आज म नेपाली क्रिकेटसँगै रोएँ !

१ असार २०८१ साल । वेस्ट इन्डिज, सेन्ट भेन्सेन्टको राजधानी । एरनोस भेल क्रिकेट खेल मैदान । सन् २०२४ को टी–ट्वान्टीको विश्व क्रिकेट प्रतियोगिताको लिग खेलमा नेपालले दक्षिण अफ्रिकासँग खेल्दै थियो । नेपालले यसपूर्व नेदरल्यान्डसँग हारेको थियो । न्युयोर्कमा पानी परेर नेपाल र श्रीलंकाले १–१ अंक बाँडेका थिए । सुपर ८ मा पुग्न नेपाललाई अवसर बाँकी थियो । खेल्न बाँकी दक्षिण अफ्रिका र बंगलादेशलाई जितेको खण्डमा नेपाल सुपर ८ मा पुग्नसक्ने सम्भावना रहेको थियो ।

नेपालबाट झन्डै १७ हजार किलोमिटर टाढा एरनोस भेल क्रिकेट मैदानमा नेपाली फ्यानहरू नेपाली क्रिकेट टिमको डे«स लगाएर गाला र निधारमा नेपालको झन्डा पोतेर रमाइरहेका थिए । म बिहान ४ बजे नै उठेर टिभीअगाडि बसेको थिएँ । नेपाललाई सुपर ८ मा पु¥याउने संकल्प थियो, मनमा । नेपालका क्याप्टेन रोहित पौडेल र दक्षिण अफ्रिकाका क्याप्टेन एडेन मार्करम टस गर्न उभिए । नेपालले टस जित्यो र बलिङ गर्न राज्यो । दीपेन्द्रसिंह ऐरीले सबैभन्दा धेरै ४ विकेट लिए । दक्षिण अफ्रिका १ सय १५ रनमा समेटियो । नेपाल खुसीले सगरमाथा चुम्न पुग्यो । सारा नेपाली एकैचोटि हर्षित भए ।

नेपालले सजिलै जित्छ, जाबो १ सय १५ रन त छ । मैले चन्दालाई सुनाएँ । चन्दा क्रिकेटकी जानकार छिन् । उनले एकछिन गमिन् । नेपालले १० ओभरमा ५० कटाउनुपर्छ । उनले एउटा रणनीतिको सम्भावना दिइन् । नेपालले ब्याटिङ गर्न थाल्यो । बिस्तारै र निरन्तर, विकेट भने झरेको थिएन ।

म नेपाली टिमले १० ओभरसम्म ५० कटाउने आशा गरेर खेल हेरिरहें । तर, २ विकेटको क्षतिमा नेपालले जम्मा ४८ रन बनाउन सक्यो । म झसंग भएँ अनि फेरि उनै चन्दासँग सोध्न थालें, ‘चन्दा ! अब के हुन्छ ?’

कमसे कम पनि १५ ओभरसम्ममा सय पु¥याए हुन्थ्यो भन्ने चन्दाले आशा राखिन् ।

खेलभरी चौका अनि छक्का हान्दा रमाउने र आउट हुँदा खिसिक्क पर्ने क्रम चलिरह्यो । विभिन्न खेलका हजारौं म्याच हेरिएको थियो । यस दिनजस्तो छटपटाहट कहिल्यै भएको थिएन ।

गुगलले नेपालले जित्ने सम्भावना ९६ प्रतिशतबाट घटाउँदै लगेर ५० पु¥याएको थियो । एआईसमेत उही भन्दै थियो ।

म छटपटिन थालें । टाब्रिज साम्सीले विकेट झार्न थालेपछि म अतालिन थालें । कहिले उठ्ने त कहिले बस्ने गर्न थालें । गर्दागर्दै खेल अन्तिम ओभरमा पुग्यो । ६ बल ८ रन ।

गुगलले नेपालको जित्ने सम्भावना ९६ प्रतिशतबाट घटाउँदै लगेर ५० पु¥याउँदा एआईले पनि त्यही भन्दै थियो

हे भगवान्, चौका छक्का होस् ! छोरी आँखा चिम्लिएर पुकारा गर्दै थिइन् ।

मैले नहे¥यो भने चौका छक्का हुन्छ कि ! चन्दा उठेर भान्सातिर लागिन् ।

म ढुकढुक हल्लिरहेको मुटु थिचेर हेर्दै थिएँ । नभन्दै चौका, हामी उफ्रियौं । डट बल, नो बल । १–१ रन जोडियो । म्याचमा दक्षिण अफ्रिकालाई हराउन अब २ बलमा २ रन चाहिएको थियो, नेपाललाई । मुटुको धड्कन बढिरहेको थियो । प्रेसरको औषधि खानु पर्ला जस्तो गरी । मैले सास रोकें । सास फेर्दा मात्रै पनि बिग्रन्छ कि भन्दै चौकाको आश गरिरहें ।

‘अगेन डट बल, नेपालली टिम इज नर्भस,’ कमेन्ट्रेटर माइकमा बोल्दै थियो ।

दक्षिण अफ्रिकाका ओटनिल वार्टम्यान अन्तिम बल फयाँक्दै थिए । गुलसन झा छेक्दै थिए । सोमपाल कामी आधा बाटो दोडिसकेका थिए । म १ रन मात्रै भए पनि सुपर ओभरको अपेक्षा गर्दै कामिरहेको थिएँ । ला गुलसन अल्झिए । उनी अल्झिए पनि दौडिए तर स्टम्पमा नपुग्दै डी ककको थ्रोमा आउट भए । विचरा गुलसन झा थचक्क बसे । सोमपाल कामी दक्षिण अफ्रिकी खेलाडी रमाएको हेरिरहे । गालामा नेपालको झन्डा पात्ने युवाहरूबीच ‘पिनड्रप साइलेन्स’ भयो, सबै नेपालीमाझ सन्नाटा छायो । नेपाली क्रिकेट टिमको डे«स लगाएर उफ्रने नेपालीहरूको आँसुले पोल्न थाल्यो, म छटपटिन थालें ।

उफ् ! हेर्दाहेर्दै लालीगुराँस ओइलायो, डाँफे रुन थाल्यो, सगरमाथा टोलाएको टोलाएै भयो, कालो बादल मडारियो अनि डम्म अँध्यारो भयो । मैले आफैंले आफैंलाई थाम्न सकिनँ । म रोएँ, चन्दा पनि रोइन् अनि छोरी पिलपिलाइन् । अमेरिकामा छोराले आँसु पुछ्यो, वेस्ट इन्डिजमा भाइले औंला टोक्यो, मैले सारा नेपाली एकैचोटि एउटै पीडाले रोएको देखें । लामो सुस्केरा आयो । नरमाइलो लाग्यो । टिभी हेर्न सकिनँ अनि म उठेर हिडें ।

सडकमा नेपाली युवाहरू चुकचुकाउँदै थिए । नेपालको खेल जगतमा एउटा भरोसा गर्न लायक क्रिकेट खेल छ । सरकारले क्रिकेटमा लगानी गर्दैन । खेलाडीलाई तलबभत्ता दिँदैन । कसरी खेलून् र जाइन्टहरूलाई जितुन् ? एक पक्षको तर्क थियो ।

आज त नर्भस भएर हो क्या, खेलाडीहरू । जितिसकियो भनेर पनि नर्भस हुँदो रहेछ मान्छे । अर्को पक्षको तर्क थियो ।

दक्षिण अफ्रिकाजस्तो टिमसँग यतिको खेल्नु पनि त राम्रो हो नि । स्याब्बास ! नेपाली टिम । अर्को पक्ष भन्दै थियो ।

जे होस आज खेलाडीहरूले रुवाए । अर्काे युवा जत्था भन्दै थियो ।

सन १९४६ मा गठन भएको क्यानले विश्व क्रिकेट काउन्सिलबाट सन् १९९६ मा अन्तर्राष्ट्रिय मान्यता पाएपछि विश्व रंगमञ्चमा नेपाली क्रिकेट टिम चलमलाउन थालेको थियो । क्रिकेट नेपालको एक लोकप्रिय खेल हो । स्वदेशी र विदेशी प्रतियोगितात्मक खेलहरू नेपालले खेल्दै आएको छ । गत वर्ष एसिया कपमा नेपालले भारत, पाकिस्तान र श्रीलंकासँग खेलेको रोमाञ्चक क्षण मनमा अझै ताजा छ । टीयूको क्रिकेट मैदानमा बदाम खाँदै अन्तर्राष्ट्रिय प्रतियोगिताका रमाइला अनुभवको खात छ । अनुभवको पत्रपत्रमाथि चढ्दै नेपालले सन् २०१४ मा पारस खड्काको कप्तानीमा पहिलोपटक बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो । सन् २०२४ को टी–ट्वान्टी विश्वकपका लागि क्वालिफाइ हुँदा मात्र पनि हामी कतिकति खुसी भएका थियौं । सन् २०२४ को टिम कप्तानी रोहित पौडेलले गरेका छन् । तर, आज विचरा उनी डकआउट भए । पश्चातापमा रुनुबाहेक उनीसँग अहिले केही पनि छैन ।

मुलुकलाई नै ‘क्रिकेटको देश’ भनेर चिनाउन सकिन्छ, किनकि नेपालको हावापानी क्रिकेट खेलमैत्री छ

हामी नेपालीलाई रुनु त भाग्यमा नै छ । नेपाली राजननीतिक दलका नेताको व्यवहारले सधैंजसो रुनु पर्दा मन यति सारो दुख्दैनथ्यो, आज मन रोयो । राजनीतिक नेताको लापरबाहीले रुनुपर्दा आक्रोश आउँथ्यो । आज आक्रोश थिएन । भावना रोएको थियो । विश्वमा नेपाल देश चिनाउने अवसर चुकेकामा दर्द थियो । मन रोएको क्षण । जितिसकेर पनि हार्नुपर्दाको पल ।

म रोएँ आज ! नेपालले जितेर हार्दा । नेपाल रोएको दिन । फेसबुकमा स्ट्याटस लेख्दा मेरो हात काँपिरहेको थियो । लेखेर पोस्ट गरें । पीडा सेयर गर्दा पनि घट्ने रहेछ । मन केही हल्का र शान्त भयो ।

तैपनि शरीर र मनमा उत्साह थिएन । खाने इच्छा हराएर गयो । चिलले चल्ला गाँजेझैं नरमाइलोले मनलाई गाँजिरहेको थियो । खल्लो मन लिएर म टोलाउँदै थिएँ ।

सरकारले क्रिकेटमा लगानी गर्न खुट्टा कमाउनु हुँदैन । क्रिकेटलाई विशेष खेलका रूपमा राखेर लगानी गर्नुपर्छ । मुलुकलाई नै ‘क्रिकेटको देश’ भनेर चिनाउन सकिन्छ । हाम्रो मुलुकको हावापानी क्रिकेट खेलमैत्री छ । दुई ठूला राइभल टिमलाई नेपालमा खेलाउन सकिन्छ । खेल टुरिजम फस्टाउँछ । चन्दाले एकसासमा सुनाइन् ।

काठमाडौं, चितवन, लुम्बिनी, पोखरा, सुर्खेत र दाङमा क्रिकेट मैदान बनाउन योजना बनाउने हो भने आईसीसीले पनि लगानीमा सहयोग गर्छ । सरकारसँग योजना र प्रतिबद्धता हुनु आवश्यक छ । मेरो रोइरहेको मनले पनि महसुस गर्न पुग्यो ।

अनलाइन मिडियामा नेपालले सुपर ८ मा पुग्ने सम्भावनासहित सन् २०२६ मा हुने वल्र्ड कपमा सोझै खेल्न पाउने अवसर पनि गुमाएको समाचार आइसकेको थियो । एक प्रहार अनेकौं दुखाइ । म खुशी हुन सकिरहेको थिइनँ । आँखासँगै मन रोइरह्यो । एक प्रकारले यसपटकको क्रिकेट हेर्ने उत्सुकता समाप्त भएर गयो भन्दा पनि हुन्छ ।

बाबा ! ‘लेट्स होप फर नेक्ट टाइम ।’ हारे पनि नेपाल बलियो टिमका रूपमा विश्वमा चिनिएको छ, यो खेलबाट । अब कसैले नेपाललाई चानचुने टिम भन्न सक्दैनन् । ‘आवर क्रिकेट टिम इज स्ट्रङ एन्ड ग्रेट’ । छोरीले मेरो कपाल मुसार्दै भनिन् ।

म छोरीसँगै अलमलिन थालें ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा २ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित