काठमाडौं । आजबाट नेपाली नयाँ वर्ष २०७७ सुरु भएको छ । विगत एक महिनायता विश्वसँगै नेपालको खेलकुद गतिविधि पनि ठप्प छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण विश्व नै आतंकित छ । सामान्य अवस्थामा फर्किने कुनै छाटँकाँट छैन । गत वर्ष यो समयमा प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद भइरहेको थियो ।
तर, यसपटक कोरोना त्रासका कारण नेपालमा पनि खेलकुद कहिलेसम्म स्थगित हुने भन्न सकिने अवस्था छैन । यद्यपि, समग्र रूपमा खेलकुदमा २०७६ महत्वपूर्ण र सफल रहेको भन्न सकिन्छ । २०७६ मा हुने नहुने अन्योलबीच आठौं राष्ट्रिय खेलकुददेखि १३औं दक्षिण एसियाली खेलकुद (साग)को सफल आयोजना र समापन भएको छ । यसबाहेक वर्ष २०७६ मा नै नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा १८औं सदस्यसचिवका रूपमा रमेशकुमार सिलवाल आए ।
यसबाहेक नेपाल ओलम्पिक कमिटी र खेलकुद क्षेत्रमा सधंै चर्चामा रहिरहने नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन सम्पन्न भयो । नेपाल भलिबल संघले पहिलोपटक एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको सफल आयोजना तथा बैठकको समेत आयोजना ग¥यो ।
आठौं राष्ट्रिय खेलकुद
आठौं राष्ट्रिय खेलकुद २०७५ मा सुरु भए पनि २०७६ मा भव्य रूपमा समापन भयो । यसर्थ, आठौं राष्ट्रिय खेलकुदलाई वर्ष २०७६ मा नै गणना गरिएको छ । आठौंमा पहिलोपटक गैरआवासीय नेपाली संघ (एनआरएन)को पनि सहभागिता रह्यो । पदक तालिकामा विभागीय टोलीले वर्चस्व जमाएको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो, नेपाल पुलिस क्लब दोस्रो र नेपाल एपीएफ क्लबले तेस्रो स्थान हासिल गर्दा प्रदेश ७ ले विभागलाई बलियो चुनौती पेस गर्न सकेन । नवौं राष्ट्रिय खेलकुद २०७७ फागुनमा गण्डकी प्रदेशमा हुनेछ ।
सिलवालको ‘इन्ट्री’
केशवकुमार विष्ट आफ्नो चार वर्षे कार्यकाल पूरा गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट बाहिरिए । राजनीतिक नियुक्तिको आडमा हुने सदस्यससचिव पदमा रमेशकुमार सिलवाल १८औं सदस्यसचिवका रूपमा ‘इन्ट्री’ भए । बढी बोल्ने र कम गर्ने ट्याग पाएका यिनै सदस्यसचिव सिलवालले १३औं साग जसरी पनि सम्पन्न गराउने अठोटमा भने सफल भए ।
एनओसीमा पुनः जीवनराम
सांसद जीवनराम श्रेष्ठले गातार दोस्रो कार्यकाल नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा बाजी मारे । २८ भदौंमा भएको निर्वाचनमा श्रेष्ठले उमेशलाल श्रेष्ठलाई पराजित गरेका थिए । वैधानिकताको विवादको भुमरीमा फस्ने एनओसीको विवाद अहिले साम्य देखिएको छ । एनओसीको निर्वाचनले पनि १३औं साग आयोजनामा थप सहज वातावरणको सिर्जना गरेको थियो ।
क्यान निर्वाचन
राजनीतिक हस्तक्षेपका कारण झन्डैझन्डै ४२ महिना नेपाली क्रिकेट नेतृत्वविहीन थियो । राजनीतिक हस्तक्षेपको कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाल क्रिकेट संघ क्यानलाई २०७३ सालमा निलम्बन गरेको थियो । क्यान निलम्बनमै रहे पनि नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता रोकिएको थिएन ।
नेतृत्वविहीन हुँदा पनि नेपालले एकपछि अर्काे सफलता आत पार्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यसबीचमा आईसीसीको लगातारको मोनिटरिङपछि क्यानको निर्वाचन हुने वातावरण बनेको थियो । आईसीसीका प्रतिनिधि, राखेप प्रतिनिधिलगायतको उपस्थितिमा ११ असोजमा भएको क्यानको निर्वाचनले चतुरबहादुर चन्दलाई अध्यक्षमा निर्वाचित गरायो ।
निर्वाचनपछि क्यान निलम्बन पूर्ण रूपमा फुकुवा हुने अनुमान गरिए पनि २७ असोजमा आईसीसीले ससर्त निलम्बन फुकवा ग¥यो । ससर्त निलम्बन फुकुवा भएको भोलिपल्टै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी पदबाट राजीनामा दिएको विषयले सञ्चारमाध्यममा स्थान पायो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पारसलाई कप्तानीमा फर्कन आग्रह पनि गरे पनि उनी फर्कन नचाहँदा उपकप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी प्रदान गरियो । मल्लको कप्तानीमा नेपालले औसतको खेल पस्कियो ।
जागेको महिला भलिबल
भलिबल नेपालको राष्ट्रिय खेल हो । नेपालको राष्ट्रिय खेलमा अन्योल रहेको अवस्थामा तत्कालीन नेपाल सरकारले २०७४ जेठमा भलिबललाई नेपालको राष्ट्रिय खेल रहेको घोषणा गरेको थियो । यही राष्ट्रिय खेल भलिबलले वर्ष २०७६ मा नेपाली खेलकुदलाई अपार खुसी दिलायो ।
जेठमा २५ सदस्यीय नेपाली भलिबल टोली तयार पार्दा नेपाल भलिबल संघ निकै आलोचित बन्न पुगेको थियो । एकैपटक नियमित कप्तान र उपकप्तानसहित केही स्टार खेलाडीहरूलाई बाहिर राख्दै टोली तयार पारेपछि संघले चर्काे आलोचना खेप्नुपरेको थियो । ‘दुई महत्वपूर्ण प्रतियोगिता तर सबै फ्रेस खेलाडी’ यस्तोमा खेलाडी छनोटको क्षमतामा प्रश्न उठ्नु स्वाभाविक नै हो । तर, यही टोलीले लगातारको प्रशिक्षणले नेपाली महिला भलिबललाई माथिल्लो स्तरमा ल्याइदिए ।
अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३३ वर्षपछि नेपाली महिला भलिबल टिमले ऐतिहासिक स्वर्णपदक जित्न सफल भएको थियो । कात्तिकमा बंगलादेशमा पाँच राष्ट्र सम्मिलित प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा एक सेट पनि नगुमाई अपराजित रहँदै नेपालले ऐतिहासिक स्वर्ण जित्न सफल भएको थियो । यो नै नेपाली भलिबलको इतिहासमा सबैभन्दा ठूलो सफलता हो । फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
२०४३ बाट सुरु भएको महिला भलिबल यात्राको झन्डै ३३ वर्षे यात्रामा नेपाली भलिबलले पाएको यो नै सबैभन्दा ठूलो सफलता हो । त्यतिबेला नेपाली टोलीले बैंककमा थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा पहिलो सहभागिता मै नेपाली टोलीले कांस्य जितेको थियो । सन् २००६ मा १०औं तथा २०१६ को १२औं सागमा पनि कांस्य जितेको थियो । २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको थियो ।
त्यसलगत्तै नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पनि ऐतिहासिक रजतपदक जित्न सफल भएको थियो । साग खेलकुदको इतिहासमा कांस्य पदकभन्दा अघि बढ्न नसकेको नेपाली महिला भलिबल टोली स्वर्णनजिक पुगेर पनि अन्तिममा चुक्दा रजतमा सीमित बन्न पुगे पनि नेपालले प्रतियोगिताभरि मन जित्ने र उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसैले, महिला भलिबल टोलीले नेपाली खेलकुदमा सम्भावना देखाएको छ । सेन्ट्रल जोनको सफलताले नेपाली भलिबल एसियाली स्तरमा प्रवेशको लागि ढोकासमेत खोलेको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि साग मात्र कुर्नुपर्ने स्थिति अन्त्य भएको छ । एसियन गेम्स र सेन्ट्रल एसियन गेममा वार्षिक रूपमा भाग लिने अवसर खुल्ने पक्का छ । यस्तोमा पहिलोपटक कप्तानी गर्ने मौका पाएको अरुणा शाही निकै भाग्यमानी साबित भइन् । उनको कप्तानीमा नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा एकमा स्वर्ण र अर्काेमा रजत जित्न सफल भएकी थिइन् ।
महिला भलिबल टोलीले उल्लेख्य सफलता हात पारे पनि पुरुष भलिबल टोलीको प्रदर्शन भने उल्लेख्य हुन सकेन । काठमाडौंमा नै आयोजना भएको पाँचौ एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको समूह चरण पार गर्न सकेन । १३औं सागमा पनि राम्रो प्रदर्शन हुन सकेन ।
यसका बाबजुत भलिबलमा चोटको सिरिज नै चल्यो । एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण र १३औं सागमा नेपाललाई ऐतिहासिक रजतपदक दिलाउँदाका टोलीकी महत्वपूर्ण सदस्य प्रतिभा मालीसँगै सरस्वती चौधरी र एपिएफकी महत्वपूूर्ण सदस्य नेविका चौधरी र कप्तान विनिता बुढाथोकीले चोट बोक्न पुगिन् । पुरुषतर्फका केही खेलाडीहरू चोटिला छन् ।
फुटबलमा औषत
वर्ष २०७६ मा फुटबलबाट दुई उपलब्धिले नेपालले खुसी हुने अवसर मिल्यो । २०७२ को विनाशकारी भूकम्पले क्षतविक्षत एक मात्र अन्तर्राष्ट्रिय स्तण्रको दशरथ रंगशाला तयार र १३औं सागमा २३ वर्षमुनिको टोलीले लगातार स्वर्ण जित्न सफल । यसबाहेक वर्षको अन्तिम समयमा कोरोनाको संक्रमणको त्रासले खेल गतिविधि ठप्प हुनुअघि फुटबलका धेरै गतिविधि भए । नेपालले १२औं सागमा पनि स्वर्ण जित्न सफल भयो । महिला फुटबल टोलीले पनि उच्च प्रदर्शन गर्दै नदेज्दा कप र सागमा रजत पदक जित्न सफल भयो ।
यसै वर्ष नेपालले सिधै दोस्रो चरणमा कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट खेल्ने अवसर पायो । घरेलु मैदान दशरथ रंगशाला समयमै पुनर्निर्माण हुन नसक्दा नेपालले सबै खेल अवे खेल्नुप¥यो । तर, विडम्बना नै मान्नुपर्छ तीन अवे खेलपछि पनि रंगशाला निर्माण सम्पन्न नहुँदा भुटानमा ‘न्युट्रल भेन्यु’को रूपमा खेल्नुप¥यो । नेपालले कुवेत चाइनिज ताइपेइ, अस्ट्रेलियासँग खेल्दा चाइनिज ताइपेईलाई मात्रै २–० ले हराउन सफल भयो । दुवै गोल अन्जन विष्टले गरेका थिए । रंगशाला तयार नभएपछि मंसिर ३ गतेलाई तय भएको कुवेतसँग भुटानमा न्युट्रल भेन्यु खेल्दा १–० को सम्मानजनक हार बेहो-यो ।
कुवेतसँग खेल्नुअघि खेलाडीको ‘डिस्को कान्ड’ पनि बाहिरियो । डिस्को कान्डमा मुछिएपछि विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई एन्फाले कारबाही ग¥यो । सन्तोष र अञ्जनलाई ४५ दिनको तथा बिमल र दिनेशले ९० दिनको कारबाही भोग्दा उनीहरूले विश्वकप छनोट र सागसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिगका केही खेल गुमाए ।
यो वर्ष उमेर समूहमा प्रदर्शन खराब रह्यो । दक्षिण एसियाली खेलकुद तथा एएफसीका विभिन्न उमेर समूहका विभिन्न प्रतियोगितामा नेपालले सहभागिता जनाए पनि प्रदर्शन फितलो रह्यो । यस वर्ष सहभागिता जनाएको एएफसी यू–१९ र यू–१६ मा नेपालको प्रदर्शन कमजोर देखियो । साग यू–१५ मा फाइनलमा प्रवेश गरे पनि भारतसँग फराकिलो हार भोग्यो । साफ यू–१८ मा लगातार ३ सिरिज नै जित्ने लक्ष्य लिएको नेपाल समूह चरणबाटै बाहिरियो । यति मात्रै होइन भुटानसँगै ३–० को लज्जास्पद हार चाख्यो । १३औं सागमा भने फुटबलले नेपाली समर्थकको मन जित्न सफल रह्यो। घरेलु मैदानमा उपाधि हात पारेसँगै लगातार साग लगातार दोस्रो स्वर्ण जित्न नेपाल सफल रह्यो ।
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा लगानी गरेअनुसार मछिन्द्र क्लब लिगको नयाँ च्याम्पियन बन्यो । नयाँ च्याम्पियनकै दाबेदार आर्मी पुनः च्याम्पियन बन्नबाट चुक्यो । ‘ए’ डिभिजन लिगमै च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले आधुनिक लिगमा सय गोल गर्ने पहिलो खेलाडी कने । ब्रिगेड ब्वाइज क्लब (बीबीसीले पनि लिगको सय खेलको कोसेढुंगा पार गरे । मैदानमा खेलाडीबीचको हात हालाहालको स्थितिसमेत सिर्जना भयो । यसबाहेक एन्फा विवाद सामाजिक सञ्जालमा छरपस्ट देखियो ।
१३औं साग र सर्वाधिक पदक
नेपालले सागको इतिहासमा सागको सफल आयोजना मात्रै गरेन सााग इतिहासमै सर्वाधिक पदक जित्नसमेत सफल भयो । पटकपटक सरेपनि अन्ततः मंसिरमा १३औं सागको आयोजना र समापन भयो । यो नै खेलकुद क्षेत्रमा २०७६ सालको सबैभन्दा ठूलो उपलब्धि रह्यो । खेलाडीको उत्कृष्ट प्रदर्शन, फितलो व्यवस्थापन र दर्शकको उल्लेखनीय उपस्थितिले सागलाई सम्झनयोग्य बनाइदियो । सागमा उपलब्धिकै हिसाबले हेर्ने हो भने पनि ५१ स्वर्णपदक ६० रजतपदक र ९६ कांस्यपदकसहित २ सय ७ पदक जित्दै नेपाल दोस्रो स्थानमा रह्यो ।
सागको औपचारिक उद्घाटनअघि नै भएको महिला भलिबलले सुरुमै समर्थकको मन जित्दा जलपरी गौरिका सिंह सबैभन्दा चर्चामा रहिन् । ४ स्वर्ण जितेकी गौरिकाले रजत र कांस्य पनि जितिन् । गौरिकासँगै करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङ सागमा दोहोरो स्वर्णपदक जित्ने खेलाडी बने । समापनको दिन भुटानलाई २–१ ले पराजित गर्दै नेपालले स्वर्ण संख्या ५१ पु¥यो । कराते र तेक्वान्दोले सुरुकै दिनबाट पदक जित्यो ।
बक्सिङले पनि स्वर्णपदकको खडेरी पनि तोड्यो । एथ्लेटिक्सले पनि सोचेभन्दा राम्रो सफलता हात पार्दा सुटिङलगायतका केही खेलमा खेल सामग्री नै उपलब्ध नभएपछि आयोजक राखेप आलोचित बन्यो । जुडो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कबड्डी, फेन्सिङ, आर्चरी, कुस्ती, क्रिकेटसँगै अन्य खेलमा पनि नेपालले दिक जित्न सफल भयो । यसबाहेक समाचार संकलनका लागि रंगशाला प्रवेश गरेका पत्रकारमाथि बर्दीधारी प्रहरीको कुटाइले पनि १३औं साग गर्मायो ।
सागको समापनको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई पुरस्कार रकम घोषणा गरे । घोषणासँगै खेलाडीका अन्योल उत्पन्न भयो । कुन खेलाडीले कति पुरस्कार पाउने भन्नेमा आधिकारिक निकायकै परिभाषा बाझ्यो । राखेपले चैत अन्तिमा सातादेखि खेलाडीको खातामा रकम जम्मा गरिसकेको बताए पनि खेलाडीले अझै रकम पाउन सकेको छैनन् । दुई वर्षपछि १४औं साग पाकिस्तानमा हुनेछ । तर, मिति तोकिएको छैन ।
प्रिन्सको रफ्तार
वर्ष २०७६ मा ब्याडमिन्टनका युवा स्टार प्रिन्सको वर्णन नगरे खल्लो नै हुनेछ । १५ वर्षीय प्रिन्सले नेपाली ब्याडमिन्टन इतिहासका एकछत्र राज गर्ने बाटो देखाइसकेको छ । जसरी रत्नजित तामाङले नेपाली ब्याडमिन्टनमा राज गरेका थिए । आफ्नो आइडलको लयमा प्रिन्स उभिइसकेको छ । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लूएफ)ले जारी गरेको वरीयतामा प्रिन्स शीर्ष ७ मा उक्लनु नेपाली ब्याडमिन्टनकै ठूलो सफलता हो ।
दुबई इन्टरनेसनल जुनियर सिरिज जितेको प्रिन्सले यो वर्ष ११ प्रतियोगिता खेल्दै १०४०० अंक जोडेका छन् । विश्व जुनियर र्याङकिङको शीर्ष सातभित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो । प्रिन्सले पछिल्लो केही वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गरे । प्रिन्सले फागुनमा दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता खेल्दै प्रि–क्वार्टर फाइनलसम्मको यात्रा तय गरेका थिए ।
कोरोना आंतक
महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण राष्ट्रिय खेलकुद परिषद्ले ४ चैतबाट सम्पूर्ण खेल गतिविधि रोक्ने निर्णय ग-यो । त्यसअघि नै पनि कोरोनाकै कारण विदेशी चर्चित क्रिकेट भित्र्याएर हुन लागेको एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेट पनि कोरोनाकै मारमा प¥यो । भनौं खेलाडीले क्रिस गेलजस्ता विश्व चर्चित खेलाडीको खेल प्रत्यक्ष रूपमा हेर्न पाएन ।
यस्तै, चैत महिनालाई दशरथ रंगशालामा तय भएको विश्वकप र एसियन कपलाई तय भएको चाइनिज ताइपेई र अस्ट्रेलियासँगको खेल नेपाली दर्शकले ७६ सालमा हेर्न पाउनबाट वञ्चित बन्यो । सम्भवतः कोरोना महामारी साम्य भएपछि यो सबै ७७ मा पक्कै हेर्न पाइनेछ ।