जेपी क्रसलाई एक सयौं वर्ष प्रवेशका अवसरमा अभिनन्दन

पोखरा । नेपाली राष्ट्रियताका हिमायति एवम् कला संस्कृतिका संरक्षक कर्णेल जेपी क्रस एक सय वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक विशेष कार्यक्रमका बीच अभिनन्दन गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले उनलाई अभिनन्दन गरेको हो भने ब्रिटिश सेनाका कर्णेल उनलाई ब्रिटिश वेलफर पोखराका साथै पोखरामै रहेका हिमाली सांस्कृति परिवार, लमजुङ समाज, दुरा सेवा समाज लगायतका झण्डै दुई दर्जन संघसंस्थाले उनलाई मायाको चिनोका साथ सम्मान अर्पण गरेका हुन् ।

उनको संरक्षकत्व र प्रेरणा नभएको भए ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आजको गौरवपूर्ण अवस्था प्राप्त गर्न सक्दैन्थ्यो, उनी हाम्रो अभिभावक भएको हुँदा आजको यो पावन अवसरमा अभिनन्दन गर्नु कर्तव्य ठानेर अभिनन्दन गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए । उनले भने, ‘लोक कला संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका कार्यमा जेपी क्रसले गर्नु भएको अतुलनीय कार्यको उच्च कदरका गर्दै यहाँलाई कृतज्ञताका लागि अभिनन्दन गर्नु आफ्नो कर्तव्य ठानेका छौं ।’

नेपाल पैतृक थलो भई नेपाली हुँ भन्नेहरूले धमाधम नेपाली नागरिकता त्यागी विदेशको नागरिक बन्ने होड चलिरहेको बेलामा बेलायती नागरिक र ब्रिटिश सेनाको कर्णेल भएर पनि जिपिले उताको नागरिकता त्याग गरी नेपाली नागरिकता ग्रहण गर्नु आफैमा गर्वको विषय हो, यस्ता राष्ट्रियताका पक्षपोषकलाई अभिनन्दन गर्न पाउनु हाम्रो अहोभाग्य हो, पहाडीेले बताए ।

लोकसंस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद लगाउतका क्षेत्रमा अतुलनीय योगदान गर्ने व्यक्तित्वलाई अभिभावकका रुपमा पाउनु प्रतिष्ठानको पनि गौरवको विषय रहेको हुँदा उनले सय वर्ष प्रवेश गरेको अवसरमा प्रतिष्ठानबाट अभिनन्दन गरिएको वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले बताए । उनका अनुसार जेजि क्रसलाई दोसल्ला ओढाई अभिनन्दन पत्र हस्तान्तरण गर्नेमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, उपाध्यक्ष शोभा थापा, महिला उपाध्यक्ष सीता दुरा, कोषाध्यक्ष सीता गुरुङ, उपमहासचिव आशबहादुर विक लगायतका पदाधिकारी, कार्यकारी सदस्यहरू प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य, आजीवन सदस्यहरूले संयुक्त रुपमा खदा लगाएर उनलाई अभिनन्दन गरेको थिए ।

अभिनन्दन समारोहमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले कर्णेल जेपी क्रसको जीवनीमा आधारित एक छन्द कविताको वचन गरेका थिए ।

उनी २०३२ सालदेखि नेपालमा स्थायी रुपमा बसोबास गर्न गरिआएका छन् ।

सो अवसरमा हिमाली सांस्कृति परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले जेपी क्रसकै कारणले आफ्नो संस्था यो स्थापनामा पुगेको बताए । उनले आफ्नो संस्थाको अक्षयकोष राख्ने कार्यमा जेपी क्रस र बुद्धिमान दुरा ‘धम्पु’को सम्बन्ध जोडिएको रजत वर्षका अवसमार २०५७ सालमा एकलाख २५ हजार रुपैया प्रदान गरेर अक्षयकोषको थालनी गरेको स्मरण गर्दै जेपीका बाबु– छोराले अतुलनीय गुण लगाएको बताए । कार्यक्रममा सो परिवारका कलाकारहरूले जेपी क्रसको मन पर्ने गीत वारी जमूना पारी जमुना गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै, लमजुङ समाजका अध्यक्ष देवबहादुर गुरुङसहित सो समाजका सदस्यहरूले पनि मायाको चिनो सहितको सम्मान अर्पण गरेका थिए । समाजका कलाकरहरूलाई पनि जेपीलाई मन पर्ने अर्को कौरा गीत र नृत्य प्रस्तुत गरेका थिए ।

यसैगरी, दुरा सेवा समाज पोखराका अध्यक्ष सुवे दिनेश दुराले शुभकामना व्यक्त गरेका थिए भने सो समाजका कलाकारहरूले गोरखाको डाँडैमा हावा सरर ….. तथा मेरो माया छाडेर काँ जाला बोलको गीतमा नृत्य प्रस्तुत गरेको थिए ।

सो अवसरमा जेपी क्रसलाई एकसयौं जन्म दिनको शुभकामना दिनेहरूमा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, वरिष्ठ कवि तीर्थ श्रेष्ठ दम्पती, प्राज्ञ गजेन्द्र गुरुङ, मुनाल फिल्म टेलिभिजका प्रोपाइटर भोज गुरुङ, रोधिं टेलिभिजनका संरक्षक गमबहादुर गुरुङका विभिन्न कलाकार तथा साहित्यका एवम् राजनीतिकर्मीहरू सयौं संख्यामा उपस्थित थिए ।

विगतको ३१ वर्षदेखि पोखरामा जेपी क्रस बास्केटबल प्रतियोगिता हुँदै आएको छ । विद्यालय स्तरमा गरिने सो प्रतियोगिताको जिल्ला बास्केट संघ कास्कीले आयोजना गर्ने गर्दछ । केही दिन अघि मात्र टाइगर अफ पोखराले जेपी क्रसले खेलकुदमा योगदान गरेको भन्दै उनलाई सम्मान गरेको थियो ।

उनका २२ वटा कृति प्रकाशित छन् भने तीन कृति एकसाथ प्रेसमा जाने तयारीमा छन् ।

२००३ सालमा पहिलो पटक ब्रिटिश सेनाको प्रतिनिधिका रुपमा नेपाल आएका उनी २०१८, २२ र २८ सालमा पनि नेपाल आएर एक एक महिना घुमेर नेपालको प्राकृतिक छटा सहित मौलिक संस्कृतिको भरपूर स्वाद लिएका थिए । २०३२ सालबाट नेपालमा स्थायी रुपमा बसेका उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाली नागरिकता लिएका हुन् ।

सम्मान ग्रहण गर्दै उनले स्व. राजा वीरेन्द्रको निगाहबाट आफू नेपालको नागरिक हुन पाएको भन्दै खुशी व्यक्त गरे । नेपाली भाषामा त्रिविबाट स्नातक गरेका उनले भने, ‘नेपाल चुम्बक हो र म फलाम, जसले मलाई सधैं यहाँ तानिरहन्छ, म अब पोखराकै सेती नदीमा आफ्नो अन्तिम संस्कार गरियोस् भन्ने चाहना राख्छु ।’ आफ्ना धर्म छोरा बुद्धिमान दुरा ‘धम्पु’सँग अघिल्लो जन्म देखिकै सम्बन्ध भएकै कारणले यो जन्ममा पनि सँगै हुन पाएको बताउने गरेका छन् ।

विसं १९८१ सालमा जन्मिएका उनी असार ७ गते एक सय वर्ष प्रवेश गरेको भएता पनि सुबैको सुविधाका लागि शनिबार सो अभिनन्दन एवम् सम्मानको कार्यक्रम राखिएको उनका धर्म छोरा बुद्धिमान दुरा ‘धम्पु’ले बताए । उनका अनुसार उक्त शुभअवसरमा पोखरा र छिमेकी जिल्लाका २१ वटा संघसंस्थाहरूबाट बाबाको सम्मान भएको छन् ।

जेपी क्रसले आफूलाई शुभकामना दिन आउने संघसंस्था तथा अन्य शुभचिन्तकहरूले शुभआशीर्वाद दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश संसदबाट राजिनामा दिएर मेयर बन्न आएका आजाद पराजित