परिचय गुमाउँदै परिचयपत्र

राष्ट्रिय नाम दिइएको परिचयपत्र सबैतिर अनिवार्य गराउने लहडी प्रथा सुरु गर्ने भनिएकाले यसमा आपत्ति रहेका विषयवस्तुलाई उजागर गर्ने यो आलेखको उद्देश्य रहेको छ । मूल विषय त कोही परिचयविहीन छैनन् र सरकारले चाहेमा आप्mनो संयन्त्र भरपुर प्रयोग गरी जो जसको पनि नेकिवदी गर्न सक्छ । तर, मूल कुरा गोपनीयताको र कानुन निर्दिष्ट पनि हुन जरुरी छ । विद्यमान संविधान सञ्चालनमा आएसम्म हाल लागू गर्न लागिएको परिचयपत्रको वैधानिकतामा गम्भीर प्रश्न छ र यसका विषयमा अदालतमा विचाराधीन पनि छ । अदालतले टुंगो नलाएसम्म यसको प्रयोगलाई कम से कम अनिवार्य गर्न नमिल्ने कुरा हो । पञ्जीकरण शाखाले टिप्पणी उठाएर कुनै निश्चित स्थानबाट मात्र निर्णय गरिने विषय यो होइन र दीर्घकालीन असर पर्ने कुरो संसदमा गएर छलफलसहित ऐन बनेर लागू हुने विषय हो ।

हरेक विषयमा प्रभावित हुने विषयलाई लहडको भरमा निर्णय गरी लागू गर्न नहुने विषय हो । नागरिकता प्राप्तिको कुरो निश्चित ऐनबाट हुने छँदै छ, त्यसमा नमिलेका विषय छन् भने संसदले परिमार्जन गर्न सक्छ । एक नेपाली जन्मँदै ८५ हजार ऋण बोकेर जन्मन्छन् भन्ने कुरा जुम्ली, हुम्लीलाई थाहा पनि छैन होला र परिचयपत्र विदेशी ऋणमा कार्ड बन्यो, खेर जान लाग्यो भन्दैमा आमसर्वसाधारणलाई दुःख दिने कुरो न्यायसंगत भन्न मिल्दैन । भनिन्छ, यसमा विश्व बैंकबाट १६ अर्ब रकम लिइयो र यसको कमिसनलगायतले यो विषय प्रवेश गरेको छ । कुनै पनि नेपाली परिचयसहितका नै छन् । विद्यार्थीको आप्mनो आईडी छ, शिक्षकको छ, प्राध्यापकको छ, वकिल, इन्जिनियर, पत्रकार, न्याधाधीश, सेना, प्रहरी, निजामती, भुपू, बहालवाला, ज्येष्ठ नागरिक, एकल, अपांग, पिछडा, सीमान्तकृत, सवारी चालक र पछिल्लो समय त आमकिसान परिचय कार्डसमेत वितरण भइसक्ने, आउने आर्थिक वर्षभित्र दिइसक्ने भनिएको छ ।

नेपाली नागरिकताबिना बैंक खाता खोल्न पाइँदैन, केवाईसी फाराम बिनाबैंक प्रवेश नै निषेध छ, स्थायी सम्पत्ति खरिदबिक्रीदेखि हस्तान्तरणलगायतका विषयमा नागरिकता अनिवार्य छ र पासपोर्ट, भिसालगायतका विषयमा नेपाली पहिचानबिना कुनै कर्म सम्भव छैन । पेन्सनधारीको पट्टा नै सर्वोपरि पहिचान हो । यी यावत् पहिचान हुँदाहु्ँदै बायोमेट्रिक भन्दै आप्mनै पहिचान गुम्नेगरी अनिवार्य गराउन लागिएको यो प्रावधानले संस्कृति, संस्कार, मौलिक पहिचान, धर्म, रहनसहन, पोसाक, रीतिस्थिति पनि मेटाउन खोजिएको छ र मूल मुद्दा त सुरक्षाको नै छ ।

विद्यमान संविधान सञ्चालनमा आएसम्म हाल लागू गर्न लागिएको परिचयपत्रको वैधानिकतामाथि गम्भीर प्रश्न छ

संविधान प्रदत्त मौलिक हकमै प्रहार गरेको छ यसले । व्यक्तिको मौलिक हक, आवतजावतको स्वतन्त्रता, सम्पत्ति आर्जन गर्ने, भोगचलन गर्ने र व्यक्तिको गोपनीयतमा प्रश्न गर्न नपाइने संवैधानिक प्रावधान रहेको छ । यो विश्व्यापी मान्यता हो र यूएन पक्ष राष्ट्र भएकाले युनेस्को सम्बद्ध विषय मौलिक संस्कृति, पहिचान मेटाउन नपाउने प्रचलन छ र तिनको सुरक्षा गर्नु राज्यको दायित्व रहेको छ । यूएन युनेस्को हेरिटेजकै कारण देशको मौलिक सम्पदा, इतिहास, प्रागइतिहास, आदिवासी, जनजाति, क्षेत्रगत पहिचानका विषयमा स्पष्ट बोलेको छ । नेपाल बहुल संस्कृति, जातजाति, वेषभूषा, हिमाल, पहाड, तराईको आप्mनै सभ्यता, संस्कृति भएको देश हो, मन्त्रसिद्धि गरेर आगो निकाल्ने प्राचीन सभ्यता हाम्रो छ । थारू, मगर, राउटे, भोटे, लिम्बु, राई, नेवार, मैथिली सबैको आआप्mनो पहिचान छ र हरेक चाडपर्व, धर्म, संस्कृति संरक्षण भन्दै कतिपय राष्ट्रियस्तरमै र कतिपय पालिकास्तरमा पर्व, पहिचान विषयमा सार्वजनिक बिदा दिएर त्यसलाई सम्मान गरेको प्रतीत हुन्छ । मुस्लिमको आप्mनो पहिचान छ, इसाईको आप्mनै, कसैले बुर्का लाउँछन् कसेले धोती, फेटा, कसैले दारी पाल्छन्, कपडा, पहिचान थरिथरिका छन् र औपचारिक समारोहमा सहभागी हुँदा आप्mनो पहिचान प्रस्तुत गर्छन् ।

हाम्रो पहिचान हिन्दु विवाहित नारीको सिन्दूर, चुरा, टीका अनि राष्ट्रिय पोसाक दौरा, सुरुवाल, कोट टोपी, महिलाको चौबन्दी चोलो, धोती हो । टोपीले हिमालभैंm अटल, उँचो शिर, दौरामा भएका आठ तुनाले अष्टचिरञ्जीवी, अष्टमातृका, अष्टसिद्धि अनि बगली नहुनाले ज्यादा संग्रह नगर्ने संकेत गर्छ । महिलाको चौबन्दी चोलोमा पनि आठ तुना जसले अष्टसिद्धिको संकेत गर्छ र वगली नहुनाले ज्यादा संग्रह गरेर विदेशी ऐन कानुन, मनी लाउन्ड्रि«ङको डर नभएको संकेत गर्छ । हिजोसम्म धानचामल निर्यात गर्ने देशले पहिचान गुमाउँदा अहिले चामलको कोटा विदेशीले तोक्नुपर्ने भएको छ । हाम्रा पूर्वज नागरिकता प्रमाणपत्रसम्म निलिएर मरे, हामीले विवाह दर्तासम्म गर्नुपरेको अवस्था भएन र हाम्रो पूर्वीय शास्त्र कुनै विश्व विद्यालयको डिग्री प्राप्त गरेकाले बनाएका होइनन् । वाल्मीकि, वशिष्ठ, विश्वामित्र, जनक, पाणिनि, गार्गीहरूले कुनै औपचारिक डिग्री लिएका होइनन् र पछि भानुभक्त नै पर्याप्त छन् ।

हाम्रो वेद विश्वको संविधान हो, वेदमा जे छ अहिलेसम्म संसारमा केही छैन, वेदमा जे छैन, संसारमा छैन र आज नासाका वैज्ञानिक वेदको मन्त्र घन्काउँदै छन् । ओमको उदय बाह्रखरी, १६ स्वर अक्षर, ३६ व्यन्जन अक्षर आजको मान्छेले बनाएको होइन बरु प्राज्ञ भनेर बनेको प्रज्ञा प्रतिष्ठानले भत्काएको चाहिँ छ र व्याकरणलाई ध्वस्त पारेको विषय हालै अदालतले सच्याइदिएको छ । हाम्रो लोकतन्त्रले सिध्याउने काम मात्र नगरे पनि काफी हुन्थ्यो बनाउने काम जानेको छैन । संविधानको धारा ३२, (३) अनुकूल छैन भनेर वकिल, बुद्धिजीवि, प्राध्यापक, सामाजिक अगुवा यो विषयमा किन बोल्दैनन् आमसञ्चारमा यो विषयले किन प्रवेश नपाएको ?

जिउँदो पोइलाई मर्दा घाटमा सँगै जलाउने टीका, सिन्दूर, धागा, चुरा, पोते, पूmली, कानका गहना झिकेर नेस्नल आईडी कसरी हुन्छ ? दौरा, सुरुवाल, टोपीलगायत स्थानीय वेशभूषा, सबैको आफ्नो पहिचान मेटाएर फोटो खिच्न कसरी नेस्नल आईडी हुन्छ ? आँखा, मुहारमा मानिसको जिन, उसको बनोट, उसको जीवकोष, जैविक तत्व, बनोटलगायतका विषय बाहिर पहिचान किन जरुरी हुन्छ ? हो यो जनावरका लागि भने जरुरी होला र छ, हामी वसुधैव कुटुम्बकम् मान्ने विश्व नै एक परिवार भन्ने मान्यता बोकेका नेपाली गुरु राष्ट्र नेपाल र आदिम सभ्यता वेदको रक्षक भनिएका देशमा यतिसम्म अन्याय हुनु राम्रो हो र ?

अर्को अझ बढी महत्वपूर्ण विषय आमजनता त ४ हजार गुम्ला भनेर लाइनमा बसेर सबै संस्कृति सकेर पनि आईडी बनाउलान् तर राष्ट्रिय सुरक्षाको विषय के हुन्छ, कैयन भीभीआईपीहरू मरे, मारिए हत्यारो पत्तो लागेन । अब सम्पत्तिसँग जोडेर आईडी बन्ने भएपछि राष्ट्रपति, मन्त्री, प्रधानमन्त्री, सांसद, प्रहरी, सेनाका उच्च अधिकारी, व्यापारी, घरानिया भनिएका उद्यमीको सुरक्षा होला ? वा अपहरण, फिरौती वा त्यस्तै विषयले प्रश्रय नपाउला र ? सम्पत्तिको आर्जन, गोपनीयताका विषयमा प्रचलित संविधानले पनि बोलेको होला र जासुसी कामले यसअघि नै धेरै प्रश्रय पाएको हो । लोकतन्त्रले अरूको नक्कल गरी बनाएको कानुनले अहिले कतिपय नेताहरू नै त्यसको कठघरामा छन्, अहिले गाँजा खोल्ने विषय त्यस्तै छ । हाम्रो जस्तो सरकारी मेसिनरी अति कमजोर भएको र स्थायी सरकार भनिएको माउ प्रशासन नै अख्तियारको केसमा परिरहेको देखिएकाले दीर्घकालीन असर पर्ने विषयका कुरा गर्दा गम्भीर छलफल, निचोड र संसदले कानुन बनाएर मात्रै कुनै निर्णय लागू गर्नु बेस हुन्छ ।

बैंक अनिवार्य गर्ने, अनिवार्य चेकबाट कारोबार गर्ने भन्ने अनि जहाँ जताततैबाट सम्पत्तिको ट्रयाक गर्ने सिस्टमले घरानिया सुरक्षित होलान् ? राजनीतिक व्यक्ति सुरक्षित होलान्, जहाँसम्म नेकिवदी राष्ट्रिय मामला छ प्यान कार्ड छ, विषयपिच्छेका पहिचान छन्, कम्पनी कार्यालयमा दर्ता नगरी, पालिका वा सम्बद्ध निकायबाट स्वीकृति नलिई व्यक्तिले केही गर्न पाउँदैन, उद्योग वा अन्य केही काम, लगानी आदि गर्दा पनि, आयात, निकासी, ठेक्कापट्टा जे गर्दा पनि इजाजत आवश्यक हुन्छ, सम्पतिको स्रोत, विदेशी लगानी, सारा विषयमा फाइल खडा नभई कुनै काम हुन्न । स्वास्थ्य सेवा लिनसमेत पहिचान जरुरी छ, बिमा भए बिमा कार्ड जरुरी छ । समष्टिमा भन्नुपर्दा परिचयको कुनै कमी नै छैन देशमा ।

स्कुलमा झुन्ड्याउने परिचयले नपुगेर स्कुलको नाम लोखिएको जुत्ता, स्वेटर, ज्याकेट, झोलाका नाममा समेत व्यापार गरिएको छ

स्कुलमा झुन्ड्याउने परिचयले नपुगेर स्कुलको नाम लोखिएको जुत्ता, स्वेटर, ज्याकेट, झोलाका नाममा समेत व्यापार गरिएको छ र विद्यालयमा विद्या आर्जनभन्दा बढी व्यापारिक काम बढी भएको छ र बालेन डोजरले प्रहार गर्दै छ, विद्यालयमा समेत र धेरै तलब भत्ता, बिदासुविधा लिएर पढाएका शिक्षकको भरखरैको एसईईको परिणाम नै यसमा पर्याप्त छ । न्यूनतम ज्याला नपाएका शिक्षकहरूले पढाएका स्कुलबाट रिजल्ट राम्रो आयो, राजनीति र सुविधा मिसिएका स्कुलले पढाएको रिजल्ट दाँजेर हेर्दा नै स्पष्ट हुन्छ । पश्चिमाहरूले जति विज्ञानको कुरो गरे पनि अंग्रेजी २६ अक्षर माथि उठाउन सकेको अवस्था छैन ।

हाम्रो वर्णमाला मानव जीवनको अंग हो, अभिव्यक्ति हो यसले कण्ठ, तालव्य स्वर वर्ण, तिनको भोकल, पन्च प्राणेन्द्रिय, प्राण, व्यान, अपान वायु शरीरका हरेक अंग लक्षित गर्छ र स्वर स्वयं शिव डमरुबाट निसृत, सरस्वतीको विणा हो, हरेक श्वासप्रश्वाससम्म सन्निहित रहेको अ, आ, इ, ई, क, का, कि, की, ओम नमो वागीश्वराय पढ्न घोक्न छोडेदेखि नै हाम्रा बच्चाहरूले आमा, बाबु भन्न बिर्सेका छन्, एसईईमा ‘ए’ प्लस ल्याउनेले आप्mनो कट्टु धुँदैन बाथरुममै छोड्छ र आमा बाबाको भन्दा बढी प्रिय उसको मोबाइल हुन्छ । संसारका हिरो, हिरोइनको उसलाई जानकारी हुन्छ तर घरको शंख, घण्ट, तामाको भाँडो स्पर्श, गायन्त्री मन्त्रको जपमा के तागत छ भन्ने जान्दैन । प्लस टु सकेपछि खाडी जाने मान्यता पूरा भएको मान्छ र उतै खाडीमा भेटुँला भन्छ ।

देश पराधीन भइसकेको छ, ऋण र व्यापारघाटाले भासिएको छ, विप्रेषणको भर छ, उत्पादन छैन, नाना, खाना, छानाका लागि बिदेसिनुपर्ने बाध्यता रहेको छ । धर्म, संस्कृति, संस्कार, मौलिकपनमा प्रहार भएको छ, बिहानै बेड टी नभए शौलालय जाने योग्यता प्राप्त हुन्न । विदेशीसँग कुम हल्लाइहल्लाइ फोटो खिच्ने नेतृत्वले राष्ट्रिय पहिचान गुमाउँदै नेस्नल आईडी भनेरर अनेस्नल बनाउन खोजेकोमा गम्भीर प्रश्न छ । सिंगापुरमा जमिन व्यक्तिको हुन्न, त्यस्तै सरकारले सबैको ग्यारेन्टी गर्दा हुन्छ, सायद समाजवादको नाममा हामी जनतालाई भ्रम छर्दै छौं र लोकतन्त्रले जनतालाई उठिबास गराइसकेको छ । सूचकहरूले बताएको कुरो हो यो मनगढन्त होइन । आईडीको कुरो सुरक्षा, युनेस्को, गोपनीयता, प्रचलित संविधानसमेतको विपरीत छ, अहिलेलाई यति नै भनौं ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्तो आयो काठमाडौंको ताजा परिणाम