काठमाडौं । पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा केही दिनअघि दुई जना डुबे । माछा मार्न गएका ५ जनामध्ये सोही महानगरपालिका–१ कसेरी बस्ने ४० वर्षीय मंगा तामालाई सशस्त्र प्रहरी बल नेपालको नम्बर २४ कालिका गण कास्कीबाट खटिएका गोताखोर र विपद् उद्धार टिमले शव फेला पा¥यो ।
त्यस्तै, सिन्धुपाल्चोकको ब्रह्मायणी नदीमा बेपत्ता भएका वीरबहादुर विकको शव सशस्त्र प्रहरी गोताखोरले घटनाको तीन दिनपछि अर्थात् ६ चैतमा फेला पा¥यो । सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ कल्लेरी बस्ने विकको खोजीमा नम्बर २० विपद् उद्धार गण सिनामंगलबाट ७ जना गोताखोरसहित १६ जनाको फौज परिचालन गरिएको थियो । गोताखोरले नदीको करिब २० फिट गहिराईबाट उनको शव फेला पारेको थियो ।

धेरैको चासो हुन सक्छ, गोताखोर टोलीले नदीमा डुबेका व्यक्तिको कसरी खोजी गर्छ ?
गोताखोर टोली पानीभित्र प्रवेश गरेपश्चात् सबैभन्दा पहिले टिम कमाण्डरले ‘लिगेज’ छ छैन यकिन किन गर्न लगाउँछ र लिगेज नभएको निश्चित भएपश्चात् मात्र उद्धारका लागि पानीमुनि जान आदेश दिन्छ । त्यसपछि पानीमुनिको गोताखोर र ‘सरफेस’को गोताखोरबीच डोरी वा लाइफलाइनद्वारा सञ्चार गर्ने गर्छ । जसमा सीडीआरले ड्राइभर लेफ्ट सरफेस, ड्राइभर मिट बटम, ड्राइभ लेफ्ट बटम, ड्राएभ अन सरफेस जस्ता सिग्नल दिने गरिन्छ । अब्जेक्ट फाउन्डको सिग्नल आएमा गोताखोर टिमले हराएका व्यक्ति पत्ता लगाएको संकेत प्राप्त गर्छ । यसरी पत्ता लगाएपश्चात् अब्जेक्टलाई सरफेसतर्फ निकालिन्छ । र, उद्धारपश्चात् शवलाई ‘डेड बडी मेनेजमेन्ट’अनुसार ‘डेड बडी व्याग’मा राखी सशस्त्र प्रहरीका उद्धारकले स्थानीय प्रहरीलाई हस्तान्तरण गर्छन् । त्यसपछि स्थानीय प्रहरीले लासको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया थाल्छन् ।

सशस्त्र प्रहरीले नदीमा डुबेका कयौंलाई नयाँ जीवन दिएको छ । यसको पछिल्लो उदाहरण हो, कास्कीस्थित फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका स्याङ्जाका अर्जुन चौपारी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय सोभित परियारको उद्धार । २० चैतमा बोटिङ गर्नेक्रममा अचानक आएको हावाहुरीका कारण बोट पल्टिन गई उनी तालमा खसेका थिए । सो घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेलातालस्थित रेस्क्यू टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै सकुशल उद्धार गरेको थियो ।
सशस्त्र प्रहरीले कयौंलाई अर्धचेत अवस्थामा पनि उद्धार गरेको छ । ‘मेडिकल टर्म’ अनुसार ‘पल्स’ र ‘रेस्पिरेसन’ नभएको अवस्थामा पनि ६ मिनेटसम्म व्यक्तिको जैविक मृत्यु भएको मानिँदैन । यदि त्यो समयभित्र राम्रो मेडिकल ज्ञान भएको ‘एमएफआर’ले सीपीआर विधिद्वारा अचेत व्यक्तिको ‘रेस्पिरेसन’ र ‘पल्स’ पुनः प्राप्त गर्न सफल भएमा पीडितको जीवन रक्षा हुन्छ । यस्तो अवस्थामा पीडितलाई ‘टे«न एमएफआर’ले लुक, लिसन र फिल गरी पीडितको पुनर्जीवनका लागि ‘सीपीआर’ विधि सञ्चालन गरिन्छ र पीडित होसमा आएपछि थप उपचारका लागि लग्ने गरिन्छ ।

वास्तवमा, विपद्सँग सम्बन्धित कुनै पनि घटना भए अहिले सबैभन्दा पहिले सम्झिने नाम नै सशस्त्र प्रहरी बनेको छ । तत्काल उद्धार कार्य गर्न सक्षम, कुशल एवं तालिम प्राप्त दक्ष जनशक्ति र विपद्जन्य घटनामा खेलेको भूमिकाले यो सम्भव भएको हो ।
सशस्त्र प्रहरीले सातवटै प्रदेशमा र काठमाडौं उपत्यकाका लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर–२० गण ‘हेड क्वाटर’ (विपद् उद्धार) काठमाडौं स्थापना गरी विभिन्न विपद्रुमा मानवीय तथा प्राकृतिक प्रकोपमा खोज तथा उद्धार कार्य गर्दै आइरहेको छ । साथै विपद् उद्धार र जोखिम न्यूनीकरणका लागि सदैव तयारी अवस्थामा आफूलाई राख्दै आएको छ ।
सशस्त्र प्रहरी बल, नेपालमा गोताखोर टोली स्थापनाका लागि मित्रराष्ट्र बंगलादेशमा गई २५ जना सशस्त्र प्रहरी कर्मचारीले १३ वर्षअघि ‘डिप वाटर डाइभिङ’ तालिम प्राप्त गरेका थिए । त्यसपश्चात् सो टोलीले सशस्त्र प्रहरी बल, नेपालमा गोताखोर तालिम सञ्चालन गराइरहेको छ । अहिले सशस्त्रसँग ९१ जना गोताखोर तालिमप्राप्त जनशक्ति रहेको छ । देशको भौगोलिक अवस्थालाई मध्यनजर गरी पूर्व मेचीदेखि पश्चिम महाकालीका विभिन्न स्थानमा खोज तथा उद्धारका लागि तुरुन्त परिचालित हुन आवश्यक सामग्रीसहित सो टोलीलाई स्ट्यान्ड बाई राखिएको छ ।
सशस्त्र प्रहरीले आर्थिक वर्ष २०८०÷८१ मा ५० वटा घटनाका २२ जनाको मृतकको उद्धार गरेको थियो । समुद्र सहतहबाट ४ हजार ७ सय ५० मिटरको उचाइमा अवस्थित गोक्यो तालमा कठ्यांग्रिँ्रदो जाडोमा पौठेजोरी खेल्दै होस् वा कोशीको चौडाइ, त्रिशूलीको अत्याधिक बहाब र विभिन्न तालको गहिराइको पिधसम्म गई गोताखोर टोली आफ्नो ज्यानको बाजी राखेर आमजनताको खोज तथा उद्धार गर्ने कार्यमा समर्पित हुँदै आएको छ ।

विपद् जोखिमका हिसाबमा नेपाल विश्वमै २०औं स्थानमा रहेको छ भने जलवायु परिवर्तनसम्बन्धी जोखिममा चौथो स्थानमा, भूकम्पीय जोखिममा ११औं स्थान र बाढी पहिरोको जोखिमको हिसाबले ३०औं स्थानमा रहेको छ । विपद् जोखिमको अग्रस्थानमा रहेकाले जुनसुकै समयमा विपद् प्रतिकार्य तथा उद्धारमा परिचनालनका लागि सदैव आवश्यक तयारीमा रहन र क्षति न्यूनीकरणका लागि समयसमयमा सशस्त्र प्रहरीले अभ्यास पनि सञ्चालन गर्ने गरेको छ ।
जल उत्पन्न प्रकोपको दृष्टिकोणले अति नै संकटासन्न मुलुकमा पर्ने नेपालमा बर्सेनि जल उत्पन्न प्रकोपकै कारण धेरै जनधनको क्षति पनि हुने गरेको छ ।
टौदहमा विपद् प्रतिकार्य अभ्यास
सशस्त्र प्रहरी बल, नेपाल नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार मनसुनको सुरुवातसँगै हुने विपद्का घटनालाई मध्यनजर राखी काठमाडौंको कीर्तिपुर नगरपालिका–६ टौदहमा विपद् प्रतिकार्य अभ्यास (मनसुन–२) सञ्चालन गरेको छ ।

सम्भावित विपद्का घटनामा प्रतिकार्यका लागि तयार रहन, सुरक्षा फौजको क्षमता अभिवृद्धि र सामग्रीको अध्यावधिक गर्नुका साथै सरोकारवाला निकायबीच समन्वय कायम गरी एकआपसमा सीप आदान–प्रदान गर्न र विपद्को समयमा हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रभावकारी रूपमा सुरक्षा फौज परिचालन गर्न मद्दत पुग्ने उद्देश्यसहित विपद् प्रतिकार्य अभ्यास सञ्चालन गरिएको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले विपद् प्रतिकार्यमा सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायबीच सहकार्य र समन्वयको भावना विकास होस् भन्ने अभिप्रायले कार्यक्रम गरिएको बताए । उनले सशस्त्र प्रहरी बल, नेपालले जल उत्पन्न प्रकोप, आगलागी, भूकम्प जस्ता विभिन्न विपद्जन्य घटनामा खोज तथा उद्धार कार्यलाई चुस्त, दुरुस्त गरी थप प्रभावकारी बनाउन समयसमयमा यस्ता अभ्यासको आयोजना गर्दै आइरहेको बताए ।

कार्यक्रममा नम्बर–९ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले विपद् जोखिम न्यूनीकरण तथा तयारी गर्ने कार्यमा स्थानीय तह र सरोकारवाला निकायसँग बाहिनी तथा मातहत कार्यालयले सदैव समन्वय तथा सहकार्य गरी अगाडि बढिरहेको बताए ।
कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले स्थानीय स्रोतसाधनको प्रयोग गरी ¥याफ्ट बोट, मोटरबोट, डकी बोटको सहायताले पीडितको छिटो र छरितो गर्न सकिने उद्धारको अभ्यास गरेका थिए भने गोताखोर तालिम प्राप्त सुरक्षा फौजले पानीको गहिराइमा डुबेका पीडतको उद्धार कसरी गर्न सकिन्छ भन्ने अभ्यास गरेका थिए ।
यसअघि गत फागुन १५ गते सो बाहिनीको आयोजना र चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा केवलकार आपत्कालीन उद्धार अभ्याससमेत सञ्चालन गरिएको थियो ।