लक्ष्यमा अर्जुनदृष्टि

महाभारतका अर्जुन श्रेष्ठ धनुर्धर थिए । उनको निशाना अचुक थियो । उनले महाभारतको युद्धमा भीष्म, द्रोणाचार्य तथा कर्ण जस्ता महारथीलाई हराएर महानतम् युद्ध कौशलता देखाएका थिए । उनी धनुष विद्यामा जति निपूर्ण थिए, त्यति नै लक्ष्यप्रति सचेत र अटल थिए । तर, मजाको कुरा के भने ती श्रेष्ठ धनुर्धर अर्जुनलाई तपाईंले पनि सजिलै पछार्न सक्नुहुन्थ्यो । यसका लागि तपाईं धनुष विद्यामा निपूर्ण हुन आवश्यक थिएन । तपाईंले केटाकेटीमा खेलौना धनुष चलाएको भए पनि तपाईंले अर्जुनले भन्दा पनि सही निशाना लगाउन सक्नुहुन्थ्यो । यो कुरा सुनेर तपाईंलाई अचम्म लाग्न सक्छ । तर, यस कुरामा अचम्म मान्नुपर्दैन । यो साँचो हो, यो सत्य हो ।

तर, यसका लागि अर्जुनको आँखामा कालो पट्टी बाँधेर, उनलाई ५÷६ पटक दायाँतिरबाट, अनि बायाँतिरबाट पालैपालो वरिपरि घुमाउन जरुरी थियो । यो कुरा सुनेर तपाईं भन्न सक्नुहुन्छ, ‘कस्तो कुरा गर्नुभएको यो, लक्ष्य नदेखिकन कसैले कसरी सही निशाना लगाउन सक्दछ ?’

हो, यो ज्यादै उत्तम प्रश्न हो । तर, यो प्रश्नसँगै अर्को पनि प्रश्न उठ्छ, श्रेष्ठ धनुर्धर अर्जुनले लक्ष्य देख्न नपाएर सही निशाना लगाउन सकेनन् भने अब तपाईं नै भन्नुहोस्, लक्ष्य नबनाइकन तपाईं कसरी लक्ष्यमा पुग्न सक्नुहुन्छ ? अतः लक्ष्यमा पुग्न लक्ष्य बनाउन आवश्यक छ । र, हरेक मानिसले जीवनलाई सार्थक बनाउन जीवनको लक्ष्य बनाउन अत्यन्तै जरुरी छ । त्यसैले त लक्ष्यको महत्वमाथि प्रकाश पार्दै डा. मार्टिन लुथर किंग जुनियरले भनेका छन्, ‘मानिसले कुनै महान् उद्देश्यका लागि मरिमेट्ने संकल्प गर्दैन भने उसको जीवन नै बेकार छ ।”

हुन पनि हो, लक्ष्यविहीन जीवन पशुतुल्य हुन्छ । तपाईंलाई थाहा नै छ, पशुपंक्षीको कुनै उद्देश्य हँुदैन, कुनै लक्ष्य हुँदैन । पशुहरू जन्मन्छन्, खाने कुरा खोज्छन्, पेट भर्छन्, बच्चाहरू जन्माउँछन्, मर्छन् । पशुहरूले कुनै महान कार्य गर्दैनन् । पशुहरूले इतिहास पनि रच्दैनन् । मात्र जन्मिन्छन, अनि मर्छन । त्यसैले, एउटा गम्भीर प्रश्न उठ्छ, के सृष्टिकै सबैभन्दा विकसित प्राणी, मानिसले पनि यस्तै पशुतुल्य जीवन जिउन सुहाउँछ त ? पक्कै सुहाउँदैन । त्यसैले मानिसले जीवनमा कुनै न कुनै महान् लक्ष्य अवश्य नै बनाउनुपर्छ । नत्र मार्टिनले भने झंै मानिसको जीवन नै बेकार हुन्छ । मानिस मनको दास, जिउँदो लाश बन्न पुग्छ ।

अब्राहम लिंकनले अमेरिकी राष्ट्रपति बनी रंगभेदविहीन नयाँ अमेरिका बनाउने लक्ष्य लिएका थिए

हिन्दुस्थानका महात्मा गान्धीले भारत आजाद गर्ने लक्ष्य लिएका थिए । अब्राहम लिंकनले अमेरिकी राष्ट्रपति बनि रंगभेदविहीन नयाँ अमेरिका बनाउने लक्ष्य लिएका थिए । कार्ल माक्सले गरिब र शोषित जनताको मुक्तिका लागि राजनीति शास्त्र बनाउने लक्ष्य लिएका थिए । माओत्सेतुङले च्यांकाई सेकको साम्राज्य ध्वस्त पारेर चीनमा जनवादी सत्ता स्थापना गर्ने लक्ष्य लिएका थिए । तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको शिखरमा पाइला टेकी नेपालको झन्डा फरफराउने लक्ष्य लिएका थिए । त्यसैले त उनीहरू आआफ्नो लक्ष्यमा पुग्न सके । याद राख्नुहोस्, जसले लक्ष्य बनाउँछ, ऊ नै लक्ष्यमा पुग्न सक्छ । लक्ष्यविहीन त जहाँको तही नै रहन्छ । तर, ख्याल गर्नुहोस्, केवल इच्छा गर्नु लक्ष्य होइन, लक्ष्य भनेको अर्जुनले देखेको चराको आँखा हो ।

द्रोणाचार्यले धनुष प्रशिक्षण दिइरहेका थिए । कौरव तथा पाण्डव पुत्रहरू, सबै चौरमा एकतित्र थिए । रूखमा एउटा चरा झुन्डाइएको थियो । द्रोणाचार्यले सबै प्रशिक्षार्थीलाई चराकोे आँखामा निशाना साध्नुपर्ने बताएका थिए । निशाना साध्नुभन्दा पहिला द्रोणाचार्यले सबैलाई एउटै प्रश्न सोध्ने गरेका थिए, ‘तिमीलाई के देखाइदिएको छ ?’ कसैले रूखको हाँगा भने, त कसैले क्षितिज भने, कसैले चरा भने । थुप्रै चेलाचपेटा आए, गए । त्यसपछि बाण लिएर दुर्योधन आए । द्रोणाचार्यले दुर्योधनलाई पनि त्यही प्रश्न गरे । दुर्योधनले जँुगा मसार्दै भने, ‘मलाई त रूखको हाँगामा झुन्डिएको एउटा भँगेरा देखाइदिएको छ ।’ द्रोणाचार्य दुर्योधनको जवाफबाट पनि सन्तोष भएनन्, उनलाई पनि अर्को लाइनमा खडा हुने संकेत गरे । दुर्योधन रिसाउँदै गए । अब अर्जुनको पालो आयो । द्रोणाचार्यले अर्जुनलाई पनि त्यही प्रश्न गरे । अर्जुनले भने, ‘गुरुवर मलाई आँखा देखाइदिएको छ ।’ गुरु द्रोणाचार्यले अर्जुनको पिठिउँ थपथपाउँदै भने, ‘अर्जुन बाण चलाऊ ।’ अर्जुनले बाण चलाए, बाण सिधै चराको आँखामा रोपियो ।

अर्जुनदृष्टि भनेको नै यही हो । त्यसैले लक्ष्य बनाएर लक्ष्यमा अर्जुनदृष्टि साध्ने हो भने अर्जुनको मात्र होइन । हरेक मानिसको जित निश्चित छ ।

तपाईंलाई थाहा नै छ, खेतमा जुन बाली रोपिन्छ, त्यही बाली नै भित्याउन सकिन्छ । खेतमा धानको बिउ रोप्यौं भने धान नै फल्छ, गहँु फल्न सक्दैन । त्यसैले धान फलाउन धान नै रोप्नुपर्छ, गहँु फलाउन गहँु । प्रकृतिको यो सार्वलौकिक नियम ठीक यसै प्रकारले मानवीय जीवनमा पनि लागू हुन्छ ।

मानिसको मनमस्तिष्क पनि एक प्रकारको खेत नै त हो । जहाँ जस्तो विचारको खेती गरिन्छ, उत्पादन त्यस्तै हुनेगर्छ । यदि विफलताको विचार रोपिन्छ भने विफलताको मनोवृत्ति नै उम्रिन्छ, हुर्किन्छ, फुल्छ र फल्छ । तर, विफलताको विचारबाट सफलता उत्पादन हुन सक्दैन । त्यसैले विफलताको विचारबाट सफलताको आशा गर्नु भनेको सिमीको बिज रोपेर स्याउको आशा गर्नु जस्तै हो । के यो सम्भव छ ? त्यसैले एउटा कुरा के निश्चित छ भने तपाईंले जे चाहनुहुन्छ, त्यही पाउनुहुनेछ । विफलता चाहनुभयो भने विफलता पाउनुहुनेछ । सफलता चाहनुभयो भने सफलता नै पाउनुहुनेछ ।

याद राख्नुहोस्, तपाईं अहिले जे हुनुहुन्छ, तपाईंले हिजो त्यही नै चाहनु भएको थियो । आज जे चाहनुहुन्छ भोलि त्यही नै पाउनुहुनेछ । त्यसैले जाग्नुहोस् । उठ्नुहोस् । तपाईं नउठी हँुदैन । आजै, यसै बेला उठिहाल्नुहोस् । तर, तपाईंमध्ये कतिपयलाई लागिरहेको होला, पूरा जीवन नै त्यसै छ, अहिल्यै केको हतारो ? तर विचार गर्नुहोस् त, एउटा मानिसको आयु कति नै हुन्छ र ? सालाखाला ८० वर्ष नै लगाइदिने हो भने पनि ४० वर्ष त सुतेर नै बित्छ । लगभग ५ वर्ष केटाकेटीपनमा नै बित्छ । त्यसपछिको लगभग १५ वर्ष पढाइलेखाइमा बित्छ । कम्तीमा पनि १० वर्ष जति समय खानपिन, भेटघाट, गफगाफ र मनोरञ्जनमा बित्छ । अब बाँकी रह्यो १० वर्ष, यो १० वर्षमा तपाईंले केके गर्नुहुन्छ ?

महान् पर्वतारोही तेन्जिङ नोर्गे सेर्पा र एडमन्ड हिलारी घुम्दाघुम्दै सगरमाथाको शिखरमा पुगेका होइनन्

त्यसैले त एक मिनेट पनि ढिला नगरी उठी हाल्नुहोस् । उठ्नु भयो ? अब आफ्नो मनमस्तिष्कमा कुन बिज रोप्ने हो, छनोट गर्नुहोस् । आँप रोप्ने हो कि कटहर ? धान रोप्ने हो कि गहँु ? कोदो रोप्ने हो कि फापर ? छनोट गर्नुहोस् । मनोभावको परिश्रमले जमिन तयार पार्नुहोस् । बुद्धिविवेकको पैसाले बिउ खरिद गर्नुहोस् । एकाग्रचित्तले बिउ रोप्नुहोस् । र, विश्वासको पानीले सिँचाइ गर्नुहोस् । प्रयत्न र कडा प्रयत्नले गोडमेल गर्नुहोस् । आशा र धैर्यको उकेरा लगाउनुहोस् । त्यसपछि तपाईंले रोपेको आँप हुर्किनेछ । फुल्नेछ, लटरम्म फल्नेछ । तर, एउटा उल्लेखनीय कुरा के भने बोटबिरुवाका लागि उपयुक्त माटो र हावा पानी चाहिन्छ । जुनसुकै बिरुवा जुनसुकै माटो र जलवायुमा उम्रिन सक्दैन, हुर्किन सक्दैन । फुल्न र फल्न सक्दैन । तराईमा स्याउ फलाउन सकिँदैन, हिमालमा आँप । हिउँदमा धान रोप्न हँुदैन, वर्षायाममा गहँु । यो प्रकृतिको नियम नै हो ।

यो नियम मानव जीवनमा पनि लागू हुन्छ । त्यो ’cause मानिस पनि प्रकृतिकै एउटा अंग हो । त्यसैले तपाईंले जस्तो किसिमको सफलता चाहनुभएको छ, त्यस्तै मनस्थिति छनोट गर्नुपर्ने हुन्छ । विफलताको मनस्थितिमा सफलताको चेतना जागृत हुन सक्दैन । सफलता चेतना जागृति नभई कुनै मानिस सफल हुन सक्दैन । यो निश्चित छ । यो नै मस्तिष्क विज्ञान हो ।

तेन्जिङ नोर्गे सेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गर्नुपूर्व सगरमाथा चढ्ने प्रयासमा थुप्रै हिमाल आरोहीहरू सगरमाथाको फेदमा नै हराएका थिए, बेपत्ता भएका थिए । त्यसैले, त्यतिखेर सगरमाथा आरोहण अकासको फल मानिन्थ्यो, एउटा असम्भव कार्य ठानिन्थ्यो । तर, तेन्जिङ नोर्गे सेर्पा र एडमन्ड हिलारीले मानिसका लागि कुनै कार्य असम्भव छैन भन्ने मनोविज्ञान बुझे । र, सगरमाथाको शिखरलाई अर्जुनदृष्टिले साध्दै दृढसंकल्पको मुठ्ठी कसे । अनि छाती फर्काउँदै सगरमाथाको शिखरतिर आफ्ना मजबुत पाइला चाले र २९ मे १९५३ का दिन ८ हजार ८ सय ४८ मिटर अग्लो, संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सबैभन्दा पहिला पाइला टेकेर विजयको झन्डा गाडे ।

हेर्दाहेर्दै हिउँबाघले तीन त्रिभुवन हल्लाइदिए, असम्भवलाई सम्भव बनाएर देखाइदिए । त्यसैले, त सगरमाथा आरोहण अहिले सम्भव कार्य मानिएको छ । तर, मानिसका लागि सबै कुरा सम्भव छ भनेर डोकोमा दुध दुहेर अडिँदैन । सगरमाथा आरोहणका लागि आरोहणको पूर्वाभ्यास गर्नुपर्छ । दृढ अठोट र आरोहणको पूर्वाभ्यास बिना कुनै श्यामे वा च्यामे सगरमाथा चढ्न सक्दैनन् । बुझ्नुपर्ने कुरा यही हो ।

याद राख्नुहोस्, महान् पर्वतारोही तेन्जिङ नोर्गे सेर्पा र एडमन्ड हिलारी घुम्दाघुम्दै सगरमाथाको शिखरमा पुगेका होेइनन् । दृढसंकल्प, अथक मेहनत र लक्ष्यप्रतिको अटल विश्वासले नै सगरमाथाको शिखरमा पाइला टेकी विजयको झन्डा फर्फराएका हुन् । त्यसैले जसले यो मस्तिष्क विज्ञान बुझी आफ्नो निर्दिष्ट लक्ष्य पूरा गर्ने दिशामा अर्जुनदृष्टि साधेर, उच्च अठोटका साथ अगाडि बढ्छ, ऊ अवश्य नै आफ्नो लक्ष्यमा पुग्दछ । यस कुरामा कुनै शंका छैन । त्यसैले उठ्नुहोस् । जाग्नुहोस् । लक्ष्यमा अर्जुनदृष्टि साध्नुहोस् । दृढसंकल्पका साथ अगाडि बढ्नुहोस् । जित तपाईंको निश्चित छ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी