राजनीतिमा हराउँदो संस्कार !

‘प्राकृत पोखरा’ नामक खण्डकाव्यमा मदन पुरस्कार विजेता प्राध्यापक मुकुन्दशरण उपाध्यायले सानो बच्चाले उनी बसेको पलङमा बिछ्याइएको कपडामा चिया पोख्दा ‘ए भलादमी तिमीले यो के गरेको ?’ भनेर बच्चालाई सोधे । यो आजभन्दा चार दशकअघिको कुरा थियो । त्यतिबेला सोफामा कम र बिस्तारामा बढी बस्ने नेपाली चलन थियो । बच्चाले आफू बसेको बिस्तारामा चिया पोखेर फोहोर बनाइदिएको छ । प्रत्यक्षदर्शी यस पंक्तिकारलाई लागेको थियो, अब बच्चो गुरुको फेला पर्ने भयो । सके कुटाइ खाला, नत्र कानको लोती भने उखेलिने भयो भनेर डर पनि लाग्यो । तर, उनले सहजै भलादमी भनेर माया देखाए । आश्चर्य मान्दै मैले सोधें, ‘गुरु, यस बाबुले हजुर बसेको बिछ्यौनामा फोहोर गरे, झन यिनलाई गाली गर्नुपर्ने ठाउँमा भलादमी भनेर माया गर्नुभयो, रिसाउनु पनि भएन, मैले कुरो बुझिन नि ?’ गुरुले भने, ‘हेर्नुस् यो बच्चो सानै छ, उसलाई के राम्रो के नराम्रो केही थाहा छैन, अञ्जानमा गल्ती ग¥यो । यसबापत उसलाई फटाहा, बदमास, उल्लु भनेर पनि गाली गर्न सकिन्थ्यो । अरूले भए एक थप्पड लगाउँथे पनि होला । यसो गर्दा उसले त्यही शब्द सिक्छ । भोलि अरूलाई पनि फटाह, उल्लु र बदमास नै भन्नसक्छ । आफूभन्दा सानालाई उसले पनि थप्पड लगाउनसक्छ । तर यसको ठाउँमा भलादमी, ज्ञानी मान्छे आदि भनेर सम्बोधन गर्दा उसले पनि अरूलाई यिनै शब्द प्रयोगमा ल्याउँछ । नमिठा वा गाली गलौजका शब्द नै नसुुनाएपछि उसले कहाँबाट यस्ता शब्द सिकोस् ।’

हेर्दा सामान्य भए पनि संस्कार कहाँबाट निःसृत हुन्छ ? कसरी स्थानान्तरण हुन्छ भन्ने बुझ्नका लागि सो घटना नै काफी छ । यसैले, घरलाई हरेक बच्चाको पहिलो पाठशाला र आमालाई पहिलो गुरु मान्ने चलन अद्यापि छ ।

‘बूढी मरै भाषा सरै’ भन्ने चलन छ । सिकाइ पुस्तान्तरण हुन्छ । यो संस्कारजन्य पनि हुन्छ । शिक्षाविद्हरू सिकाइका तीनवटा तरिका अघि सार्छन्– औपचारिक, अनौपचारिक र अरीतिक । यीमध्ये अरीतिक सिकाइले पार्ने प्रभाव चीरस्थायी र अविस्मरणीयसमेत हुन्छ । जस्तो समाजमा बस्यो, त्यस्तै व्यवहार देखाउनु यसैको उदाहरण हो । राजदरबारमा गोठालो नै बसे पनि त्यसले ‘सियोस्’ नै मिसाएर बोल्छ । कतिपय सिकाइ सासूको व्यवहारबाट बुहारीमा र जेठानीको व्यवहारबाट देवरानीमा सरेको हुन्छ । यसैकारण नेपालीमा एउटा उखान छ– ‘सिकसिक, देवरानी घरमै जेठानी ।’

राजनीतिमा हेपाइ
हरेक कार्यकर्ताका लागि राजनीतिक दल उनीहरूको पहिलो पाठशाला हो । उनीहरूले जे सिक्छन्, सम्बन्धित दलबाट नै सिक्छन् । यसकारण भनिन्छ– ‘जस्ता नेता उस्तै कार्यकर्ता’ । आजभन्दा ४ वर्षअघि दोस्रो कार्यकालका लागि आफू राष्ट्रपतिमा पराजित हुँदा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अदालत पुगे । सहजै हार स्वीकार गरेनन् । अमेरिकाको कानुनमा निर्वाचनको नतिजा उपराष्ट्रपतिले प्रमाणित गर्ने व्यवस्था छ । तत्कालीन उपराष्ट्रपति माइक पेन्स थिए, जसलाई ट्रम्पले नै उपराष्ट्रपति बनाएका थिए । नतिजा उल्टाएर आफूले जितेको घोषणा गर्न ट्रम्पका समर्थकले दबाब दिए । हातहतियारसहित उनका समर्थकले संसद् भवन क्यापिटल हिल घेरे । यो ट्रम्पले सिकाएको राजनीतिक कुसंस्कार थियो । उनका अन्धभक्तहरूको अराजकताको पराकाष्ठा नै थियो ।

गाली राजनीतिको मूल्य हुँदैन, शीर्ष नेतामै यस्तो चरित्र देखिनु राष्ट्रकै लज्जाको विषय हो

ठीक यही शैली हाम्रो राजनीतिमा पनि देखिएको छ । केही समयअघि अख्तियारले ठूला भनिने राजनीतिक दल सम्बद्ध केही व्यक्तिलाई विभिन्न आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लियो । राजनीतिक दलका प्रमुखले अनियमितताको आरोप लागेर छानबिनका लागि पक्राउ पर्दा फलानालाई किन पक्रेको ? फलानो त दोषी नै होइन भनेर उसको मुद्दाको सुनवाइसमेत नहुँदै वक्तव्यबाजी नै गरे । यी घटना सरकार ढाल्नेसम्मका बहाना बने । मानौं हामीकहाँ अदालत भनेको राजनीतिक दलको कार्यालय हो र न्यायाधीश सो दलका प्रमुख नै हुन् भनेझैं गरेर व्यवहार गरिन्छ । निर्वाचन आउनै हुँदैन । मेरो दलले यति सिटसहित सिंहदरबार छिरिन्छ, भनेर पहिल्यै मनोवैज्ञानिक आतंक सिर्जना गरेका हुन्छन् । यतिबेला लाग्छ, निर्वाचन आयोग नै तिनीहरू हुन् ।

आफूलाई पर्दा एउटा र अर्कोलाई पर्दा अर्को तर्क दिने प्रवृत्ति हामीकहाँ बढी नै छ । यसले गर्दा राजनीतिक संस्कार शून्यमा झरेको छ । प्रदेशसभा गठनका लागि केही महिनाअघि कोशी प्रदेश र हालैको गण्डकी प्रदेशको घटनाले यही संकेत गर्छ ।

नेपाली राजनीतिमा जुन परिदृश्यहरू देखिएको छ, त्यसलाई हेर्दा राजनीतिमा लागेका युवा पुस्ताहरूले के सिक्ने होलान् ? राजनीतिको आगामी पिंढी कस्तो हुने होला ? सहजै अनुमान गर्न सकिन्छ । चरम व्यक्तिवादी प्रवृत्ति, मेरो गोरुको बाह्रै टक्का भन्ने शैली र अराजकहरूको भीड तयार गर्नु मात्रै के हाम्रा राजनीतिक दलको अभीष्ट हो ? सत्ता मात्रै सबैथोक हो र सत्तामा मबाहेक अरू बस्नैहुँदैन भन्ने मान्यता मात्र ठीक हो त ? विचारणीय छ । महात्मा गान्धी पदमा गएर आदर्श बनेका हुन् र ? गणेशमान सिंह प्रधानमन्त्री भएनन्, तर उनको राजनीतिक उचाइसँग आजका कुनै प्रधानमन्त्रीको तुलना हुनसक्छ ? किसुनजीसँग तुलना गर्न लायक कुनै प्रधानमन्त्री हामीकहाँ छन् ? मनमोहनलाई भेट्ने एमालेका अरू प्रधानमन्त्री किन आजसम्म जन्मेनन् ? यसैकारण भनिन्छ, सबै निर्वाचित प्रधानमन्त्रीहरू विस्टन चर्चिल हुँदा रहेनछन्, न त सबै कम्युनिस्ट पार्टीका अध्यक्षहरू नै माओत्सेतुुङ हुन्छन् ।

राजनीतिमा छुवाछूत
मुलुकी ऐनले उहिल्यैदेखि हामीकहाँ जातीय विभेद र छुवाछूतको अन्त्य गरिसकेको छ । तर, त्यो प्रवृत्ति राजनीतिमा रूपान्तरण भएको छ । यतिबेला नेपाली राजनीति र खासगरी वामराजनीतिमा कित्ताकाटको अवस्था छ । अलग दलका दुुई नेताको भेट, संवाद र अभिवादन यहाँ प्रमुख समाचार बनेर आउँछ । उनीहरूको बडी ल्याङ्वेज राजनीतिक परिवर्तनको अड्कलका रूपमा व्याख्येय हुन्छ । अल्पसमयमा देखिने राजनीतिक परिवर्तन र सत्ता समीकरणले यही कुराको पुष्टि गरिरहेको हुन्छ ।

टुटेको मन मिलेन
आजभन्दा २ वर्षअघि नेकपा एमालेमा देखापरेका दुई गुटको चरम महŒवाकांक्षा हावी हुँदा अहिले बेथिति र विसंगतिको राजनीतिक संस्कार अघि बढेको छ । हिजोसम्म आफैंले आदर्श मानेका नेताहरू दुईतिर हुँदा एउटाले अर्कोलाई अवसरवादी, गद्दार हुँदै देशद्रोहीसमेतको आरोप प्रत्यारोपमा शीर्ष नेताहरू उत्रेका थिए । सत्ता समीकरणका कारण विवाद मत्थर भए होला भनेर गरिएको अड्कलबाजी हालै सम्पन्न बझाङ प्रदेशसभाको उपनिर्वाचनमा छरपष्ट भयो । यतिले मात्र पुुगेन, सुदूर पश्चिम प्रदेश सरकारलाई दिइने विश्वासको मतमा नेकपा एमालेले देखाएको आनाकानी र नेकपा समाजवादीले दिएको सत्ता समीकरण ढाल्नेसम्मको चेतावनीले दलहरूको पुच्छर १२ वर्ष ढुंग्रोमा राख्दा पनि नसोझिएको प्रमाणित हुन्छ । सत्ताकै लागि उता कर्णालीमा एमाले र माओवादीमा देखिएको आफ्नै पार्टीबीचको आन्तरिक द्वन्द्वका कारण विनियोजित बजेट कार्यान्वयनमा अवरोध उत्पन्न भएको छ । सत्ताकै लागि कहिले जुट्ने र कहिले फुट्ने गरेको जसपा (उपेन्द्र यादव समूह)मा हालै भएको विभाजनले सत्तामोहको पराकाष्ठालाई उजागर गरेको छ ।

दलहरूबीच दिनहुँजसो एउटाको खिलाफमा अर्कोले षड्यन्त्र गरिनै रहेको देखिन्छ । पराइसँग मुकाविला गर्नुपर्ने तागत सगोत्रीसँग लडेर दुरुपयोग भइरहेको छ । एउटा समूह अर्को समूहका लागि बैरी मात्र होइनन् गणतन्त्रविरोधी, संघीयताविरोधी, स्वार्थी पदलोलुप घोषित भएका छन् । आफ्नो समूहमा आउने साक्षात् ईश्वर ठहरिएका छन् । पर्ख र हेरको अवस्थामा बसेकाहरू दुवैथरीको आकर्षण बन्दै छन् । कुनै पनि दिन उनको कित्ता स्पष्ट भएपछि अर्को समूहका लागि उनीहरू पनि गालीगलौजको प्रमुख निसाना हुनेछन् । राजनीतिमा यसभन्दा भद्दा मजाक अर्को के हुन सक्ला ?

महात्मा गान्धी पदमा गएर आदर्श बनेका होइनन्, प्रधानमन्त्री नभएका गणेशमान सिंहसँग कुनै प्रधानमन्त्रीको तुलना हुनसक्ला ?

राजनीतिमा जे पनि हुन्छ र ? राजनीतिमा नैतिकता, इमानदारिता, धैर्यता र विश्वास हुँदैन ? आफूलाई ठूला दल र महान् भन्ने सबैखाले नेताले जसलाई सत्तोसराप गर्छन्, भोलि उसैलाई भगवान् मान्ने दिन पनि आउँछन् भन्ने कुरा किन बिर्सन्छन् ? आफूलाई नेता हुँ भन्नेले एकपटक सोच्नुपर्ने देखिन्छ । के यही प्रवृत्ति आगामी पुस्ताले पनि सिक्नुपर्ने हो ? राजनीति भनेको सारमा यही हो त ? होइन भने आगामी पुस्ताका लागि अनुकरणीय दृष्टान्त यिनीहरूले के दिए त ? यस्ताबाट नवआगन्तुक पिंढीले सिक्ने के हो ? खोइ राजनीतिक संस्कार ?

राजनीतिमा आरोप, प्रत्यारोप र गालीगलौज अन्तर्राष्ट्रिय संस्कार नै बनेको छ । सन् १८०० को अमेरिकी राष्ट्रपति निर्वाचनमा थोमस जेफरसनले राष्ट्रपतिका उम्मेदवार जोन एडम्सलाई ‘नपुंसक’ भनेका थिए भने उत्तरमा एडम्सले जेफरसनलाई ‘थाहा नभएको नश्लको सन्तान’ भनेका थिए । सन् १९९२ मा क्याब्रे डान्सर फ्लावरले बिल क्लिन्टनको चरित्रमाथि धावा बोलिन् । आफ्नो क्लिनटनसँग लामो समयदेखि अवैध सम्बन्ध रहेको कुरा प्रकट गरिन् । क्लिन्टनलाई चुनावी मैदानमा परास्त गर्ने विपक्षीको योजनामुताविक उनले यो आरोप लगाएको प्रमाणित भयो । अन्ततः निर्वाचन क्लिन्टनले नै जिते ।

भारतीय राजनीतिमा त्यहाँको भारतीय जनता पार्टीलाई गाली गलौजको मानक मानिन्छ । यस पार्टीका कार्यकर्ताले स्व. इन्दिरा गान्धीलाई अश्लील शब्दसमेत प्रयोग गरी गाली गर्थे । जब पाकिस्तानसँग युद्ध भयो, भाजपाकै नेता अटलविहारी वाजपेयीले इन्दिरालाई ‘दुर्गामाँ’ भन्न थाले । तल्लो तहका कार्यकर्ता हेरेको हेरै भए । त्यसो हुँदा गालीको राजनीतिमा कुनै मूल्य हुँदैन । यस कारण राजनीतिमा गाली गर्नु आफैं नराम्रो हुनु हो । अहिले नेपालमा रिस उठनेबित्तिकै जो कोहीलाई पनि भारतीय दलाल, ‘र’का एजेन्ट, विदेशी गुप्तचर आदि भनिन्छ । नेपालका शीर्ष भनिने नेताहरूमै यस प्रकारको चरित्र देखिनु राष्ट्रकै लागि लज्जाको विषय हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को लोकसभा निर्वाचनमा ‘खुनी पन्जा’ भन्दै कांग्रेस आईको निर्वाचन चिह्नमाथि कटाक्ष गरे । प्रतिउत्तरमा भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय जनता पार्टीका कार्यकर्तालाई ‘चोर र लुटेराको गिरोह’ भन्नुका साथै ‘इन्डियन मुजाहिद्दिनको समूह’समेत भने । स्वयं मोदीलाई चुनावी मैदानमा लो प्रोफाइल (चिया पसले), साम्प्रदायिक भनेर टिप्पणी गरियो । केही वर्षअघि उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘युद्ध रुचाउने बूढो मान्छे’ भनी टिप्पणी ग¥यो । जवाफमा ट्रम्पले उत्तर कोरियाली शासक (नेता) किम जोङ–उनलाई ‘आफूले पुट्के र मोटे नभन्ने’ बताए ।

यी घटना चुनावी सन्दर्भका थिए । अहिले हामीकहाँ चुनावी सन्दर्भ छैन । अर्काेलाई नहोच्याएसम्म आफू अग्लो हुन नसकिने मनोविज्ञान सबै पार्टीका नेतामा छ । लेनिनका शब्दमा ‘राजनीतिमा गालीले नै प्रायः गाली गर्नेको दुःखलाग्दो शक्तिहीनता, असहायपन, विचारधारात्मक सन्तोषको कमीलाई पूर्ण रूपले ढाकिदिन्छ ।’ सायद यही अवस्था हामीकहाँ पनि छ ।

अर्को पार्टीलाई गाली नगरेसम्म राम्रो कार्यकर्ता होइनन् कि भन्ने कार्यकर्ताको बोलबाला पनि सबै पार्टीमा छ । विपक्षी पार्टीका कुरा सुन्नै नसक्ने, खराबै भए पनि आफ्नो पार्टीका कुरा ठीक भन्ने परिपाटी पनि सबैतिर छ । पार्टी बैठकमा पार्टीका नीति कार्यक्रमभन्दा अरू पार्टीलाई खेदो खनेर बिताइन्छ । यो पनि गलत संस्कार नै हो । कम्तीमा पनि अग्रज भन्नेहरूले नयाँ पुस्तालाई सभ्य, सालीन र नैतिक राजनीतिक संस्कार सिकाउन सक्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखाको चुमनुब्री : डाेकाेमा बाेकेर दुई दिनपछि मतपेटिका आइपुग्याे तर, सुरु भएन मतगणना