माछा मार्न जाँदा बाढीले बगाएपछि…

तस्बीर: योगेन्द्र योगी

इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ खोक्सीको कालोपत्रे बाटो सुन्दर बनेको छ । कालोपत्रे बाटोको वारपारमै छन्, ठूलाठूला घरहरू । त्यसको छेवैमा छ टिन लगाएको सानो घर । मजदुरी गरेर दुःख, सुखले छोराहरूले कमाउँदै जीवीकोपार्जन गर्दा खुसी नै थिइन्, रामसरी चौधरी ।

तर, मंगलबार बिहान अबिरल वर्षासँगै आएको बाढीले उनको मनमा पनि बाढी पस्यो । उनका आँखाबाट बगेको भेल अझै ओभानो भइसकेको छैन ।

बिहान करिब ९ बजेतिर पानी पर्नुअघि रामसरीकी जेठी बुहारी ३० वर्षीया फूला, माइली बुहारी २३ वर्षीय स्वस्तिका, कान्छी बुहारी २३ वर्षीया प्रेमकला र देउरानी ६० वर्षीया असरादेवी चौधरी स्थानीय बूढीखोलामा माछा मार्न र दाउर टिप्न घरबाट गए ।

उनीहरू घरबाट बूढीखोलामा गएको केही घण्टा नबित्दै परालमा आगो लागेजसरी गाउँमा हल्ला चल्यो । ‘बूढीखोलाले मान्छे बगायो, बूढीखोलाले माछा मार्न गएकाहरूलाई एकैपटक लग्यो’ कोलाहलबीच रामसरीले यस्तै सुनिन् । नभन्दै केहीबेरमा आफ्नै तीन बुहारीसहित देउरानीलाई बाढीले बगाएको खबरबाट उनी छाँगाबाट खसेजस्तै भइन् । हाल उनी भावविह्ल अवस्थामा छिन् ।

निरन्तर आँसुमा उनका आवाजहरू कारुणिक सुनिँदैछन्– ‘यो पानी पनि यिनीहरूकै ज्यान लिन आएको रहेछ । के दिन आइलाग्यो नि !’

रामसरीकी कान्छी बुहारी प्रेमकलाको इटहरी–४ स्थित गैरीगाउँमा दिउँसो १२ बजेतिर शव फेला परेको छ । माइली बुहारी स्वस्तिका भने पौडी खेलेर बाँचेकी छन् भने जेठी बुहारी फूला र देउरानी असरादेवी भने बाढीको भेलसँगै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनका आँसुलाई स्थानीयले शोकलाई शक्तिमा बदल्न भने पनि उनी सम्झिने अवस्थामा छैनन् । बाढीबाट बाँचेकी स्वस्तिकाका अनुसार पानी परेसँगै माछा मार्न र दाउरा टिप्न जाँदा अचानक बाढी आएको थियो । ‘हरैंचापट्टि बग्ने खोलामा बाढी आएको थिएन, अलिअलि मात्रै पानी थियो,’ रोदनमिश्रित रहेकी उनले थपिन्, ‘इटहरीपट्टि बग्ने खोलामा पानी थियो, त्यहाँ बीचको भागमा गएर हामी दाउरा टिप्ने र माछा मारिरहेका थियौं, एक्कासि उँभोबाट बाढी आयो र बगायो ।’

उनले अचानक आएको बाढीले हरैंचा क्षेत्रसमेत प्रभावित बनेको र बीचमा रहेका चारैजनालाई बगाएको बताइन् । आफूले पौडी खेलेर ज्यान जोगाए पनि देउरानीको मृत्यु भएको, जेठानी र काकी सासूलाई भने बाढीले बगाएको उनले सुनाइन् ।

मृतक प्रेमकलाकी फुपू सासू राजकुमारी चौधरीका अनुसार ५ वर्षअघि प्रेमकला र सन्दीप चौधरीबीच विवाह भएको थियो । सन्दीप वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । उनीहरूका ४ वर्षका एक छोरा छन् । ‘भर्खरै स्कुल लगाएको थियो, घर खर्च चलाउनका लागि विदेश गएको अस्ति वैशाखमा १ वर्ष मात्रै भयो,’ राजकुमारीले विक्षिप्त भावमा भनिन्, ‘माइती घर हरैंचा हो, राम्ररी परिवार चलेकै थियो, के दशा आइलाग्यो ।’

उनका अनुसार सो परिवारका तीन छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ । तीनै छोराहरू वैदेशिक रोजगारीमा गएकामा जेठा छोरा राजन केही वर्षअघि वैदेशिक रोजगारीबाट आएर गाउँमै मजदुरी गरिरहेका छन् । माइला छोरा दीपेन मलेसियामा छन् भने कान्छा सन्दीप साउदी छन् ।

‘जेठो मिस्त्री हो, उसले आफैं घर बनाएर बसेको छ, माइलो र कान्छो छोराबुहारी एकैघरमा थिए, मिलेको परिवार थियो,’ राजकुमारीले भनिन्, ‘दाजु (मृतकका ससुरा) अघिल्लो फागुनमा जन्डिसका कारण खस्नुभयो, अहिले एकैपटक घरका सबै बुहारीलाई बाढीले बगायो, पानी पनि सानो आएन, यिनीहरूलाई नै लिन आएको रहेछ ।’

राजकुमारीका अनुसार राजन र दीपेनको एकै लगनमा विवाह भएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार मृतक प्रेमकलाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । बेपत्ता दुवै जनाको खोजी कार्य भइरहेको डीएसपी कार्कीले जानकारी दिए ।

‘माछा मार्नेक्रममा खोक्सी भन्ने ठाउँबाट चारैजनालाई बगाएको रहेछ, जसमध्ये दुई जनाको अझै खोजी भइरहेको छ,’ डीएसपी कार्कीले भने । उनले असावधानीपूर्वक माछा मार्ने र दाउरा बटुल्नेक्रममा उनीहरूलाई बाढीले बगाएको बताए ।

घटनास्थलमा रहेका सुन्दरहरैंचा–५ का वडाध्यक्ष गणेश चौधरीले पीडित परिवारलाई राहत दिलाउनका लागि पालिकास्तरीय बैठक बस्ने र निर्णय गर्ने बताए । उनले पीडित परिवारको उद्धार र राहतका लागि पहल भइरहेको जनाए ।

‘हामी मेयरसा’बसँग छलफल गरेर उद्धार, राहतका लागि पहल गरिरहेका छौं,’ वडाध्यक्ष चौधरीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आज काठमाडौंमा सत्ता गठबन्धनकाे चुनावी सभा