क्लासिकमा भिन्न कार्यक्रम

वीरगन्ज । सधैं ठूला पार्टीको कार्यक्रम हुने वीरगन्जको क्लासिक व्याँकेटमा शुक्रबार पनि एउटा कार्यक्रम भयो । तर त्यो कार्यक्रम सधैंको जस्तो थिएन । न त त्यहाँ मञ्चमा कोही प्रमुख अतिथि वा अन्य अतिथि देखिए, न त अध्यक्षता गर्ने अध्यक्ष मण्डल नै । फरक शैलीको कार्यक्रम थियो त्यो । तर त्यो कार्यक्रम अराजनीतिक भने थिएन । दुई वर्ष अगाडी मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो स्थापना दिवस मनाइएको कार्यक्रम हो त्यो ।

भर्खरै रास्वपाले हरि पन्तको नेतृत्वमा जिल्लाको नेतृत्व टुंग्याए पछि उसैको आयोजनामा वीरगन्जमा सार्वजनिक रुपमा सबै दलका नेता कार्यकर्ता र ठूलो संख्यामा संचारकर्मीको पनि उपस्थितिमा यहाँ रास्वपाको स्थापना दिवस तथा चियापान कार्यक्रमको भएको हो । पार्टीका जिल्ला संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा रास्वपाका संगठन विभाग सचिव शंकर श्रेष्ठ, नेकपा एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, संविधान सभा सदस्य अजय कुमार द्विवेदी, जनता समाजवादी पार्टी (जसपा) का पर्सा अध्यक्ष रामनरेश यादव लगायतले सम्बोधन गरेका थिए ।

सो क्रममा रास्वपाका केन्द्रीय संगठन विभाग सचिव श्रेष्ठले सुशासनको मूल मन्त्रलाई रास्वपाले आत्मसाथ गरेको दावी गरे । पुराना राजनीतिक दलहरु प्रति नागरिकको निराशा बढ्दै गएकोले रातो क्रान्ति सकिएर नीलो क्रान्ति गर्नकै लागि रास्वपा अगाडि आएको उनको भनाइ थियो । राज्य सत्ता आफ्नो पार्टीको हातमा नआएको तर चार मन्त्रालय आएकोले त्यस मन्त्रालय अन्तर्गत रास्वपाका मन्त्रीहरुले जिम्मेवारपूर्ण ढंगले काम गरिरहेकोले विपक्षीहरु अत्तालिएको उनको तर्क छ ।

कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव, संविधान सभा सदस्य अजय द्विवेदी, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, पूर्व मेयर विजय कुमार सरावगी, वीरगन्ज महानगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतले पुराना दलको होश र नयाँ दलको जोशलाई मिलाएर जनताको हितमा राम्रो काम गर्न पर्ने भन्दै शुभाकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति राम नारायण कुर्मी, नेकपा एमाले पर्साका सचिव महेश दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष मनोज दास, पूर्व अध्यक्ष गोपाल केडिया, अनुज रूंगटा लगायतको उपस्थिति रहेको कार्यक्रममा रास्वपाका पर्सा संयोजक पन्तले पर्सा जिल्लामा संगठन बलियो बनाउन कुनै कसर बाँकी नराख्ने दावी गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित