धनगढीमा घट्न थाल्यो भूमिगत पानीको सतह

धनगढी । धनगढीलगायत तराई क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको छ । भूमिगत पानीको सतह घट्दै गएपछि अधिकांश हातेपम्प सुकेका छन् । मझौला र डिप बोरिङको प्रयोगबाट जमिन सिँचाइ गरेर खेती गर्ने किसानहरू समस्यामा परेका छन् ।

मनसुन सक्रिय नहुँदा लम्बिने खडेरीको सामना गरिरहेका सर्वसाधारणले भूमिगत पानीको सतह घट्न थालेपछि खानेपानीको संकटसमेत भोग्नु परेको छ । जमिनमुनिको पानीको सतह घट्दै गएपछि धनगढीको जुगेडा, बेला, बडहेरा, सन्तोषीटोल, शान्तिटोल, मनेहरालगायतका ठाउँमा खानेपानी अभाव भएको छ ।

किसानले सिँचाइ अभावमा धान रोप्न सकेका छैनन भने बारीमा लगाएको तरकारी सुकेको छ । जमिनमा पानीको सतह घटेसँगै खानेपानीको त्रास बढेको छ । २४ सै महिना पानी आउने धारा, चापाकल, बोरिङलगायतमा कहीँ पानी आएको छैन भने कहीँ मुस्किलले आइरहेको छ ।

पहिले ५०–६० फिटमै पानी आउनेमा अचेल २०० फिटसम्म गाड्दा पनि आउँदैन

कम वर्षा, वन फडानी, पानीको जथाभावी दोहन र चुरेको फेदीमा बढेको तीव्र बस्ती विकासले जमिनमा पानी सञ्चय हुनै छाडेको बताइएको छ । धनगढी वडा नम्बर १२ जुगेडामा रहेको सिद्धनाथ माविमा खडेरीका कारण हातेपम्प (नल्का) बाट पानी आउन छोडेपछि स्कुलमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूलाई खानेपानीको सहजताका लागि ट्यांकरबाट पानी उपलब्ध गराएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी १२ ‘सी’ गाउँका भोजराज चौधरीले पहिले चापाकल गाड्दा ५०–६० फिटमै पानी आउनेमा अचेल २०० फिटसम्म गाड्दा पनि सुक्खा याममा पानी नआउने गरेको बताए । चौधरीले भने– ‘खानेपानी जुटाउन समेत समस्या भइरहेको अवस्थामा खेतीबालीमा सिँचाइ गर्न झनै समस्या भएको छ । कतिपय मानिसहरूलाई आफ्नो घरको चापाकल (हातेपम्प)बाट पानी आउन छोडेपछि छरछिमेकीबाट खानेपानीको गर्जो टार्नुपर्ने बाध्यता रहेको छ ।’

भूमिगत पानी अत्यधिक मात्रामा तान्ने बढ्दो प्रवृत्ति, विकासका क्रममा बनेका कंक्रिट भवन, कालोपत्रे सडक, चुरे तथा भावर क्षेत्रमा नदीजन्य वस्तुको अत्यधिक दोहन, वन फडानी र प्राकुतिक तालको अतिक्रमणले पानीको पुनर्भरण हुन नपाएर धनगढीलगायतका क्षेत्रमा पानीको सतह घट्दै गएको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलाली प्रमुख श्रवण खनालले बताए ।

त्यसैगरी, खानेपानी संस्थान, धनगढीका प्रमुख शैलेन्द्र शाहले धनगढीमा भूमिगत पानीको सतह २ मिटरसम्म घटेको बताए । उनले खानेपानी संस्थानको पानीको स्रोत भूमिगत पानी भएको बताउँदै पछिल्ला दिनमा धनगढीमा २ मिटरसम्म पानीको सतह घटेको जानकारी दिए ।

खानेपानी संस्थानले २१ मिटर गहिरो १२ वटा बोरिंगबाट भूमिगत पानी तानेर उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । ‘खानेपानी संस्थानका बोरिंगहरुमा भूमिगत पानी आउने गरेको भएपनि पानीको सतह भने घटेको छ । दैनिक १७ लाख लिटर पानीको आपूर्ति गर्न संस्थानलाई समस्या भइरहेको छ’, शाहले भने, ‘चैतदेखि पानीको सतह कम हुँदै गएको छ । पानी परेको भए, सहज हुने थियो ।’

धनगढी क्षेत्रका वनहरु, प्राकृतिक ताल तथा खोला र नदी–नालाहरु मासिदै गएकाले भूमिगत पानीको सतहसमेत कम हुँदै गएको धनगढी उपमहानगरपालिकाको ठम्याइ रहेको छ ।

यो उपमहानगरपालिकाले पानीको रिचार्ज प्रणाली (भूमिगत पानीको पुनर्भरण) का लागि बृक्षारोपण, प्राकृतिक तालतलैयाको अतिक्रमण हटाई संरक्षण गर्ने, नगरक्षेत्रमा निर्माण हुने भवनमा सोकपिट (पानी सोस्ने खाल्डो) अनिवार्य बनाउनुपर्ने, खोला तथा नदीनालाहरुको संरक्षणका लागि अभियान नै चलाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता