विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला

काठमाडौं । आराध्यदेव पशुपतिनाथ मन्दिरको पूर्वमा बाग्मती नदी हुनु वास्तुशास्त्रीय मतमा राम्रो हो । बाग्मती नदीले मन्दिरअघिको अग्लो वनको वास्तुदोष निवारण गर्छ । पशुपतिनाथको आग्नेय कोणमा भान्सा छ । भान्साको यो संरचना वास्तु नियम पालना गरेर बनाइएको छ । यसैगरी, शिवजीलाई स्नान गराइएको जल उत्तरपूर्व हुँदै बगेर ब्रह्मनालबाट बाग्मतीमा मिसिनु पनि वास्तुसम्मत छ ।

सुपुष्पदेवले पशुपतिनाथ मन्दिर निर्माण गर्दा सबै वास्तु नियम पालना गरेर बनाएका थिए । पशुपतिनाथ मन्दिर राजा भोजको वास्तु सल्लाहमा बनाएको मानिन्छ । वास्तुविद् राजा भोजको ‘समराङ्गण सूत्रधार’ नामक वास्तुशास्त्रको ग्रन्थ चर्चित छ । पशुपतिका मूल भट्टको निवास दक्षिण पश्चिम भागमा हुनु पनि वास्तुसम्मत छ ।

नैऋत्य कोणको सत्तलमा २०५९ सालमा खोलिएका दुई ढोका, वत्सलेश्वरीसँगैको अर्थात् आग्नेय कोणको ढोका र शंकराचार्य मठबाट नैऋत्य कोणमा २०५७ सालमा बस्ती हटाइएपछि खोलिएको फलामको ढोकाबाहेक अरू सबै ढोका उच्च कोटीमा हुनु पनि वास्तुसम्मत रहेको वास्तुशास्त्री शिव पोखरेल बताउँछन् । वास्तुविपरीत पशुपतिनाथमा चार ढोका निर्माण गर्दा पशुपति क्षेत्र र नेपाल राष्ट्रलाई नै नकारात्मक प्रभाव परिरहेको उनको भनाइ छ ।

‘पशुपतिनाथको नैऋत्य कोणको ढोका भने सबै वास्तुशास्त्रका पुस्तकमा बताएनुसार गलत छ,’ वास्तुशास्त्री पोखरेलले भने, ‘यस ढोकालाई आँखीझ्यालको शैलीमा प्वालप्वाल बनाउनु आसुरी शक्तिको प्रवेश गराउनु हो, नैऋत्य कोणबाट हावा पनि छिर्नुहुँदैन ।’

वास्तुशास्त्रीय ग्रन्थ विश्वकर्मा प्रकाशको द्वारचक्रमा बताएनुसार पितृ र मृग पदमा पशुपतिनाथका नैऋत्य कोणका ढोका पर्छन् । मृग पदमा पर्दा पुत्र नाश एवं कष्ट हुने पुस्तकमा उल्लेख गरिएको छ । विश्वकर्मा प्रकाशमा भनिएको छ ः

अधनं भृङ्गराजाख्ये मृगे पुत्रविनाशनम् ।
पश्चिमे पित्र्ये स्वल्पायुरधनं महद् भयम् ।। (विश्वकर्मा प्रकाश अध्याय ५२ श्लोक ६१, पृष्ठ १८७)

लामो समयसम्म पशुपति क्षेत्र विकास कोषको प्राविधिकका रूपमा काम गरेका इन्जिनियर राजेन्द्रधर राजोपाध्याय पशुपति क्षेत्रको संरचनाको विकासले गर्दा मुलुकको अत्यन्त प्राचीन वास्तुकलासमेत पनि बचाउन नसकिएको बताउँछन् । विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रको विकास गर्ने नाममा पुरातात्विक महत्वको वास्तु बिगार्न थालिएको छ । गलत वास्तुको प्रभाव समग्र मुलुकका साथै पशुपति क्षेत्रको व्यवस्थापन गर्ने अधिकारीलाई पनि परेको वास्तुशास्त्रीय विश्लेषण हुन थालेको छ ।

वास्तु बिगारिएका ढोकाको नाप
पूर्वआग्नेयबाट नैऋत्य कोणसम्मको नाप १ सय ३५ फिट छ । पूर्वआग्नेयबाट नैऋत्य कोणको ठूलो ढोकाको बीचसम्मको नाप १ सय २१ फिट छ । पूर्वआग्नेयबाट सत्तलबीचको सानो ढोकासम्मको नाप ८७ फिट छ । पूर्वआग्नेयबाट दक्षिण आग्नेयको सानो फलामको ढोकाको नाप २३ फिट छ । पूर्वआग्नेयबाट दक्षिण आग्नेयको काठको सानो ढोकाको नाप १६ फिट छ । सत्तलको ठूलो ढोकालाई भीआईपी गेट पनि भनिन्छ । अनौपचारिक रूपमा पशुपतिनाथ जाने उपल्लो तहका पदाधिकारी यस ढोकाबाट पशुपतिनाथको दर्शनका लागि प्रवेश गर्ने गरेकाले भीआईपी गेट भनिएको यहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका अधिकारीको भनाइ छ । यस ढोकालाई आर्यघाटको काठको ढोका पनि भन्ने गरिएको छ ।

वास्तुशास्त्रका ग्रन्थमा पूर्व, उत्तर र पश्चिमका ढोकाका विषयमा मतमतान्तर पाइन्छ । नैऋत्य कोणका ढोका भने गलत हुने व्याख्या वास्तुशास्त्रका सबैजसो ग्रन्थले गरेका छन् । पशुपतिनाथमा पूर्व, उत्तर र पश्चिममा निर्माण गरिएका ढोका उच्च कोटीका रहेको वास्तुविद् पोखरेल बताउँछन् । पशुपतिनाथ मन्दिरको पर्खालका चार कुना दक्षिण पूर्वमा काटिएर नमिलेको उनी बताउँछन् । आर्यघाट जाने बाटोले गर्दा पशुपतिनाथका चार कुना नमिलेको हो ।

पशुपतिनाथ मन्दिरको दक्षिण–पश्चिम पर्खाल (बज्रघरसँग जोडिएको भाग–१३५ फिटसम्म) ३३ दशमलव ५ फिट छ । नैऋत्य ढोकाको पश्चिमी बाहिरी भाग २० फिट छ । मन्दिरको भूखण्ड चन्द्रभेदी अर्थात् उत्तर दक्षिण लामो छ । वास्तुशास्त्रीय दृष्टिमा यो शुभ मानिन्छ । पूर्व–पश्चिम लामो हुने भूखण्डलाई सूर्यभेदी भनिन्छ । वास्तुशास्त्रीय दृष्टिमा यस्तो भूखण्ड अशुभ मानिन्छ । नेपालको भूखण्ड सूर्यभेदी छ ।

वास्तुविपरीतका ढोका बन्दा बनेनन् गुरुयोजना अनुसारका आधा दर्जन ढोका

कोष सञ्चालक परिषद्का पूर्वसदस्य र कोषाध्यक्षसमेत रहिसकेका बाग्मती प्रदेशसभाका पूर्वसदस्य नरोत्तम वैद्य नैऋत्यकोणको ढोका खोल्ने बेलामा आधा दर्जन अरू ढोकाको समेत डिजाइन गरिए पनि वास्तुविपरीतका ढोका मात्र निर्माण गरेर अरू नबनेको बताउँछन् । त्यसबेला पिंगलास्थानस्थित चक्रपथबाट पशुपति मन्दिर प्रवेश गर्नेगरी बाहिरी ढोकासमेत बनाउनेगरी डिजाइन बनाइएको थियो । गुरुयोजनानुसार बनाइएको यस ढोकाको डिजाइन अलपत्र बन्यो । यहाँ पछि नेपाल एसबीआई बैंकले ढोका निर्माण गरेको छ ।

कलात्मक रूपमा डिजाइन गरिएका यी आधा दर्जन ढोकाको ठेक्काका लागि गोरखापत्र दैनिकमा सूचनासमेत प्रकाशन गरिएको थियो । जसनुसार धेरैवटा ठेक्का परेको त्यसबेलाका सञ्चालक परिषद् सदस्यसमेत रहेका वैद्यले सुनाए । यी सबै ढोकाको डिजाइन इन्जिनियर जीवराज पोखरेलले नै गरेका थिए । त्यसबेला डिजाइन गरिएको अर्को ढोका गुह्येश्वरीबाट पशुपति निस्कने थियो । जुन ढोका उमाकुण्डसँगैको भागमा बनाउने योजना थियो । यो ढोका अझै पनि बन्ने अत्तोपत्तो छैन ।

त्यसबेला डिजाइन गरिएको भुवनेश्वरीबाट पशुपति निस्कने ढोका पनि अहिलेसम्म बनेको छैन । त्यसबेला डिजाइन गरिएकामध्ये पशुपतिको नैऋत्य कोणको ढोका मात्र बनेको काठमाडौं महानगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका वैद्य बताउँछन् । पशुपतिको दक्षिण ढोकामा महादेवको त्रिनेत्र खुल्ने मानिन्छ । यसले नै देख्नेगरी नैऋत्य कोणको ढोका बनाइएको छ । पशुपति मन्दिरको दक्षिणी भागमा उन्मत्त भैरवको मन्दिर बनाउनुअघिसम्म दक्षिण ढोकाले देख्ने ललितपुरको पाटन क्षेत्रमा विभिन्न समस्या भइरहन्थ्यो । तान्त्रिकको सल्लाहनुसार पशुपति मूल मन्दिरको दक्षिणी भागमा पर्नेगरी उन्मत्त भैरवको मन्दिर बनाएपछि मात्र पाटन क्षेत्रमा आउने गरेको समस्या हल भएको विश्वास गरिन्छ ।

सुनको जलहरी बनाएको जस्ताको टहराको वास्तु पनि गलत
पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी बनाउन पशुपति क्षेत्रको रुद्रगारेश्वरमा जस्ताको टहरा बनाएको थियो । विवादबीच सुनको जलहरी राखिसके पनि रुद्रगारेश्वरको जस्ताको टहरा भने अहिलेसम्म भत्काइएको छैन । जलहरी बनाउनका लागि सुन गाल्न निर्माण गरिएको जस्ताको टहराको वास्तु पनि गलत रहेको वास्तुशास्त्री पोखरेल बताउँछन् ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कोषका कर्मचारीको घेराबीच सुनको जलहरी बनाइए पनि सुनको मात्रामा अनियमितता भएको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो । अख्तियारले अनुसन्धान एवं राखिसकेको सुनको जलहरी नापेर विशेष अदालतमा मुद्दा दायर गरेकामा आरोपितले सफाइ पाइसकेका छन् । सुनको जलहरी राख्ने बेलाका कोषका सदस्य सचिव डा. प्रदीप ढकाल र त्यसबेलाका कोषाध्यक्ष एवं मुद्दा दायर गर्ने बेलाका सदस्य सचिव डा. मिलनकुमार थापालगायत कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

पशुपतिनाथमा सुनको जलहरी राखिसकेपछि पशुपतिनाथका प्रधान अर्चक गणेश भट्टलाई गणेशको मूर्ति बनाउन भनी १ किलो सुन दिएको चर्चा अहिले पशुपति क्षेत्रमा चल्न थालेको छ । मूल भट्टले यस्तो बयान अदालतमै दिएको चर्चा पशुपति क्षेत्रमा चलेको हो ।

सुनको जलहरी बनाएको जस्ताको टहराको स्वरूप
रुद्रगारेश्वरको ईशान कोणमा सुनको जलहरी बनाउने जस्ताको टहरो बनाइएको छ । यो टहरो पशुपतिनाथ मूल मन्दिरको उत्तरमा पर्छ । जस्ताको टहरोमा प्रवेश गर्ने द्वार दक्षिण–पश्चिम अर्थात् पितृ पदमा बनाइएको छ । यो टहरो बनाएपछि नेपालमा फेरि कोरोना महामारी फैलिएको पशुपति क्षेत्रका गतिविधिमा सूक्ष्म निगरानी गर्दै आएका वास्तुविद् पोखरेल सुनाउँछन् ।

जस्ताको टहराको गलत वास्तुकै कारण सदस्य सचिव एवं सुनको जलहरी निर्माणताकाका कोषका कोषाध्यक्ष तथा जलहरी निर्माण समितिका संयोजक थापाले संसदीय समितिमा गल्ती नगर्दा पनि सुन चोरेको आरोप आएकाले आत्महत्या गरुँजस्तो लागेको बताउनुपरेको पनि पोखरेलले सुनाए । कोषको कार्यकारी भएर काम गर्ने अधिकारीले यसरी बोल्नुपर्ने अवस्था यहाँ बनाइएको गलत वास्तु संरचनाका कारण आएको वास्तुविद्को विश्लेषण छ ।

वास्तु नियम पालना गरिएका विश्वका प्रमुख मन्दिर
भारतको बालाजी तिरूपति मन्दिरमा वास्तुशास्त्रले बताएनुसार उच्चकोटी र निम्न कोटीको नियमलाई पालना गरिएको छ । यसैगरी, विश्वमै बढी खर्च लगाएर निर्माण गरिएको भारतको दिल्लीस्थित अक्षरधाम मन्दिरमा पनि पूर्णरूपमा वास्तु नियम पालना भएको छ ।

वास्तुनुसारै भारतले आफ्नो राजधानी कोलकाताबाट नयाँदिल्ली सारेपछि समृद्धि प्राप्त हुन थालेको थियो । वास्तुनुसार जापानको राजधानी क्वेटो सहरबाट टोकियो सारेपछि विकास र समृद्धिले गति लिन थालेको हो । क्वेटो सहरको उत्तरमा पहाड छ । वास्तुशास्त्रनुसार यसले धनात्मक ऊर्जालाई छेक्छ ।

भारतका धनी मन्दिरहरूको उत्तरपूर्वमा पोखरी छ । यस्तो अवस्था केरलाको स्वामी पद्मनाभ मन्दिर र तिरूपतिको बालाजी मन्दिरमा देख्न सकिन्छ । पशुपतिनाथको उत्तरमा भने कैलाश डाँडा हुनु भौगोलिक वास्तुनुसार गलत हो । उत्तरको पहाडले धनात्मक ऊर्जालाई छेकेको छ । उत्तरमा अग्लो हुने नेपाल, भुटान, इथियोपिया, दक्षिण अफ्रिकालगायत मुलुक छन् । जापानका तीन सहर क्वेटो, हिरोसिमा र नागासाकीमा पनि उत्तरमा पहाड छ । यही वास्तु दोष मिलाउन जापानले राजधानी सहर क्वेटोबाट टोकियो सारेको वास्तुशास्त्रीहरूको तर्क छ ।

बेलायतको लन्डनमा निर्माण गरिएको स्वामी नारायण मन्दिरमा पनि वास्तु नियम पालना भएको छ । यसको चर्चा अंग्रेजीमा लेखिएको वास्तुको पुस्तक ‘वास्तु विद्या’मा गरिएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निम्न कोटीमा रहेको पूर्वको ढोका पूर्णरूपमा बन्द गरेर उत्तरपूर्वमा थोरै जग्गा किनेर दक्षिण फर्काएर उच्चकोटीको ढोका निर्माण गरेका छन् । यसो गरेपछि नै उनी पार्टी अध्यक्ष र दुईपटक प्रधानमन्त्री भएको विश्वास छ ।

वास्तुमा मुहूर्त
वास्तुमा मुहूर्त पनि मिलाउनुपर्छ । (विश्वकर्मवास्तु शास्त्रम् पृष्ठ १४) पशुपतिनाथ मन्दिर परिसरमा १९ वैशाख २०८० देखि अयुत चण्डी महायज्ञ गरिएको थियो । त्यसबेला बृहस्पति अस्त थियो । पशुपति क्षेत्रजस्तो स्थलमा यसरी मुहूर्त नमिलेका बेला शुभ कर्म गर्दा मुलुकलाई नराम्रो भएको वास्तुशास्त्रीहरूको भनाइ छ । मुहूर्त नभएका बेला महायज्ञ नगर्न नेपाल पञ्चांग निर्णायक विकास समितिले विज्ञप्तिमार्फत् नै आह्वान गरेको थियो । सरकारले चाडपर्व, मुहूर्त निर्णय गर्न स्थापना गरेको संस्थाले सार्वजनिक रूपमा विज्ञप्तिमार्फत् आह्वान गर्दा पनि अयुत चण्डी महायज्ञ रोकिएन । यसको प्रभाव पशुपति क्षेत्रको व्यवस्थापन गर्ने पशुपति क्षेत्र विकास कोषमा परेको वास्तुशास्त्री पोखरेलले सुनाए ।

विशेषगरी वास्तुशास्त्रमा देवस्थापना, द्वारस्थापना, गृहारम्भ, प्रासादारम्भ, गृहप्रवेश, शिलान्यास आदि अनेक विषयमा काल अर्थात् समयको महत्व दर्शाइएको छ । आचार्य विश्वकर्माले समयको महत्व बुझाउँदै भनेका छन् ः

आदौ कालं परीक्षेत् सर्वकामार्थसिद्धये ।
कालो हि सर्वजीवानां शुभाऽशुभफलप्रद ः ।।
कालातिक्रमणे दोषो द्रव्यहानिश्च जायते ।
देवानामपि देवीनांविप्रादीनां विशेषत ः ।।
प्रासादभवनारम्भे स्तम्भस्थापनकर्मणि ।
द्वारस्थापनवेलायां भवनानां प्रवेशने ।।
वापीतडागनिर्माणे गोपुरारम्भकर्मणि ।
विमानमण्डपरामगर्भगेहोद्धतो तथा ।।
कालं शुभं परीक्षेत् मङ्गलावाप्ति साधकम् ।
देशभेदेन कालोऽपि भिन्नतां प्रतिपद्येत ।।
इष्टिकान्यसनं शस्तं शुभकाले विशेषत ः ।
तस्मात्सर्वप्रयत्नेन शुभं कालं न लङ्घयेत् ।।

यसैले वास्तुशास्त्रमा काल अर्थात् समय अत्यन्त महत्वपूर्ण छ । कालको ज्ञान कालविधान ज्योतिषशास्त्रको अधीनमा छ । यसैले कालको ज्ञानका लागि ज्योतिषशास्त्रको ज्ञान हुनुपर्छ ।

विश्वकर्मा वास्तुशास्त्रका अग्रणी व्यक्तित्व मानिन्छन् । उनले वास्तुशास्त्र सुरु गर्दा सुरुमै पशुपतिनाथको प्रार्थना गरिएको छ ।

विश्वकर्म शिवस्तुति ः
नम ः कैलाशनाथाय पशूनां पतये नम ः ।
नमोऽष्टमूर्तये गौरीकमनाय नमोनम ः ।। १ ।।

वास्तुपुरुषको उत्तरपूर्वमा शिर हुन्छ । पशुपतिनाथको उत्तरभागमा रहेको पेटी २०६० सालअघि भत्काइएको थियो । वास्तुपुरुषको दक्षिणपश्चिम भाग अर्थात् आग्नेय कोणमा गोडा र मलमूत्र त्याग गर्ने स्थान हुन्छ । यस स्थानको संरचना बिगारेर वास्तुनुसार गलत स्थानमा ढोका निर्माण गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका पूर्वप्रमुख गौरीशंकर पराजुली नैऋत्य कोणमा २०५९ सालमा खोलिएको ढोका ठूला पर्वमा मात्र खोलेर अरू बेला बन्द गर्ने गरिएको बताउँछन् । ठूला पर्वमा पशुपतिनाथ मन्दिरमा आउने भक्तजनलाई दु्रत गतिमा दर्शन गराउने उद्देश्यले वसन्त चौधरी सदस्यसचिव भएका बेला यो ढोका खोलिएको जानकारी उनले दिए ।
पहिले कोषले ५०० र हजार रुपैयाँको टिकट काटेर भक्तजनलाई पशुपतिनाथ मन्दिरको दर्शन गराउन पनि यही ढोका प्रयोग गर्ने गरेको थियो । पशुपतिको मुख्य क्षेत्रमा रहेको बस्ती २०५७ सालमा हटाइएपछि यो ढोका खोलिएको हो ।

यो ढोका खोल्ने बेलामा पनि वास्तु नमिलेको विषयको चर्चा भएको कोषका पूर्वकर्मचारी मुकुन्द पाण्डे बताउँछन् । कोष सञ्चालक परिषद्का तत्कालीन सदस्यसमेत रहेका सुन्दरप्रसाद शाहले पनि वास्तु नमिलाई ढोका खोल्ने कुराको विरोध गरेका थिए । यस ढोकासँगैको सत्तल शाह परिवारकै पुर्खाले बनाएकाले यसको संरक्षण परिवारले नै गर्दै आएको छ ।

नैऋत्य कोणमा खोल्न लागिएको ढोका वास्तुविपरीत छ भन्ने चर्चा चलेपछि अध्ययन गर्न कोषका तत्कालीन सदस्य सचिव वसन्त चौधरीको संयोजकत्वमा समिति पनि गठन गरिएको थियो । त्यसबेला मूल मन्दिरको सिधा दक्षिण ढोका खोल्नुहुँदैन अलक्षण लाग्छ भनी चर्चा भएको पूर्वकर्मचारी पाण्डेले स्मरण गरे ।

वैदिक उद्बोधन संघले प्रकाशन गरेको ‘वैदिक वास्तु’ पुस्तकमा कुलचन्द्र कोइरालाले लेखेको ‘पशुपतिको वास्तु’ शीर्षकको लेखमा शास्त्रीय दृष्टिमा पशुपति क्षेत्रको वास्तु केही गलत देखिएको उल्लेख छ । ज्योतिषाचार्य बराहमिहिरले २० प्रकारका देवभवनको गणना गरेको पाइन्छ । जसलाई मेरु, मन्दर आदि नाम दिइएको छ । मेरु नामक प्रासादको ३२ हात, ६ कोणवाला चार ढोका, १० भूमिको ६४ हात अग्लो भनेर बराहमिहिरले व्याख्या गरेको पाइन्छ ।

बराहमिहिरपछि विकसित हँुदै गएको प्रासाद वास्तुमा नागरशैली चतुरस्र, बेसरशैली वृत्त (वर्तुल) र द्राविडशैली अष्टास्त्र हुनुपर्छ भन्ने उल्लेख गरिएको पाइन्छ । कौटिल्यले पनि कुन देवता कहाँ स्थापना गर्ने भनी उल्लेख गरेको ‘वैदिक वास्तु’ पुस्तकमा लेखिएको छ ।

समराङ्गण सूत्रधार पुस्तकमा नगरभित्र र बाहिर देवता स्थापना गर्ने विषय उल्लेख गरिएको छ । बाहिर स्थापना गरेका देवताको मुख नगरपट्टि फर्काएर गर्नुपर्ने र पूर्वपश्चिम ढोका फर्काउन मिल्छ । दक्षिणतर्फ बनेका मन्दिरको उत्तरमुख गरी ढोका नबनाउने निर्देशन पाइन्छ । यसैगरी दक्षिण फर्काउन पनि निषेध गरिएको छ ।

निवेशनानि कुर्वीत त्रिदशानां यथाक्रमम् ।
नगराभिमुख चित्रि वन भाञ्जि शुभानि च ।। समराङ्गण सूत्रधार अध्याय १०–११०
प्राच्यां प्रत्यङ्मुखान् कुर्यात् प्राङ्मुखांश्चाम्बु भृद्दिशि ।
याम्योदक्पाश्र्व योस्तस्य प्रादक्षिण्येन वंशगान् । समराङ्गण सूत्रधार अध्याय १०–११
दक्षिणस्यां नकुर्वीत त्रिदशानप्युदङ् मुखान् । समराङ्गण सूत्रधार अध्याय १०–१२

अर्थात् नगराभिमुख बनाएर देवताहरू क्रमपूर्वक स्थापना गर्नु । चित्र, वन, भाञ्जी (शालभाञ्जी) र अन्य शुभ कुरा पनि नगराभिमुख बनाउनु शुभ छ । पूर्व स्थापित देवताको मुख पश्चिम, पश्चिममा स्थापना गरेको देवता पूर्वाभिमुख, दक्षिण र उत्तर स्थापित देवताको मुख भने पाश्र्ववर्ती (पूर्व वा पश्चिममै फर्काएर) स्थापना गर्नु । देवताको स्थापना दक्षिण र उत्तर मुख पारेर नगर्नु भन्ने शास्त्रीय वचन छ ।

पशुपतिनाथ मन्दिरको चारैतिर ढोका भए पनि पश्चिम ढोकालाई मुख्य ढोकाका रूपमा प्रयोग गरिन्छ । वास्तुशास्त्रनुसार पशुपतिनाथ मन्दिरको निर्माणकालमा देवपत्तन प्रमुख सहर रहेको यसबाट पुष्टि हुन्छ । गौशालानजिकको बगैंचालाई आज पनि भण्डारखाल भनिन्छ । ‘भाण्डागार’को अपभ्रंश नै भण्डारखाल हो । यसबाट पनि प्राचीच दरबार यसै क्षेत्रमा थियो भन्ने अनुमान गर्न सकिन्छ । यस कुरालाई अन्य अनुसन्धानकर्ताले पनि स्वीकार गरेको ‘पशुपतिको वास्तु’ शीर्षकको लेखमा लेखक कोइरालाले उल्लेख गरेका छन् ।

बराहमिहिरले जस्तै भोजराजले पनि देवताको स्थापना गर्दा नदी, समुद्र, जलाशय भएको ठाउँमा सहरबाट थोरै टाढा घना जंगल तथा पर्वत भएका ठाउँमा नै असल हुन्छ भन्ने स्वीकार गरेका छन् ।

नदीनामम्बुधीनां च समन्तान्नगरस्य च ।
कान्तारेष्वद्रिषु स्थानं सर्वश्रेष्ठमुपासते ।। समराङ्गण सूत्रधार अध्याय १०–११२

पशुपतिनाथको मन्दिरमा वास्तुशास्त्रकारको यो कथनअनुसार नै संरचना निर्माण गरिएको छ । वास्तुशास्त्रनुसार लिंग स्थापना गर्दा सहरभन्दा बाहिर गर्नुपर्छ । श्मशान दक्षिणमा हुनुपर्छ । श्मशानमा स्थापना गरिने लिंग पनि दक्षिणमा नै हुनुपर्छ ।

पशुपतिनाथ मन्दिरको जग राख्दा मेरु नामक प्रासादको कल्पना गरिएको कोइरालाको लेखमा उल्लेख छ । नापमा भने बराहमिहिरको समयभन्दा केही विकसित भइसकेको र थपघट गरी बनाउने चलन पनि चलेको बुझिन्छ । मयले भने नापका आधारमा नामकरण नगरेर एक–दुई–तीन भूमि (तला)को आधार लिएको पाइन्छ । पछिका वास्तुशास्त्रमा १६ तलासम्मको कथन छ । १२ तलासम्मको उचाइ भएको गणनाचाहिँ सर्वसम्मत मानिन्छ । सबैतिर सात वा नौ तलाको राजदरबार बनाउने परम्परा थियो ।

पशुपतिाथ मन्दिरको उचाइ परिमाण ६४ हातभन्दा कम छ । यसको पहिलो निर्माण पाँच छाना भएको, बीचमा तीन छाना भएकामा गंगा रानीले एक छाना घटाई दुई छाना मात्र राखेको कुरा वंशावलीकारको कथनबाट थाहा पाइन्छ । लगभग ६५ हातको उचाइ भएको पुरातन पशुपतिनाथ मन्दिरको निर्माण मेरु प्रासादको कल्पनामा गरिएको थियो होला भन्नुपर्छ । पछिका वास्तुशास्त्रकारले हुनुपर्ने उचाइ (लम्बाइको दोब्बर)मा एक भाग (चतुर्थांश) कम गर्न सकिने व्याख्या गरेको पाइनुले विभिन्न प्राकृतिक प्रकोपबाट सुरक्षा गर्ने दृष्टिकोणमा उचाइ परिमाण घटाएको हुनसक्ने लेखक कोइरालाले उल्लेख गरेका छन् ।

पशुपतिनाथ मन्दिरको अहिलेको उचाइ ५१ हात २० अंगुल छ । मन्दिरको वास्तविक जगको परिमाणको दोब्बरमा एक चतुर्थांशभन्दा बढी नै छ । मयमतमा प्रसिद्ध राष्ट्रिय देवताका रूपमा मान्यता पाएका देवालयको निर्माण गर्दा गाउँमा होस् अथवा सहरमा नै होस्, अन्य घरभन्दा नीचो गरेर बनाइयो भने त्यस ठाउँका मानिस नीच स्वभावका हुन्छन् र नारीहरू दुःशील हुुन्छन् भन्ने कुरा व्यक्त गरिएको छ ।

ग्रामे वा नगरे वात्कृष्टे देवालयं तु नीचं स्यात् ।
नीचा भवन्ति पुरुषा स्त्रियोऽपि दुःशीलतां यान्ति । मयमत अध्याय ९ श्लोक ८१
तस्मात् सममधिकं वा तत्सङ्ख्येव प्रयोक्तव्या ः ।
हरिहरसदनं वास्तुकमन्यत् सर्वं यथेष्टं स्यात् । मयमत अध्याय ९ श्लोक ८३

यो नियम शिव र विष्णुको मन्दिरका लागि मात्रै भनिएको भए तापनि रत्न मल्लले तुलजाको मन्दिर बनाउँदा सो वास्तुशास्त्रीय वचन पालना गरेका थिए भन्ने कुरा प्राचीन लोकोक्तिबाट पनि अवगत हुन्छ । तुलजाको पूजामा शिव (कामेश्वर) पूजाको अनिवार्यता हुन्छ र तुलजा एवं देवगुलितले दुवै मन्दिरमा शिवको सान्निध्य छ ।

वरिपरिको ठाउँ, जहाँ घर बनेका छन् त्यसभन्दा उच्च पारेर नै पशुपतिनाथ मन्दिर पनि बनाइएको अनुमान हुन्छ । परम्परालाई सकभर नबदल्ने परिपाटी हिन्दू जातिमा छ । यसैले, पुनर्निर्माण वा जीर्णोद्धारका क्रममा पशुपतिनाथ मन्दिरका मौलिक तत्वहरू यथावत् राखेर नै गरिएको कुरा मान्नुपर्ने निष्कर्ष कोइरालाले लेखमा दिए पनि पछिल्लो समय त्यस्तो हुन नसकेको वास्तुशास्त्री पोखरेल बताउँछन् ।

जीवराज पोखरेल र सुदर्शनराज तिवारी प्राचीन वास्तुमा पनि दक्खल राख्ने इन्जिनियर हुन् । उनीहरूले बनाएको नक्सानुसार खोलिएको ढोका वास्तुविपरीत नहुनुपर्ने तर्क गर्ने वास्तुविद्हरू पनि छन् । वास्तुविद् डा. खिलानाथ बस्ताकोटी ढोका नैऋत्य कोणमै खोलिएको भए त्यो गलत हुने बताउँछन् । दक्षिणको केन्द्रमा मात्र वास्तुनुसार सही ढोका हुने उनले सुनाए ।

पशुपति क्षेत्रका उन्मत्त भैरव र यज्ञशाला पुनर्निर्माणको डिजाइन तयार पारेका इन्जिनियर शंकरनाथ रिमाल पशुपतिनाथको दक्षिणमा अघोर मुख हुने भएकाले पहिले बानेश्वरबाट पाटनसम्मका जग्गा कसैले नकिन्ने गरेको स्मरण गर्छन् । आफ्ना बाजेले बानेश्वरमा सस्तो जग्गा पाए पनि पशुपतिनाथको दक्षिण क्षेत्र परेकाले नकिनेको इन्जिनियर रिमालले बताए । यसैले नैऋत्य कोणमा ढोका खोलिनु गलत हुने कोषका पूर्वप्राविधिक सल्लाहकारसमेत भएर काम गरिसकेका रिमालले सुनाए । पशुपतिनाथ मन्दिरको दक्षिणको अघोर मुखको आँखा छल्न यसो गरिएको हो ।

गलत ढोका खोल्न पुरातत्वको स्वीकृति
वास्तुशास्त्रनुसार गलत ढोका खोल्न पुरातत्व विभागले पनि स्वीकृति दिएको तथ्य खुलेको छ । कोषले ३ वैशाख २०५९ मा विभागलाई चलानी नं. ११६५ को पत्र पठाई दक्षिणतर्फको सत्तल भत्काई जीर्णोद्धार गर्न स्वीकृति माग गरेको थियो । सोही सत्तल रहेको स्थानमा प्रवेशद्वार निर्माण गर्न ११ वैशाख २०५९ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बलबहादुर केसीको उपस्थितिमा छलफलसमेत भएको थियो । छलफलमा सो सत्तलको मौलिक स्केलसँग मिल्नेगरी प्रवेशद्वारसहित सत्तल पुनर्निर्माण गर्ने सहमति भएको विभागले कोषलाई दिएको पत्रमा उल्लेख छ । विभागले २५ वैशाख २०५९ मा कोषलाई मागेनुसारको स्वीकृति दिएको थियो ।

स्वीकृतिमा ‘प्रस्तुत सन्दर्भमा यसैसाथ संलग्न डिजाइनअनुसार परम्परागत निर्माण सामग्रीहरू प्रयोग गरी सो सत्तलको जीर्णोद्धार संरक्षण गर्न र दक्षिणतर्फको ढोकालाई प्रवेशद्वारका रूपमा प्रयोग गर्न यस विभागको सहमति रहेको व्यहोरा निर्णयानुसार अनुरोध गरिन्छ’ भनी उल्लेख गरिएको छ । निर्णयानुसार अनुरोध गरी पठाइएको भनी पत्रमा उल्लेख गरिए पनि एकै पत्रबाट सबै काम भएको विभागका सूचना अधिकारी रमेशराज पौडेलले जानकारी दिए । पत्र पुरातत्व अधिकृतले तयार पारी हस्ताक्षर गरे पनि नाम स्पष्ट छैन । उपरोक्तनुसार लेखी पठाउने स्वीकृतार्थ भनी स्वीकृति दिने अधिकारी र सदर गर्ने विभागका तत्कालीन महानिर्देशकको हस्ताक्षर भए पनि नाम भने कसैको पनि खुल्दैन । विभागमा त्यसबेलाको महानिर्देशक थिए भन्ने पत्ता लगाउन नसकिएको सूचना अधिकारी पौडेल बताउँछन् ।

नैऋत्य कोणमा नयाँ ढोका खोल्न कोषले त्यहीँ रहेको सत्तल पुनर्निर्माणको मौका छोपेको पत्रबाट स्पष्ट हुन्छ । ढोका खोल्ने विषयमा छलफल गर्न तत्कालीन मन्त्री बलबहादुर केसी पनि लागिपरेको कोषमै भएको छलफलमा गएबाट प्रस्ट हुन्छ । विभागले ढोका खोल्ने स्वीकृति दिँदा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को कुन दफानुसार दिएको भन्ने पत्रमा खुलाइएको छैन ।
पूर्वमन्त्री केसीसँग यस विषयमा प्रतिक्रिया माग्दा आफू वास्तुशास्त्रको ज्ञाता नभएको सुनाउँदै सबै कुरा मिलेको छ भनेपछि नैऋत्य कोणको ढोकाको शिलान्यासका क्रममा पूजा आफैंले गरेको स्विकार्छन् । विदुर पौडेल, नरोत्तम वैद्यलगायतसँग सल्लाह गरेर नै आफूले काम गरेको पूर्वमन्त्री केसीको स्पष्टोक्ति छ । पौडेल र वैद्य दुवैजना पशुपति क्षेत्रमै बस्ने र यहाँको प्राचीनताका विषयमा जानकार भएकाले उनीहरूको सहमति भएकैले आफूले पनि यस विषयलाई नरोेकेको केसीले सुनाए ।

शैव मतनुसार पनि नैऋत्यको ढोका गलत
पशुपति क्षेत्र विकास कोष गठन भएपछि पहिलो कार्यकालमा त्यसको नेतृत्व गरेका श्रीयन्त्रका साधक एवं श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद चापागाईं शैव मतनुसार पनि नैऋत्य कोणको ढोका गलत रहेको बताउँछन् । लिच्छवी राजा सुपुष्पदेवले पशुपतिनाथको मन्दिर निर्माण गराउँदा वास्तुसम्मत गराएका थिए । उनका अनुसार वास्तुसम्मत संरचना २०१६ सालसम्म रहेको थियो । राजा महेन्द्रको विश्वासपात्रका रूपमा रहेका विष्णुमणि आचार्य दीक्षितलाई २०१६ सालमा काठमाडौं उपत्यका निर्माण समितिको अध्यक्ष बनाइएको थियो । सो समितिले पशुपतिनाथलगायत राजधानीका मन्दिरको जीर्णाेद्धार र मर्मत सम्भार गर्नेक्रममा पशुपतिनाथको पश्चिमढोकाको स्वरूप बिगारेको चापागाईंले जानकारी गराए ।

‘पशुपतिनाथको पश्चिम मूलढोका छिर्दा सामान्य मानिसले निहुरिनु नपर्ने अग्ला मानिसले निहुरिनुपर्ने थियो, पश्चिम मूल ढोकालाई अशास्त्रीय बनाउने काम राजा महेन्द्रकै पालामा सुरु भयो, राजाले गठन गरेको समितिले यो काम गरेको हो, यो समितिमा सुवर्णशमशेर पनि हुनुहुन्थ्यो, मूल मन्दिर परिसरका कतिपय संरचनालाई चर्चको स्वरूप दिइयो, कतिलाई गुम्बज शैलीमा रूपान्तरण गरियो,’ चापागाईंले भने ।

पशुपतिनाथमा पश्चिमको ठूलो ढोका खोल्ने समितिको इन्जिनियर कुलरत्न तुलाधर रहेको सुदर्शनराज तिवारी बताउँछन् । महेन्द्रको स्वर्गारोहण भएर वीरेन्द्र राजा भएपछि भने दीक्षितलाई सो समितिबाट हटाइयो । राष्ट्रदेवका रूपमा पूजित पशुपतिनाथको वास्तु संरचना बिगार्न थालेदेखि नेपालमा नराम्रा घटना हुन थालेकामा वास्तुशास्त्रीहरूको एकमत छ ।

२०५९ सालमा नैऋत्य कोणमा खोलिएको ढोका पनि अग्लो छ । शैव मतनुसार नैऋत्य कोणमा भगवान् शिवको छैटौं मुख कालाग्नि रुद्रको प्रत्यक्ष दृष्टि हुन्छ । कालाग्नि रुद्र आत्यन्तिक प्रलयमा प्रयोग हुने मुख हो । भगवान् शिवले पाशुपतास्त्रको प्रयोग गरेपछि आकाश पनि नरहने बेलामा यस्तो ढोकाको प्रयोग हुने शैव मतको मान्यता छ । अलक्ष्मी अर्थात् दुःख, दारिद्रय, गरिबीको स्थान पनि नैऋत्य कोण हो । यसैले यो ढोका गलत स्थानमा बनाइएकामा वास्तुशास्त्रीको एक मत रहेको छ । यसको प्रभाव पशुपति क्षेत्रमा मात्र नभई समग्र मुलुकमै हुनेमा पनि वास्तुशास्त्रीहरूले समान धारणा राखेका छन् ।

पशुपतिनाथमा यस्तो ढोका बनाउँदा वास्तुविद्, धर्मशास्त्रका जानकारसँग सल्लाह लिइएन । कोषले उपलब्ध गराएको नैऋत्य कोणको ढोका निर्माणसम्बन्धी नक्साको डिजाइन जीवराज पोखरेल र सुदर्शनराज तिवारीले गरेको उल्लेख छ । तिवारी आफू सो समितिमा बसे पनि नैऋत्य कोणबाट ढोका खोल्न थालेपछि असहमति राखेर बाहिरिएको बताउँछन् । उनका अनुसार राजा वीरेन्द्रकै पालामा दक्षिणतिर वीरेन्द्र सहाराका नाममा ढोका खोल्न थालिएको थियो । राजा वीरेन्द्रकै अघि इन्जिनियर भरत शर्माले पशुपतिनाथको दक्षिणतिर वीरेन्द्र सहारा खोल्नु शास्त्रीय रूपमा गलत हुने भनी विरोध गरेपछि यो काम रोकिएको इन्जिनियर तिवारीले सुनाए ।

अहिलेसम्म पाइएका प्रमाणका आधारमा छानायुक्त अर्थात् छत्रेशैलीको मन्दिर बनाउने पहिला व्यक्ति वा राजा सुपुष्पदेव देखिएको गोपाल वंशावलीमा उल्लेख छ । सुपुष्पदेवले पशुपतिनाथ मन्दिरबाटै यसको सुरुवात गरेका थिए । लगभग आठौं–नवौं शताब्दीताका निर्मित पशुपतिनाथस्थित नागरशैलीको ढुंगे मन्दिर चाखलाग्दो छ । ढुंगैढुंगाबाट बनेको सो मन्दिर नेपालमा प्राप्त नागरशैलीको परिचायकका रूपमा रहेको सबैभन्दा पुरानो नमुना भएको श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्रकाशन गरेको ‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तकमा प्रा. मोहनप्रसाद खनालले लेखेको ‘नेपाली स्थापत्यविधामा श्रीपशुपति मन्दिर’ शीर्षकको लेखमा उल्लेख छ । यसबाट प्राचीन कालदेखि नै नेपालमा नागर वा शिखरशैलीका मन्दिरहरूको पनि प्रचलन थियो भन्ने प्रस्ट हुन्छ ।

पशुपतिको प्रादुर्भावसँगसँगै नेपालको धार्मिक र राजनीतिक इतिहास सुरु हुन्छ । समयका हिसाबले यो कति सय वर्ष पुरानो घटना हो र यसका आख्यान उपाख्यान कति हदसम्म भरपर्दा हुन् भन्ने कुराको निक्र्योल अहिलेसम्म हुन सकेको छैन । तर पनि गोपालकाल अर्थात् गोठाले युगदेखि नै पशुपतिको उत्पत्तिका साथै ‘नेपाल’ नामले यो मुलुक सम्बोधित हुन थालेको कुराचाहिँ निश्चित छ ।

ईसापूर्वभन्दा केही शताब्दीअघिका राजा सुपुष्पदेवले पशुपतिमा तामाको छानायुक्त छत्रेशैलीको मन्दिर बनाउन लगाएको उल्लेख गोपाल वंशावलीमा आएको छ । त्यसपछि छैटौं शताब्दीका राजा अंशुवर्माले माटिङ्ग्रामस्थित छत्रेशैलीको ‘माटिङ देवकुल’ (मन्दिर)को जीर्णोद्धार गरेर राखेको अभिलेख प्राप्त छ । यसका साथसाथै अंशुवर्माले तयार गर्न लगाएको नेपाली अर्थात् छत्रे वा तलेशैलीमा निर्मित कैलाशकूट भवनको वर्णन लिच्छवीकालका शिलालेखमा बडो गर्वसाथ गरिएको छ । जुन यसप्रकार छ ः

‘क्षितितलतिलकभूतात्कुतूहलिजनतानिमेष
नयनावलोक्यमानात्कैलासकूटभवनात्’ (पृथ्वीतलको टीकाजस्तो भएको कैलाशकूट भवनलाई सारा दुनियाँले आँखा झिमिक्कसम्म नगरी कौतूहलताका साथ हेरेर टोलाइरहन्छन्) भन्ने वर्णनबाट कैलाशकूट भवनको भव्यताको अनुमान सजिलैसँग गर्न सकिन्छ । त्यति मात्र होइन, छैटौं शताब्दीको अन्त्यताका नेपाल भ्रमणमा आएका चिनियाँ यात्री युआनच्वाङ कैलाशकूट भवनको सौन्दर्य र भव्यतालाई देखेर छक्क परेका थिए । युआनच्वाङको ताङवृत्तान्तमा उल्लिखित सो वर्णनको सारांश निम्न प्रकार छ ः

‘कैलाशकुट भवनको बीचमा चारैतर्फ बार्दलीयुक्त तामाको छाना भएको साततले भव्य भवन रहेको छ । यसका दलीन, डडाली, कठबार, खाँबा आदि सबै सुन्दर र महँगा पत्थरले बनेका छन् । भवनका चार सुरमा तामाका नल लागेका छन् । नलसँग जोडेर तलतिर सुनौला मकर (गोही) बनाइएका छन् । मकरका मुखबाट जोडले पानी निस्किरहन्छ । छानामाथि हालिएको पानीको नलबाट फोहराजस्तै गरी पानी तल झर्छ । त्यो पानी छहराजस्तो भई सुनौला मकरको मुखबाट भुइँमा खस्छ’ भन्ने उक्तिले लिच्छवीकालमा विकसित नेपाली स्थापत्यकलाको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।

राजा गुणकामदेवले पशुपतिलाई ११ वटा कोष चढाएर ईशानेश्वरको मन्दिरमा तामाको छाना हालेका थिए । लिच्छवी राजा सुपुष्पदेवले पशुपतिनाथको पहिलो मन्दिर बनाएपछि मध्यकालका राजा शिवदेवले पुनर्निर्माणमा प्रमुख योगदान दिएका थिए । सो कुराको संक्षिप्त विवरण गोपाल वंशावलीमा निम्न प्रकारले दिइएको छ ः

‘उनविंशति सम्वच्छरशतद्वये परिवर्तमान ।। राजा श्रीशिवदेव वर्ष २७ मा ७
तेन श्रीपशुपतिभटारकस्य देवल सुवण्र्णसंखलीसंछादन कृतम् तत कीर्तिभगतापुरे वलवलदेवी तप कृत्य नन्दी वन्ध्याय नीता ।।
पनालिका कुप, प्वस्करणी थाने स्थाने कृता ।। चतु (भूर्मिक) पञ्चपुरसमयुक्त श्रीराजगृह सुनिखादितम् ।।
तत पश्चात् श्रीपशुपतिभटारकाय, रजतपद्मपिण्डिकाघटितम पूव्र्व दम्म व्यवहार नास्ति सुवर्णरक्तिकास्त व्यवर्तते ।
स्वश्रीसिंहाकृति रूपयदम्म व्यवहार कृता ।।
सुवर्णमयी श्रीशिवस्यांकृति शिवकाङ्क कृत्य ः ।।
पूव्र्वशिखरदेवस्य परिवार सहितेन, जीर्णोद्धार कृता ः ।।’

शिवदेवले पशुपतिनाथ मन्दिर पुनर्निर्माण गरेको पुग नपुग ३ सय वर्षपछि अर्थात् नेपाल संवत् ४१७ आषाढ शुक्लपञ्चमी बुधबारका दिन राजा अनन्त मल्लले पशुपतिका चार सुरमा चारवटा सुनको सिंह (शार्दूल) राख्न लगाएका थिए । त्यसपछि ध्वजापताकासहितको मन्दिरलाई सुनको पाताले छाएर प्रतिष्ठा गरे । त्यसै दिन चाँगुनारायणमा पनि ध्वजारोहण गरेका थिए ।

संवत् १४०६ अर्थात् नेपाल संवत् ४७० पुसमा बंगालका सुल्तान शमसुद्दिनका सेनाले नेपाल उपत्यकामा आक्रमण गरी पशुपतिलगायत अनेकौं देवीदेवताका मूर्ति र मन्दिरहरू धेरैकालसम्म अलपत्र रहे । सो घटना भएको लगभग ११ वर्षपछि अर्थात् १४१७ सालमा जयसिंहरामवद्र्धनले पशुपतिको पुरानो मूर्तिजस्तै नयाँ मूर्ति स्थापना गरी सोहीबमोजिम मन्दिर बनाउन लगाए । कुनै पनि प्राचीन मन्दिर वा मूर्तिको पुनर्निर्माण गर्दा पुरानै नमुनाबमोजिमको मूर्ति वा मन्दिर बनाउने परम्परा थियो भन्ने कुरा चाँगुका गरुडनारायणको पादपीठमा भएको अभिलेखबाट पनि बुझ्न सकिन्छ ।

जयसिंहरामवद्र्धनले पुनर्निर्माण गर्न लगाएको पशुपतिको मन्दिरलाई लगभग २९० वर्षपछि कान्तिपुरका राजा शिवसिंह मल्लकी पत्नी गंगा रानीले जीर्णोद्धार गर्न लगाएकी थिइन् भन्ने उल्लेख वंशावलीमा पाइन्छ । तर, त्यसको लगत्तै अर्थात् २० वर्ष पनि पुग्दानपुग्दै राजा नृपेन्द्र मल्लले पुनः पशुपति मन्दिरको जीर्णोद्धार गरेका थिए । जीर्णोद्धार गरेको २० वर्ष पनि नपुग्दै किन यो मन्दिरलाई पुनः जीर्णोद्धार गर्नुपरेको हो ? त्यसको कुनै प्रसंग पाइँदैन ।

नेसं ४८० (विसं १४१७) मा जयसिंहरामवद्र्धनले पुनर्निर्माण गर्न लगाएको पशुपतिको मन्दिरलाई त्यसको लगभग ३३७ वर्षपछि अर्थात् नेसं ८१७ (विसं १७५४) मा कान्तिपुरका राजा भूपालेन्द्र मल्लले राजमाता ऋद्धिलक्ष्मीको आज्ञानुसार जगैदेखि भत्काएर बनाउन लगाएका थिए । सो कुराको स्पष्ट विवरण तात्कालिक ठ्यासफूमा पाइएको छ । त्यसैले, नेपाली वास्तु परम्परामा बनेको पशुपतिको सो मन्दिर प्राचीनकालदेखिकै छत्रेशैलीमा निर्मित स्थापत्यकलाको ज्वलन्त उदाहरणका रूपमा आज पनि विद्यमान छ ।

मन्दिर निर्माण गर्ने विषयलाई लिएर बृहत्संहितामा यस्तो लेखिएको छ– ‘जलाशय तथा नदीको नजिक, वनको निकट, पर्वत एवं झर्ना भएको ठाउँ वा नागबेली भएर बग्ने नदीको किनारमा देवताहरू रमाउँछन् ।’ त्यसैले, मन्दिर बनाउनुपर्दा माथि उल्लिखित स्थानमध्ये कुनै एक स्थानको चयन गरी मन्दिर बनाउने परम्परा पछिसम्म रहेको पाइन्छ । प्रायश ः मन्दिर निर्माण गर्दा आचार्य बराहमिहिरले निर्धारित गरेको शास्त्रीय नियमलाई पछ्याउँदै ६४ वास्तु चक्रका आधारमा बनाइएको देखिन्छ ।

लगभग आठौं शताब्दीताका निर्मित पशुपतिस्थित शिखरशैलीको पाषाण मन्दिरलाई छाडेर नेपाल उपत्यकामा अन्य प्राचीन मन्दिरहरूको सर्वथा अभाव छ । यसको मुख्य कारण १३औं शताब्दीमा शमशुद्दीन तुगलकद्वारा गरिएको विध्वंशकारी आक्रमण हो । यस विनाशकारी आक्रमणपछि निर्माण गरिएका मन्दिरहरू पनि वास्तुशास्त्रमा उल्लिखित विधानबमोजिम वास्तुपुरुषको लक्षणनुसार बनेको दृष्टिगोचर हुन्छ ।

प्राचीनकालमा वास्तुसम्मत बनाइएका प्राचीन मठ मन्दिरमा संरचना बनाउँदा वास्तुविद्को सल्लाह लिइनुपर्ने पशुपति मन्दिरका प्रधान अर्चक (मूलभट्ट) गणेश भट्ट बताउँछन् । नैर्ऋत्य कोणमा २०५९ सालमा खोलिएको ठूलो ढोकाका वास्तुसम्मत नभएका कारण समस्या आएको भनी विभिन्न कोणबाट टिप्पणी भएपछि वास्तुशास्त्रीहरूका बीच शास्त्रार्थ गराएर यसको निरूपण गरिनुपर्नेमा उनको जोड छ ।

२०५९ सालमा यो ढोका खोल्न लाग्दा वास्तुविद् पोखरेलले पशुपति मन्दिरका तत्कालीन प्रधान अर्चक (मूलभट्ट) महाबलेश्वर भट्टको ध्यानाकर्षण गराउँदा उनले आफूले यो ढोका नखोलौं भन्दा कोषका पदाधिकारीले नमानेको प्रतिक्रिया दिएका थिए ।

ज्योतिष शास्त्रका आधारमा लम्बाई, चौडाईद्वारा हुने फाप र अफाप आदिको विचार गरी तदनुरूप नै मन्दिरहरू निर्माण गरेको पाइन्छ । निर्देशित स्थानमा दिशा मिलाएर कुन देवी देवताको मन्दिर बनाउनुपर्ने हो सोहीनुसार झ्याल, ढोका, तोरण, टुँडाल र कुशलहरूको साजसज्जामा तदनुरूप नै अन्तर पारेर बनाइएको देखिन्छ । त्यसभन्दा बाहेक प्रायः सबै मन्दिरमा वास्तुशास्त्रले निर्देशित गरेका मांगलिक चिह्नहरू राख्ने परम्परा पछिसम्म पनि विद्यमान थियो ।

नेपाली शैलीका मन्दिरहरूमध्ये पशुपति, चाँगुनारायण, तलेजु, न्यात पौः, त्रैलोक्यनारायण, माजुदेवल र भीमसेन मन्दिर आदि प्रमुख मानिन्छन् । यी मन्दिरको लम्बाई, चौडाई र उचाईका विषयमा गणना गर्दा वास्तुशास्त्रीय पद्धतिको प्रचुरता पाइन्छ ।

काठमाडौंस्थित तलेजु, त्रैलोक्यनारायण, माजुदेवल र भक्तपुरको न्यात पौः आदि मन्दिरहरूको निर्माण र परम्परामा भने अलि बेग्लै विशेषता रहेको छ । त्यो हो, त्यसको जग र वास्तुविधान । माथि उल्लिखित मन्दिरहरूको सर्वेक्षण र अध्ययन गर्दा सामान्य भुइँभन्दा १२ तलासम्म माथि उठाएर तीनतले वा पाँचतले छानायुक्त मुख्य मन्दिरको निर्माण गरिएको छ । भुइँभन्दा माथि १५ तलाको परिमाण राखी बनाइएका यी मन्दिरलाई स्थापत्यकलाको अनुपम नमुना मान्नुपर्ने देखिन्छ ।

वास्तुशास्त्रमा १२ तलासम्मका मन्दिरहरूको व्याख्या गरिएको छ । द्राविडशैलीका केही मन्दिर १६ तलासम्मका छन् । नेपाली शिखरशैलीको मन्दिरको निर्माण विधि मत्स्येन्द्रनाथको रथ निर्माण प्रक्रियामा पाइन्छ । तान्त्रिक विधि विधानद्वारा बनाउनुपर्ने यो रथमा नौ तलाको आधारशिला विद्यमान छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब प्रतिस्पर्धीलाई काँधैमा बोके विजयीले