विन्ध्यवासिनीको विरासत विस्थापित

पोखरा । ‘नयाँ फिल्म लाग्ने भएपछि दर्शक उत्साहित हुन्थे । टिकटका लागि मारमार हुने । यतिसम्म कि भिडमा मान्छेमाथि मान्छे चढेर टिकट काट्थे । टिकट पाए युद्ध जितेजस्तो महसुस गर्थे । शनिबार त प्रहरीको सुरक्षा नभई फिल्म चलाउनै नसकिने अवस्था आयो ।’

पोखराको पुरानो फिल्म हलमध्येको एक विन्ध्यवासिनीका सञ्चालक उत्तम द्वाले ती दिन यसरी सम्झिए । उनले भने, ‘फिल्म हेर्नकै लागि दर्शक गाउँगाउँबाट बस रिभर्ज गरेर आउँथे । कोही स्याङ्जाबाट आउँथे । कोही तनहुँ त कोही पर्वत बागलुङबाट ओर्लिन्थे ।’

दर्शकको अत्यधिक भीड हुन थालेपछि कास्की प्रहरीलाई अनुरोध गरेर सानो प्रहरी बिट खडा गरिएको अस्ति भर्खरैजस्तो लाग्छ, उनलाई । ‘हलमा नयाँ फिल्म छिरेको थाहा पाएपछि दर्शक बस रिजर्भ गरेरै आउन थाले । बसको पार्किङ धर्मशिला बुद्ध विहारसम्मै पुग्थ्यो । विन्ध्यवासिनीको झण्डै ११ सय सिट नै भरिन्थ्यो, पछि खुलेको श्रीकृष्णमा पनि उस्तै खचाखच हुने,’ ५७ वर्षीय उत्तम द्वाले सम्झिए, ‘काटाकाट र मारामार हुने डरले प्रहरीलाई भत्ता दिएरै बिट खडा गरिएको थियो ।’

हेटौडा घर भइ पोखरामा क्याम्पस पढ्न आएका हरि कार्कीले कल्पना, पूर्णिमा र विन्ध्यवासिनीमा गरी दिनमै ३ शोसम्म फिल्म हेरेको स्मरण गरे । उनका अनुसार त्यसमध्ये विन्ध्यवासिनी आधुनिक मानिन्थ्यो । बजारका भित्ताभित्तामा पोस्टर टाँस्नुका साथै माइकिङ गरेर फिल्मको प्रचार गरिन्थ्यो । अहिलेजस्तो मनोरञ्जनका साधन नहुँदा फिल्म एकमात्र विकल्प भएको विद्यार्थीकालका नियमित दर्शक कार्की बताउँछन् । प्रथमको १ रुपैयाँ १० पैसा र ड्रेस कलको १० रुपैयाँ ९० पैसासम्म टिकट काटेको उनलाई याद छ ।

तेर्सापट्टीस्थित १ हजार ७३ सिट क्षमताको विन्ध्यवासिनी फिल्म हलको करिब ३३ वर्षको विरासत अहिले सिंगल थियटर मल्टिप्लेसका कारण विस्थापन भएको छ । कोरोनायता हल खुलेको छैन । वरिपरि झार पलाएको छ । भुइँलाई लेउले ढालेको छ भने सामान मक्किएका छन् । ‘कोरोनापछि त हल बन्द नै भयो । अब के गर्ने भन्ने सोच्न सकिएको छैन,’ उत्तम द्वाले अनिश्चय प्रकट गरे ।

रानी ऐश्वर्याको शुभजन्मोत्सव अवसर पारेर २०४३ कात्तिक २२ मा विन्ध्यवासिनी हल खुलेको हो । उत्तमका बाबु जितप्रसाद द्वा, हेमबहादुर प्रधानसमेत मिलेर खोलेको उक्त हलमा त्यसबेला नै ७२ लाख लगानी लागेको बताइन्छ । पोखराभरि फिल्म हल बिस्तार गर्ने जितप्रसाद पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी थिए । उनको गत ९ भदौमा ९४ वर्षको उमेरमा निधन भएको हो भने पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भइसकेका हेमबहादुरको २०७८ असार १३ मा ८४ वर्षको उमेरमा निधन भएको हो । हल दर्ता प्रक्रियामा त्यसबेला आफूले सहयोग गरेको कांग्रेसका पुराना नेता नीलकण्ठ शर्मा बताउँछन् । द्वा परिवारमा अंशबण्डासँगै अहिले शेयर सदस्य थपिएका छन् ।

विन्ध्यवासिनीमा राम्रो कमाइ भएपछि जितप्रसाद र उनका भाइहरु कृष्णप्रसाद र हरिप्रसादसमेतको संयुक्त लगानीमा २०५४ साल लक्ष्मीपूजाको दिन श्रीकृष्ण चलचित्र मन्दिर सञ्चालनमा आयो । विगतमा विन्ध्यवासिनी झैं चल्तीको यो हलले अहिले भने दर्शक पाउन मुस्किल छ । हाल निम्न आय भएका दर्शकमात्र पाउने यो हलले नाफा दिन नसकेपछि कर्मचारीको तलब घरबाटै दिनुपर्ने अवस्था रहेको उत्तम द्वाको गुनासो छ ।

२०५८ साउन १ मा वाराही चलचित्र मन्दिर प्रालि खुल्यो । यहाँ वाराही (क) र (ख) सञ्चालन भएकोमा हाल वाराही (क) प्रायः बन्द छ । करिब ९ रोपनीमा विन्ध्यवासिनी, श्रीकृष्ण र वाराही हल एकै ठाउँमा छन् । फिल्म हल सञ्चालनमा द्वा परिवारको तीन पुस्ता जोडिएको छ । तेस्रो पुस्ताले समयको मागसँगै सन् २०१५ मा सभागृहचोकमा मल्टिप्लेक्स हल मिड टाउन ग्यालेरियाको जग हालेको थियो । पूर्व र पश्चिम गरी २ हल रहेको यहाँ क्रमशः १७८ र १७२ सिट क्षमता रहेको कम्पनीका प्रबन्ध निर्देशक निकेश द्वाले बताए ।

द्वा परिवारको लगानी रहेको बुटवलको कालिका मन्दिर पनि कोरोनायता बन्द छ ।

पोखराको सबैभन्दा पुरानो हल भने कल्पना हो । यो २०१६ सालमा नालाको मुखमा फौजदार कीर्तिबहादुर पालिखेको घरमा खोलिएको थियो । धीरबहादुर गुरुङ समेतको लगानी रहेको हलको अहिले अस्तित्व मेटिएको छ । तेर्सापट्टीको सुविधासम्पन्न यो हल भत्काएर एउटा स्कुल भवनको लागि धमाधम काम भइरहेको छ । पोखरामै न्यूरोडमा खोलिएको पूर्णिमा हल होस् वा नयाँबजारको दीपज्योति सिनेमा हलको नामोनिशान छैन । चिप्लेढुंगास्थित ट्रेड मलको सिने प्लेक्स र सभागृहको मिट टाउन भने आधुनिक हलका रुप हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गीरेन्द्रबहादुर राई बिजयी