वर्तमानलाई सराप्न छोडौं !

५० वर्षअघि हामीसरह वा हामीभन्दा पछाडि रहेका कैयन मुलुकहरू आज कहाँ पुगे र हामी आज कहाँ छौं भन्ने प्रश्नले समग्र नेपाललाई नै पीडा दिन्छ । अनि, हामी नेतालाई र व्यवस्थालाई सराप्न थालिहाल्छौं । स्वाभाविक पनि हो । व्यवस्थाले इच्छित परिणाम नदिएपछि व्यवस्था र त्यसका सञ्चालकलाई नै सराप्ने होला ! मुलुकलाई आर्थिक विकास र उन्नतिको उचाइमा पु¥याउने कुरोमा हामी पछि परेकै हौं । तर, राजनीतिक व्यवस्थाको विकासक्रमको गतिलाई हेर्ने हो भने त यति गतिशील मुलुक सायदै भेट्टिएला ! लगभग ७५ वर्षको अन्तरालमा निष्पट्ट तानाशाही राजतन्त्रदेखि लिएर सीमित प्रजातन्त्र, निर्दलीय व्यवस्था हुँदै संवैधानिक संसदीय राजतन्त्र र अन्ततः गणतन्त्रको समेत प्रयोग भइसकेको छ । सात सालअघिको अवधिलाई पनि गन्ने हो भने नेपालले सैनिक तानाशाही व्यवस्थालाई पनि बेहोरिसकेको छ ।

सामान्यतया भूतकालभन्दा वर्तमान उन्नत हुन्छ र वर्तमानभन्दा भविष्य उन्नत हुने आशा गरिन्छ । तर, हाम्रो मुलुकमा चाहिं अनौठो भइरहेको छ । सात सालको परिवर्तन लगत्तैदेखि हामीलाई एउटा कुण्ठाले सताइरहेको छ । हामी भूतकालको तुलनामा वर्तमानलाई खराब देख्न थाल्छौं । राणा शासनको पतन लगत्तै हामीले भन्न थाल्यौं, ‘योभन्दा त राणा नै ठीक ! १५ सालको आमनिर्बाचनबाट गठित दुई तिहाइ बहुमतको सरकारलाई नानाथरी बदनाम गर्दै अप्रत्यक्ष रूपमै भए पनि हुकुमी शासनको पक्षमा वकालत गर्न सुरु भयो । एकतन्त्रीय हुकुमी शासन कायम भएपछि पनि असन्तोष कायम मात्र रहेन चुलिँदै नै गयो । बीचको अवधिको लामो विश्लेषण नगरी अहिलेको अवस्थाको कुरा गर्ने हो भने पनि ‘यति सय राजाभन्दा त एउटा राजै ठीक’सम्म भन्न थालिएको छ । समग्रमा भन्ने हो भने वर्तमानलाई भूतसँग तुलना गर्दै बेतुकसँग भूतकाललाई राम्रो भनिदिने बानी नै परे जस्तो देखियो ।

के हाम्रो वर्तमान सधंै भूतकालभन्दा खराबै रहेको हो त ? सात सालदेखि १५ साल सम्मको धेरै कुरा गर्नुको अर्थै छैन । राजा त्रिभुवन र राजा महेन्द्र दुवैले कुनैबेला राणाले उपभोग गरेको शैलीको राज्यलक्ष्मीसँगको भोगविलास बढीसे बढी कसरी आफू र आफ्नो परिवारमा केन्द्रित राख्ने भन्ने आत्मकेन्द्रित सोचका साथ जनतालाई प्रतिनिधित्व गर्ने शक्ति अर्थात् राजनीतिक दललाई कमजोर गर्नमै समय व्यतित गरे । यही दुष्चक्रको परिणाम थियो जनतालाई सीमित शक्ति दिइएको १५ साले संविधान । त्यति गरेर बनेको निर्वाचित सरकारलाई पनि दुई वर्ष काम गर्न दिइएन ।

अब धेरै लामो मीमांसा नगरिकन सत्र साल देखि सतचालिस साल सम्मको राजाको हातमा अकण्टक शक्ति भएको ३० बर्षे अवधि र त्यसपछिको अवधिको तुलना गरौं । पछिल्लो अवधिमा देखिएको राजनीतिक परिदृष्यको थोरै सम्झना गर्नु अनुपयुक्त नहोला । ४७ सालको संविधान निर्माणपश्चात् भएको आमनिर्वाचनबाट सरकार गठन भए लगत्तै सुरु भएको रेलिङ तोडफोड आन्दोलनदेखि माओवादी जनयुद्ध सुरु हुँदासम्मको लगभग डेढ दशकको अवधि पनि कुनै सही अर्थमा सहज थिएन । माओवादी जनयुद्ध सुरु भएपछिको समय’bout त कुरै गर्न परेन । तुलनात्मक रूपमा सुरुको तीन वर्षको अवधिचाहिं सरकारले केही काम गर्न पाएको हो । यो सब गंजागोलमा राजनीतिक दलहरूको सत्ता संघर्ष र खिचातानी अवश्यै थियो । तर, त्यसमा दरबारको शक्ति आफूमा केन्द्रित गर्ने र शक्ति सञ्चय गर्ने लालसाबाट प्रेरित षड्यन्त्र कति थियो भन्ने कुरो राम्रै अनुसन्धानको विषय हो ।

कतिपय कुरो त खुलिसकेको पनि छ । यी सब कुराका बाबजुद मुलुकको पूर्वाधार विकास जस्ता विषयलाई केलाउने हो भने निस्कने तथ्य धेरैलाई नपच्ला ! यी दुई कालखण्डमा बनेको सडक सञ्जाल, पुल पुलेसा, स्वास्थ संरचना, सिँचाइ सुविधा र समग्र आर्थिक गतिविधिलाई तुलना गर्दा अघिल्लो अवधिको उपलब्धि अत्यन्तै न्यून देखिन्छ । राजभक्तहरूले बडो गर्बका साथ उल्लेख गर्ने गरेको पूर्ब पश्चिम राजमार्ग समेत कुन कालखण्डमा पूरा भएको हो ? सायद धेरैलाई याद पनि नहोला ! शिक्षण संस्थाको अवस्था गुणात्मक र संख्यात्मक दुवै हिसाबले तुलना गर्ने कि ? झटपट यतिले पुग्छ त अथवा हुनसक्ने यति हो त भन्ने प्रश्न आउला ! जवाफ हो, पुग्दैन र यसभन्दा धेरै राम्रो हुन सक्थ्यो । तर, ठ्याक्कै यही प्रश्न पुरानो कालखण्डको शासकलाई सोध्ने हो भने कस्तो जवाफ आउला ?

वास्तविकता के हो भने हाम्रो वर्तमान भूतकालभन्दा कैयन गुणा राम्रो छ । तर, यो भन्दा धेरै राम्रो हुनसक्थ्यो र हुनसक्छ । राजनीतिक प्रतिस्पर्धा स्वाभाविक हो । तर, त्यो प्रतिस्पर्धा मुलुकको विकासका लागि हुनुपर्छ, फगत सत्ता प्राप्तिका लागि होइन । वर्तमानलाई सराप्ने बानी त्यागौं, भूतलाई राम्रो भन्ने मिजास त चटक्कै छाडौं । थोरै व्यवस्थापकीय कमजोरी भने हटाउनुपर्छ र प्रतिस्पर्धाको उद्देश्यमा स्पष्ट हुनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेनुले लिइन् ६६६६ मतान्तरको अग्रता