धनगढी । निजी क्षेत्रको एक बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक (स्कुल ड्रेस) तथा पाठ्य सामग्री खरिदका लागि निजी क्षेत्रको माछापुच्छ्रे बैंक धनगढी शाखाले नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो ।
बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका ९४ जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न भनेर चार लाख ९७ हजार रुपैयाँ सहयोग गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ । ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ड्रप आउट हुन नपरोस् भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको छ । सो कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ड्रप आउट रोक्न सहयोग पुग्ने उपमहानगरनगरको भनाई रहेको छ ।
धनगढी उपमहानगरले मात्र शिक्षामा लगाउन नसक्ने भएकोले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न आफूले सक्ने जति नगर प्रमुख शैक्षिक सुधार कोषमा सहयोग गर्न धनगढी नगर प्रमुख गोपाल हमालले सबैलाई आग्रह गरेका छन् ।
यसअघि काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलका संस्थापक शिवराज पन्तले पाँच लाख र हिमालयन बैंक धनगढी शाखाले एक लाख ९९ हजार ५०० रपैयाँ धनगढीका विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गरेका थिए ।