अबु सुफ् यान खानलाई राजदूत बनाए सर्वत्र आलोचना

काठमाडौं । सरकारले गत ७ असारमा साउदी अरबका लागि नेपाली राजदूत नियुक्ति गर्न सिफारिस गरेको म्यानपावर व्यवसायी अबुसुफ्यान खान मुसलमानको नियुक्तिलाई लिएर अहिले संघीय संसद्देखि सडकसम्म सर्वत्र विरोधको आवाज उठिरहेको छ । उनको नियुक्तिको विषयलाई लिएर अहिले सबैतिरबाट चर्को विरोध सुरु भइरहेको छ । सोही विषयलाई लिएर अहिले संसद्देखि सर्वसाधारणसम्म सबैले विभिन्न प्रश्न उठाएर सरकारको आलोचना गरिरहेका छन् ।

यस्तो विवादास्पद व्यक्तिलाई सोझै उनको स्वार्थ जोडिनेगरी बनाइएको राजदूत नियुक्तिमा गम्भीर कमजोरी रहेको भन्दै चौतर्फी विरोधको आवाज आउन थालेपछि यसले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ नेतृत्वको गठबन्धन सरकारलाई नै असर परेको सम्बन्धित सरोकारवालाले बताएका छन् ।

उनीहरूले भारतीय नागरिकले प्रयोग गर्ने अनेक सुविधा लिएका निकै विवादित व्यक्ति अबुसुफ्यान खानलाई साउदी अरबको राजदूत नियुक्ति गर्दा स्वार्थ बाझिने थुप्रै समस्या भेटिएको दाबी गरेका छन् ।

उनीहरूका अनुसार सरकारले साउदी अरबका लागि नेपाली राजदूत बनाउन सिफारिस गरिएका अबुसुफ्यान खान मुसलमान विवादास्पद म्यानपावर एजेन्सी इसान ओभरसिजको सञ्चालक हुन् । उनको म्यानपावर कम्पनी काठमाडौंको सामाखुसी टाउन प्लानिङमा छ ।

विशेषगरी साउदी अरब र मध्यपूर्वका मुलुकमा नेपाली कामदारलाई वैदेशिक रोजगारीमा लैजाने सो ओभरसिजका सञ्चालक मुसलमानलाई विगतका धेरैवटा लफडामा राजधानी रियादस्थित नेपाली दूतावासमा बोलाएर सचेतसमेत गराइएको थियो ।

यस्तो विवादास्पद व्यवसायीलाई अहिले साउदी अरबको सोही दूतावासको जिम्मा दिएर पठाउन लागिएको छ । यिनै व्यक्ति दूतावासको उपसचिव र अधिकृतसरहका कर्मचारीलाई थर्काएर दूतावासको गोप्य रिपोर्ट (कार्य सम्पादन मूल्यांकन)भर्ने हैसियतमा पुग्ने राजदूत भएपछि अब सो दुतावासमा रहेका कर्मचारी र नेपाली श्रमिकको हालत कस्तो होला भन्ने गम्भीर प्रश्न उब्जिएको उनीहरूको भनाइ छ ।

अबुसुफ्यान खान मुसलमानको सिफारिसप्रति केही म्यानपावर एजेन्सीका सञ्चालकले समेत स्वार्थ बाझिनेगरी सरकारले गरेको यो निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन । यस्ता व्यक्तिलाई राजदूत बनाएर पठाएपछि वैदेशिक रोजगारमा सिस्टम भत्काउने र गलत मार्केटिङ गर्ने समूहको नेतृत्व उता बसेर यिनैका मान्छे जुबेर खानले अनेक हर्कत गर्न सक्ने उनीहरूको चिन्ता छ ।

अहिले सरकारबाट राजदूतमा सिफारिस भेटेका मुसलमान र साउदीको जुबेर एउटै समूहका हुन् । उनै जुबेरले यसअघि साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख (डीसीएम) दिलिप पौडेललाई अनेक लाञ्छना लगाउँदै संसदको सार्वजनिक लेखा समितिमा समेत उभ्याएका थिए ।

जुबेर राजदूत सिफारिस भएका मुसलमानको नाताले भान्जा पर्छन् । मुसलमान राजदूत नियुक्तिमा परेसँगै अहिले इशान ओभरसिजको अध्यक्षमा थिरमणि पौडेललाई राखिएको छ । मुसलमान पौडेलका पार्टनर हुन् । गत ७ असारमा राजदूत सिफारिस हुनुअगावै मुसलमानको नाम ओभरसिजको वेवसाइटबाट हटाइसकिएको छ । यसबाट पनि यो नियुक्तिको खेल पुरानै रहेको स्पष्ट हुने सम्बन्धित सरोकारवालाको दाबी छ ।

नेपाल र साउदी अरेबिया दुवै ठाउँमा म्यानपावर कम्पनी सञ्चालन गर्दैै आएका व्यक्तिलाई पैसाको आडमा राजदूत नियुक्त गर्न लागिएको परराष्ट्र मन्त्रालयभित्रकै कर्मचारीको दाबी छ । ‘हाम्रा कर्मचारीले अब कुन हैसियतमा काम गर्ने ? दलालसँग रियादमा रहेका हाम्रा कर्मचारी सधैं जुध्दै आएका छन् । अब कुन हैसियतअनुसार काम गर्ने उनीहरूले ? यसले उनीहरूको जागिरप्रति संकट उत्पन्न भएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने ।

यसअघि रियाद दूतावासमा कार्यकाल बिताएर आएका एक जना कर्मचारीका अनुसार मुसलमान र जुबेरपछि बाहुन थरका अर्का दलाल छन् । दूतावासमा जुन कर्मचारी गए पनि विरोध गर्ने र दुःख दिनेबाहेक उनको अर्को नियत छैन ।

सम्बन्धित सरोकारवालाका अनुसार साउदीको राजदूत सिफारिस भएका मुसलमानको इशान म्यानपावरको लाइसेन्स एकपटक निलम्बन गरिएको थियो । पहिले साउदी अरेबिया र गल्फ कन्ट्रीहरूमा काम गर्दागर्दै उनले ओभरसिज खोलेका थिए ।

भारततिर पढेका मुसलमान कपिलवस्तुका स्थानीय हुन् । कतिपयले मुसलमानका परिवारका सदस्य अझै भारततिरै बस्ने गरेको बताएका छन् । उनको नयाँ दिल्लीमा समेत घर रहेको सरोकारवालाको दाबी छ ।

यसअघि गत ११ असारमा पनि नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले म्यानपावर व्यावसायीलाई साउदी अरबको राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरेका थिए । प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले स्वार्थ बाझिनेगरी म्यानपावर व्यावसायी अबुसुफ्यान खान मुसलमानलाई साउदी अरबको राजदूतमा किन सिफारिस गरेको भन्दै विरोधको प्रश्न गरेका थिए ।

गत ७ असारमा सरकारले साउदी अरबको राजदूतमा सिफारिस भएका खानसहित विभिन्न आठ देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमध्ये वैदेशिक रोजगार व्यवसायी खानको सिफारिस उनको स्वार्थ बाझिनेगरी भएको सांसद यादवको दाबी थियो ।

‘नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकमध्येको एक साउदी अरब हो । खान गत जेठसम्म साउदी अरबमा श्रमिक पठाउने इसान ओभरसिजका सञ्चालक थिए । उनी लामो समयदेखि साउदी अरबमा (श्रमिक पठाउने) काम गर्दै आएका छन्’ यादवले भने । ‘जुन देशमा व्यवसायीले नेपाली श्रमिक पठाउँदै आएका छन्, जहाँ कारोबार भइरहेको छ त्यही देशका लागि राजदूतको जिम्मेवारी दिँदा सोझै स्वार्थ बाझिने गर्छ,’ सांसद् यादवले भनेका थिए ।

त्यतिबेला सांसद यादवले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ मा राजदूत नियुक्तिमा विदेशी मुलुकको स्थायी, अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्ने योग्यता तोकिएको पनि स्मरण गराएका थिए । विवादास्पद व्यक्ति खानको सिफारिसपछि म्यानपावर व्यावसायी सशंकित भएको बताउँदै यादवले भनेका थिए, ‘म्यानपावर व्यावसायी आफैं राजदूत भएर जाने भएपछि साउदीमा काम गर्ने अन्य म्यानपावर व्यावसायी सशंकित हुनु स्वाभाविक हो ।’ सरकारको यस्तो गल्तीले विदेशमा रहेका नेपाली कामदारले अझ धेरै दुःख पाउने सम्भावना बढेको भन्दै यादवले सरकारको यस्तो निर्णय ठिक नभएको दाबी गरेका थिए । अहिले संसद्देखि सडकसम्म उनको राजदूत नियुक्तिको विषयलाई लिएर सवत्र विरोध भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा