मुलुकभर मनसुन सक्रियः बाढी, पहिरो र चट्याङबाट १४ जनाको मृत्यु, २ जना बेपत्ता

काठमाडौं । विगतका तुलनामा यस वर्ष मनसुन थप सक्रिय हुँदा मुलुकका अधिकांश भेगमा मध्यमदेखि भारी वर्षा भएको छ । मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । पूर्ण रूपमा मनसुन सक्रिय हुन भने अझै केही दिन लाग्ने मौसमविद्हरूले बताएका छन् । नेपालमा पूर्वदेखि पश्चिमसम्म नै ठाउँठाउँमा वर्षा गराउने बादल विकसित हुँदा मंगलबार र बुधबार कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णालीका धेरै स्थानमा भारी वर्षा भयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भयो । मनसुन सक्रिय भएसँगै दुई दिनको अवधिमा मुलुकभर बाढी, पहिरो र चट्याङका घटनाबाट १४ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोको घटनाबाट आठ जना, चट्याङ लागेर पाँच जना र बाढीमा परी एक जनाको मृत्यु भएको हो । बाढीका घटनामा परी दुई जना बेपत्ता भएका छन् । यसमध्ये पाँच जना पहिरोमा परेर, तीन जना चट्याङ लागेर र एक जना बाढीमा परेर घाइते भएका छन् । पहिरोका घटनामा परी ओखलढुंगामा एक, लम्जुङमा पाँच र कास्कीमा दुई जनाको मृत्यु भएको छ । लम्जुङको क्व्होलासोथार गाउँपालिका–३ स्थित बगुममा पहिरोले तीनवटा घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने दुई जना बालिका बेपत्ता भएका छन् । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा मंगलबार राति पहिरो खस्दा पुरिएका एकै परिवारका चार जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर रुद्रमान गुरुङ र उनकी बुहारी पञ्चकुमारी गुरुङसहित आठ जना तथा ४ वर्षीय दुई जना बालिकाको ज्यान गएको हो ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानीमा प्रकाश रानाभाटको घर पहिरोले पुरिँदा घरमा सुतिरहेकी १३ वर्षीया आयुष्मा रानाभाटको ज्यान गएको छ । कास्कीकै पोखरा महानगरपालिका–२७ आरुपाटाका हरि सुनारको घरमा पहिरो खस्दा सुनारका छोरा ३ वर्षीय अनमोल सुनारको ज्यान गएको छ ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–५ थुम्कीका बाबुराम खत्रीको घर र गोठ पहिरोले पुरिँदा उनकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको ज्यान गएको छ । यसैगरी, चितवनको माडीमा मगई खोलाले बगाउँदा स्थानीय ४५ वर्षीय रणबहादुर कामी बेपत्ता भएका छन् । कैलालीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । जोशीपुर गाउँपालिका–३ भितरियाका जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ का शालिम चौधरीको ज्यान गएको हो । चट्याङ लागेर कैलालीमा थप ६ जना घाइते भएका छन् ।

चट्याङ लागेर कपिलवस्तुमा पनि दुई जनाको ज्यान गएको छ । यशोधरा गाउँपालिका–८ भैसहियाका महेश कलवार र बुद्धभूमि नगरपालिका–१० धनकौलीका राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो ।

नदीको बहाब बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह
बाढी पूर्वानुमान महाशाखाका अनुसार भारी वर्षाको सम्भावना भएका क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार उदयपुर, सिन्धुली, मकवानपुर चितवन, लमजुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको छ ।

महाशाखाद्वारा जारी बुलेटिनमा बुधबार कमला नदीमा बहाव बढ्ने र नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख छ । आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदी तमोर, अरुण, तामाकोशी, दूधकोशी तथा कन्काई र यसका सहायक नदीहरूमा जल सतह बढ्दै जाने पूर्वानुमान गरिएको छ ।

साथै इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बागलुङ, पाल्पा, गुल्मी, म्याग्दी, प्यूठान, रोल्पा, सल्यान, रुकुम–पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा २८ र उपमेयरमा ११ को मनोनयन