विद्रोहको विकल्प छैन कि ?

कांग्रेस नेता शेखर कोइरालालाई उद्धृत गर्दै आएको एउटा समाचारले कुनै पनि संवेदनशील व्यक्तिलाई अचम्मित मात्र होइन हतप्रभ नै बनाउँछ होला ! सो समाचारअनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गिरिबन्धु काण्डको कुरा उठाएपछि शाहलाई कसरी तह लगाउने भनेर तीनवटै नेता बालुवाटारमा छलफलमा जुटे रे ! प्रकाशित समाचारमा तीन नेता कोको हुन् किटान छैन । बालुवाटार भनेको प्रधानमन्त्रीको सरकारी निवास नै भएको बुझ्न सकिन्छ र तीन नेता भनिएका मध्ये दुई जनाचाहिँ स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली भएको बुझिन्छ । तेस्रा’bout अस्पष्टता छ । सामान्यतया तीन नेता भन्ने बित्तिकै ओली, प्रचण्ड र देउवा भन्ने बुझ्ने गरिन्छ । के ती तेस्रा व्यक्ति शेरबहादुर देउवा हुन् त ? गिरिबन्धु काण्डमा बोलेकै कारण बालेन्द्र शाहलाई तह लगाउन देउवा आत्तुर हुनु नपर्ने हो । तर, बृहत्तर भ्रष्टाचारी बचाऊ अभियानअन्तर्गत देउवा पनि प्रचण्ड र ओलीको गुटमा सामेल भएका हुन् त ? तेस्रा नेताचाहिँ वर्तमान सत्ता गठबन्धनका तेस्रा महत्वपूर्ण व्यक्ति अर्थात् उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने हुन् कि ? तेस्रो व्यक्ति देउवा वा लामिछाने जोसुकै भए पनि त्यो व्यक्ति अत्यन्तै शक्तिशाली भएको र गिरिबन्धुको सम्भावित भ्रष्टाचार’bout पटक्कै छानबिन नहोस् भन्ने कामना राख्ने हुन् भन्ने त प्रस्टै बुझिन्छ ।

मेयर बालेन्द्र शाहले गिरिबन्धु काण्डलाई १० हजार करोड अर्थात् १ खर्ब रुपैयाँको काण्ड भनेका छन् र एमाले अध्यक्ष ओलीमाथि आरोप लगाएका छन् । शेखर कोइरालाको तहका नेताले सार्वजनिक रूपमा बताएपछि बालेन्द्रविरुद्ध शक्तिशाली तीन नेता एकजुट भएर छलफलमा जुटेको भन्ने कुरोलाई ‘हालहुले’ भनेर छोड्ने कुरो पनि भएन । स्वयं ओलीले यस्तै केही भनेका भए पनि प्रश्न उठ्थ्यो नै । यद्यपि, ओलीको बोलीमा चाहिँ कुनै वजन नहुने हुँदा मानिसले त्यसलाई हल्का रूपमा लिनेगरेको पनि पाइन्छ । शेखर कोइराला त्यति हल्का मानिन्नन् । उनलाई प्राप्त सूचना गलत हुन सक्छ । तर, त्यसको खण्डन कतैबाट नआएको सन्दर्भमा शेखर कोइरालाको भनाइमा सत्यताको अंश बढी भएको मान्नुपर्ने हुन्छ ।

१ खर्बको काण्ड भएको भनेर आवाज उठाउने एक व्यक्तिविरुद्ध यो राष्ट्रका सर्वाधिक शक्तिशाली तीन व्यक्ति एकजुट हुनुको अर्थ के हो ? अनि ‘तह लगाउने’ भनेको के हो ? के शारीरिक रूपमा नै तह लगाउने त होइन ? सेना र प्रहरी जस्ता सशस्त्र राज्यको सम्पूर्ण संयन्त्रका तालुकवाला एक जना व्यक्तिलाई तह लगाउन उत्रन्छन् भने त्यसको परिणाम के हुन्छ ? बालेन्द्र शाहले कसैको व्यक्तिगत मर्यादा वा मान भंग गरेको भए सामान्य कानुनी उपचारको व्यवस्था त छँदै छ होला ! तीन शक्तिशाली छलफलमा जुटेर ‘तह लगाउन’ खोजिन्छ भने यो गम्भीर विषय भएन र ?

गिरिबन्धु काण्ड भनेको अर्बौं रुपैयाँ कसैलाई फाइदा पु¥याउने उद्देश्यले गरिएको नीतिगत भ्रष्टाचार हो । ऐनमा गर्न खोजिएको वा गरिएको संशोधन विशुद्ध लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले चालिएको कदम हो भनेर पत्याउन सामान्य मानिस पनि तयार नहुने अवस्था छ । यो अर्बौंको चलखेल भएको नीतिगत भ्रष्टाचार नै हो । तर, अत्यन्तै भरपर्दो एवं सूक्ष्म अनुसन्धान नगरी नगद ओसारपसार (मनी ट्रेल) रुट र गन्तव्य तथा प्रयोगचाहिँ फेला पर्दैन । बालेन्द्र शाहविरुद्ध यसरी यी कथित नेता एकजुट भएको हो भने त्यो मनी ट्रेलको खोजीमा लाग्ने व्यक्तिलाई नै मेटाएर ट्रेल अदृश्य बनाउने प्रयास हो । यसभन्दा अघिका तमाम भ्रष्टाचार काण्डमा मनी ट्रेल पछ्याउँदा नेताका आसेपासे सहायक र निकटतम व्यक्तिसम्म पुग्थ्यो होला । तर, गिरिबन्धुको मनी ट्रेलचाहिँ सम्माननीय भनाउँदाको ढुकुटीसम्मै पुग्ने भएर पो आत्तिएका हुन् कि ?

यहाँ प्रश्न बालेन शाहलाई आक्रमण गर्न खोजियो भन्ने होइन ! वास्तवमा बुढी मरी भन्ने पीर होइन, काल पल्केला भन्ने डर हो । बालेन शाहविरुद्ध राज्य शक्ति नै आक्रामक भएर लाग्नु भनेको उच्च तहको भ्रष्टाचारविरुद्ध आवाज उठाउने प्रत्येक व्यक्तिलाई भयानक खतराको संकेत हो । तर, त्यस्ता भ्रष्टाचारविरोधी अभियन्ताले राज्यबाट संरक्षण खोज्न मिल्दैन । राज्यका हर्ताकर्ता नै भ्रष्टाचार बिरोधीलाई ‘तह लगाउन’ उद्यत हुन्छ भने राज्यलाई गुहार्नुको अर्थ रहन्छ र ? ‘बालेन्द्र शाह’ यदि ‘तह लगाइन्छ’ भने हजारौं बालेन्द्र शाहसामु विद्रोहबाहेक कुनै विकल्प रहन्न । त्यो विद्रोहको ज्वालाले कसलाई कहाँ पु¥याउँछ भन्न सकिन्न ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरू