आक्रामक अभिभावक ओली !

शनिबारका दिन यस स्तम्भमा उपस्थित हुने गरेको छु । प्रायः मैले इतिहासका लुकेका र बिर्सिएका पात्र र घटना अनि धार्मिक वा सांस्कृतिक विषयमा केन्द्रित रहने गरेको छु । मेरो त्यो प्रयास जारी रहनेछ । तर, यसपटक भने बाध्यताबस थोरै फरक विषयमा केही हरफ कोर्ने प्रयास गर्दै छु । संसद्मा अत्यन्तै अस्वाभाविक र अप्रत्याशित परिदृश्य देखिएको र ती दृश्यहरूको दूरगामी प्रभाव हुने हुँदा आज लीकबाट हट्न बाध्य भएको हुँ । नेपालको संसद्मा कैयन् असहज घटनाहरू भएका छन् । सभामुखलाई थप्पड हान्नेदेखि लिएर सभामुख आसनमा भएका व्यक्तिको वस्त्र च्यात्नेसम्मका घटना भएका छन् । एकजना बाहुबली माननीयले हनुमानले गदा उठाएको शैलीमा कुर्सी उठाएर बजारेको रमाइलो दृश्य पनि देखिएकै हो र माइक इत्यादि तोडिएको पनि देखिएकै हो । तर, गत बिहीबारका दिन भने नितान्त नौलो र अप्ठ्यारो दृश्य देखियो ।

विगतका सबैजसो उग्र विरोध र तनावका दृश्यहरू सभामुख वा सत्ताविरुद्ध प्रतिपक्षले देखाएको आक्रोश र आक्रामक क्रियाकलाप हुने गथ्र्यो । तर, बिहीबार त प्रतिरोधमा उत्रिएको प्रतिपक्षलाई तह लगाउन प्रत्याक्रमणमा उत्रिएका सत्ता पक्ष र प्रतिपक्षबीचको मुठभेड थियो । एकप्रकारले सडकमा ओर्लिएका दुई समूहबीचको भिडन्तजस्तै थियो । यस अर्थमा नेपालको सदनले नयाँ कीर्तिमान स्थापित गरेको छ भन्दा फरक नपर्ला । संसद्मा प्रमुख सत्तारूढ दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुदृढ अभिवावक’को भूमिका उल्लेखनीय छ । उहाँले सहकारी ठगीको गम्भीर आरोप लागेका गृहमन्त्री रवि लामिछानेलाई प्रदान गर्नुभएको सुदृढ अभिवावकीय संरक्षण वास्तवमै अभूतपूर्व एवं अद्वितीय थियो । सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको प्रतिरक्षामा स्वयं लामिछाने भन्दा पनि बढी दह्रो ढंगले ओली लाग्नुभएको देखिन्छ । स्वयं रवि र उनको पार्टी संसदीय छानबिन समिति बनाउन लगभग तयार हुँदा पनि ओलीचाहिँ पटक्कै तयार हुनुभएन । आफ्नो पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले दिनुभएका अभिव्यक्ति वास्तवमै चाखलाग्दा थिए । यो मुद्दा उठाउने नेपाली कांग्रेसलाई उहाँले ‘भुक्ने’जस्ता शब्द प्रयोग गर्दै लाञ्छित गर्ने मात्र होइन, उहाँले आफ्ना सांसदलाई जाइलाग्न निर्देशन नै दिनुभयो । उहाँका यी शब्द र व्यवहार शोभनीय हुन् वा होइनन् अथवा संसदीय वा स्तरीय हुन् वा होइनन् ? त्यसको निर्णय पाठकले नै गरून् ! यी त भए संसद्बाहिरका कुरा !

संसद्को कारबाही चलिरहेका बेला कुनै पनि सदस्यले अर्को सदस्यसँग प्रत्यक्ष दोहोरो वार्तालाप गर्न पाइँदैन

बिहीबारका दिन संसद् सुरु भयो र नेपाली कांग्रेसले तत्कालै बेल घेरेर नाराबाजी सुरु ग¥यो । त्यतिबेलासम्म ओली संसद्मा उपस्थित भइसक्नुभएको थिएन । तर, नाराबाजीकै बीचमा उहाँ आएर आफ्नो स्थानमा बस्नुभयो । यता, सभामुख नियमित कार्यक्रम चलाउन थाल्छन् । राष्ट्रपति कार्यालयको पत्र पढ्छन् र रवि लामिछानेलाई बोल्न समय दिन्छन् । नाराबाजी गर्दै गरेका कांग्रेसी सांसदहरू रवि लामिछानेको रोस्ट्रम जाने बाटो रोक्न पुग्छन् । यता, नेकपा एमालेका सांसदहरू पनि उभिएर होहल्ला गर्न थाल्छन् । सायद उनीहरू रविलाई बोल्न दिन माग राख्दै थिए र कांग्रेसको विरोधको विरोध गर्दै थिए । त्यस ठाउँमा थोरै भीडभाड हुन्छ । त्यसपछि अनायासै ओलीजी विजयी मुद्रामा उठेर नारा लगाइरहेका कांग्रेसी सांसदहरूतर्फ बढ्नुहुन्छ र केही भन्न थाल्नुहुन्छ ।

कांग्रेसजनका अनुसार उहाँले नाराबाजी गर्दै गरेकालाई हप्काउनुभयो र रविलाई बाटो दिन अह्राउनुभयो । हप्काउनुभयो वा भएन अथवा कांग्रेसी सांददहरूलाई केही अह्राउनु नै भयो वा भएन हामी टेलिभिजन पर्दामा दृश्य हेर्नेहरूले खुट्याउनसक्ने कुरो भएन । यदि हप्काउनु नै भएको भए त अचम्मै हो । हुनसक्छ, भर्खरै कुनै संवैधानिक पदलाई दिएर आउनुभएको ‘निर्देशन’को नशा छुटेको पो थिएन कि ? अथवा जसलाई जे पनि भन्ने वा जो कसैलाई सुनपानी छर्किने एकाधिकार आफूमा रहेको भ्रम पो छ कि ? जे होस्, उहाँ केही भन्दै चाहिँ हुनुहुन्थ्यो र उहाँको मुद्रा आत्मविश्वासले भरिएको थियो भनेर चाहिँ यकिन साथ भन्न सकिन्छ ।

कुनै नारा लगाइरहेका वा विरोध गरिरहेका सांसदको प्रत्यक्ष प्रतिरोधमा सत्ता पक्षको प्रमुख नेता शारीरिक रूपमा उत्रन हुन्थ्यो वा हुन्नथ्यो ? कसैसँग प्रत्यक्ष वार्तालापमा उत्रन हुन्थ्यो ? म यी प्रश्न कांग्रेसको पक्षमा उठाइरहेको छैन । बिहीबार संसद्मा जेजस्तो घटना भयो, त्यसका लागि एमालेले कांग्रेसलाई संसदीय मर्यादाविपरीत व्यवहार गरेको आरोप लगाएको छ । कांग्रेसले कुन हदसम्म संसदीय मर्यादा उल्लंघन ग¥यो, त्यसको राम्रै जाँचपडताल र छानबिन होस् । मेरो प्रश्नचाहिँ एमाले र त्यसका अध्यक्षसँग हो ।

संसद्को कारबाही चलिरहेका बेला कुनै पनि सदस्यले अर्को सदस्यसँग प्रत्यक्ष दोहोरो वार्तालाप गर्न पाइँदैन । संसद्मा बोलिने प्रत्येक शब्द सभामुखप्रति लक्षित हुन्छ र सम्बोधित हुन्छ । अन्य कसैलाई केही भन्नैपर्ने भए सभामुखमार्फतै भन्नुपर्छ । कांग्रेसीहरू सभामुखको बेलमा पुगेर उनैलाई लक्षित गरेर नारा लगाइरहेका थिए । एमालेका सांसदहरू कांग्रेसको विरोधको विरोधमा आआफ्नो ठाउँमा उभिएर गरेको नाराबाजी वा होहल्ला पनि सभामुखतर्फ लक्षित नै मानौं । तर माननीय ओलीज्यू त प्रत्यक्ष दोहोरो कुराकानी गर्न अघि बढ्नुभयो ! त्यो संसदीय मर्यादाविरुद्ध नै हो । प्रतिनिधिसभा नियमावलीले पनि यही भन्छ होला । त्यस दिन प्रतिनिधिसभाभित्र कसकसले संसदीय परम्परा र मर्यादा भंग गरे, राम्रै छानबिनको विषय होला । तर, माननीय केपी शर्मा ओलीले संसदीय नियम र मर्यादाको ठाडै उल्लंघन गर्नुभएको हो । प्रत्यक्षलाई प्रमाणको खाँचो पर्दैन ।

माननीय ओलीलाई संसद्को नियम कानुन र मर्यादाका विषयमा ज्ञान थिएन वा हेक्का रहेन भनेर त अन्दाज गर्नसम्म पनि मिल्दैन । त्यत्रो विज्ञ अनुभवी मानिस विपक्षी कांग्रेससँग प्रत्यक्ष द्वन्द्व नै निम्त्याउने शैलीमा किन उत्रनुभयो ? धृतराष्ट्र शैलीको पुत्रमोह पो हो कि ? जैविक सन्तान नभए पनि असंख्य पुत्रपुत्रीका आदरणीय ‘बा’लाई ती असंख्य सन्तानहरूको जीवन्त प्रतिनिधिका रूपमा रवि लामिछानेमाथि दुर्भेद्य मोह र माया जागेको पो हो कि ? भनिन्छ, ओलीजीको दुर्भेद्य विशाल साम्राज्य सहकारी नाम गरेका हजारौं इँटामा निर्मित हो । रवि लामिछानेलाई अहिले जुन प्रकारको आरोप लागेको छ, ती आरोप सिद्ध भए भने रवि त ध्वस्त हुन्छन् नै रविजस्तै सयौं ‘बा’का सन्तानहरू पनि नासिन्छन् । त्यसमाथि हालै सर्वोच्च अदालतको फैसलाका कारण सतहमा आएको गिरीबन्धु काण्डले त साम्राज्यभरी खडा भएका प्रत्येक भवनको इँटा जोडाइमा प्रयुक्त माटो सिमेन्टसमेत पग्लिने सम्भावना छ । साँच्चिकै यत्रो मेहनतले खडा गरेको अनि कडा प्रयासले ‘शत्रुहीन’ बनाइएको साम्राज्य ध्वस्त हुने र त्यहाँका बासिन्दा सम्पूर्ण ‘प्यारा सन्तान’को विनाश हुने डरले ओलीजी आत्तिनुभएको पो हो कि ?

नेपालको संसद्मा कैयन् असहज घटनाहरू भएका छन् । सभामुखलाई थप्पड हान्नेदेखि लिएर सभामुख आसनमा भएका व्यक्तिको वस्त्र च्यात्नेसम्मका घटना भएका छन्

माथि उठाइएका प्रश्नहरू मेरो निक्र्यौल होइनन्, शंका मात्र हुन् ! केही सम्भावनाहरूमध्ये सबैभन्दा प्रवल सम्भावना भएको शंका ! तथ्यगत अनुसन्धानले मात्रै मेरो शंकाको निवारण हुनसक्छ । सैद्धान्तिक छलफल गरेर ‘आइन्दा यस्तो हुनुपर्छ’ भन्ने निष्कर्ष दिने प्रतिवेदनले आक्रान्त व्यक्तिलाई राहत हुन्न । अथवा डेढ दुई वर्ष प्रतिवेदन बनाउन लाग्ने र त्यो प्रतिवेदन मन्त्रालयको दराजमा थन्किने खाले आयोगले पनि हुँदै हुन्न । साँच्चिकै हो ! कुराले चिउरा भिज्दैन !

रवि लामिछाने केन्द्रित छानबिन भएर पीडितले न्याय पाए भने त्यस छानबिन मोडेलले समस्त समस्याग्रस्त सहकारीमा निरन्तरता पाउँछ । सहकारी काण्डको विस्तृत छानबिन भयो भने केही कांग्रेसीहरू पनि दोषी साबित होलान् । तर, किन कांग्रेस सहकारी ठगी छानबिनमा यसरी हात धोएर लागेको छ त ? निश्चित रूपमा कांग्रेसले राजनीति गर्दै छ । सम्भवतः कांग्रेसले हानीभन्दा फाइदा बढी देख्यो ! वास्तवमा कांग्रेसले यसपटक आमसामान्य मानिसको जीवनमा सीधा असर पर्ने मुद्दा फेला पारेको छ ।

उता, ओलीजीका लागि चाहिँ असाध्यै अप्ठ्यारो परिस्थिति सिर्जना भएको बुझिन्छ । यस काण्डले स्वाभाविक गति लियो भने ओलीजीको सदावहार हतियार अर्थात् राष्ट्रवाद पनि भुत्ते साबित हुने पक्कापक्की छ । ओलीजी रवि लामिछानेको सुदृढ अभिवावक बन्नुपर्ने बाध्यता यिनै कारणले आइपरेको हुनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 397 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा १६६ वटा मतदानस्थल, ४०९५ जना सुरक्षाकर्मी परिचालन