मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्प्युटर अधिकृत कुमोद तिवारीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

विशेषले मालपोत अधिकृत हरिनारायण मिश्र, भूपबहादुर बोगटी र कुमोद तिवारीलाई ८ वर्ष तथा गोपालबहादुर ढुंगानालाई ४ वर्ष, पदमप्रसाद अर्याललाई २ वर्ष कैदको सजाय निर्धारण गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । विशेषले उनीहरूलाई जनही २ देखि ८ वर्षसम्म कैद पनि निर्धारण गरेको छ । विशेषले यसअघि १८ जेठमा दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० कात्तिक २०८० मा दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले ७ जना अधिकृतहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतले दोषी ठहर गर्ने क्रममा जेल सजाय र जरिमाना सुनाएको छ ।

भ्रष्टाचार मुद्दामा दोषी उपाध्यायको भने निधन भइसकेको छ । उनलाई विशेषले १ करोड २५ लाख ११ हजार १ सय ९० रुपैयाँ ७५ पैसा बिगो तिराउने फैसला गरेको छ । उपाध्यायको यो बिगो अब विशेषको फैसलानुसार छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारी उपाध्यायबाट दामासाहीले असुलउपर गर्नुपर्ने फैसला पनि विशेषले सुनाएको छ ।

उता, मिश्र र बोगटीले जनही १ करोड २५ लाख ११ हजार ९ सय ९० रुपैयाँ बिगो तिर्नुपर्ने भएको छ । त्यस्तै, ढुंगानाले ३५ लाख ४५ हजार ९ सय ५०, अर्यालले १६ लाख ८१ हजार ६ सय र तिवारीले १ करोड २५ लाख ११ हजार १ सय ९० रुपैयाँ बिगो तिर्नुपर्ने भएको छ । अर्का प्रतिवादी चन्द्रप्रसाद भण्डारीको हकमा विशेषले ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९ सय रुपैयाँ जरिमाना तिर्नुपर्ने भएको छ ।

आर्थिक वर्ष २०७१–०७२ मा मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँट ‘ग’का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको दाबी अख्तियारले गरेको थियो ।

सो अवधिमा जग्गा किनबेचका क्रममा एकै रजिस्ट्रेसन नम्बर राखी लिखतहरू पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको भ्रष्टाचारजन्य कसुरमा उनीहरू संलग्न भएको अख्तियारले अनुसन्धानबाट पत्ता लगाएको थियो ।

अख्तियारले तत्कालीन मालपोत अधिकृत हरिनारायणविरुद्ध १ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजस्व हिनामिनाको मुद्दा चलाएको थियो । त्यसैगरी, अर्का मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध १ करोड ४९ लाख ६९ हजार १ सय ४५ रुपैयाँ हिनामिना गरेको मुद्दा थियो ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीदरवार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थापा निर्वाचित