विशाल नेपालको एकीकरणका सपूत बहादुर शाह

६ असार २०८१, नेपालको एकीकरणका योद्धा बहादुर शाहको २६८औं जन्म जयन्ती हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म ६ असार १८१४ मा नुवाकोट दरबारमा भएको थियो । बहादुर शाह जन्मेका बेलामा पृथ्वीनारायण शाहको नेतृत्वमा कीर्तिपुरमा घमसान युद्ध भइरहेको थियो, जहाँ काजी कालु पाण्डे लडाइँमा मारिएकाले परिस्थिति तनावपूर्ण थियो । हिमवत्खण्डमा अवस्थित धेरै हिन्दू राज्यहरूलाई दक्षिण भारतखण्डमा कब्जा जमाएर बसेकोे इस्ट इन्डिया कम्पनीले आक्रमण गर्ने बाटो हेरिरहेको अवस्था थियो । बहादुर शाह पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणलाई मूर्तरूप दिलाउन आफू सधैं समर्पित रहेका थिए । यिनले पृथ्वीनारायण शाह स्वर्गीय भएपछि आफ्ना पिताको एकीकरण अभियानमा नेपाल अधिराज्यको भूभाग करिब तेब्बर बनाउन सकेका थिए । बहादुर शाहले ७–८ वर्षको उमेरदेखि नै लडाइँ–भिडाइ ’boutमा ज्ञान हासिल गरेका थिए । पृथ्वीनारायण शाहको स्वर्गारोहणपछि दाजु प्रतापसिंह शाहसँग खटपट गरेर केही वर्षसम्म बनारसमा निर्वासित रहेकाले विदेशीहरूको रणनीतिसँग यिनी परिचित थिए । पृथ्वीनारायण शाहको स्वर्गारोहण हुँदा बहादुर शाह १८ वर्षका थिए । प्रतापसिंह शाह स्वर्गीय हुँदा उनी २१ वर्षका थिए । महारानी राजेन्द्रलक्ष्मीको देहावसान हुँदा उनी २८ वर्षका थिए । उनको नायवी २८ वर्षदेखि ३७ वर्षसम्म ९ वर्ष चल्यो । उनको विवाह २९ वर्षमा भएको थियो ।

हिमवत्खण्डका ५४ जति हिन्दू राज्यलाई एकीकृत गर्र्ने अभियानका सन्दर्भमा पृथ्वीनारायण शाहको स्वर्गारोहण भएपछि उनका कान्छा छोरा बहादुर शाहले विशाल नेपाल कायम गर्न अथक प्रयत्न गरेका थिए । बहादुर शाहले मुलुक मात्र जितेका थिएनन्, उनले मुलुकमा राम्रो बन्दोबस्तसमेत मिलाउन सकेका थिए । बहादुर शाहले हिमवत्खण्डका थुप्रै हिन्दू राज्यलाई सकभर लडाइँ नै नगरी आश्रित राज्य बनाउने नीति लिएका थिए । यसनीतिको फलस्वरूप पाल्पा, मुस्ताङ, जाजरकोट, सल्यान, बझाङ, गढवालसम्मका अनेक राज्य उनले नेपाल अधिराज्यमा सम्मिलित गराउन सकेका थिए । अहिले भारतमा रहेका चारधामहरू केदारनाथ, बद्रीनाथ, अमरनाथ, सोमनाथ पनि बहादुर शाहको एकीकरणको समयमा विशाल नेपालमा समाहित भएका थिए । यस हिसाबले यमुनासम्म साँध भई सिम्रौनगढसँग सन्धि भएकाले पश्चिमतर्फ शान्ति कायम भएको थियो । यी सबै सर्त कायम राख्न सक्षम बहादुर शाहको योगदान नेपालको इतिहासमा अविस्मरणीय छ । बहादुर शाहले शक्तिबल्लव, बाणीविलासजस्ता विद्वान् पण्डितहरूलाई पे्ररित गरेका र विद्वान्हरूबाट नेपाली भाषामा ग्रन्थ लेखाउने बहादुर शाहकै प्रेरणा थियो । नेपालमा नयाँनयाँ हतियार र तोपहरू बनाउन बहादुर शाहको ठूलो योगदान छ । बहादुर शाहले आफ्नो नायवीकालमा रामकृष्ण कुँवरलगायतका भारदारहरूलाई सन्तुष्ट राखेकाले उनीप्रति भारदारहरू प्रसन्न थिए ।

नेपालको राष्ट्रिय एकीकरणका बेला विभिन्न राज्यसँग भिड्नुपर्ने स्थितिमा रसदपानीको व्यवस्था मिलाउन बहादुर शाहलाई धेरै कठिन थियो । त्यसबेलामा राजा रणबहादुर शाह राज्यकोषबाट धेरै खर्च गर्ने गर्थे । उनलाई पैसाको कमी हुन थालेपछि राजा रणबहादुर शाह र बहादुर शाहबीचमा सम्बन्ध चिसिन थालेको थियो । पृथ्वीनारायण शाहको नेतृत्वमा विशाल नेपालको एकीकरण हुन लागेको समयदेखि नै विदेशीहरूले यस क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्र बनाउनका लागि नेपालमा अनेकौं षड्यन्त्र गर्ने गरेका थिए । दरबारभित्र अनेकौं षड्यन्त्र गरेर राष्ट्रिय एकीकरण निस्तेज बनाउन अनेकौं षड्यन्त्र, प्रपञ्च, हत्याकाण्ड रचे । त्यसैले नेपालको इतिहास’boutमा खोजी गर्न थालेपछि मन अशान्त हुन्छ, किनकि नेपालको इतिहासका पानाहरू रक्तरञ्जित छन् । सानोतिनो मनमोटाव भएमा त्यसलाई पनि अतिरञ्जित तिललाई पहाड बनाइन्थ्यो । प्रतापसिंह शाहको मृत्युपछि महारानी राजेन्द्रलक्ष्मी दरबारमा हालीमुहाली चलाउन चाहन्थिन् । त्यस हिसाबले पनि पछिका दिनमा महान् योद्धा बहादुर शाहसँग उनी पनि सन्तुष्ट भइन् । राष्ट्रिय एकीकरणको महायक्ष जारी नै थियो । तथापि, हिमवत्खण्डका अन्य बाँकी हिन्दू राज्यहरूलाई विशाल नेपालमा एकीकृत गराउने बाटाहरू अवरोध गरियो । यसको निहुँमा लडाइँको हिसाब–किताबको कुरा उठाउन थालियो । वास्तवमा लडाइँमा अथाह सम्पत्ति खर्च हुन्थ्यो । लडाइँको खर्च तुरुन्तै हिसाब बुझाउन सम्भव थिएन । यस कुराले बिस्तारै राजा रणबहादुर र नायब बहादुर शाहबीचमा खटपट बढेर आखिरमा रणबहादुर शाहबाटै बहादुर शाहलाई नजरबन्द गराइयो ।

बहादुर शाहको नीति विशाल नेपालमा सरिक भएको र चीनप्रति नजिक हुन लागेकामा अंग्रेजहरू सन्तुष्ट थिएनन् । इस्ट इन्डिया कम्पनी भारतबाट नेपाल तथा तिब्बतसँग व्यापार बढाउन उत्सुक थियो । हेटौडाको बाटो हुँदै भोटमा अंगे्रजी माल सामग्रीहरू प्रवेश गराउन पाए भोटको ठूलै भागमा बिस्तार पाउने थियो भन्ने मनसायमा थियो । बहादुर शाहको वीरता देखेर अवधका नबाबले पनि नेपालसँग मित्रताकै व्यवहार गर्ने नीति लिएको थियो । चीनसँग सम्बन्ध कायम भएपछि अंग्रेज पनि नेपालसँग दज्किन लागेको थियो । त्यसबेला अंग्रेज मौका हेरेर पर्खि बसेकामा बहादुर शाहका विरुद्ध नेपालका कुरौटे, भरौटे भाइभारदारहरूलाई अनेकौं तिग्णम गर्न पछि परेनन् । अनेकौं षड्यन्त्रबाट नेपालका सपूत बहादुर शाहको १४ असार १८५४ मा ४० वर्षकै उमेरमा बन्दी अवस्थामै हत्या गरियो । मुलुकका लागि अरू सशक्त बन्नुपर्ने बेलामा अंग्रेजको षड्यन्त्रबाट दरबारियाहरूलाई उचालेर विष्णुमती किनारको जेलमा कैदखानामा बहादुर शाह स्वर्गीय भएको इतिहासमा उल्लेख छ । बहादुर शाह प्रतिष्ठानको आलेखमा भने बहादुर शाहलाई नुवाकोटमै पु¥याएर अत्यन्त दुःख दिएर हत्या गरिएको उल्लेख गरिएको पाइन्छ । बहादुर शाहलाई त्यसरी हत्या गरेर नेपालमाथि बिपत्ति ल्याउने प्रयत्न भयो । नेपालको दुर्भाग्य नै हो कि बहादुर शाहजस्ता महान् सपूतको हत्याको षड्यन्त्र नभएको भए विशाल नेपालको सिमाना पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश र दक्षिण गंगानदीसम्म हुन्थ्यो होला । नेपालमा यस्ता महान् पुरुषको हत्या गर्ने अपराधीहरूको जन्म यस पूण्यभूमिमा नरहोस् ।

बहादुर शाहले मुलुक मात्र जितेका थिएनन्, उनले मुलुकमा राम्रो बन्दोबस्तसमेत मिलाउन सकेका थिए

नेपाललाई चीनको सम्भावित आक्रमणबाट बाँच्न बहादुर शाहले तत्कालीन गभर्नर जलरल लार्ड कार्नवालिसलाई सहायताको अनुरोध गरेका थिए । तर, इस्ट इन्डिया कम्पनीले नेपाललाई सहायता गर्दा भोटसँगको व्यापारमा धक्का पुग्ने देखेर अंग्रेजहरूले नेपाललाई सहायता दिन चाहेनन् । तर, यस मौकालाई पनि चुकाउन अंगे्रजले नदिएर आफ्ना बनारसस्थित रेजिमेन्ट जोनाथन डंकनमार्फत नेपाल र कम्पनीका राज्यहरूबाट आयात निर्यात हुने व्यावसायिक मालसामानहरूउपर सवा २ प्रतिशतले भन्सार लिने कुरामा सहमत भएर भविष्यमा अंग्रेजसँग सैनिक सहायत प्राप्त हुनसक्ने आशाले बहादुर शाहले नेपाल सरकारतर्फबाट त्यस सन्धिमा हस्ताक्षर गरेका थिए । त्यसबेला इस्ट इन्डिया कम्पनीले अंग्रेजी दूत कर्कपेट्रिकको प्रतिनिधि मण्डल नेपाल सरकारसँग सहमति कायम गर्न सन् १७९३ मार्चमा आएका थिए । तर, यसको केही दिनअघि नै नेपाल चीनबीच सन्धि भइसकेकाले त्यसबेला अंग्रेजको कूटनीति असफल हुन गएको थियो । तर, नेपाल तथा तिब्बत र चीनसँग समझदारी बढिरहेको अवस्थामा इस्ट इन्डिया कम्पनी सन्तुष्ट थिएन । नेपाललाई थाहा थियो कि अंग्रेजसँग समझदारी बढाउनु भविष्यका लागि राम्रो हुँदैन । त्यसबेला चीनसँग सन्धि गर्नु दूरदर्शी कार्य थियो ।

तिब्बतलाई त्यसबेला भोट भनेर चिनिन्थ्यो । नेपाललाई थाहा थियो कि तिब्बतको आड चीन नै थियो । त्यसैले, चीनसँग समझदारी राख्नु बहादुर शाहको सफल कूटनीति थियो । तिब्बतमा मल्लकालदेखि चाँदीका टक चल्थे । चाँदीका टकमा तामा मिसाएर भोटमा टक पठाउने पनि गरिन्थ्यो । यसबाट भोटसँगको मित्रतामा कुठराघात हुने देखेर पृथ्वीनारायण शाहका पालादेखि नै चोका चाँदीका टक भोटमा पठाउने गरिएको थियो । पहिलाका तामा मिसाएका टकहरू पनि भोटमा जाँदा रहेछन् । यसले गर्दा दुई मुलुकको व्यापार बिग्रन थाल्यो र सम्बन्धमा पनि चिसोपन आउन थालेको थियो । भोटसँग चीनको प्रभाव राम्रो रहेकाले चीनलाई मध्यस्थ बनाउने बहादुर शाहको चाहना थियो । तर, त्यसबेलामा दलाई लामाले सिक्किमलाई उचाली नेपालको पूर्वतर्फ आक्रमण गराए । काठमाडौंबाट बहादुर शाहले देवदत्त थापाको नेतृत्वमा पठाएको फौजसँग सिद्धपोखरीमा ठूलो लडाइँ भयो र नेपालको जित भयो । त्यसबेला सिक्किमले नेपालको आधिपत्य स्विका¥यो । सिक्किममा आफ्नो हार भएपछि दलाई लामा, टसी लामाले चीनसँग सहायता मागे । चीनबाट ७ हजार सेना भोटको सहायताका लागि आयो । नेपालको राजधानी काठमाडौं दखल गर्ने सोचमा चिनियाँ फौज सक्रिय भयो । १८४९ असारमा चिनियाँ फौजसँग घमसान लडाइँ भयो । २ सय चिनियाँ र ३ सय नेपालीले वीरगति प्राप्त गरे । केरुङमा चीनको दखल हुन पुग्यो । नेपाली फौज रसुवाको धुन्चेमा थियो । चिनियाँसँग भिड्न बहादुर शाह राजधानीबाट काजी दामोदर पाण्डे र बम शाहको नेतृत्वमा सेना लिई धुन्चे पुगे । चिनियाँसँग मुठभेड भई घमसान लडाइँ भयो । चिनियाँ फौज १ हजार ५ सय मरे र अरू भागेर फर्किए । त्यसपछि चिनियाँ पक्षले सन्धिको कुरा उठाए । त्यसबेला नेपाली फौज ५ सय हताहत भए ।

बहादुर शाहको मित्रवत् कूटनीतिका कारणले चीनसँग सन्धि भयो । चीनसँग सन्धि भएपछि चीनका बादशाहकहाँ नेपालबाट ५ वर्षमा राजदूत जाने व्यवस्था भयो । त्यस सन्धिमा शस्त्रधारी सैनिकबाहेक नेपालका प्रत्येक नागरिकलाई भोट, चीनका राज्यमा पर्यटन गर्ने, कारखाना खोल्ने, व्यापार गर्ने अनुमति प्राप्त हुने, नेपाल भोट कुनैले अर्काको जमीन कब्जा गर्न खोजेमा दुवै मुलुकका सरकारी प्रतिनिधिहरूले पेकिड दरबारलाई निर्णको अन्तिम सूचना पठाउने र विदेशी शक्तिले नेपालउपर आक्रमण गरेको खण्डमा चीनले अवश्य नेपालको सहायता गर्नेछ भनी सन्धिमा उल्लेख गरियो । साथै, चीनले नेपाललाई मैत्रीपूर्ण उपहार पठाउने र प्रतिनिधि मण्डल पेकिड आउँदाजाँदा प्रत्येक किसिमको सुविधा हुने प्रबन्ध मिलाइनेछ भन्ने सन्धिमा उल्लेख भयो । चीनका बादशाहले नेपालका राजा रणबहादुरलाई सम्मान गर्ने र नेपालका तर्फबाट चीनका बादशाहलाई उपहार पठाउने चलन पनि त्यसबेलादेखि चल्यो । नेपालको इतिहासमा चीनसँग सन्धि गर्ने पहिलो बहादुर शाह नै हुन् । नेपालको एकीकरणका हस्ती बहादुर शाहजस्तो महान् सपूतलाई अझसम्म नेपालको बिभूतिमा नराखिएकाले विभूति घोषणा गरिनुपर्छ । बहादुर शाहको जन्म नुवाकोटमा भएको र उनको मरण पनि नुवाकोटमै भएकाले रसुवा नुवाकोट मार्गको नाम बहादुर शाह मार्ग हुनुपर्छ भन्ने हामी सबैको माग छ । बहादुर शाहको २०६८औं जन्मजयन्तीमा हार्दिक श्रद्धाञ्जली अर्पण गरौं ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा एमाले बिजयी