मे दिवसको सार्थकता

विश्वभरिका श्रमिकहरूले आफ्नो विजय उत्सवका रूपमा मनाइने यस दिवसले सधैं नै उत्तिकै महत्व राख्छ । यसरी विश्वमा पहिलोपटक आफ्ना वर्गको अधिकार स्थापना गर्न सफल भएकाले यस दिनले विश्वव्यापी महत्व पाएको हो । फलतः जतिबेला श्रमजीवीवर्गले आफ्नो अधिकार के हो भनेर भर्खर–भर्खर सुसूचित हुन प्रारम्भ गर्दै गरेका अवस्थामा उठेको ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको नारा बोकेर अमेरिकाको सिकागो सहरका श्रमिकहरूले गरेको मजदुर आन्दोलनमाथि भएको भीषण दमनपश्चात् प्राप्त सफलताको सम्झनामा विश्वव्यापी रूपमा मजदुरवर्गले मनाउने गरेको यस दिवसले संसारभरिका मजदुरवर्गको जीवनमा ठूलो अर्थ राख्छ । यसैक्रममा सिकागो मजदुर आन्दोलनभन्दा पहिलाका श्रमिकहरूले दिनमा १८ देखि २० घण्टासम्म काममा लाग्नुपर्ने बाध्यता बेहोरिरहेका थिए । जसका विरुद्ध भएको सिकागो आन्दोलन नै त्यस्तो आन्दोलन थियो, जुन आन्दोलनको सफलतापछि अमेरिकाका श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन आयो ।

यसरी अमेरिकास्थित सिकागो सहरका मजदुरहरूले देखाएको यो वीरतापूर्ण आन्दोलनको सन्देशले विश्वव्यापी रूपमा एउटा ठूलो हलचल पैदा ग¥यो, फलस्वरूप लेनिनको नेतृत्वमा रुसमा सन् १९१७ को अक्टोबर क्रान्ति सम्पन्न भयो र विश्वकै इतिहासमा पहिलोपटक श्रमजीवीवर्गको समाजवादी राज्य सत्ता स्थापना भयो । हुन त सन् १८७० मा भएको पेरिस कम्युनको विद्रोहले पनि मजदुर वर्गीय सत्ता हासिल त गरे, तर त्यो ७२ दिनमै ढल्न पुग्यो । तर, रुसमा लेनिनको नेतृत्वमा भएको क्रान्तिले भने दीर्घकालीन रूप धारणा ग¥यो । त्यति मात्र होइन, रुसी क्रान्ति मजदुरवर्गको नेतृत्वमा भएको व्यवस्थित क्रान्ति पनि थियो । यसका साथसाथै अक्टोबर क्रान्तिको प्रेरणाबाट पछि अरू धेरै मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिहरू सम्पन्न भए पनि हालसम्म आइपुग्दा त्यो एउटा इतिहासमा मात्र सीमित भएको छ ।

श्रमिकका अधिकारको रक्षा र श्रमिकको सम्मान गर्न सबैले सिक्नुपर्छ, जान्नुपर्छ

मुलुकमा सर्वप्रथम २००३ सालमा विराटनगर जुटमिलका मजदुरहरूले आफ्ना हक, हित र अधिकारका लागि आन्दोलन गरेका थिए भने २०१९ सालदेखि मजदुर दिवस नियमित रूपमा मनाउन थालिएको हो । तर, २०४६ सालको राजनीतिक परिवर्तनपछि मात्र श्रमिकहरूले यस दिनलाई विभिन्न कार्यक्रमका साथ खुला वातावरणमा मनाउन थालेका हुन् । मूलतः मुलुकमा श्रमलाई व्यवस्थित गर्न विभिन्न ऐन, कानुन र नियमको तर्जुमा गरिएको छ । तर, तिनको पूर्ण कार्यान्वयन हुनसकेको छैन । २०४६ सालको परिवर्तनपछि मजदुरको हकहितका लागि ट्रेड युनियनहरूको गठन भएको र तिनको सक्रियताले संगठित क्षेत्रका मजदुरहरू पछिल्ला दिनमा केही सुरक्षित भए पनि असंगठित क्षेत्रमा ठूलो संख्यामा कार्यरत मजदुरहरूको स्थिति दयनीय छ । उनीहरूले श्रमको उचित मूल्य पाए–नपाएको ख्याल राख्ने काम हुनसकेको छैन भने यसले उनीहरूमाथि न्याय हुन सकिरहेको छैन । यसले गर्दा मजदुरहरू त्रासमा रहनुपर्ने अवस्था विद्यमान छ ।

नेपालको मजदुर आन्दोलनका अगुवाहरू असफल राजनीतिक नेतृत्वको झोला बोक्नमा व्यस्त छन् भने मजदुर नेतृत्वले श्रमजीवीवर्गका आधारभूत मागहरूलाई सम्बोधन गर्न नसकेको अवस्था छ । यसरी ट्रेड युनियन महासंघहरू नेपालको ट्रेड युनियन आन्दोलनलाई आईएनजीओको पोल्टामा हाल्ने होडबाजीमा छन् र मजदुर आन्दोलनलाई निरन्तर प्रतिगामी दिशातिर धकेलिरहेका छन् । अहिले मुलुकको मजदुर आन्दोलन सैद्धान्तिक रूपमा ट्रेड युनियनवाद र अर्थवादमा फसेको छ । यसरी नै मजदुर आन्दोलनले नेपाली समाजमा जुन प्रकारको राजनीतिक योगदान दिनुपर्ने हो, त्यो गर्न नसक्ने अशक्त र बिरामी भएको छ ।

नेपाली मजदुर आन्दोलन दृष्टिहीन र दिग्भ्रमित नेतृत्वको सिकार बनेको छ । जसका कारण हालको मजदुर आन्दोलनले न उत्पादन क्षेत्रलाई वैज्ञानिक र आधुनिक बनाउन योगदान गर्न सकेको छ, न श्रमजीवीवर्गलाई राजनीतिक रूपमा सचेत र जुझारु तथा नेतृत्वदायी बनाउन सकेको छ । यसमा मात्र नेपाली मजदुरवर्गको अवस्थालाई प्रदर्शन गर्दै डलरको खेती गर्न मात्र अग्रसर देखिएको छ । नेपाली मजदुरवर्गको दैनिक जीवनस्तर खस्कँदै गएको प्रति ट्रेड युनियन नेतृत्व मौन छ । श्रमजीवीवर्गको जीवनस्तर उठाउन ट्रेड युनियन नेतृत्वले जुन भूमिका खेल्नुपर्ने हो, त्यस’bout ऊ अनभिज्ञ छ, कि त गैरजिम्मेवार छ । राजनीतिक दलको कठपुतली बनेर मजदुरवर्गको हित हुनसक्दैन ।

अतः मजदुर आन्दोलनले आफ्नो स्वतन्त्र भूमिका खोज्नुपर्छ, उससँग राजनीतिक विचार हुनसक्छ, तर मजदुर आन्दोलनलाई मजदुरवर्गीय सोच र चरित्रबाट निर्देशित गर्नु जरुरी छ । अहिले विश्वका मजदुर एक होऔं भन्ने नारा निमछरो बन्दै गएको छ । यो नारा तत्कालीन अवस्थामा कार्लमाक्र्सले मजदुरवर्गीय चरित्र र मर्मलाई केन्द्रमा राखेर उद्घोष गरेका थिए । तर, अहिले बढ्दो एनजीओकरणका कारण यस नारालाई आत्मसाथ गर्ने प्रवृत्तिमा कमी आएको छ । अहिले विश्वव्यापी रूपमा ट्रेड युनियन आन्दोलनमा देखिनुपर्ने जुझारूपन र प्रतिरोधात्मक चरित्रमा कमी आएको छ ।

यसरी मुलुकको स्थितिलाई हेर्ने हो भने हरेक वर्ष करिब साढे ४ लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । चालू आवमा वैदेशिक रोजगारमा जानेहरूको संख्याले पनि ४ लाखभन्दा बढी हुने देखिएको छ । करिब ६० हजार युवाले श्रम विभागमै पुगेर आफू बेरोजगार भएको विवरण टिपाइसकेका छन् ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको नारा बोकेर अमेरिकाको सिकागो सहरका श्रमिकहरूले मजदुर आन्दोलन सफल पारेका थिए

अन्तर्राष्ट्रिय मे दिवसको अवसर पारेर उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघले प्रेस विज्ञप्ति प्रकाशित गरी शुभकामना व्यक्त गरेको छ । यसर्थ, मुलुक लामो समयदेखि संक्रमणबाट गुज्रिरहेको छ, जसले सम्पूर्ण क्षेत्र प्रभावित छ । यसर्थ, राजनीतिक अस्थिरता र नीतिगत अन्योलले पनि मिहिनेत गरेर खाने श्रमजीवी र मजदुरहरूलाई निकै ठूलो समस्यामा पारेको छ । जुन उद्योग, व्यापार, पर्यटन सबै क्षेत्रमा अन्योल रहँदा श्रमिकहरूको जीविकोपार्जन कठिन भएको छ ।

जुन श्रमिकको हितका लागि सम्पूर्ण श्रमिकहरू एक हुनुपर्नेमा त्यस्तो ऐक्यबद्धता नभई राजनीतिक सोचबाट प्रभावित भई दलका नारा र झन्डा अनि उक्साहटमा चल्दा पनि मजदुरको हित हुन सकिरहेको छैन । यसरी पछिल्ला दिनमा ट्रेड युनियनहरूको संख्या र सक्रियता पनि बढेको छ । तर, सामूहिक सौदाबाजीका माध्यमबाट मजदुरको हक, हित र सुरक्षाका प्रक्रियामा अघि बढ्नुपर्नेमा राजनीतिक प्रभावमा पर्ने गरेका कारण वास्तविक श्रमिकका पीडा सम्बोधन हुनसकेका छैनन् ।

अन्त्यमा भन्नुपर्दा कुनै पनि मुलुकको उन्नतिमा मूलतः श्रमिक र मजदुरवर्गकै योगदान रहेको हुन्छ । यसमा पनि जबसम्म मजदुरहरूको हक–हितको संरक्षण र संवद्र्धनबेगर कुनै पनि मुलुक समृद्धि र सम्पन्नताको दिशामा अघि बढ्न सक्दैन, तबसम्म मुलुक सम्पन्न र प्रभावशाली बन्न नसक्ने कुरा सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । तर, उनीहरू नै शोषित, पीडित, उपेक्षित हुनुका साथै विभिन्न कुराले ठगिएका हुन्छन्, जुन ठूलो विडम्बना हो । तर, पनि श्रम बेचेर खानेहरूको जहिलेसम्म सम्मान हुनसक्दैन र जहिलेसम्म उनीहरूमाथि न्याय गर्न सकिँदैन त्यतिन्जेल न समाज माथि उठ्न सक्छ न राष्ट्र नै !

यसर्थ, यस वर्गलाई घृणा र उपेक्षा होइन सम्मान र प्रतिष्ठा प्रदान गर्न सक्नुपर्छ । उनीहरूको सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ । यसरी श्रमिकको अधिकारको रक्षा र श्रमिकको सम्मान गर्न सबैले सिक्नुपर्छ, जान्नुपर्छ । जुन मजदुरले आफ्ना हक, अधिकार र परिश्रमअनुसार सुविधाको माग गर्नु अनुचित र नाजायज होइन, तर युनियनका नाममा राजनीतिक दलका भ्रातृ संगठनकै शैलीमा उद्योग, कलकारखाना वा कार्यरत संघसंस्थाले थेग्नै नसक्नेगरी सुविधा माग्नु र तिनका कामकाजमा अवरोध उत्पन्न गर्नुहुँदैन । जबकि, उद्योग, व्यवसाय र मजदुर एकै सिक्काका दुई पाटा भएका र यिनीहरूबीचको समुधुर एवं सौहाद्र्ध सम्बन्धले मात्र दुवैलाई सफल बनाउने हुँदा यसलाई त्यसै रूपमा लिनुपर्छ । र, बुझ्नैपर्ने कुरा के हुन्छ भने, मजदुरबिना कुनै व्यवसाय नचल्ने भए पनि पहिले व्यवसाय र पछि मजदुर हो । जसले गर्दा व्यवसाय रहे मजदुर रहने र मजदुरले साथ दिए व्यवसाय दिगो हुने कुरामा कसैमा पनि दुईमत नहोला ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मिथिला नगरपालिकामा कांग्रेसका महेन्द्र महतो निर्वाचित