छन् । तर, त्यसका लागि उनीहरूको सक्रिय सहभागिता अपरिहार्य हुन्छ ।

बालबालिकाले आफैं चलाएर, खोजेर, बिगारेर वा खेलेर सिकिरहेका हुन्छन् । बालबालिकालाई सिक्न आवश्यक विषयवस्तु सामाजिक सहभागिताबाट प्राप्त हुन्छ । त्यसैले उनीहरूलाई बढीभन्दा बढी सामाजिक क्रियाकलापमा सहभागी गराइएमा उनीहरूले बढीभन्दा बढी सिक्ने अवसर पाइरहेका हुन्छन् ।

बालबालिकाहरू कहिल्लै खाली बस्दैनन्, कुनै न कुनै क्रियाकलापमा अल्झिरहेका हुन्छन् । तर, उनीहरूलाई यसरी क्रियाकलापमा सहभागी गराउँदा उनीहरू के सिक्दै छन् र कस्ता कार्यमा संलग्न गराउँदा उचित हुन्छ भन्ने हेक्का अभिभावकले राख्नुपर्दछ । तर, उनीहरू खेलिरहेका छन् वा कुनै वस्तु विशेषमा अल्झिरहेका छन् भने अनावश्यक ठाडो हस्तक्षेप गर्ने वा त्यस्ता कार्य गर्नबाट वञ्चित गर्नुहँुदैन । बरु अभिभावकले बालबालिकासँग बढीभन्दा बढी नजिक भएर कुरा गर्ने तथा उनीहरूले के गरिरहेका हुन् बुझ्ने प्रयास गर्नुपर्छ ।

बालबालिकाले गर्ने काम’bout टिप्पणी वा उनीहरूले सोधेका प्रश्नको जवाफ दिँदा सान्दर्भिक र आधिकारिक हुनुपर्छ । आफूलाई थाहा नभएको खण्डमा झर्कनुभन्दा सोचेर जवाफ दिने वा नम्र बोलीमा पछि भन्छु है भन्न सकिन्छ । यस्ता प्रश्नमार्फत उनीहरू पक्कै पनि आधिकारिक सन्दर्भलाई जोड्ने प्रयास गरिरहेका हुन्छन् । यो नै सिकाइको महत्वपूर्ण पक्ष हो । यसरी नयाँ सूचना तथा ज्ञानलाई भइरहेको ज्ञानसँग जोड्दै बालबालिकालाई सिकाउन सकियो भने सिकाई प्रभावकारी र दिगो हुन्छ । नत्र ढिलो बुभ्mने र चाँडै बिर्सने समस्या बालबालिकामा देखापर्छ ।

बालबालिकाको वास्तविक समस्या नबुझी राम्रो विद्यालयको खोजीमा घरिघरि विद्यालय परिर्वतन गर्दा समस्या जटिल हुन सक्छ

बालबालिकालाई कण्ठ गराउने तथा घोक्ने क्रियाकलापभन्दा प्राक्टिकली बुझाउनमा धेरै समय खर्चिन सके सिकाइ दिगो र प्रभावकारी हुन्छ । बालबालिकालाई सिकाउन केही प्रक्रिया अपनाउनुपर्छ । उदाहरणका लागि के सिकाउन लागिएको हो, त्यसको उद्देश्य सिकाउने व्यक्तिलाई स्पष्ट हुनुपर्छ र सोहीअनुरूपको सिकाउने विधिको प्रयोग गर्नुपर्छ । बढीभन्दा बढी उदाहरण दिएर बालबालिकाको आफ्नै परिवेशसँग जोडेर सिकाएमा बुझ्न सजिलो हुन्छ । बालबालिकामा स्वअध्ययन र पुनरावलोकन गर्ने बानीको विकास गरिदिनुपर्छ । यसका लागि कुनै पनि समस्या वा नयाँ विषय’bout खोजेर वा अध्ययन गरेर सुनाउन प्रोत्साहन दिनुपर्छ । प्रश्न गर्ने, कुराकानी गर्ने तथा विभिन्न विकल्प’bout छलफल गर्दा सिक्न सहज हुन्छ । उनीहरूलाई बढीभन्दा बढी अभ्यासका लागि समय दिनुपर्छ जसले गर्दा उनीहरूलाई परिष्कृत हुन सहयोग पुग्दछ ।

सिक्न उत्प्रेरणा तथा वातावरणकोे ठूलो भूमिका हुन्छ । तसर्थ, अभिभावक र शिक्षकले बालबालिकाप्रति गर्ने व्यवहार, दिने सहयोग र वातावरण नै बालबालिकाको सिकाइका महत्वपूर्ण आधारहरू हुन् । सानै उमेरमा विद्यालय भर्ना गर्दैमा, धेरै समय विद्यालयमा राख्दै तथा घरिघरि विद्यालय परिर्वतन गर्दैमा धेरै र राम्रो सिकाइ हँुदैन, बरु बालबालिकाको सिकाइप्रतिको चाहना घट्न सक्दछ । बालबालिका प्रकृति के हुन्छ भने बालबालिकाले स्वतस्फूर्त सिकिरहेका हुन्छन् र उनीहरू हरदम सिक्न तयार रहन्छन् । त्यसैले, उनीहरूको चाहना र क्षमतालाई बुझेर अभिभावक तथा शिक्षकले वातावरण तयार गर्न सकेमा मात्र सिकाइ प्रभावकारी बनाउन सकिन्छ ।

अन्त्यमा यहाँ उल्लेख गर्नै पर्ने कुरा के भने कतिपय बालबालिका लर्निङ डिसअर्डरका कारण पनि पढाइलेखाइमा कमजोर हुने गर्छन् । यदि, बालबालिका खासगरी पढ्ने, लेख्ने तथा गणित हल गर्ने सवालमा अन्य बालबालिकाभन्दा निकै कमजोर छन् भने यसको कारण लर्निङ डिसअर्डर हुनसक्छ । तनाव तथा डिप्रेसन जस्ता मानसिक समस्याले पनि बालबालिकाको पढाइलेखाइमा अवरोध पैदा गर्न सक्दछ । तसर्थ, बालबालिकामा यस किसिमको समस्याको शंका लागेमा समयमा नै मनोवैज्ञानिक वा मनोचिकित्ससँग सम्पर्क गरेर यसको उचित निदान खोज्नु ठीक हुन्छ ।

तर, बालबालिकाको वास्तविक समस्या नबुझी राम्रो विद्यालयको खोजीमा घरिघरि विद्यालय परिर्वतन गर्दा समस्या झन् जटिल हन सक्दछ । खुसीको कुरा के भने बालबालिकामा देखिने यस्ता अधिकांश मनोवैज्ञानिक समस्याको समाधान गर्न सकिन्छ । सुरुमा नै प्रभावकारी चिकित्सा उपलब्ध गराइएको खण्डमा यस्ता बालबालिकाले अमिर तथा मेधाको जस्तो नियति बेर्होनुपर्दैन ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !