अर्थतन्त्रमा अमलाको महत्व

हाम्रो मुलुक प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वन जंगल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वितीय जडिबुटी तथा गैरकाष्ठ वन पैदावरको महत्वपूर्ण स्थान रहेको छ । मुलुकभित्र पाइने सूचीकृत करिब ७ सय प्रजातिका जडिबुटीजन्य वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन, समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिका तर्फबाट अद्वितीय उपहार हो । गुणस्तर जीवनका लागि जडिबुटीको अद्वितीय योगदान छ । मानवको स्वास्थ्य ठीक हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा तन्दुरुस्त हुन आवश्यक छ । स्वस्थ नागरिक र स्वस्थ समाजद्वारा नै मुलुकको विकास सम्भव छ । नेपालीको औसत आयु वृद्धिसँगै गुणस्तरीय स्वस्थ जीवन जिउनका लागि गाउँ तथा सहरको टोल–टोलमा आरोग्य कार्यक्रम चलाउन आवश्यक छ । आफ्नो घर र करेसाबारी, भान्सामा नै उपलब्ध हुने औषधिजन्य जडिबुटीहरू, उदाहरणका रूपमा गुर्जाे, बोझो, अमला, पान, सुपारी, हर्राे, बर्राे, तेजपात आदि अधिकतम प्रयोग गर्नु आवश्यक छ ।

अपार सम्भावना बोकेका महत्वपूर्ण जडिबुटी र गैरकाष्ठ वन पैदावार मुलुकको समग्र र समावेशी विकासका महत्वपूर्ण साधन हुन् । बर्सेनि अर्बौं धनराशिका विभिन्न गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेका छन् । मुलुकका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरूको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा बिक्री वितरणबाट अर्बौं धनराशि बर्सेनि भित्रिने गरेको छ । यार्सागुम्बालगायत अन्य महत्वपूर्ण जडिबुटीको बिक्री वितरणबाट दार्चुला, जुम्ला तथा डोल्पाजस्ता जिल्लाहरूमा करोडौं रुपैयाँ बर्सेनि जिल्ला भित्रिने गर्छ । यसैगरी, मध्यपहाडका विभिन्न जिल्लाबाट पनि लाखौं, करोडौं मूल्यबराबरका जडिबुटी तथा गैरकाष्ठ वन पैदावार विदेश निकासी भएर गइरहेका पाइन्छन् । अतः यस लेखमा बहुउपयोगी जडिबुटी तथा गैरकाष्ठ वन पैदावार ‘अमला’सम्बन्धी चर्चा गर्ने जमर्काे गरिएको छ ।

मानिसलाई स्वस्थ्य राख्ने प्रमुख आधार नै खाना हो । गुणस्तरीय जीवनका लागि तागत वा शक्ति दिने खानेकुराले महत्व राख्छ । गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, शखरखण्ड, तरुल, पिँडालु, गिट्ठा, आलु, चिउरा, साथै विभिन्न फलफूलको आवश्यकता पर्छ । शरीरको तामक्रम र सन्तुलन बनाइराख्न, मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंगहरू (मिर्गौला, मुटु, फोक्सो, मस्तिष्क)लाई निरोगी राख्ने एवं विभिन्न समस्या निराकरण गर्ने सन्तुलित भोजन नै हुन् । स्वास्थ्य समस्याहरू निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनका लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर ‘बी’, रगत राम्रो बनाउने तत्व, शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्ने गर्छ । हाम्रो जीवनमा स्वस्थ शरीर राख्नलाई खाद्यपछि फलफूलको आवश्यकता पर्छ । त्यो फलफूलमध्ये हाम्रै गाउँघरमा पाइने अमला पनि एक हो ।

अमलाको वृक्षबाट कात्तिक शुक्ल नवमीबाट पूर्णिमासम्म अमृत वर्षा हुने धर्मशास्त्रमा उल्लेख छ

अमलाको वानस्पतिक परिवार ‘इयुुफोरवियसी’, अंग्रेजी नाम गुसवेरी, वैज्ञानिक नाम फाइलेन्स इम्बलिका र स्थानीय नाम अमला हो । यसको बोट १० देखि १५ मिटर अग्लो हुने पतझर रूख प्रजाति हो । हिउँदको समयमा सबै पात भुइँमा खसेर सुकेको जस्तै देखिए पनि वसन्त ऋतुको आगमनसँगै प्रत्येक वर्ष पातहरू निस्किएर पुनः हराभरा भई ३ देखि ४ वर्षको उमेरदेखि अमला फल्ने गर्छ । यसका पातहरू मसिना र लहरै मिलेका हुन्छन् । फूलहरू साना बासनादार र हरियो पहेंला रङका हुन्छन् । पाकेका फलहरू केही चम्किला, गुदीदार र हल्का पहेंला हुन्छन् । अमला सामान्यतया जेठदेखि साउनसम्म फुल्छ । भदौदेखि मंसिरसम्म फलिसक्छ । माघसम्म टिप्नलायक हुन्छ ।

हिन्दू धर्ममा यसलाई पवित्र वृक्ष, फल तथा जडिबुटीका रूपमा लिइन्छ । कात्तिक शुक्ल पक्षको नवमी तिथीलाई अमला नवमीको नामले महत्व राखिन्छ । सो दिन, विष्णु भगवान् तथा अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । कात्तिक शुल्क नवमीबाट कात्तिक पूर्णिमासम्म अमलाको वृक्षमा भगवान् विष्णु निवास गर्ने धार्मिक मान्यता छ । सो दिनमा अमलाको वृक्षबाट अमृतको थोपाहरू झर्ने मान्यता छ । यस दिन अमलाको वृक्षमुनि बसेर भोजन गर्नाले पनि रोगव्याद मुक्त भई गुणस्तरीय जीवन बिताउन सकिने धार्मिक विश्वास छ । अमलाको जरामा सो दिन दूधको धारा दिएर पितृहरूलाई तर्पणसमेत दिने हिन्दू धार्मिक मान्यता छ । यसको फल पूजापाठजस्ता शुभकार्यमा प्रयोग गरिन्छ । त्यस्तै, महाशिवरात्रि र होलीको बीच समयमा पर्ने एकादशी आमली एकादशी हो । आमली एकादशीका दिन अमलाको वृक्षलाई भगवान् विष्णुको रूप सम्झेर पूजा गरिन्छ ।

दक्षिणपूर्व एसियामा उद्गमस्थल भएको अमला नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका तथा दक्षिण चीनमा समेत फैलिएको पाइन्छ । करिब ६ सय ५० प्रजाति भएको फाइलेन्थस जिनसका नेपालमा ११ प्रजाति भेटिन्छन् । अमलामा भाले तथा पोथी दुई प्रकारका फूलहरू फुल्ने गर्छन् । दुवै भाले तथा पोथी फूलहरू एउटै बोटमा पाइन्छन् । अमला प्राकृतिक अवस्थामा नेपालको पूर्वदेखि पश्चिमसम्म १ सय ५० देखि १ हजार ४ सय मिटरसम्मको उचाइमा पाइन्छ । नेपालमा यो पूर्वभन्दा पश्चिम क्षेत्रमा बढी पाइन्छ । विगत केही वर्षदेखि किसानहरूले विभिन्न किसिमका खाली, पर्ति जग्गा र घर आँगन तथा बँगैचामा समेत यसको खेती गर्ने गरेको पाइन्छ । अमलाको उपयोग धेरै छ । पूजापाठबाहेक अमला अन्य कार्यमा पनि प्रयोग गरिन्छ । अमलाको जरा, बोक्रा, फल र पूmलहरू विभिन्न रूपमा विभिन्न कामका लागि प्रयोग हुने गर्छ । व्यापारिक प्रयोजनमा फल नै सबैभन्दा बढी प्रयोग हुने गर्छ । अमलाको फलबाट भिटामिन ‘सी’ प्राप्त हुने हुँदा यो त्रिफला र च्यावनप्रासलगायतका विभिन्न आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ । अमलाबाट भिटामिन ‘ए’ पनि प्राप्त हुने कुरा पत्ता लागेको छ । यसको फलबाट आयुर्वेदिक औषधिबाहेक अचार, तितौरा तथा जाम बनाइन्छ । हाल अमलाको आधुनिक प्रयोग स्वास्थवद्र्धक÷यौनवद्र्धक तथा सौन्दर्यप्रदायक सामाग्री जस्तै– च्यावनप्रास, कपालमा लगाउने तेल, कपाल रंगाउने रङ, सेम्पु, दन्तमञ्जन, मसी र रङलगायत विभिन्न सौन्दर्य प्रदायक क्रिमहरू बनाउने गरिन्छ । अन्य रासायनिक तत्वमा माथि भनेजस्तै भिटामिन ‘सी’ प्रमुख स्रोतका रूपमा रहेको हुन्छ । यसमा हुने रासायनिक तत्वमा ट्यानिन, पोलिफेनोल, अल्कोलाइड, पाइलानेम ग्लिमनिन, फाइलानेम बलिसिन ‘ए’ आदि पाइन्छ । यो बहुउपयोगी अमृतसमान बोट तथा फल हो ।

अमलाबाट च्यावनप्रास, कपालमा लगाउने तेल, कपाल रंगाउने रङ, सेम्पु, दन्तमञ्जन, मसी र रङलगायत विभिन्न सौन्दर्य प्रदायक क्रिम बनाइन्छ

अमला उष्ण र उपोष्ण हावापानीमा हुने बिरुवा हो । वार्षिक ६ देखि ८ सय मिलिलिटर पानी पर्ने ठाउँमा अमलाको राम्रो खेती हुन्छ । अमला साना छँदा जाडोमा तुषारोबाट जोगाउनुपर्छ । ठूला बिरुवाहरू ३५ देखि ४५ डिग्री सेल्सियस तापक्रममा राम्रोसँग हुर्कनसक्छन् । साथै, यो प्रतिकूल वातावरणमा समेत हुर्कनसक्ने प्रतिरोधी बिरुवा हो । यो सुक्खा तथा उच्च क्षारीय माटो भएको क्षेत्रमा राम्रो हुन्छ । अमला प्राचीन समयमा जंगल तथा खेतबारी वरिपरी पाइने तथा त्यहाँबाट संकलन गरी स्थानीय प्रयोग र व्यापारिक प्रयोग हुृने क्षेत्रमा खपत तथा बिक्री हुने गथ्र्याे । हाल आएर यसको प्रयोगको क्षेत्र विस्तार भई विभिन्न क्षेत्रमा यसको माग अत्यधिक बढेपछि नेपालका कृषकहरू खेती विस्तारतिर अग्रसर भएको देखिन्छ ।

अव्यवस्थित तथा अवैज्ञानिक संकलनका कारण यो प्रजाति क्रमशः घट्दै गइराख्नुका साथै औद्योगिक प्रयोगमा यसको माग बढ्दै गइरहेको कारणले पनि यसको खेती विस्तारतर्फ सम्बन्धित सबैको ध्यान बढिरहेको पाइन्छ । साधारणतया यस्तो खेती हाल आएर उपयुक्त हावापानी भएका सामुदायिक वन, राष्ट्रिय वन, कबुलियती वन, निजी जग्गा आदिका साथै काम नलाग्ने खाली पर्ती जग्गाहरूमा बढाउनुपर्ने देखिन्छ । बिरुवा, बीउ र कलमीबाट अमला उत्पादन गर्न सकिन्छ । मलखादमा राम्ररी पाकेको गाईवस्तुको मल नाइट्रोजन, फस्फोरस, पोटास, बिरुवाको संख्या हेरी जानकार व्यक्तिको निगरानीमा प्रयोग गर्नु राम्रो हुन्छ । यो फल उन्नत जातका बिरुवा रोपी मल तथा उचित स्वाहार भएमा तीनदेखि पाँच वर्षमा फल दिन सुरु गर्छ ।

१० वर्ष पुगेको बिरुवाले सरदर ५० देखि ६० किलोग्रामसम्म फल उत्पादन गर्छ । यसरी लगाइएका अमलाका बोटहरूबाट प्रतिहेक्टर २ हजार किलोग्रामसम्म फल उत्पादन हुने गर्छ । अमलाको स्थानीय प्रयोग जस्तै– काँचै खाने, तितौरा, अचार, जाम बनाउने, शक्तिवद्र्धक आयुर्वेदिक टाँनिक औषधि बनाउने आदि पनि गरिन्छ । अतः अमला अमृतमय बहुउपयोगी फल तथा बिरुवा हो । नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक वनावटका आधारमा अमला खेतीको हाम्रो मुलुकमा सम्भावना धेरै छ । अमला खेतीको सम्भावनालाई योजनाबद्ध तरिकाबाट तिनै तहका सरकारले व्यावसायिक रूपमा विकास गराउनसकेमा वैदेशिक रोजगारीमा विदेश पलायन भएका युवा शक्तिलाई मुलुक, गाउँ तथा घरमै रोजगारीको सिर्जना गरी नेपाल आयुर्वेदिक औषधिमा आत्मनिर्भर भई राष्ट्रिय अर्थतन्त्र चलायमान हुने थियो ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चन्द्रनगरमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित