अध्यात्म दर्शन

दर्शन शब्दको उत्पत्ति देख्नु भन्ने शब्दबाट भएको हो । ‘दृष्यते अनेन इति दर्शनम्’ भन्ने अर्थमा देख्नु नै दर्शनको मुख्य सार हो । अंग्रेजी भाषामा दर्शनलाई फिलोसफी भनिन्छ । यहाँ ‘फिलोस’ र ‘सफिया’को अर्थ ज्ञान भन्ने बुझिन्छ । ज्ञानको अनुराग भन्ने अर्थ बुझिन्छ । पश्चिमी दर्शनको पनि अन्तिम आधार ज्ञान नै हो र परमतत्व वा परम सत्यलाई जान्नु नै दर्शन भनिएको छ । दर्शन शास्त्र गहन वौद्धिक शास्त्र हो । यसबाट मानिसले सम्पूर्ण विश्व ज्ञानलाई समष्टिगत रूपमा एकैपटक बुभ्mन पाउँछ । सोसियो साइन्सबाट यो शब्द निर्माण भएको र यसको अर्थ जान्नु हो । विज्ञानको अर्थ ठीकठीक ज्ञान प्राप्त गर्नु हो । दर्शनको उद्देश्य पनि ज्ञान प्राप्त गर्ने नै हो । फरक यति हो, विज्ञानबाट भौतिक लाभ र दर्शनबाट आध्यात्मिक लाभ प्राप्त हुन्छ ।

जीवनको यथार्थ
संस्कृतको एक श्लोक छ

‘धनानि गेहे पशवश्च गोष्ठे, भार्या गृहेद्वार जनाः श्मशाने ।
देहेश्चितायाँ परलोक मार्गे, धर्मानुगो गच्छति जीव एक : ।।

अर्थात्, मरिहत्ते गरी कमाइएको धन सम्पत्ति घरैमा रहने, पशुवाहन आदि पनि घर, गोठमै रहन्छन्, पत्नी गृहद्वारमै, अफन्तहरू श्मशानसम्म, देह चितामै डढ्छ, परलोकको बाटो पाप र पुण्य लिएर जीव एक्लै जाने हो, त्यसो त आउँदा पनि एक्लै हो ।

भावार्थ
जगत्मा सूक्ष्म शरीर र विशाल संसार छ, अध्यात्म छ, भौतिक पनि । अध्यात्म पानी हो, पानीबाट बन्ने बिजुली भौतिक हो अर्थात् दुवै सँगसँगै हुन्छन्, एकबिना अर्कोको अर्थ रहन्न ।

दर्शनबाट मानिसले सम्पूर्ण विश्वज्ञानलाई समष्टिगत रूपमा एकैपटक बुझ्न पाउँछ

संसार चलाउने कोही छ भनौं जगत् चलाउने जगदीश्वर छ, हेर्ने स्वरूप र दृष्टिकोण फरक होला तर सर्वेश्वर फरक छैन । ‘प’ वर्ग के हो ? उत्तर आउँछ, ‘प’ को अर्थ पति, पत्नी, पुत्र, पुत्री, पैसा, पद, प्र्रतिष्ठा । तर, यी सबै सुरुमा पनि थिएनन् र पछि पनि हुन्नन् । ‘प’ वर्गको परिवार घरैसम्म मात्रै हुन्छ, वा घाटसम्म मात्र । पैसा घटनासम्म मात्र र पद, कार्यालय अनि प्रतिष्ठा पनि समाजमा रहुन्जेल मात्र हुन्छ । तर, त्यही ‘प’ वर्ग जब अपवर्गमा परिणत हुन्छ, पुण्य बन्छ र परलोकसम्म गइदिन्छ, जहाँ बजार बा कुनै पनि क्रयविक्रय हुन्न, खर खजाना, पकेट केही हुन्न । पाप र पुण्यकै प्रभावले अर्को लोक वा यसै धर्तीमा फर्केर कुनै योनिमा आउने हो, किनकि अध्यात्म शास्त्रले स्वर्ग पनि ‘क्षीणे पुुण्ये मत्र्यलोकं विसन्ति’ भनेको छ ।

अझ सजिलो भाषामा भन्नुपर्दा आगो उही हो । आउँदा र जाँदा दुवैले तपाउँछ, एउटाले बचाउँछ अर्कोले जलाउँछ । भीड उही हो, जन्ती र मलामीको एउटामा आँसु हुन्छ, अर्कोमा हाँसो । कपडा पनि उही हो, एउटाले रंगीन देखाउँछ, अर्कोले फिका, सेता, पहेंला कपडा उस्तै हुन् । फरक यति हो, विवाहमा वाहवाह गरिन्छ पार्टी प्यालेसमा गएर, मलामी जाँदा मौन भइन्छ । तर, दुवैमा बाजा बजाइन्छ, एकातिर पन्चे र बैण्ड बाजा अर्कोतिर शंखे बाजा । दुवैतिरको शरीर चलायमान हुन्छ । एकातिर बोकेर गइन्छ, अर्कोतिर बोकिएर । पण्डित उही हो, पढ्ने एकातिर समन्त्रक हुन्छ, अर्कोतिर अमन्त्रक ।

एकातिर संगीत हुन्छ, अर्कोतिर कारुणिकता । फरक यति नै त हो । हेर्दा जग्गे पनि उस्तै हो । तर, एकातिर स्वाहा हुन्छ, अर्कोतिर ‘तवोपतिष्ठताम्’ । पहिरनमा खासै फरक हुन्न । एकातिर सिँगारिएको अर्कोतिर बिगारिएको, एकातिर सुन पहिराइन्छ अर्कोतिर सुन चुँडाइन्छ, एकातिर भित्याइन्छ अर्कोतिर पठाइन्छ, आउने हो जाने हो, आवागमन हो । घर पनि उही हो । एकातिर भित्रिइन्छ अर्कोतिर बाहिरिन्छ । हो, फरक यति छ एकातिर उठेर गइन्छ, अर्कोतिर एठाइएर मात्र । पूmल र गाडीहरू पनि उही हुन्, एकातिर सुखान्त छ, अर्कोतिर दुखान्त । जीवन सुख र दुःखको खेल हो, संयोग र वियोग हो, आउँदा हाँस्ने जाँदा रुने ।

त्यसैले, डा. राधाकृष्णनले भने, ‘धर्मको उद्देश्य आत्माको शक्ति हो र दर्शनको उद्देश्य सत्यको खोजी हो ।’ धर्मको उद्देश्य पनि सत्यको खोजी नै त हो । धर्मको उद्देश्य ज्ञान प्राप्ति पनि हो । धर्मको स्वरूप भने सेवा र पूजा हो, त्यो पनि मानवकै बढी । मन्दिर मान्छेले बनाउने हो, मन्दिरको देवताभन्दा उनका उपासकलाई खुसी गराऊ, पहिले भनेको छ शास्त्रले । भगवानभन्दा भक्तको साहस ठूलो हुन्छ । भगवानसम्म पुग्ने काम भक्तले नै गरिदिने हो । ढुंगा आपैंm जाग्दैन, मान्छेले नै जगाउने हो, हत्या, हिंसा मान्छेकै किन । कुनै पनि जीवको बाँच्ने अधिकार रहन्छ । पूर्वीय दर्शनका विभिन्न स्वरूपहरू छन् । जस्तै– सांख्यदर्शन, योगदर्शन, न्यायदर्शन, वैशेषिक दर्शन, मिमांसा दर्शन, वेदान्त दर्शन । यी त भए सवै आस्तिक (ईश्वर मान्ने) दर्शन । नास्तिक दर्शन (ईश्वर नमान्ने) पनि हाम्रो पूर्वीय दर्शनमा छन् । ती हुन् चार्वाक दर्शन, बौद्ध दर्शन र जैन दर्शन । यहाँ पूर्वीय दर्शनभित्रका केही आस्तिक दर्शनलाई सूत्रात्मक शैलीमा सार संक्षेपमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

पश्चिमी दार्शनिक, अन्वेषकहरूमा– डा. फ्राइड, डा. युंग, एडलर हेलफिल्ड, डा. ब्राउन आदि छन् । १८औं शताव्दीका प्रख्यात पाश्चात्य दार्शनिक लेविनिजले यस संसारलाई परमाणुद्वारा बनेको भने ।

परमाणुलाई उनले मोनाण्ड नामकरण गरे । यसैलाई चित् अणु भनिन्छ । प्रसिद्ध वैज्ञानिक ग्यालिलियोले गणितीय सिद्धान्तनुसार प्रकृति असंख्य अणुद्वारा बनेको बताए । पदार्थको विस्तार यसैबाट भएको हो । पदार्थमा आकर्षण शक्ति हुन्छ । यसैले गर्दा सम्पूर्ण ब्रह्माण्ड, ग्रह, तारा, नक्षत्र आदि सञ्चालित छन् । गुरुत्वाकर्षणको सिद्धान्तले हामी बस्ने पृथ्वी अडेको छ । न्यूटनको यो सिद्धान्त गुरुत्वबल पूर्वीय वैशेषिक दर्शनमा यसअघि नै प्रतिपादित थियो । उनले यसको व्यावहारिक प्रयोगको व्याख्या गरे । विज्ञानले प्रतिपादन गरेको सिद्धान्त आवाज साउन्ड एक माध्यमबाट अर्को माध्यमसम्म फैलिएर जान्छ भन्ने मर्म पूर्वीय न्यायदर्शनमा छ ।

संस्कृति भन्नु मानवको सम्पूर्ण चरित्र हो । पूर्वीय धर्मदर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ, सन्तुलित, चारित्रिक, सभ्य नागरिक समाजबाट देशप्रेम र ईश्वरीय चिन्तनसमेत हुन पुग्छ । अरूलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न विषतुल्य हुन्छ भन्ने वाक्यांशले पूर्वीय मानव जीवनको संस्कृति, सभ्यता र पुण्य कर्मको सन्देश मिल्छ ।

पूर्वीय दर्शन वैज्ञानिक छ । कुनै व्यक्ति विशेषले भावावेगमा यो तयार पारेको होइन, सम्पूर्ण संसारको विधि, व्याख्या र विश्लेषण गरिएका आत्मचिन्तनका विषय वस्तुमध्ये जीव र जगत्को सञ्चालक, मनको व्याख्या, मनका अनुभूतिअनुरूप बिम्ब बन्ने, बिम्बअनुरूप जगत् प्रतीत हुने र बिम्बअनुरूप नै कार्य हुने भएकाले हरेक कार्यहरूको उद्गमस्थल मानव मन नै हो । जीव उत्पत्तिका कारण, कर्म र संस्कार, बन्धन र मोक्ष, पुनर्जन्म र सिद्धि, स्वप्न र निद्रा, रोग र तनाव, शान्ति र अशान्ति, स्मरण र विस्मृति, सन्तोष र आनन्द, त्रास र भय, चरित्र र पतन, वासना र मूर्खता, उत्साह र सफलता, शान्ति र आनन्द, योग र ध्यान विकास र विनाश, द्वन्द्व र कलहका मूल कारक तत्व मन नै हो । सिद्धि, सफलता, सुख, शान्ति र आरोग्यका लागि पूर्वीय वैदिक चिन्तनलाई हामीले सदैव मनन गर्नसके हामी, हाम्रो जीवन र जगत् सबै हाम्रो परम लक्ष्यतिर उन्मुख हुन्छ ।

सांख्य, योग, न्याय, वैशेषिक, मिमांसा, वेदान्त र चारवाग दर्शन पूर्वीय दर्शन हुन्

नैयायिकहरूले पनि भने– मन नै सुख दुःखको कारण हो । पूर्व मिमांसा सांख्य दर्शनमा मन र आत्मालाई विभु भनियो । विभु वा प्रज्ञा भन्नु जीवनको यथार्थ ज्ञान हो । हाम्रो मुलुक देवभूमि हो । हरेक युगमा यसको वर्चश्व छ । सत्य, त्रेता, द्वापरदेखि करिब ५ हजार १ सय २५ वर्ष पुरानो कलियुग आरम्भदेखि नै यो तपोभूमिकै रूपमा रहेको छ । सत्य युगमा यस क्षेत्रको नाम ‘सत्यपुरी’, त्रेतामा ‘तपोवन’, द्वापरमा ‘मुक्तिपुर’ र कलिमा यसलाई ‘नेपाल’ भनेर चिनिँदै आएको छ । सात्विक यथार्थलाई आत्मसात् गर्दा ‘ने मुनि’ले धर्मद्वारा बसालेको नेपाल नगरी आफैंमा देवभूमि हो । यस्तो पुण्यभूमिमा गरिएका हरेक कार्यहरू पुण्यदायी र प्रेरणादायी हुने भएकाले विश्वका धेरै मुलुकबाट नेपाल भ्रमणका लागि मानिसहरू यहाँ आउने गर्छन् । विश्वकै शिरभाग सगरमाथा र शिवपुरी, शिवक्षेत्र, पशुपतिनाथ प्राप्ति पनि हाम्रो ठूलो पुण्यको फल हो । तमाम देवताहरूको निवास क्षेत्र नेपालमा अशान्तिका काला बादलहरू मडारिइरहँदा भने हर नेपालीका हृदयमा गम्भीर प्रश्न खडा भएको छ ।

उद्योगबिनाको दिन तथा परिश्रमबिनाको जीवन पवित्र हुन सक्दैन भन्ने रस्किनकोे भनाइ छ । सत्याग्रह सबभन्दा ठूलो र सर्वोपरि बल हो । यसले तोपले भन्दा ठूलो काम गर्छ भन्ने महात्मा गान्धीको भनाइ रहेको छ । हतियारभन्दा कलम बहादुर हुन्छ भन्ने पूर्वीय चिन्तनलाई हामीले उजागर गर्नुपर्छ । क्रान्तिपछि राजनीति एउटा सामाजिक विकास र पुनस्र्थापनाको साधन बन्न जान्छ भनी कार्ल माक्र्सले बताएका छन् । मानिस स्वतः धर्मभीरु हुन्छ, धर्मभीरु हुनु कायरता होइन । भौतिक जगत् भन्नु क्षणिक सुखको अनुभूति मात्र हो । दृढ संकल्पका साथ अध्यात्म जागरण अभियानमा खटेर लाग्नुपर्छ ।

यो हाम्रो माौलिक संस्कृति पनि हो । शरीरभित्र रहेको शुद्ध, चैतन्य र परमात्माको अंश आत्मासँग नजिक रहने विद्या नै अध्यात्म सागर हो । जीव, जीवात्मादेखि सारा संसारका रचयिता परमेश्वरप्रतिको स्नेहको गाँठो बलियो पार्ने विचार नै अध्यात्म चिन्तन हो । स्थूल शरीरको सुख, सूक्ष्म शरीर मन र कारण शरीर आत्माको विश्लेषण गरी जीवन र जगत् अनि जगदीश्वरको साकार तथा निराकार चिन्तन विद्या नै अध्यात्म विद्या हो । अध्यात्म विद्यासँग रहेको पूर्वीय संस्कृतिले यस विद्यालाई सागरतुल्य गहिराइमा र आकाशतुल्य अनन्तमा फैलाइदिएका छन् । खहरे, खोला, नदीहरूले परम गन्तव्य सागरमा पुग्ने लक्ष्य लिएझैं हरमानवले परमेश्वरसम्म पुग्ने दृढ संकल्प सदा नै लिई रहनुपर्छ ।

त्यसैले, जीवन र जगत्को खोजीको विषयमा अध्यात्म ज्ञान परम ज्ञान सम्झी सदैव जीव, जगत् र जगदीश्वर’bout खोजी गरिरहनुपर्छ । वेदले पनि आत्मा अमर छ र सूर्यरूपी आत्मा नै जगत्को मालिक परमात्माको अभिव्यक्ति हो भनेको छ । असत्य भाषण ठूलो पाप हो । अरूको निन्दा तिरस्कार र अपमान गर्नु अझ ठूलो पाप हो अनि आफ्नै स्वजातीय र आफन्तको निन्दा गर्नु भनेको जघन्य पाप हो भन्ने रवीन्द्रनाथ टैगोरको भनाइमा पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
टिकट नपाउने भएपछि सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले कांग्रेस त्यागे