नन्दुको स्मरण शक्ति र औषधि

नाम सुनेको थिएँ, तर भेट भएको थिएन । २०७२ सालको कात्तिकमा लुम्बिनी प्रदेशकै चर्चित चिकित्सक डा. नन्दु पाठकसँग उनकै घरमा भेट भयो । मैले आफ्नो परिचय दिएँ, बसोबासको ठाउँ बताएँ । नन्दु मुसुक्क हाँस्दै बोले, ए, म त हजुरको घरमा गएको छु नि २० वर्ष पहिला साइकल चढेर ।

तपाईंको घर चोकबाट पूर्वपट्टि, बाटोको बायाँतर्फ छ है भन्दै नन्दुले मेरो घरको लोकेसन, घरको रंग, कोठा तथा सिँढी फेहरिस्त लगाए । त्यसताका नन्दु पाठक बुटवल बहुमुखी क्याम्समा आईएस्सी पढ्दै रहेछन् र उनी मेरो मामाको छोरा, राम भाइका सहपाठी रहेछन् । त्यसबेला म चाहिँ काठमाडौं पढ्दै थिएँ भने राम भाइ हाम्रो घरमा बसेर आईएस्सी पढ्दै थियो । राम भाइसँग उनी हाम्रो घरमा आएका रहेछन् ।

हो, २०, ३० वर्षमा छँदा पहिले गएको गाउँठाउँ याद गर्न सक्ने खुबी प्रायः सबै सामान्य मानिसमा हुन्छ । तर, कुराकानीको दौरानमा मैले नन्दु पाठक अद्भूत स्मरणशक्तिको धनी भएको संकेत पाएँ । विगत आठ वर्षको दौरानमा उनीसँग मेरो प्रत्यक्षपरोक्ष रूपमा सम्पर्क भइरहेको छ । मैले उनलाई भनेको छैन, तर उनको मानिस चिन्ने, भावना बुझ्ने, नआत्तिने र अविश्राम काममा खटिने खुबी मलाई अद्भूत लाग्छ । उनको स्मरण शक्ति पनि औसत मानिसको भन्दा तेज छ । यही तेज स्मरण शक्तिका कारण नै उनले आफ्नो पढाइलेखाइ मात्र होइन कि आफ्नो चिकित्सकीय सेवालाई पनि सफल बनाएका छन् ।

नन्दु पाठक बुटवलको आसपासमा मात्र होइन कि लुम्बिनी प्रदेशमा नै निकै चर्चित छन् । उनको चिकित्सकीय परामर्श लिन रूपन्देहीका बिरामी मात्र होइन, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, कपिलवस्तु तथा नवलपरासीबाट समेत बिरामीको ओइरो लाग्ने गर्छ । त्यसैले बुटवल हस्पिटलको ओपीडीमा मात्र होइन, लुम्बिनी अञ्चल अस्पतालमा समेत बिरामीहरूको ठूलो घुइँचो हुन्छ । छोटो समयमा नै उनी यति लोकप्रिय हुनुको प्रमुख कारण नै उनको स्मरण शक्ति, दक्षता, चिकित्सकीय सीप तथा उचित परामर्श नै हो ।

हुन पनि सफल चिकित्सा परामर्श विज्ञान मात्र होइन, एक कला पनि हो । सीप पनि हो । बिरामीहरूलाई विश्वास जगाउन सक्ने खुबी हो । यही कारणले पनि सबै चिकित्सकहरू नन्दु पाठक जस्तो चर्चित हुन सक्दैनन् । पाठकको मनोविज्ञान बुझ्दा उनले चिकित्सक बनेर आफ्नो सही प्रतिभा चिनेको भन्न सकिन्छ । वास्तवमा उनले चिकित्सक नबनेर अन्य क्षेत्र रोजेको भए यति ठूलो सफलता सायदै प्राप्त गर्न सक्थे । यस कुरालाई उनी सहर्ष स्विकार्छन् ।

इमानदारीपूर्वक आफ्नो पेसाव्यावसाय गर्ने र सकारात्मक सोच राख्ने मानिसले दीर्घ र स्वस्थ जीवन जिउन सक्छ

नन्दु पाठक सानैदेखि नै मेधावी थिए । २०५० सालमा एसएलसी गरेका नन्दु पाठकले ५२ सालमा बुटवल बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा आईएसी उत्तीर्ण गरे । अनि बंगलादेशबाट एमबीबीएस र इन्स्टिच्युट अफ मेडिसिन टीयूबाट गोल्ड मेडलका साथ एमडी गरेका हुन् । इन्टरनल मेडिसिनमा एमडी गरेपछि आफ्नो जन्मथलो बुटवलमा आई इमानदारीपूर्वक बिरामीको सेवामा दिनरात लागिरहेका छन् । समयसँगै उनीप्रति बिरामीको आस्था र विश्वास पनि झनै बढ्दै गएको छ ।

चिकित्सा सेवाको एउटा मनोविज्ञान तथ्य के हो भने औषधिले भन्दा पनि चिकित्सकप्रति बिरामीको आस्था र विश्वासले प्रभावकारी काम गर्दछ । एकपटक मेरो पेटमा समस्या देखिएपछि नन्दु पाठकलाई चेक गराउन बुटवल हस्पिटल गएँ । नन्दु बिदामा बसेकाले एक अर्को चिकित्सकलाई चेक गराएर आएँ । तर साता दिन औषधि खाँदा पनि रोग बिसको उन्नाइस भएन । अनि नन्दु आएको थाहा पाएपछि उनी पुनः बुटवल हस्पिटल गई नन्दुलाई चेक गराए । नन्दुले दिएको औषधि खाएको तीन दिनमै उनी ठिक भए । यहाँ गजबको कुरा के भने भने पहिला अर्को चिकित्सकले दिएको औषधि र नन्दुले दिएको औषधिमा खासै फरक थिएन । दुवै चिकित्सकको अध्ययन र चिकित्सकीय अनुभव पनि उस्तैउस्तै थियो ।

डाक्टर नन्दु भन्छन्, मैले अहिले दिनको सय देखि १५० जना बिरामीहरू हेर्ने गर्छु । यस हिसाबमा मैले मेरो २१ वर्षीय चिकित्सकीय कार्यकालमा ८ लाखभन्दा बढी बिरामीको उपचार गरेको छु । म कहाँ खास गरी मधुमेह, थाइराइड, पेटका रोगहरू तथा आत्तिने समस्या भएका बिरामीहरू आउने गर्छन् । म कहाँ बिरामीको अध्याधिक चाप छ । तर, पनि मैले हेरक बिरामीलाई सन्तोषजनक सेवा दिइरहेको महसुस गरेको छु ।

नन्दु पाठकको सानो परिवार छ । आमाबुबा, श्रीमती, एक छोरा र एक छोरी । उनी आमाबुबासँग बुटवल गोलपार्कमा बसोबास गर्छन् । साथीहरूसँग घुम्ने । क्रिकेट तथा फुटबल खेल्ने तथा हेर्ने उनको रुची हो । उनी कलेज पढ्ने बेलामा क्रिकेट तथा फुटबल खेल्ने गर्थे । अहिले पनि मौका मिल्यो भने क्रिकेट तथा फुटबल हेर्ने गर्छन् ।

सानोमा नन्दु पाइलट बन्न चाहन्थे । उनले पाइलट भएको सपना देख्थे । तर, एसएलसी पास गरेपछि डाक्टर बन्ने सपना देख्न थाले । उनी भन्छन्, यदि म चिकित्सा शास्त्र पढ्न नसकेको वा नपाएको भए, वाणिज्य शास्त्र पढ्थें र व्यावसायमा लाग्थें ।

नन्दु पाठकको परामर्श लिन आउनेमा आत्तिने तथा मुटुको ढुकढुकी बढ्ने बिरामी पनि थुप्रै आउने गर्छन् । पहिला माओवादी द्वन्द्व तथा महाभूकम्पका कारण यस्ता रोगीको संख्या निकै बढेको उनी बताउँछन् । त्यसमाथि वैदेशिक रोजगार, जनसंख्याको तीव्र वृद्धि, बढ्दो सहरीकरण, सहरकेन्द्रित बसाइसराइ, आधुनिकीकरण, फैसन, साँघुरो बाटोघाटो, कठिनाइपूर्ण यात्रा, उपभोग्य वस्तुको अभाव तथा राजनीतिक उथलपुथलले गर्दा नेपाली समाजले दिनहँु प्रशस्त चाप (स्टे«स) तथा तनाउ (स्टे«न)मा परेको हुँदा यस्ता समस्याहरू बढेका छन् ।

उनी भन्छन्, करिब ४०, ५० लाख युवाहरू वैदेशिक रोजगारमा छन् । यी युवाको परिवारमा प्रत्यक्षपरोक्ष रूपमा कुनै न कुनै किसिमको चिन्ता तथा तनाव छ । बाबुआमालाई छोराको चिन्ता, पत्नीलाई पतिको चिन्ता । विदेशमा गएको युवालाई आमाबा, पत्नी तथा छोराछोरीको चिन्ता । यस्ता कुराहरूले पनि मानसिक समस्या बढिरहेका छन् ।

तीक्ष्ण स्मरण शक्तिका कारण उनले आफ्नो पढाइलेखाइका साथै आफ्नो चिकित्सकीय सेवालाई सफल बनाएका छन्

नन्दु पाठक एक मेडिकल चिकित्सक भए तापनि सकारात्मक सोच र प्राकृतिक जीवनशैलीलाई निकै महत्व दिन्छन् । उनी अगाडि भन्छन्, जीवनशैलीसँग सम्बन्धित रोगमा योगध्यानले चिकित्सकीय कार्य गर्छ । मधुमेह तथा पेटका रोगमा योगासन निकै उपयोगी छ । म बिरामीलाई उनीहरूको रोगको अवस्था हेरेर योगासन गर्ने सल्लाह दिन्छु । चिकित्सकको सल्लाहअनुसार ध्यान, प्रणायाम तथा योग आसन गर्ने हो भने जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह आदि जस्ता रोगहरू छिटो ठीक हुन्छन् ।

नेपालको स्वास्थ्य क्षेत्रले केही वर्ष केही प्रगति गरेको भए तापनि स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सुधारका थुप्रै कामहरू गर्नुपर्ने उनको भनाइ छ । यसका लागि सबैभन्दा पहिला नेपाल सरकारले स्वास्थ्य नै विकासको आधार हो भन्ने कुरा मनन गरी स्वास्थ्य नीति परिवर्तन गर्नुपर्छ । दक्ष जनशक्तिको उत्पादन गरी ठीक ठाउँमा लगानुपर्छ । अहिलेको अवस्थामा ७ प्रदेशमा वीर अस्पताल जस्ता ७ वटा अस्पताल खोल्नु नेपालको आवश्यकता हो । यसका साथै स्वास्थ्य बिमालाई हरेक नागरिकको पहुँचमा पु¥याइ प्रभावकारी बनाउने हो भने नेपालको स्वास्थ्य सेवाले ठूलो फड्को मार्ने थियो ।

मानिसले स्वस्थ र निरोगी जीवन जिउन केके गर्नु पर्ला ? भन्ने प्रश्नको जवाफमा नन्दु पाठक भन्छन्, मानिसको आहारबिहार तथा जीवनशैली नै मानिसको स्वास्थ्यको आधार स्तम्भ हो । मानसिक तनाव हटाउने वा कम गर्ने । कामअनुसार विश्राम गर्ने । ६ देखि ८ घण्टा गहिरो निद्रा सुत्ने । कम्तीमा पनि साताको ५ दिन ४० मिनेट व्यायाम गर्ने । जस्तैः दिनको ४० मिनेट छिटोछिटो हिंड्ने वा दौडिने । प्रशस्त पानी पिउने । वनस्पतिजन्य आहारमा बढी जोड दिने ।

स्थानीय खेतबारीका हरियो सागपात, मौसमी फलफूल तथा गेडागुडीहरू सेवन गर्ने । फास्ट फुड्स, जंक फुड्स, बढी चिल्लो, पिरो तथा मसालेदार तथा बासी खानेकुरा नखाने । सुर्ती, खैनी तथा चुरोट सेवन नगर्ने । इमानदारीपूर्वक आफ्नो पेसाव्यावसाय गर्ने, सकारात्मक सोच राख्ने तथा कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सकसँग सम्पर्क गर्ने हो भने स्वस्थ जीवन जिउन सकिन्छ । सबैले ख्याल राख्नुपर्ने कुरा के भने स्वास्थ्य जीवन नै समृद्धिको आधार हो । स्वास्थ्य छ त जीवन छ । स्वास्थ्य छैन भने केही पनि छैन ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेम्वाङको गृह नगरमा काँग्रेसका उम्मेदवार निर्वाचित