‘दोस्रो संविधानसभाको कार्यकालमा उपलब्धिहरुको बन्ध्याकरण गरियो’

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पहिलो संविधानसभा कार्यकालमा जनमुखी यात्राकै अवधि भए पनि दोस्रो संविधानसभाको कार्यकालमा भने उपलब्धिहरुको बन्ध्याकरण गरिएको टिप्पणी गरेका छन् ।

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा भट्टराईको निम्ता स्वीकार गरेर अतिथिको रुपमा सम्बोधन गर्दै सांसद साहले दोस्रो संविधासभाको समयमा प्रतिगमन भएको दाबी गरे ।

‘दोस्रो संविधानसभामा उपलब्धिहरुलाई बिगारियो । बिगारेको चीजले त परीणाम पनि बिगारेकै दिन्छ । अहिले व्यवस्था आयो तर अवस्था बदलिएन भन्ने नारा सुनिन्छ । यसमा मलाई अचम्म लागेको छ । मान्छे राम्रो हुने अनि व्यवहार खराब हुन्छ त ? यसरी भन्नु भनेको जनतालाई झुक्याउने काम हो’ साहले भने ।

नेपालमा जनयुद्ध र जनआन्दोलन लोकतन्त्रको लागि गरिएको स्मरण उनले गराए । तर, अहिले व्यवहारमा त्यस्तो नदेखिएको उनको गुनासो छ । ‘अहिले त पार्टीको शासन छ । जनप्रतिनिधिहरु पार्टीको एउटा कारिन्दा भएका छन् । कुनैबेला पञ्चहरु राजाका कारिन्दा थिए । हामी समावेशी समानुपातिक उन्नत लोकतन्त्रको कुरा गरेका छौं । समानुपातिक कसको लागि छ ? भनेर हामीले देखेकै छौं । शासक जातिलाई आरक्षण त नेपालमा पहिलोपटक देख्यौं हामीले । नेपालमा समानुपातिक प्रणालीको बलात्कार गर्ने काम भयो । हुर्मत लिने काम भयो । अहिले ७६१ वटा सरकार छन् । तर, संघीयता भनेको बन्दुक र पैसाले चल्छ । अहिले प्रदेशमा केही दिईएको छैन्’ उनले भने ।

साहले बाबुराम भट्टराईले २०७२ को संविधान’bout दिएको टिप्पणी ‘आधा गिलास भरि, आधा खाली’ नभएको टिप्पणी गरे । उनले भने, ‘यो संविधान डा. साबले भनेजस्तो आधा गिलास भरि, आधा खाली छैन, तरकारीमा यत्ति गोबर हालेपछि त्यो कामै लाग्दैन् । त्यो खारेज गर्नुपर्छ । यसरी निर्धक्क भएर किन भन्न सक्नुहुन्न तपाईं ? डा. बाबुराम भट्टराई भनेको सम्भावना बोकेको नेता हो । यो समाजको आवश्यकत्तलाई पूरा गर्न योग्य व्यक्तित्व हुनुहुन्छ ।’

उनले बाबुरामकै अघि उनकै आलोचना समेत गरे । प्रचण्डसँग मिलेर लगनगाँठो कसेर बाबुरामले अहिलेको संविधान बनाएको र जनतालाई धोका दिएको साहको आरोप छ । संविधानसभाबाट संविधान जारी गर्दा माओवादीभित्रबाट आफूले फरक मत राख्दा कारबाही गरिएको पनि उनले विगतको तितो स्मरण गराए । उनले अहिलेको संविधान बनाउनेहरुले जनआन्दोलन र जनयुद्धप्रति धोका र गद्दारी गरेको भन्दै माफी माग्नुपर्ने माग गरे ।

उनले बाबुरामले पूरानो उपलब्धि (संविधान) लाईपनि स्वामित्व लिन नसकेको र नयाँ कुरा पनि गर्न नसकेको भन्दै दहीचिउरे नेताको संज्ञा दिए । उनले पूरानोलाई पूर्ण रुपमा निषेध गरेरमात्र नयाँ यात्राले सार्थकता पाउने सुझाव दिए । उनले अहिले देश संकटतर्फ अघि बढेको भन्दै यसबाट देशलाई बचाउनको लागि अग्रगामी सोच भएका शक्तिहरु एकताबद्ध हुन जरुरी रहेको आवश्यकत्ता पनि औंल्याए ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले मतपत्र च्यात्न सक्छन्, आँखा झिमिक्क नगर्नुस् : ओली