काठमाडौं । ‘एकदिन म कलेजबाट फर्किंदै थिएँ । बाबाले भन्नुभयो, ‘छोरी तिम्रो मेसेन्जरमा मैले एउटा लिंक पठाएको छु, त्यो राम्रोसँग पढेर मलाई जवाफ दिनू ।’
त्यो लिंकको समाचार थियो, उपत्यकालगायत मोफसलका विभिन्न कलेजमा अध्ययनरत १६ वर्षदेखि २५ वर्षसम्मका छात्रालाई मध्यनजर गरी मिस इकलेज–२०२३ आयोजना गर्न लागिएको । समाचारमा भनिएको थियो, कलेजस्तरका युवतीको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाका लागि अवसर साथै उनीहरूको आन्तरिक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिका रूपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो ।
समाचार पढेपछि मैले बाबालाई ‘हुन्छ, म भाग लिन्छु भनें ।’

आफ्नो बाबाबाट मिस इकलेज प्रतियोगिता हुन लागेको थाहा पाएकी सिन्धुली सुनकोशी गाउँपालिका–३ झाँगाझोलीकी १९ वर्षीया अदिती श्रेष्ठ भन्छिन्, ‘सो प्रतियोगितामा म खरो ढंगले उत्रिएँ र १५ जनाभन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पार्न सफल भएँ, मस्ट ट्यालेन्टको उपाधि पनि मैले नै पाएँ ।’
मिस इकलेज–२०२३ की उपाधि विजेता अदिती श्रेष्ठले अहिले नेपालको लोकप्रिय सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस नेसनल नेपाल–२०२४ को अन्तिम २४ भित्र छानिन सफल भएकी छन् । सो प्रतियोगिताको यतिबेला विविध विधामा प्रतिभा प्रदर्शन राउन्ड चलिरहेको छ । अप्रिलको अन्त्यमा ग्रान्ड फिनाले हुने यस प्रतियोगितामा छानिएकी उनी सबैभन्दा कान्छी प्रतियोगी हुन् ।

मिस टिन–२०२२ मा फोटोजेनिक अवार्ड पाएकी उनले आफ्नो विभिन्न प्रतिभा देखाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा समेत सहभागिता जनाइसकेकी छन् । आठ वर्षको हुँदा ‘लिटिल स्टार’ प्रतियोगितामा सहभागी भएकी उनले त्यसबेला ‘इन्नोसेन्ट’ उपाधि जितेकी थिइन् ।
उनले मिस इकलेज जस्तैगरी मिस्टर एन्ड मिस नेसनल नेपाल–२०२४ को उपाधि जित्न पनि अहिले दिन रात कडा मेहनत गरिरहेकी छन् ।
सौन्दर्य क्षेत्रमा लागेर आफ्नो परिचय फराकिलो बनाउने सोचका साथ अघि बढेकी अदितीको भविष्यमा एक कुशल नायिका बनेर समाजमा मानसिक स्वस्थ्यको क्षेत्रमा काम गर्ने चाहना छ । उनले आधा दर्जन म्युजिक भिडियोमा मोडलका रूपमा काम गरेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेकी छन् । तेक्वान्डोको ब्ल्याकबेल्टसमेत रहेकी अदिती ‘इन्टरनेसनल जुनियर साइन्स ओलम्पियाड–२०७८ (आईजेएसओ)’मा छानिन सफल भएकी थिइन् । २०७८ सालमा दुबईमा भएको सो प्रतियोगतामा अमेरिका, चीन, भारत, बंगलादेश, नेपालसहित ७० देशका ३ सय ५० विद्यार्थी र ९ सय ५० प्रतिनिधि सहभागी भएका थिए । नेपालबाट अदितीसहित ६ जना विद्यार्थी सुरुमा नेपालभरिबाट प्रादेशिक रूपमा प्रतिस्पर्धामा खरो रूपमा उत्रिएपछि केन्द्रीय छनोट प्रतिस्पर्धामार्फत छानिएका थिए । करिब एक वर्षको कठिन प्रतिस्पर्धाबाट उनीहरू छानिन सफल भएका थिए ।

आगामी जुलाई महिनामा मिस्टर एन्ड मिस सुप्रानेसनलका विजेताहरू पोल्यान्डमा आयोजना गरिने मिस्टर एन्ड मिस सुप्रानेसनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रनेछन् । त्यसैगरी, थाइल्यान्डमा मिस्टर नेसनल, अल्बानियामा हुने मिस ग्लोब र इजिप्टमा हुने मिस इन्टर कन्टिनेन्टलमा पनि नेपालको प्रतिनिधित्व गर्न प्रतिस्पर्धीलाई पठाइने आयोजकको भनाइ छ ।
सनुर्वी इन्टरनेसनल नेपालको स्वामित्वमा पाँचवटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको फ्रेन्चआइज छन् । जसमध्ये मिस सुप्रानेसनल, मिस ग्लोब, मिस्टर इन्टरनेसनल, मिस इन्टर कन्टिनेन्टल र मिस्टर सुप्रा नेसनल रहेका छन् ।
