निर्यात व्यापार पर्वद्धनका आधार

कुनै पनि मुलुकको अर्थतन्त्रको स्वास्थ्य अवस्थालाई प्रभाव पर्ने प्रमुख क्षेत्रहरूमध्ये वैदेशिक व्यापार पनि एक हो । आयात र निर्यातको परिमाणमा आउने असन्तुलनले अर्थतन्त्रका विभिन्न परिसूचकमा नकारात्मक प्रभाव पार्ने गर्छ । व्यापार घाटा नेपालको वैदेशिक व्यापारको विशेषताजस्तै बनिसकेको छ । निर्यातको परिमाणको तुलनामा आयातको परिमाण धेरै हुनाले मुलुकले व्यापार घाटाको सामना गरिरहेको छ । यसले विदेशी मुद्रा सञ्चितिमा मात्र चाप पारेको छैन, बेलाबखत विश्वव्यापी रूपमा भएका आर्थिक, सामाजिक तथा राजनीतिक उतारचढावले निम्त्याएका प्रतिकूल प्रभावको समेत सामना गर्नुपरेको छ । यसैगरी, पछिल्लो समय मुलुकको वैदेशिक व्यापार दिन प्रतिदिन खुम्चिँदै गएको छ । यसले गर्दा मुलुकको राजस्व संकलनका साथै आन्तरिक अर्थतन्त्र चलायनमा समेत प्रतिकूल प्रभाव पारेको देखिन्छ । यस अवस्थाको न्यूनीकरणका लागि निर्यात व्यापारको प्रवद्र्धन आवश्यक भएको छ ।

नेपालको वैदेशिक व्यापारको कुल हिस्सामा निर्यात व्यापारको अंश ज्यादै न्यून हुने गरेको छ । भन्सार विभागको पछिल्लो तथ्यांकनुसार आव २०८०÷८१ को पहिलो नौ महिनाको अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँको कुल वैदेशिक व्यापार भएकामा निर्यातको योगदान १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ रहेको जनाएको छ । यो अंश कुल व्यापारको ८ दशमलव ८९ प्रतिशत मात्र हो । यसैगरी, गत आवको सोही महिनासम्मको तुलनामा निर्यात व्यापारमा ३ दशमलव ६६ प्रतिशतले कमी आएको छ । गत चैतसम्म नेपालले १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । यस अवधिमा नेपालबाट निर्यात भएका वस्तुहरूमा फलाम तथा फलामका उत्पादनहरू, यार्न, ऊनी गलैंचा, तयारी पोसाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामानहरू, ऊनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना सल, कुकुर बिरालाका आहारा, पिना, जडिबुटी, कपडा, पास्ता तथा चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादनहरू प्रमुख रूपमा रहेका छन् ।

नेपालको वैदेशिक व्यापारको सुरुवाती चरण सन् १९५० को दशकमा दुई छिमेकी मुलुक भारत र चीनको तिब्बतसँगको व्यापारदेखि सन् २००४ मा विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएपछिको समयसम्म पनि निर्यात गर्ने वस्तुहरूको संरचनामा खासै परिवर्तन आएको देखिँदैन । जुट र जुटका सामान, पश्मिना, गलैंचा, तयारी पोसाक, जडिबुटी, छाला, दाल, वनस्पति घिउ, तेलजस्ता कृषिजन्य वस्तुहरूले नै सधैं अड्डा जमाएर बसेको देखिन्छ । कृषिप्रधान मुलुकका रूपले परिचित हाम्रो मुलुकको निर्यात व्यापारको मूल संरचना पनि कृषिमै हुनु स्वाभाविक नै हो । तर पनि, निर्यात हुने प्रमुख वस्तुहरूको सूचीमा दशकौंदेखि एकै प्रकारका वस्तुहरूले प्रभुत्व जमाउनु अनि अपेक्षित लाभ प्राप्त गर्न नसक्नुलाई समस्याका रूपमा हेर्न सकिन्छ । यसबाट के प्रस्ट हुन्छ भने नेपालको निर्यात व्यापारमा विविधीकरणको आवश्यकता भएको छ ।

निर्यात व्यापारको विविधीकरणका लागि परम्परागत ढाँचाले वस्तुहरूको छनोट गर्नुको सट्टा विश्वबजारमा तुलनात्मक लाभ बढी भएका र स्थानीय स्रोतसाधनको उपयोगबाट उत्पादन गर्न सकिने वस्तुहरूको पहिचान गर्नुपर्ने आवश्यकता देखिन्छ । नेपाल भौगोलिक एवं सांस्कृतिक विविधताले धनी मुलुकका रूपमा परिचित छ । हिमाल, पहाड र तराईमा अवस्थित प्राकृतिक स्रोतहरूको उपयोगले वैदेशिक व्यापारबाट लाभ प्राप्त गर्नसक्ने अवसर देखिन्छ । हिमालमा रहेका जडिबुटी तथा औषधिजन्य वस्तुहरू, पहाडमा रहेको खनिज र तराईमा अवस्थित वनजंगल तथा नदीनालाको उपयोगले निर्यात व्यापारलाई विविधीकरणतर्फ डो¥याउन सहयोग पुग्ने देखिन्छ । नेपालमा विश्वमै दुर्लभ रूपमा पाइने पाँचऔंले, बज्रदन्ती, यार्सागुम्बा, लघुपत्र, सताबरी, सर्पगन्धा, पाखनवेद, घोडताप्रे, जिम्मु, जेठीमधु, गामडोल, गुच्ची च्याउ, चिराइतोजस्ता जडिबुटीहरू पाइन्छ । अहिलेसम्म नेपालमा यी जडिबुटीको व्यस्थित रूपमा व्यवसायीकरण हुन सकेको देखिँदैन । अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग भएका यी जडिबुटीको उत्पादन र बजारीकरणमा रहेका कानुनी अड्चनहरूलाई हटाइ यसको प्रवद्र्धनका लागि आगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

परम्परागत रूपमा भन्दा पनि विश्वबजारमा तुलनात्मक लाभ बढी भएका वस्तुको निर्यात व्यापारमा विविधीकरणको आवश्यकता छ

नेपाल खनिज सम्पदाका दृष्टिले समेत धनी मानिन्छ । यहाँ पाइने प्रमुख खनिज स्रोतहरूमा फलाम, चुनढुंगा, तामा, अभ्रख, म्याग्नेसाइट, कोबाल्ट, मार्बल, कोइला, गन्धक, निकेल, सुन, गेरू, खरी आदि पर्छन् । नेपालमा प्रचुर मात्रमा खनिज रहेको भनिए पनि यसको उपयोग हुन नसकेको आरोप छ । खनिजस्रोत मुलुककमा औद्योगीकरणको विकास र विस्तारका लागि आधारस्तभ मानिन्छ । केही खनिजस्रोतबाहेक नेपालमा यसको उचित उपयोग हुन नसकेको अवस्था छ । प्रचुर मात्रमा कच्चा पदार्थ रहे पनि उपयोग हुन नसकेको भनिएको सिमेन्टको उत्पादनले अहिले भने केही लय लिन थालेको देखिन्छ । यसको उत्पादनले अन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय बजारको मागसमेत पूरा गर्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकनुसार चालू आवको पहिलो ९ महिनाको अवधिमा सिमेन्ट निर्यात ६०२ प्रतिशतले बढेको देखिएको छ । गत आव (०७०÷८०) को पहिलो ९ महिनामा जम्मा ४२ करोड ३१ लाख ८९ हजार रुपैयाँबराबरको ४ लाख ६४ हजार ३ सय २९ टन सिमेन्ट र क्लिंकर निर्यात गरेकामा चालू आवको सोही अवधिमा २ अर्ब ९७ करोड ४६ लाख रुपैयाँबराबरको २५ लाख ९ हजार ५ सय ७८ टन सिमेन्ट र क्लिंकर निर्यात गरेको छ । गत वर्षको सो अवधिको तुलनामा यस आवको सोही अवधिमा सिमेन्ट र क्लिंकर निर्यात परिमाणमा ४४० प्रतिशतले र मूल्यमा ६०२ प्रतिशतले बढेको जनाइएको छ । नेपालबाट निर्यात भएको सिमेन्ट र क्लिंकर गन्तव्य सबै भारत रहेको छ ।

सिमेन्ट निर्यातको इतिहास हेर्ने हो भने आव २०६९÷७० मा नेपालले पहिलोपटक छिमेकी मुलुक भारतमा निर्यात गरेको थियो, तर यसले निरन्तरता पाउन सकेको थिएन । पछिल्ला दुई आवदेखि फेरि सिमेन्ट निर्यातले निरन्तरता पाएको छ । आव २०७७÷७८ मा ८३ हजार रुपैयाँबराबरको ११ टन सिमेन्ट निर्यात भएकामा आव २०७८÷७९ मा १२ लाख ९३ हजार रुपैयाँबराबरको १५ हजार १ सय ८९ टन सिमेन्ट निर्यात भएको थियो । सरकारले सिमेन्ट निर्यातमा नगद अनुदान दिनेलगायतका व्यवस्था गरेकाले उद्योगीहरू निर्यात गर्न उत्साहित भएका जनाइएको छ । हाल पाल्पा सिमेन्टको ‘तानसेन’ र अर्घाखाँची र बालाजी ब्रान्डका सिमेन्ट भारतमा निर्यात हुन थालेका छन् । अहिले मुलुकमा ६५ वटा सिमेन्ट उद्योग छन् । यी उद्योगले सिजनमा ७० लाख र अफ सिजनमा ३० लाख टन सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता राख्छन् । मुलुक अहिले सिमेन्टमा आत्मनिर्भर भइसकेकाले यसको निर्यातका लागि थप पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।

नेपाल जलविद्युत्को प्रचुर सम्भावना बोकेको मुलुकमा पर्छ । यहाँ अवस्थित भौगोलिक धरातल र १२ महिना बग्ने नदीनालाबाट प्रचुर मात्रमा जलविद्युत् उत्पादन गर्ने क्षमता रहेको अनुमान गरिएको छ । पहिल्लो समय नेपाली अर्थतन्त्रमा आशाको किरण जगाएको प्रमुख क्षेत्रका रूपमा जलविद्युत् क्षेत्र देखिएको छ । नेपालबाट उत्पादित जलविद्युत्को व्यापार आन्तरिक बजारमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धी बनेको छ । विशेषगरी, छिमेकी मुलुक भारतसँगको विद्युत् व्यापारमा देखिएको उत्साहजनक प्रगतिले ऊर्जा क्षेत्रबाट मनग्य लाभ लिनसक्ने सम्भावना देखाएको छ । यसैगरी, अहिले भर्खरै अर्को छिमेकी मुलुक बंगलादेशसँग समेत विद्युत् व्यापारको ढोका खुलेपछि आगामी दिनमा अझ व्यापार विस्तार हुँदै जाने अनुमान लगाउन सकिन्छ । विद्युत् व्यापारबाट मात्र गत वर्ष नेपाल विद्युत् प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ । चालू आवको पहिलो ६ महिनामा मात्र विद्युत् व्यापारबाट १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो । विद्युत् निर्यातको सुरुवाती २ वर्षको अन्तरालमा देखिएको उत्साहलाई आधार मान्ने हो भने आगामी दिनमा विद्युत् व्यापारले नेपालको निर्यात व्यापारलाई उचाइमा पु¥याउने आँकलन गर्न सकिन्छ । नेपालमा अहिले केही ठूला विद्युत् परियोजनाका साथै साना–साना परियोजनासमेत पूरा हुने अवस्थामा छन् । यी परियोजनाबाट उत्पादित विद्युत् सहज रूपमा प्रसारण तथा वितरण गर्न सकेको खण्डमा मुलुकले अपेक्षित लाभ लिनसक्ने अवस्था छ ।

स्थानीय स्रोतसाधनको उपयोगबाट उत्पादन गर्न सकिने कृषिजन्य वस्तुसँगै तुलनात्मक लाभका अन्य वस्तु उत्पादन र निर्यातमा पहल लिनुपर्छ

नेपालको निर्यात व्यापार प्रवद्र्धनका लागि यसको दिशामा समेत विविधीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालको निर्यात व्यापारको दुई तिहाइभन्दा बढी हिस्सा छिमेकी मुलुक भारतसँग मात्र हुने गरेको देखिन्छ । चालू आवको ९ महिनामा भारततर्फको निर्यात ७७ अर्ब ८५ करोडमा रहेको छ । यो कुल निर्यात व्यापारको ६८ दशमलव ३२ प्रतिशत हो । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकमा संयुक्त राज्य अमेरिका, जर्मनी, यूके, टर्की, क्यानडा, फ्रान्स, चीन, अस्ट्रेलिया, जापान, इटाली, नेदरल्यान्ड्स, डेनमार्क र यूएई प्रमुख रूपमा रहेका छन् । खुला सिमाना र मुलुकको भौगोलिक अवस्थितिले गर्दा भारतसँगको व्यापार ज्यादा हुनु स्वाभाविक हो, तर अन्य तेस्रो मुलुकमा पनि नेपाली वस्तुको बजार विस्तारका लागि पहलको आवश्यकता देखिन्छ । नेपाली हस्तकला, तयारी पोसाक, जडिबुटी, जुट र जुटका सामान, पश्मिना, गलैंचा आदि सामानको धेरै माग तेस्रो मुलुकमा हुने हुँदा यी सामानको उत्पादन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ ।

कुनै पनि मुलुकको अर्थतन्त्र बलियो बनाउन त्यस मुलुकको निर्यात व्यापारले समेत महत्वपूर्ण भूमिका खेल्ने गर्छ । निर्यातको परिमाण बढाउँदै आयातको परिमाण घटाउन सकेको खण्डमा समग्र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्नसक्छ । यसले आन्तरिक स्रोतको परिचालन हुनुका साथै उद्योग कलकारखानाको स्थापनाका लागि बलियो आधार खडा गर्नसक्छ । मुलुकभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्छ । यसका लागि परम्परागत रूपमा निर्यात हुँदै आएका कृषिजन्य वस्तुहरूसँगै तुलनात्मक लाभका अन्य वस्तुहरूको उत्पादन र निर्यातमा पहल गर्नुपर्ने आवश्यकता देखिन्छ । नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस)–२०१६ ले पहिचान गरेका तुलनात्मक लाभका १६ वस्तुहरू– अलैंची, अदुवा, चिया, जडिबुटी, रेसादार टेक्सटाइल तथा यार्न, छाला, जुत्ता तथा चप्पल, पश्मिना र गलैंचा अनि सेवा क्षेत्रअन्तर्गत दक्ष तथा अर्धदक्ष मानव संसाधन, पर्यटन र सूचना प्रविधिलाई समेत आत्मसाथ गर्दै आगाडि बढ्नुपर्ने आवश्यकता छ । निर्यात क्षमता बढाउनका लागि आवश्यक भौतिक एवं सामाजिक पूर्वाधारहरूको विकासका साथै विश्वबजारको आबद्धतालाई विस्तार गर्नुपर्ने देखिन्छ । हामीले आफ्ना तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभका क्षेत्र तथा वस्तुहरूको पहिचान गरी निर्यात व्यापारलाई अगाडि बढाएको खण्डमा छिट्टै नै वैदेशिक व्यापारमा भोगिरेहेको समस्या समाधन हुने आशा गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणुलाई १९ सय ६ मतको अग्रता