एउटा अधुरो प्रेमकथा

युमाश शेर्पा

चलचित्र छायांकन गर्ने बहानामा एउटा गिरोह निकै सक्रिय छ । सहरका गल्ली, टोल र आलिशान घर गिरोहको टार्गेटमा हुन्छन् । ‘सुटिङ गर्ने’ भन्दै ठूला घरभित्र पसेर निगरानी बढाउने र कोही नभएको मौका छोपेर गरगहना कुम्ल्याउने गिरोह प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा हुन्छ । सुटिङ गरेजस्तै गरी भीड भेला पार्ने र पाकेटमारीको जञ्जाल रच्न सफल गिरोह प्रहरीको फन्दा छल्न बारम्बार सफलसमेत भइरहन्छ । उनीहरूलाई पक्राउ गर्न असफल बनिरहँदा अब भने घुमाउरो रणनीति बनाउन थाल्छ, प्रहरी ।

स्वभावले छुच्चो हेरा ताम्राकार अर्थात् हेता (आशाकाजी थकु)लाई टोलछिमेकमा कसैले पनि मन पराउँदैनन् । बाटो हिँडिरहेका मान्छेलाई घरको झ्यालबाट लुकीलुकी ढुंगा हान्ने, अर्काको भाले चोरेर बेच्ने र मनपरी गाली गर्ने हेताको नेपरिएको बानी सबैका आँखामा बिझाउनेखाले हुन्छ । ‘ससुराको निधन कहिले होला र ससुरालीको सम्पत्तिमा कहिले मोजमस्ती गर्न पाइएला ?’ भन्ने दिवास्वप्न बोकेका हेताको पर्स पनि तिनै सुटिङको नाटक गर्ने गिरोहले झ्याप पारेको हुन्छ ।

रैथाने मखन दास (भीमसेन रिजाल) टोलछिमेकका धनाढ्य हुन् । ‘छोराछोरा’ भन्दाभन्दै तीन छोरीका पिता बनेका मखन साहु अलि कडक स्वभावका छन् । उनका दुई छोरीले भागीविवाह गरिसके । कान्छी छोरी आराध्या (आराध्यालक्ष्मी खड्गी) बाकु अर्थात् बालकुमार (आरएल महर्जन)सँग प्रेममा छिन् । एक दिन टोलमै सेल्फी लिँदैगर्दा उनकी आमा पार्वती (मञ्जु श्रेष्ठ)ले प्रेमीसँग रंगेहात पक्राउ गर्छिन् । त्यसपछि आराध्याको अर्कै केटासँग विवाह गरिदिने कुरा अघि बढ्छ । मखन दास छोरीलाई कडा आवाजमा भन्छन्, ‘तेरो बिहे त्यो केटासँग यो जुनीमा असम्भव छ, बुझिस् !’

नरम स्वभावका सीताराम (कुमार कार्की) श्रीमतिको दैनिक कचकचबाट दिक्क छन् । भात खान बस्दासमेत श्रीमतिपीडित बन्नुपरेपछि तीन छोराका पिता सीताराम दिक्दार नबने अरू को होला र ? नालायक तीन छोरालाई अंशबन्डा गरिदिन श्रीमतिको दैनिक दबाब निर्मूल पार्न उनी आफू मरेको नाटक गर्नसम्म पछि पर्दैनन्, जसमा श्रीमतिले समेत साथ दिन्छिन् । त्यसपछि तीन छोराको वास्तविक चरित्र छताछुल्ल हुन्छ । श्रीमतिको कचकच पनि साम्य हुन्छ ।

कथन नै छ, ‘जुनसुकै बेला अवशकुन बोल्नुहुन्न, जिब्रोमा सरस्वतीको बास परेका बेला सत्य साबित भइदिन्छ ।’ नेपाल भाषाको कथानक चलचित्र ‘लिबाय् धुंकाः’को उल्लिखित प्रसंग यहाँ कोट्याइरहँदा धेरै पक्ष उजागर भइदिन्छन् ।

नेपाली समाज बाहिरी रूपमा जतिसुकै परिवर्तन देखिए पनि पितृ सतात्मक सोच अझै हावी छ । नेपालका सन्दर्भमा ३ करोडभन्दा बढी जनसंख्यामध्ये नगण्य प्रतिशत मात्रै जरैबाट परिवर्तन भएका होलान् । यसर्थ, ‘भाषण र शासन’ सिक्काका दुई पाटाझैं लाग्छ । भाषण एउटा, शासन अर्कै । देखावटी र आडम्बरकै बलमा समाज अघि बढिरहेको छ ।

तीन दशकभन्दा बढी समयदेखि कला–साहित्यमा क्रियाशील राजेशमान सिंहले चलचित्र ‘लिबाय् धुंकाः’मा भिन्न पात्रका चरित्र सामाजिक परिवेशमा बुन्ने प्रयास गरेका छन् । विशेषतः हास्य रसका कथा उन्न रुचाउने सिंह निर्देशित यस चलचित्रले पनि सोही धार पकडेको छ ।

फरक पात्र, फरक परिवेश र फरक दृश्य एकत्रित पारेर कथा सलल बगाइएको ‘लिबाय् धुंकाः’ मूलतः हास्यप्रधान चलचित्र हो । हेरुन्जेल कथामा कतै पनि ‘ग्यापिङ’ महसुस हुन्न । एकपछि अर्को विषयवस्तु बा“धिएर आएका कारण दृश्य ‘जम्प’ भएझैं लाग्दैन । यसमा कीर्ति श्यामसुन्दर जोशी र पीयूष कायस्थको सम्पादन मेहनत प्रस्ट झल्किएको छ ।

परिपक्व कलाकारका अभिनयमा खोट लगाउने ठाउँ कमै भेटिन्छन् । प्रहरी निरीक्षकको भूमिकामा देखिएका निर्देशक सिंहको लामो कपालले भने दर्शकको मन चिथोरिरहन सक्छ । वियोगान्त कथामा आधारित चलचित्र अर्कोतिर प्रेमिल दर्शाउन खोजिएको आभाष हुन्छ । निर्देशकका अनुसार अन्त्यमा नायक–नायिकाको मिलन भइदिएको भए कथा खल्लो बन्न सक्थ्यो ।

थोरै चरित्र, धेरै सन्देश दिन खोजेका निर्देशक सिंहले कथा लेखनीमा ‘मनोवाद’ प्रयोगलाई पनि स्थान दिएका छन् । मुख्य पात्रमध्ये एक हेताको ‘मनोविनोद’मार्फत उनले हास्य रस छताछुल्ल पारेका छन् । यसै कारण पनि चलचित्र हेरुन्जेल दर्शकले कतै पनि आफूलाई ‘बोर’ महसुस गर्न पाउँदैनन् । यही नै निर्देशकीय कौशल हो । दर्शकलाई साढे २ घण्टा पर्दामा केन्द्रित गर्नसक्नु चानचुने कुरा पक्कै होइन । कथा, पटकथा, संवाद, गीत लेखनमा समेत सिंहको दक्खल देखिएको छ ।

चलचित्रकै कथाझैं छोराको आशामा एकपछि अर्को छोरी जन्माउने पितृ सतात्मक सोच अझै व्याप्त छ । पितृकै सम्पत्तिमा आँखा गाडेर बेरोजगार डुलिहिँड्ने छोराहरू समाजमा बग्रेल्ती भेटिन्छन् । हेताजस्ता नेपरिएका पात्रहरू टोलछिमेकमा कसिंगर बनेर सबैलाई बिझाइरहेका छन् भने विभिन्न बहानामा (वर्तमान स्थितिमा सहकारी प्रकरण) ठगी, लुटपाट र चोरी गर्ने गिरोह प्रतिदिन मौलाइरहेका छन् ।

मूलधारका नेपाली चलचित्र फाँटमा लामो समयदेखि क्रियाशील वीरेन शाक्यको पाश्र्व संगीत तारिफयोग्य लाग्छ भने सुरज श्रेष्ठको द्वन्द्व निर्देशनले मसलादार बन्न सहयोग पु¥याएको छ । चलचत्रिको शीर्षगीत ‘लिबाय् धुंकाः’लाई गायक सानुबाबु महर्जनले न्याय गरेका छन् । गीतको माधुर्यले दर्शकलाई आँसु झार्नसम्म बाध्य पार्छ । गायक महर्जनका अतिरिक्त संगीतकार सुमन कपाली र रत्नशोभा महर्जनले पाश्र्वगायन गरेका छन् ।

मुख्य पात्र आशाकाजी थकु, नारायणदेवी प्रधान, मञ्जु श्रेष्ठ, आरएल महर्जन (नायक), आराध्यालक्ष्मी खड्गी (नायिका), सुरज श्रेष्ठ, भीमसेन रिसाल, कुमार कार्कीको अभिनय सान्दर्भिक लाग्छ । नायिका खड्गीले चलचित्रमा पहिलोपटक कोरियोग्राफीको जिम्मेवारीसमेत निर्वाह गरेकी छन् । ठूला पर्दाका लागि पहिलो चलचित्रमा देखिएकी उनको अभिनयमा ‘नयाँ’को छनक देखिन्न । उनको ‘अपोजिट’मा आरएल महर्जनले न्याय गरेका छन् ।

सहायक भूमिकामा रामराजा भाम, उत्तम खत्री, मोहिद्दिन खान, मैया श्रेष्ठ, देवकुमारी खड्गी, आश्मा देशार, राजेश श्रेष्ठ, भेष महर्जन, प्रवीण शाक्य, राजेश महर्जन, राकेश खड्गी देखिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल