मधेसमा उखरमाउलो गर्मी

वीरगन्ज । मधेश भन्नासाथ अहिले उखरमाउलो गर्मी भन्ने बुझ्न गाह्रो छैन । बुधबार पनि दिनमा गर्मी कम थिएन । तर मध्यरातमा बाहिर पानीका थोपा आएसँगै यो क्षेत्र केही चिस्सिने सर्वसाधारणको आशा पलायो । त्यो आशा लामो समयसम्म टिक्न सकेन । कारण पानीसँगै आएको आँधीले पर्साका ७५ वटा विद्युतका पोल र ३ वटा ट्रान्सफर्मर ढलाएपछि मधेशको पर्सा पंखा बिहिन बन्यो ।

एसी र एयरकुलर चलाउनेको पनि दिनचर्या सकसपूर्ण बन्यो । एकाएक पानीसँगै बडारिएर आएको आँधीले यहाँ ७५ वटा विद्युतका पोल गल्र्यामगुर्लुम पारेपछि सर्वसाधारणको अपेक्षा निराशामा परिणत भएको हो । विद्युत विहिन परिवेशमा ३५ घण्टा जति सर्वसाधारण बस्नु पर्दा गर्मीको अर्को पीडा बल्झियो । बुधबार राती १ बजे आँधीसँगै कटेको विद्युत सप्लाई शुक्रबार मध्यान्हबाट अलिअलि आउँदा मधेशका नागरिकलाई युद्धै जितेको जस्तो भयो ।

एक पटकको आँधीले यत्रो वितण्डा मच्चाउनुको कारण विद्युत प्राधिकरणले परिवर्तित समयानुकुल आफ्ना संरचना मर्मत तथा नयाँ प्रयोग गर्न नसक्नु रहेको स्थानीयको दावी छ । सेवाग्राहीहरुको संख्या दिन–दिनै बढ्ने र विद्युत खपतमा प्राधिकरण र सरकार नै जनतासँग आह्वान गरिरहेको समयमा विद्युत प्राधिकरणले आफ्ना संरचनालाई समयानुकुल परिमार्जन गर्न नसक्दा सानो प्राकृतिक झड्कामा पनि बढि क्षति भोग्न बाध्य हुनु परेको उनीहरुको दावी छ ।

प्राधिकरणले पुराना पोल तथा संरचना समयानुकुल परिमार्जन गर्न पर्ने स्थानीय बुद्धिजिबीहरुको पनि सुझाव छ । सेवाग्राहीहरुको संख्या हरेक दिन बढ्ने क्रममा छ । तर विद्युतका पोल पुरानै अवस्थामा छन् । पुराना फलामका पोल मात्र नभई नयाँ कंक्रिटका पोलहरु पनि आगामी दिनको भार थेग्ने गरी बनाउन नसक्दा यो अवस्थाको सामना गर्नु परेको उनीहरुको तर्क छ ।

गर्मीयाममा हरेक सर्वसाधारणले पंखा चलाउने, एसी, एयरकुलर, फ्रिज जस्ता विभन्न सामग्रीको प्रयोग बढि गर्ने र विद्युत खपत झन बढ्ने हुन्छ । तथापि प्राधिकरणका ट्रान्सफर्मरहरु पुरानै अवस्थामा छन् । त्यसै आधारलाई बुधबार राती आएको हावाहुरीले विद्युतका पोल र ट्रान्सफर्मर समेत भूईंमा बजार्न सकेको ठहर सर्वसाधारणको पनि छ । प्राधिकरणले अहिलेको क्षतिबाट पाठ सिकी पुराना ट्रान्सफर्मर र विद्युतीय उपकरणहरु समयानुकुल परिस्कृत गर्न पर्ने सुझाव सर्वसाधारणको पनि छ । प्राधिकरणलाई प्राकृतिक र कृतिम दुवै समस्याको भार बढि पर्न थालेको वर्तमानमा समयानुकुल संरचना निर्माण गर्न यहाँका बुद्धिजिबीहरुको सुझाव छ ।

बुद्धिजिबी र सर्वसाधारणको कुरामा सत्यता नै नभएको भने होइन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी उत्तम घिमिरेले बताए । ‘प्रकृतिका अगाडी कसैले पनि जित्न त सकिन्न । तथापि विपत्मा कम क्षति हुने गरी पूर्वतयारीहरु पनि गर्न पर्ने उनले पनि बताए । विद्युतका संरचनामा बढि क्षति पुग्दा आम सर्वसाधारण समेत दुई दिनदेखि गर्मीमा अध्यारोमा बस्न बाध्य भएको उनले पनि तर्क गरे । विद्युत सप्लाई नै बन्द भएपछि यहाँका अधिकाँश उद्योग कलकारखाना तथा व्यवसायमा समेत प्रभाव परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसको अलावा सरकारी तथा गैर सरकारी कार्यालयहरुले दैनिक सम्पादन गर्दै आएका सेवाहरु समेत केही प्रभावित भएको जिल्ला प्रशासन कार्यालयको तर्क छ । आफ्नो कार्यालयमा भने जेनेरेटर चलाएर सेवाग्राहीलाई सेवा दिएको तर गर्मीले भने बस्ने निकै सकस भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको तर्क छ ।

यता विद्युत प्राधिकरण वितरण केन्द्र वीरगन्जका प्रमुख अवधेश दुवेले भने पुराना संरचनाको कारण मात्र क्षति नभएको दावी गरे । प्राकृतिक विपत्ती नै आएपछि पुराना नयाँ भन्ने कुरा हुन्न । कुल ७५ वटा पोल र ३ वटा ट्रान्सफर्मरमा क्षति पुग्ने गरी आएको हावाहुरीले एउटा ट्रान्सफर्मर चाही पूर्णरुपले परिवर्तन नै गर्नुपर्ने बनायो उनले भने । यो हावाहुरीले विद्युतको मात्र कुल ५० लाख जतिको क्षति गरेको अनुमान छ उनले बताए ।

मध्य रातमा आएको हावाहुरीले स्थानीय एक बालक सहित दुई जना मानिस पनि पर्सामा घाईते भएको पर्साका प्रहरी नायव उपरिक्षक दीपक भारतीले बताए । जस्ता पाताले छाएको घरको छानो उडाउँदा वीरगन्ज १५ लक्ष्मणवाका विष्णु यादवका ६ वर्षीय छोरा नितिश यादव र वडा नम्बर २२ का ३० वर्षिय शेखर माझी घाईते भएको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक भारतीले बताए । उपचारको लागि दुवै घाईतेलाई वीरगन्जको नारायणी अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगन्जकै नेशनल मेडिकल कलेज र ६ वर्षीय बालकको उपचार एलएस न्यूरोमा भइरहेको उनको भनाइ छ ।

यता विद्युत सेवा अवरुद्ध हुँदा वीरगन्जका सरकारी तथा गैर सरकारी संघ सस्थाका कामकाज समेत ठप्प भएको प्रहरीले जनाएको छ । वीरगन्ज ३० लालपर्सामा मात्रै १० वटा पोल भाँचिएर ढलेको स्थानीयको दावी छ । तथ्याँक संकलनका क्रममा विद्युतका पोलसँगै किसानको बालीनाली र फलफूलमा सबैभन्दा बढि हानी पुगेको स्थानीय प्रहरीले जनाएको छ । रुखमा पाक्न थालेका र पाक्ने क्रममा रहेका आँप, लिची जस्ता फलफूलमा निकै ठूलो क्षति भएको प्रहरीको दावी छ ।

उता सप्तरीको राजविराज लगायत मधेश प्रदेशका सप्तरी, सर्लाही, सिराहा, धनुषा लगायतका जिल्लामामा आँपका दाना घर लाने र बिक्रीका लागि तयारी अवस्था भए पनि बुधवार राती आएको हावाहुरीका कारण सयौं रुखले आफ्नो फल जोगाउन नसकेको पाइएको छ । कतिपय रुख त आफै ढलेका पनि सप्तरीको राजविराजका दीपेन्द्रकुमार चौधरीले बताए । उनी पनि आँप किसान हुन् । मधेश प्रदेशमा चौधरीजस्ता सयौं किसान बुधबार आएको आँधीका कारण पीडित भएको प्रहरी अधिकारीहरुले बताए । कृृषि ज्ञान केन्द्र कर्मचारीहरुका अनुसार हावाहुरीले करोडौंको क्षति भएको छ । बुधबारको हावाहुरीले कुल उत्पादनको १२ प्रतिशत बढि क्षति पु¥याएको उनीहरुको तर्क छ । मूल्यमा भन्ने हो भने यो करोडौंको क्षति हो उनीहरुले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा मेयरमा काका भतिज प्रतिस्पर्धामा