बीपीसीको लापर्बाहीः तीन दशकदेखि जोखिमयुक्त विद्युतीय तार वितरण

स्याङ्जा । स्याङ्जाको वालिङ ६ पाण्डेगाउँमा विद्युत् गएको झन्डै तीन दशक पुगेको छ । तीन दशकदेखि यहाँका बासिन्दाले रूखको सहारामा विद्युत् सेवा प्रयोग गर्दै आएका छन् । टुकी बालेर रात गुजारेका यहाँका नागरिकलाई गाउँमा विद्युत् सेवा आइदिए मात्रै हुन्थ्यो भन्ने आशा थियो । तर, रूखमा बाँधिएर लगिएको विद्युत् कति गुणस्तर र जोखिम हुन्छ भन्ने थाहासमेत थिएन । तर, अहिलेसम्म पनि रूखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ता सेवा लिन बाध्य छन् । रूखमा टाँगिएर लगिएको विद्युत् कति जोखिम हुन्छ भन्ने विषयमा अनविज्ञ रहेका पाण्डे गाउँका मानिसलाई बिजुली बत्ती आए मात्रै हुन्छ भन्ने लागेको थियो । तर, अहिलेसम्म पनि रूख हटाएर पोलमा ती तार सारिएको छैन । पाण्डे गाउँ मात्रै होइन झन्डै तीन दशकदेखि वालिङ आठ भीमटारीका नागरिक पनि रूखमै टागिएको तारमार्फतको विद्युत् प्रयोग गर्न बाध्य छन् । नगरपालिकाको राजधानी रहेको वडामा त यस्तो अव्यवस्थित सेवा प्रवाह गरेको बीपीसीले अन्य क्षेत्रमा समेत गुणस्तरीय सेवा प्रवाह गर्न सकेको छैन भन्ने तथ्य सहजै अनुमान गर्न सकिन्छ ।

बुटवल पावर कम्पनीमार्फत् आँधीखोला जलविद्युत् केन्द्रले वितरण गरेको विद्युत् सेवा लामो समयदेखि गुणस्तरीय भएन भन्ने गुनासो आइरहे पनि अहिलेसम्म यसतर्फ कसैको ध्यान पुगेको छैन । यी दुई गाउँ जोखिमयुक्त सेवा लिने प्रतिनिधि मात्रै हुन् । बीपीसीले वितरण गरेको भीरकोट, वालिङ, गल्याङ, चापाकोट र रामपुर नगरपालिकाका ग्रामीण क्षेत्रमा अझै पनि रूखमा टागेको कालो तारको विद्युत् सेवा लिन उपभोक्ता बाध्य छन् । स्याङ्जा र पाल्पाका झन्डै ४० हजार घरधुरीमा बीपीसीले विद्युत् सेवाप्रवाह गरेको छ । कति प्रतिशत घरधुरीले जोखिमयुक्त बत्ती बालेका छन् भन्ने तथ्यांक बीपीसीसँग छैन ।

कम्पनीका वितरक प्रमुख प्रकाश श्रेष्ठका अनुसार रूखको सहारामा सेवाग्राहीले बत्ती बालेको स्वीकार गरे । कति प्रतिशत नागरिकले जोखिमयुक्त बत्ती बालेका छन् भन्ने तथ्यांक छैन उनले भने, ‘तर, यसको स्टिमेट भने निकालिएको छ, अब छिट्टै रूखबाट झिकेर पोलमा सार्छौं ।’ बजेट धेरै लाग्ने भएकाले यो काममा ढिलाइ भएको हो उनले भने । आँधीखोला जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतमा घाटा भएकाले महसुल समायोजन गरिदिन श्रेष्ठले आग्रहसमेत गरे । विद्युत् प्राधिकरणले पटकपटक महसुल बढाउन पाउँदा बीपीसीले बढाउन पाएन उनले भने, ‘महसुल वृद्धि नहुँदा कम्पनीले गुणस्तरीय सेवाप्रवाह गर्न कठिन भयो ।’ जसले गर्दा नागरिकलाई गुणस्तरीय विद्युत् सेवाप्रवाह गर्न पाएका छैनौं भन्ने महसुस हामीलाई भएको छ उनले भने । अहिलेको उत्पादनले कर्मचारी व्यवस्थापन खर्चमा मात्रै पुग्ने भएकाले कम्पनी अप्ठ्यारोमा परेको श्रेष्ठले बताए ।

२०४९ सालदेखि स्याङ्जाको गल्याङमा आँधीखोलाबाट ५ दशमलव १ मेगावाट विद्युत् उत्पादन गर्दै सुरु गरेको आयोजना अहिले ९ दशमलव ४ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । विद्युत् उत्पादन गरेदेखि पहिलोपटक गल्याङ्मा वितरण सुरु गरेको बीपीसीले अहिलेसम्म हरिया रूखलाई प्रयोग गरेर विद्युत् सेवा दिँदै आएको छ । गुणस्तरीय सेवामा ध्यान दिन नसकेको कम्पनीले अहिले घाटा भयो भन्दै विद्युत नियमन आयोगमा विद्युत् महसुल समायोजन गरिदिन प्रतिवेदन पेस गरेको छ । बुटवल पावर कम्पनीले प्रवाह गरेको विद्युत् सेवाबाट स्थानीय सरकारका प्रमुखसमेत सन्तुष्ट छैनन् ।

अस्तव्यस्त बनाएर सेवाप्रवाह गर्दा नागरिकले असुरक्षित विद्युत् सेवा प्रयोग बाध्य भएको स्थानीय सरकारका प्रमुख बताउँछन् । गुणस्तरीय सेवा दिएर मात्रै विद्युत् महसुल समायोजन हुनुपर्ने माग उनीहरूको छ । यसतर्फ विद्युत् नियमन आयोगको ध्यान जानसमेत उनीहरूले माग गरेका छन् । कम्पनीले वितरण गरेको क्षेत्रमा पुगेर अनुगमन गरिदिन समेत आयोगललाई स्थानीय सरकारका प्रमुखको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराका पालिका प्रमुखमा चार जना अधिवक्ताको उम्मेदवारी