पृथक पहिचान : एक्लो महारथी

सामाजिक विषमताविरुद्ध उभिने ‘एक्लो महारथी’ हुन् महेश कार्की ‘क्षितिज’ । मधुर मुस्कानका साथ भेटिँदा हार्दिकपना देखाउने कवि बलिष्ठ वैचारिक चेतले ओतप्रोत देखिन्छन् । उनी जहिल्यै समाजका गुमनाम पात्रहरू जो अन्यायमा परेका छन् उनीहरूको पक्षमा दृढतापूर्वक उभिएर कविता कोर्छन् । मर्दै गएको मानवीयता, समयले पछि पारेका मानिसका दैनिकी, सभ्यतामाथि आएका विकृति र विसंगतिको विपक्षमा सतिसाल बनेर कवितामार्फत् उभिन्छन् ।

कृति समीक्षा

‘एक्लो महारथी’ युवा कवि महेश कार्की ‘क्षितिज’को पहिलो कविता कृति हो जसले कवितामा उल्लेख्य उपस्थिति दर्र्साएको छ । यस कविता संग्रहमा समावेश उनका कविता पढ्दा विचारोत्तेजक लाग्छन् । गोपालप्रसाद रिमालकै लाइनमा लाइनबद्ध छन् महेश । अध्ययन र चिन्तनशील कवि हुन् उनी । यस संग्रहमार्फत कविताको शक्तिलाई मज्जैले पोखेका छन् । बिम्ब विविधताले भरिएका कविताहरू पठनीय, खँदिला र बलिया छन् । हाम्रै वरिपरिका मिहिन दृश्य जसले कवि मन दुख्छ अनि कविता बनेर पोखिन्छन् । सुनेका, भोगेका, अनुभूति गरेका कुराहरूले उनलाई सहजै छुन्छ । अनि बोल्छन् कविता बनेर । सत्यलाई नजिकबाट आत्मसात् गर्ने कविको खुबी यस संग्रहमा प्रस्टै देखिन्छ । विषयगत विविधाका ५२ वटा कवितालाई उनेर बनाइएको छ ‘एक्लो महारथी’ ।

वर्तमान राजनीतिको विद्रुप कथाको चित्रण गरिएका कविताहरू पनि यस कृतिमा परेका छन् । आतंककारी, मृत्युवरण, अन्तर्कथा, युद्ध जस्ता कविता यस्ता कोटीमा पर्छन् । यसमा कविले सहरका मान्छेहरूको ह्रासोन्मुख मानवीयताको यथार्थपरक चित्रण गरेका छन् ।

देशप्रेम, प्रकृतिप्रेम, सामाजिक विकृति र विसंगतिविरुद्ध तीव्र प्रहार गर्ने कवि प्रेमिल भावको अनुराग छर्ने सन्दर्भमा पनि कवितामा केन्द्रित देखिन्छन् । उनका कविताहरू समसामयिकता, वर्तमान युगको भत्किँदो नैतिक मूल्य र मान्यताप्रतिको कटाक्ष गर्छन् । उनी मानवताका पक्षधर हुन् त्यसैले आफ्ना कवितामा अन्याय र अत्याचारविरुद्ध खबरदारी गर्छन् । जीवन र जगत्का प्रायः सबै विषयलाई उनले कविताको विषयवस्तु बनाएका छन् । लाग्छ उनका कविताहरूले जीवनवादी दृष्टिकोण राख्छन् । जीवनको यथार्थ रङलाई मज्जैले पोत्ने चित्रकार झैं देखिन्छन् महेश । ‘एक्लो महारथी’भित्रका कविताहरू तीव्र अनुभूतिका निजात्मक अभिव्यक्तिहरू भरपुर देखिन्छन् ।

उनको कवितामा प्रेमले जीवन र जगत् मुस्कुराउने सन्दर्भ जोडिएको छ । सम्बन्धका अनेक पाटाको बिम्बात्मक सम्बन्ध, ऐना, अन्तर्कथा, घर फर्केकी नातिनी, विधुर पुरुषको कथाको समेत चर्चा गरिएको छ । स्त्री र पुरुषबीच सम्बन्धका आयामहरू देखाइएको छ कवितामा । भन्न सक्छु म ठोकुवा गरेर उनी हाम्रो समाजमा व्याप्त लैंगिक विभेदविरुद्ध कवितामा विद्रोहको ज्वाला ओकल्छन् । ‘गाउँमा छन् गीतहरू’लगायतका कवितामा गाउँको अर्गानिक सौन्दर्यको वर्णन गरिएको छ जति पढे पनि नअघाउने गरेर । पाठशाला सकारात्मक चेतले ओतप्रोत कविता हो । यहाँ जिन्दगी जिउन कठिन हुन्छ, तर मान्छेले संघर्षशील जीवन जिउनुपर्छ भन्ने सन्देश दिएका छन् । उनले हलीको मागाल जस्ता कवितामा उत्तरआधुनिकताले सिर्जना गरेका कुसंस्कार, कुरीति र विदीर्ण परिवेशविरुद्ध दर्विलो रूपमा उभिन्छन् कवि ।

एकातिर समाजमा युद्ध र द्वन्द्वले पारेका असरका विकराल दृश्यहरू कवितामा कैद गरिएको छ । अर्काेतिर जीवनको आशावादी स्वर गुन्जाइएको छ । तीता कटुता, निराशा र कुण्ठाको बाढी कवितामै उर्लिएको छ । रुपौला सौन्दर्य लिएर मुस्कुराइरहेकी प्रकृतिको मनोरम छटाको बिम्ब र प्रतीकको प्रयुक्तिले गरिएको वर्णन पनि कवितामा छ । प्राकृतिक सौन्दर्यको भेल बगाएका कविता पनि यस पुस्तकमा पाउन सकिन्छ । कतै मानवीय संवेदनाको पराकाष्ठा भेटिन्छ । कवि अनुभूतिको सापेक्षतामा पोखिएर कविता कोर्न सक्छन् यसलाई उनको वैयक्तिक खुबी मान्नुपर्छ । हरेक कवितामा सुझावपूर्ण र तिख्खर चिन्तन प्रवाह भएका छन् । कविले भुँइमान्छेका पीडा, उपेक्षित विभिन्न पात्रको यथार्थ अवस्थाको सत्यापना गरेका छन् ।

जीवनप्रतिको आशावादिता पोख्छन् कवितामा महेश । खुसीको क्षेत्रफल, आशाको क्षेत्रफल यस्तै कोटीमा पर्ने कविता हुन् । कर्तव्यविमुख हुँदै गएको नयाँ पुस्ताप्रतिको कटाक्ष हुन् ः फरक कथा, वृद्धाश्रमको यात्रा ।

विषय विविधता महेशका कविताका विशेषता हुन् । शब्दमा विचार भरेर कवितामार्फत पोख्न सक्नु कविको खुबी लाग्छ । कवितामा रचना गर्भ उल्लेख भने पाइँदैन । यद्यपि, वर्तमान युगीन भावहरू अभिव्यक्त भएकाले कविताहरू समसामयिक लाग्छन् । आमभाष्यको भरपुर प्रयोगले कविता सुन्दर बनेका छन् । कविताका पारखीलाई सँगै डो¥याएर लान सक्नेगरी जीवन्त कविताले तानिरहन्छ । उनी उपेक्षित, अधिकारविहीन, अन्यायमा परेका वा पारिएकाको पक्षमा लाग्न पाठकलाई उत्प्रेरित गर्छन् । कविताका शीर्षकहरू छोटा तर वलिष्ठ लाग्छन् । झट्ट हेर्दा सामाजिक विषयवस्तुमा अनुप्राणित ५२ वटा कविताहरू यस संग्रहमा परेका छन् । कलात्मकताले लेपन गरिएका, शील्पकारितामा निपूर्ण, शील्प प्राञ्जल्यता बोकेका छोटाछोटा कविताको एउटा माला हो ‘एक्लो महारथी’ । यो संग्रह शाब्दिक आडम्बरबाट पर छ । कविताको नदीमा बगिरहने रहर पाल्ने कवि साँच्चै बगिरहन सक्ने सामथ्र्य राख्छन् । यो कृति विशिष्ट अनुभूतिको स्वादिलो समिश्रणले कविताको सुन्दर संग्रह बनेको छ ।

कवि महेश हृदय र मस्तिष्कलाई समायोजन गरेर कविता सिर्जना गर्न खप्पिस छन् । उनी सामाजिक, राजनीतिक विकृति र विसंगति मात्र नभएर सम्बन्धका विविध आयाम’bout कविताहरूसमेत यस कृतिमा छन् । आफूले भोगेको सत्य र समयलाई कवितामा कुशल र बलिष्ठ बिम्बहरूको प्रयोग गरी शब्दहरू गुथ्न सक्नु कवि ‘क्षितिज’को विशेषता हो । वर्तमान युवाको राजनीतिप्रतिको घृणाभाव पनि कवितामा मुखरित भएको छ । वर्तमान युवाको छटपटीले कविताको विषय पाएको छ । मानव आदर्श कविको अभीष्ट देखिन्छ । सरल भाषाको प्रयोगमा शक्तिशाली कविताको सिर्जना गर्न सकिन्छ भन्ने कविको मान्यता देखिएको छ ।

कविले कवितामा गाउँ सम्झेका छन् । गाउँ र आफू जन्मेहुर्केको ठाउँ अनि त्यहाँको प्राकृतिक अर्गानिकतालाई बिम्बका विविध प्रयुक्तिले सरल र कोमलता प्रदान गरी आफ्ना रचनामा स्थान दिएका छन् । यस कोटीमा ‘सहर र मान्छेहरू’जस्ता कविता पर्दछन् । साथै उनले महाभारतका दुई पात्र कर्ण र एकलब्य मन पराएको कुरा स्वीकार गरेका छन् । त्यसैले विभिन्न पौराणिक मिथकलाई वर्तमान समयसँग जोडेर सुन्दर कविता लेख्न सफल छन् । यस्ता कोटीमा उनका ‘खुलामञ्च’, ‘सम्बोधित कर्ण’, ‘पसिनाका हजार बुद्ध’, ‘अर्काे एकलब्य’, ‘अर्काे महाभारत’जस्ता कविताहरू पर्दछन् । यस्ता कवितामा उनले मिथकीय पात्रहरूको गजबको भेला गराएका छन् ।

उनी इमानदार भएर कविता लेख्छुु भन्ने दावा पनि गर्दछन् । आमभुइँमान्छेका पीडालाई नजिकबाट नियालेका उनले तिनै मान्छेहरूको पीडालाई उत्कृष्ट कविताका रूपमा उतारेका छन् । स्थानीय भाषालाई टपक्क टिपेर सुन्दर बिम्बको सफल प्रयोग गर्न माहिर देखिएका छन् कवि । यथार्थसँग सन्निकट भएर कविता कोर्न सिपालु कवि नेपाली समाजका ‘सल्वार्टनका मुद्दाहरू’ कवितामार्फत उठान गर्छन् । सामाजिक मुद्दाहरूमा घनिभूत बहस गर्न मन पराउँछन् । समाजका कुरुपताप्रति तिख्खर आलोचना गर्छन् । समयका घाउहरू उजागर गर्छन् । विभिन्न बहानामा हाम्रा समाजमा दैनिक निस्कने विकृति र विसंगतिप्रतिको उनको बुझाइ कवितामा प्रकटीकरण भएको छ । वातावरण प्रदूषण, पर्यावरणप्रति मानव जातिको बलात्कार र दोहनले पारेको नकारात्मक असर’bout शक्तिशाली कलम चलेको देखिन्छ । संग्रहले सहरको मनोदशा, ग्रामीण समाजको एक्सरे, समकालीन समाजको प्रवृत्ति, वर्तमान निम्न पुँजीवादी चिन्तनले ग्रस्त मान्छेका दैनिकी, मानवीय संवेदनाप्रतिको विहंगम दृष्टिचेत सब कुरा कविताहरूले चित्रण गरेका छन् ।

यसैगरी, समाजमा हुने शोषणका रूप र सार समयानुकूल परिवर्तित हुँदै गएको कविले औंल्याएका छन् । पुरुषले महिलामाथि कसरी शोषण थोपर्छ भन्ने’bout चित्रण गरिएको छ । हेरौं :
जसरी हेर्नुहुन्थ्यो सुरेखालाई
तिनै आँखा फर्काउनुस् मतिर
जसरी जहाँजहाँ हुनुहुन्थ्यो सुरेखालाई
डाम्नुस् मेरा अंग, अंग पनि
सुरेखाको शरीर मेरोचाहिं होइन र ? (स्वतन्त्रता)
भाषिक प्रयोगका हिसाबले कविताहरू बौद्धिक लाग्छन् । साँच्चै कुँदिएका हिरा जस्ता छन् । दुब्र्याेध्य लाग्दैनन्, बिम्बात्मक रूपमा कौशल र ग्राह्य लाग्छन् । शब्दहरूको सुन्दर संयोजन छ । कथ्यलाई पठनीय बनाउने प्रतीकात्मक शैलीमा सुन्दर र कलात्मक छन् कविताहरू । आयामका हिसाबले कुनैकुनै कविताहरू लम्बेतान लाग्छन् । त्यसैले नयाँ पुस्ताका उम्दा कविका रूपमा उनले स्थान बनाउने कुरा नकार्न सकिन्न ।
कृति : एक्लो महारथी
विधा : कविता
प्रकाशक : शिखा बुक्स
मूल्य : २७५

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा