दुवाईमा ज्यान गुमाएका दीपकको परिवारलाई ७ लाख ५० हजार सहयोग

खोटाङ । वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा सडक दुर्घटनामा परी ज्यान गुमाएका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई रु ७ लाख ५० हजार बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

गत वैशाख ७ गते दुबईमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका बुढाथोकीका दुई छोराहरु ९ वर्षीय दिशन र ६ महिनाका इशानको शिक्षा तथा भविष्यका लागि उनीहरुको नाममा अलग–अलग बैंक खातामा रु ३–३ लाख जम्मा गरिएको छ ।

त्यसैगरी, मृतकका बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वतीलाई दैनिक खर्च व्यवस्थापनका लागि रु ७५–७५ हजार नगद उपलब्ध गराइएको हो । धितुङका स्थानीय तथा नेपाल सरकारका नायब सुब्बा गणेशबहादुर कार्कीको अगुवाइमा देश–विदेशमा रहेका नेपालीबाट उक्त रकम संकलन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्व उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रामकुमार राई ‘पासाङ’ले सोमबार एक कार्यक्रमकाबीच उक्त रकम मृतकका परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।

नाबालक छोराद्वय दिशन र ईशानका नाममा राष्ट्रिय वाणिज्य बैंक दिक्तेल शाखामा मुद्दती खाता खोलिएको छ । उनीहरु १८ वर्ष पुगेपछि मात्र सम्पूर्ण रकम भुक्तानी लिन पाउने र त्यसअघि खाताको ब्याज मात्र झिकेर परिवारले प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको नायब सुब्बा कार्कीले जानकारी दिए । ‘परिवारको एकमात्र कमाउने व्यक्ति र कान्छा छोराको असामयिक निधनले मृतकका बुबा–आमा र श्रीमती मर्माहत भएका छन्, दुई नाबालक छोराको भविष्य अन्धकारमय बनेको छ,’ उनले भने, ‘केही राहत स्वरुप संकलित सहयोग रकम हस्तान्तरण गरिएको हो ।’

आर्थिक सहयोग संकलनमा देश–विदेशका ७६ जना नेपालीको योगदान रहेको अभियान्ता कार्कीले बताए । मृतक बुढाथोकी दुर्घटनामा पर्नुभन्दा ७ महिनाअघि मात्र रोजगारीका लागि दुबई पुगेका थिए । दुर्घटनापछि कम्पनीले क्षतिपूर्ति र बीमाबापतको रकम हालसम्म उपलब्ध गराएको छैन । एक गरीब किसान परिवारका सदस्य दीपक गत असोज २ गते दुबईस्थित ग्राण्ड स्क्याफोल्डिंङ कम्पनीमा काम गर्न काठमाडौंस्थित हिमालयन इन्टरनेशनल रिक्रुटमेन्ट सर्भिसेज प्रालिमार्फत पुगेका थिए ।

चार महिनाको कान्छो छोरा ईशानलाई काखमा राखेर श्रीमती सरस्वती र ९ वर्षीय जेठो छोरा दिसनको शिक्षादीक्षाको चिन्ता लिएर बुढाथोकी परदेश पुगे । तर, उनी फर्कन नपाउँदै दुर्घटनामा परी मृत्यु भयो । वृद्ध बुबा–आमा, श्रीमती र नाबालक छोराको भविष्य अन्योलमा परेको छ । मृत्युको एक महिनापछि दुबईबाट शव नेपाल ल्याइएको र गाउँमै अन्त्येष्टि गरिएको थियो । तर, कम्पनीले हालसम्म राहत तथा क्षतिपूर्ति उपलब्ध नगराएको परिवारले बताएको छ ।

क्याप्सनः सङ्कलित रकम हस्तान्तरण गर्नुहुदै प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्व उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा प्रमुख पदमा महिला उम्मेदवार पराजित