पोखरेलीमाझ ‘पुजार सार्की’का कलाकार

पोखरा । जातीय विभेदविरुद्ध कथावस्तु बोकेको फिल्म ‘पुजार सार्की’ तेस्रो सातामा प्रदर्शन भइरहँदा कलाकार आइतबार पोखरा आएका छन् । पोखराको कास्कीकोटमा छायांकन भएको दिनेश राउत निर्देशित यो फिल्मका मुख्य कलाकारमध्ये आर्यल सिग्देल, अञ्जना बराइलीले पोखरेली दर्शकसँग भेट गरी प्रतिक्रिया लिएका छन् ।

सभागृह चोकस्थित मिड टाउन पुगेका कलाकारलाई एक्कासि देख्दा दर्शक उत्साहित देखिन्थे । उनीहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिँदै कलाकारसँग सेल्फी लिएका छन् । फिल्म पोस्टरको पेन्सिल स्केच गरेरका पोखरेली उत्सव नेपालीले फ्रेमसहितको चित्ताकर्षक स्केच कलाकारलाई हस्तान्तरण गरे । यो स्केचलाई धेरैले मन पराएका छन् ।

निर्देशक राउतका १८ औं दिनसम्म फिल्मले ६ करोडभन्दा बढीको कारोबार गरिसकेको दाबी गरे । उनले जातीय विभेदविरुद्ध बनेको ‘पुजार सार्की’ लाई रुचाइदिएकोमा खुसी लागेको बताए ।

नायक सिग्देल दर्शकसँग भेट्दा क्यारेक्टर ओरियन्टेड पर्फमेन्स देख्न पाएको भन्दै प्रतिक्रिया मिलेको बताउँछन् ।

अभिनेत्री बराइलीले ‘मैया’ पात्रलाई धेरैले मन पराएकोमा उत्साहित रहेको बताइन् । फिल्ममा आउनुको कारण खुलाउँदै उनले भनिन्, ‘फिल्म मेरो सपना हो, यो बाहेक अर्को क्षेत्रमा केही गर्न सक्छु भन्ने लाग्दैन । त्यही भएर यहाँ छु ।’

मिडिया संयोजक जीवन पराजुलीले यो फिल्म सबै वर्गको फिल्म हो भने । ‘यसअघि आफूले गरेका फिल्ममा लक्षित कुनै वर्ग हुन्थ्यो, त्यसलाई टार्गेट गरेर प्रचार गरिन्थ्यो, अहिले पुजार सार्की सबै वर्गको फिल्म भएकोले त्यही अनुसार प्रचार छ,’ पराजुलीले भने । विभिन्न हल पुग्दा कहिल्यै फिल्म हेर्न हल नछिरेका पनि यसपालि आएको उनले बताए ।

शनिबार फिल्म युनिट चितवन पुगेर दर्शक भेटेको थियो । गत १० जेठमा रिलिज भएको यो फिल्मलाई दर्शकले अत्यधिक रुचाएका छन् । सुवास भुसालको निर्माण तथा विकास सुवेदीको कथामा निर्मित फिल्ममा प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बु लगायत कलाकारको पनि प्रमुख भूमिका छ ।

यस्तै, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराल, राजु ग्याबक, सोनम ह्येल्मोको अभिनय देख्न सकिन्छ । भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ, हिमाल केसीको द्वन्द्व निर्देशन तथा राजेश श्रेष्ठको छायांकन हो ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नागेशले पाए विराटनगरको नेतृत्व