चुनौतीमय नयाँ वर्ष

सिंगो विश्व नै महामारीको चपेटामा परिरहेका बेला नेपालीले कोरोना भाइरसबाट जोगिन सचेतनाको सन्देशसहित विक्रम संवत् २०७६ लाई बिदाइ गरी २०७७ लाई स्वागत गरिरहेका छन् । नयाँ वर्षको आगमनसँगै कोरोनाजस्तो अदृश्य महामारीविरुद्ध लड्न नेपालीका साथै विश्व मानवजातिलाई सचेत रहन शुभकामना आदानप्रदान भइरहेको छ । स्वदेशभित्र संक्रमणको सुरुवात भएको तर महामारीका रूपमा फैलिनसकेका बेला नयाँ वर्षसँगै यसलाई रोक्नका लागि जनस्तरबाटै भएको यो स्वतःस्फूर्त प्रचारात्मक पहलकदमी आफैमा सह्रानीय छ । यसले सरकारको अगुवाइमा अघि बढिरहेको कोरोना संक्रमणविरुद्धको प्रचारात्मक अभियानलाई ठूलो सहयोग पुगेको छ । यो सहयोग आफैंमा राष्ट्रिय एकताको थप नयाँ आधार बन्न पुगेको देखिन्छ । यसले नेपालीको साझा दुस्मनविरुद्ध एक भएर खनिने विरासतलाई फेरि सतहमा ल्याएको छ । सरकारले यो मनोविज्ञानलाई निकै जतनका साथ हुर्काउँदै अघि बढाउने कुरामा हेक्का र क्षमता दुवै राख्नु जरुरी छ । जनतामा अहिले आलोचनात्मक चेतको विकास हुँदै गएको छ । तथापि, नेताहरूमा हिजोको सामन्तकालीन जयजयकारको मानसिकताले जब्बर घर गरिरहेको छ । आलोचनाले सत्ता सञ्चालनका बखत देखिने कमीकमजोरी सच्याउन वैचारिक प्रतिपक्षको भूमिका निर्वाह गर्छ भन्ने सकारात्मक सोच र मनोविज्ञान नेताहरूमा पलाउन सकेको छैन । नयाँ वर्षको शुभकामना आदानप्रदानका क्रममा सञ्चारमाध्यममा र विशेषतः सामाजिक सञ्जालमा आलोचक प्रतिपक्षको भूमिकामा यी कुरा यत्रतत्र अभिव्यक्त भएका छन् ।

साथसाथै, अभिभावकले यी कुराहरूलाई कसरी लिएर सम्बोधन गरिरहेको छ भन्ने कुरा पनि जनस्तरबाटै सूक्ष्म निगरानी भइरहेको देखिन्छ । नयाँ वर्षको उपलक्ष्यमा देशका प्रधानमन्त्री तथा अभिभावक केपी शर्मा ओलीले देश र जनताका नाममा सम्बोधन गरेर फेरि पनि कोरोनाविरुद्धको लडाइँमा एकजुट हुन आग्रह गरेका छन् । अब सरकारले आग्रह गर्नेभन्दा पनि आक्रामक योजना र रणनीति ल्याउनुपर्छ । रणनीतिक परिकल्पना वा सपना सधैंका लागि र सबैका लागि व्यावहारिक नहुन पनि सक्छ । तिनको कार्यनीतिक रूपमा कार्यान्वयनको खाँचो जरुरी हुन्छ । समयसीमाका हिसाबले पनि बहुमतको सरकारले राजकाजको म्यान्डेट पाएको आधा अवधि पूरा गरिसकेको छ । अबका दुई वर्षपछि अर्को आवधिक निर्वाचनको प्रक्रिया सुरु हुन्छ । जनता चाहन्छन्, निर्वाचनका बखत दिइएको आश्वासन र जनताले अपेक्षा गरेअनुरूप कामकाज कहिले हुन्छ त ? यसले जनतालाई सताउनु स्वाभाविक पनि हो किनकि जनताको जीवनस्तरमा परिवर्तन त परै जाओस्, सामान्य सुधारसम्म पनि कहिले आउने र कसले ल्याउने ?

यस अर्थमा नव वर्ष निकै संकटमय हुने देखिन्छ । आन्तरिक रूपमा भौतिक विकास र जनताको जीवनस्तर उठानका काम हुन नसक्नु र यही संकटका बेला कोरोनाजस्तो महामारीले सिंगो देश चपेटामा पार्नुले क्षितिजमा बादलका घेरा मडारिइरहेको संकेत गरिरहेका छन् । विश्व पनि आर्थिक महामन्दीतिर डोरिइरहेकाले त्यसको वैश्विक प्रभावबाट नेपाल अछुतो रहने देखिँदैन । जीविकोपार्जनमुखी भए पनि सापेक्ष आर्थिक आत्मनिर्भरताको बाटो पनि छोडिसकेको र अत्यधिक परनिर्भरताको अवस्थामा पुगिसकेको नेपाल न त पुरानै आर्थिक उत्पादन प्रणालीलाई जीवन्तता दिन सक्ने अवस्थामा देखिन्छ, न त परनिर्भर भएरै बाँच्न सक्ने । यस्तो वार न पारको अवस्थालाई उचित र वस्तुसंगत ढंगले सम्बोधन गर्न सरकारले बेलैमा ठोस नीति, योजना र कार्यक्रमको विकास गर्नु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल