१३ बर्ष विदेश बसेपछि गाउँमा घाँसखेती

गुल्मी । एउटा पाटामा भर्खरै छरेको बीउ । अर्कोमा उम्रिन लागेका बिरुवा । बारीभरी विभिन्न जातका घाँसका नर्सरी । छिनछिनमा विभिन्न ठाउँबाट घाँसको अर्डरको लागि फोन पनि आउछ । कतिपय ठाउँबाट मानिसहरु घाँस लिन उनको घरमै आइपुग्छन् । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँस खेतीमा कट्ने गरेको छ ।

गोपाल भन्छन्, ‘विदेशको धनभन्दा स्वदेशको दुःख प्यारो’

३९ बर्षिय गोपाल बिहान उठेदेखि रातिसम्मको समयलाई बारीमै सदुपयोग गर्छन । अब घाँस खेतीबाटै जिविकोपार्जन गर्ने सोच बनाएका गोपालले २१ रोपनी आफ्नो र ८९ रोपनी घिमेकीको जग्गा भाडामा लिएर घाँस खेती गरेका छन् । उक्त जग्गामा उनले किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजि बुलेज, जेइन्ड किङ लगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवाहरु उत्पादन गरिरहेका छन् ।

रसियस कम्फे विशेषगरी बंगुर र कुखुराको आहाराको लागि प्रयोग हुने गर्दछ । अन्य घाँसहरु पनि गाई–भैसीँलाई फाइबर, प्रोटिन र भिटामिनयुक्त रहेका छन् । जसका कारण गाई÷भैसीँलाई दान कम दिएर पनि दुध बढी उत्पादन हुने गोपाल बताउछन् ।

गत बर्षदेखि बिरुवा बिक्री गर्न सुरु गरेका उनले हालसम्म १० लाख ५० हजार भन्दा बढीको बिरुवा बिक्री गरेका छन् । उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा, बुटबल, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पोखरा, रुकुम पश्चिम, रोल्पा, दाङ, हेटौडा, मोरङ लगायतका स्थानमा बिक्री हुने गर्दछ ।

अधिकाशं बिरुवाहरु उनले अनलाईन अर्डरका आधारमा पठाउने गरेका छन् । प्रति बिरुवा दुई रुपैँयादेखि ५० रुपैँयासम्मका घाँसका बिरुवा उनीसँग छन् । अहिलेको बर्षायाममा बिक्री गर्नको लागि उनीसँग ४० लाखको घाँसको बिरुवा रहेको छ । उनले गत बर्षभन्दा अहिले १० रोपनी जग्गामा थप घाँस खेती विस्तार गरेका छन् ।

मासिक ८२ हजारको जागिर छोडेर आए
गोपालले १३ बर्ष दुवैमा कम्पनीमा काम गरे । दुवैमा उनको मासिक ८२ हजार रुपैँया आम्दानी हुन्थ्यो । प्रत्येक शुक्रबार र शनिबार उनी दुवैका विभिन्न ठाउँमा घाँस खेती र बाख्रा पालन गरेको ठाउँमा घुम्न जान्थे । त्यही देखेर उनलाई पनि गाउँमा घाँस खेती गर्न मन लाग्यो । अनि आफु विदेशमा भइकन पनि घरमा भाई र बुहारीलाई भनेर चार बर्षदेखि घाँस खेती सुरु गरे ।

सात लाखबाट सुरु गरेको घाँस खेतीको व्यवसाय अहिले झण्डै ४० लाखको भएको छ । अहिले घाँसका साथसाथै होलिस्टिन जातका तीन गाई र तीन भैसीँ पनि रहेका छन् । साथै १३० वटा बाख्रा अट्ने खोर पनि निर्माण गरेका छन् । अबको केही समयपछि बाख्रापालन गर्ने सोच बनाएको गोपाल बताउछन् । ‘घाँसलाई मल चाहिन्छ, त्यो बाख्रा, गाई र भैसीँबाट प्राप्त हुन्छ ।’ उनले भने, ‘गाई–बाख्रालाई आवश्यक घाँस आफ्नै बारीमा उत्पादन हुन्छ ।’

अहिले गोपालले श्रीमतीको साथमा घाँस खेती गरिरहेका छन् । ‘विदेशको पैसाभन्दा यहाँको दुःख धेरै प्यारो छ ।’ गोपालले भने, ‘अब विदेश नजाने गरी व्यवसाय सुरु गरेको हुँ ।’ उनले अन्य युवाहरुलाई स्वदेशमा प्रशस्त सम्भावना रहेको भन्दै गाउँमै कर्म गर्न सुझाव दिए ।

घाँख खेती गर्नको लागि उनले कतैबाट पनि अनुदान लिएका छैनन् । ‘अनुदानले मानिसलाई परनिर्भर गराउछ ।’ गोपाल भन्छन्, ‘सरकारले अनुदान बाड्ने होइन, बजारीकरणमा सहयोग गर्ने हो ।’ जग्गाको भाडा मात्रै बार्षिक एक लाख बुझाउने उनले प्रत्येक बर्ष एक हजार पाँच सयले रोजगार पाएको बताए । मदाने गाउँपालिका–०३ का वडाध्यक्ष चेतबहादुर सेनले आफुहरु गोपालजस्तै व्यवासयीक कृषकहरुलाई प्रोत्साहन गर्न लागिपरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेनुले लिइन् ६६६६ मतान्तरको अग्रता