मनाङेको भाग्य, बने ६ पटक मन्त्री

पोखरा । राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेशसभामा छैटौंपटक मन्त्रीको रेकर्ड कायम गरेका छन् । गण्डकी प्रदेशको मनाङ १(ख) बाट स्वतन्त्र सांसदका रूपमा प्रदेशसभामा निर्वाचित उनी सत्ताका खेलाडी हुन् । अझ भनौं अंकगणितमा निर्णायक उनी जुन दलको नेतृत्वमा सरकार बने पनि उतै मन्त्री बनिहाल्छन् ।

विगतमा गुन्डागर्दीको छवि बनाएका मनाङेविरुद्धको मुद्दा अझै पनि सर्वोच्च अदालतमा विचाराधीन छ । तर, ६० सदस्यीय प्रदेशसभामा जहिल्यै बहुमतको समीकरणमा निर्णायक उनलाई बाध्यतात्मक रूपमा मन्त्रीको पगरी गुथिने गरिएको छ ।

प्रदेशसभाको अघिल्लो कार्यकालमा उनी तीन पटकसम्म खेलकुदमन्त्री बने । दोस्रो कार्यकालमा उनलाई लगातार तीनैपटक महŒवपूर्ण भौतिक पूर्वाधार मन्त्रालयको साँचो सुम्पियो । पहिलो कार्यकालमा करिब डेढ वर्षसम्म र दोस्रो कार्यकालमा ३ महिना अवधिमै तीनपटक भौतिक पूर्वाधारमन्त्री बनिसकेका छन् । गत वर्ष ५ चैतमा उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार तथा विकासमन्त्री बनाएका थिए । २५ चैतमा मुख्यमन्त्री खगराज अधिकारीले सोही मन्त्रालय दोहो¥याउँदा मंगलबार मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिएका हुन् ।

२०७८ सालमा मनाङे नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङको क्याबिनेटबाट सरकारमा छिरेका थिए । त्यसयता, लगातारजसो सरकारमा गए । २०७७ सालमा तत्कालीन नेकपा टुक्रिएपछि संकटमा परेको पृथ्वीसुब्बा नेतृत्वको सरकारमा आफू मन्त्री बन्नुपर्ने सर्तसहित उनले सघाए र १६ वैशाख २०७८ मा पहिलोपटक युवा तथा खेलकुदमन्त्री बनेर पहिलो सिँढी उक्लिन थालेका हुन् । त्यसबेला ७ मन्त्रालय रहेकामा मनाङेलाई दिनेगरी सामाजिक विकास मन्त्रालय फुटाइएको थियो । नेकपा विभाजनपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परे । उनले राजीनामा दिए । पृथ्वीसुब्बा ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बने । उनले मनाङेलाई फेरि मौका दिए । पृथ्वीसुब्बाको सरकार ढलेपछि २९ जेठ २०७८ मा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको सरकारमा मनाङे खेलकुदमन्त्री नै बने । यसरी प्रदेशसभाको कुल ७ वर्षमा उनले ६ पटक मन्त्रीको रेकर्ड कायम गरेका हुन् ।

खासमा ‘मनाङे’ र ‘सत्ता’ पर्यायवाची भाष्य बनेको छ । किनकि गण्डकीमा हालसम्म चार मुख्यमन्त्री (पृथ्वीसुब्बा, कृष्णचन्द्र, खगराज र सुरेन्द्रराज)को अनुहारमा विभिन्न सरकार फेरिँदै गयो । मनाङेले चारै जना मुख्यमन्त्रीको क्याबिनेटमा सहजै मन्त्री बन्ने सौभाग्य पाए ।

आजभन्दा ७ वर्षअघि ७ माघ २०७४ मा गण्डकी प्रदेशसभाका सबै सांसदले शपथ ग्रहण गरेका थिए, तर मनाङे छुटे । किनकि ज्यान मार्ने उद्योगको मुद्दाका कारण उनी फरार थिए । पछि अदालतमा उपस्थित भएर ८ महिना जेलसमेत बसे । २०७४ सालको फौजदारी संहिताले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा जेल नबसी मुद्दाको पुनरावेदन गर्न पाउने सुुविधा दिएपछि अर्को वर्ष ६ पुसमा कारागारमुक्त भएर उनले शपथका लागि प्रदेशसभा सचिवालयमा निवेदन दिए । उनी १५ माघमा प्रदेशसभा सदस्य हैसियतमा पद तथा गोपनीयताको शपथ लिएर गण्डकी प्रदेशसभा छिरेका थिए ।

दोस्रो कार्यकालका लागि २०७९ सालको निर्वाचनमा उनी मनाङबाट सर्वसम्मत निर्वाचित भए । मन्त्रीको लोभमा उनी एकीकृत समाजवादीमा प्रवेश गरे । दोस्रो प्रदेशसभाको कार्यकालमा सुरुमै मुख्यमन्त्री बनेका एमालेका अधिकारी र पछि आएका कांग्रेसका पाण्डेले मनाङेलाई बेवास्ता गरे । किनकि, दुवैलाई बहुमत पुग्दा मनाङे बेन्चमा परे ।

अघिल्लो वर्ष संघीय सरकारमा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कित्ता फेर्दा प्रदेशसभामा पनि असर प¥यो । तत्कालीन मुख्यमन्त्री पाण्डे अल्पमतमा परे । त्यसबेला मात्र उनले केही दिनका लागि मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर विश्वास आर्जन गर्न खोजे । पाण्डे सरकार ढलेपछि अधिकारी सरकार आयो । अधिकारीले शपथ लिँदा मनाङेलाई मन्त्री सुम्पिए । तर, अधिकारीले संसद्मा पाएको भनिएको विश्वासको (३०) मत असंवैधानिक भएको भन्दै सर्वोच्चले बर्खास्त गरी पाण्डेलाई संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि परमादेश जारी ग¥यो ।

पाण्डेलाई सोमबार संसद्मा विश्वासको मत दिएका मनाङे छैटौंपटक मन्त्रीमा दोहोरिएका हुन् । पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, मनाङे र फणीन्द्र देवकोटाले विश्वासको मतको पक्षमा मत दिएका थिए ।

मंगलबार भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त भएका मनाङे र ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त भएका फणीन्द्र देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका छन् । गण्डकीमा पाण्डे सरकारको दोस्रो कार्यकालमा दोस्रोपटक मन्त्रिमण्डल विस्तारसँगै मन्त्रिमण्डल ५ सदस्यीय पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 6 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा ५ दलित महिला सदस्य निर्बिरोध