प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । कामचलाउ सरकारको हैसियतमा पुगेपछि प्रधानमन्त्रीले अब संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ वा राजीनामा दिनुपर्ने हुन्छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले बुझाए राजीनामापत्र

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी एमालेका मन्त्रीहरूले बुधबार प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामापत्र बुझाएका हुन् । रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका हरि उप्रेतीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामापत्र बुझाएको जानकारी दिए ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीको निर्णयानुसार प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । ‘आज (बुधबार)सम्म हामीले उहाँ (प्रधानमन्त्री प्रचण्ड)लाई राष्ट्रिय सहमतिको सरकारका लागि मार्गप्रशस्त गर्न भनेका थियौं, त्यस्तो नहुने देखिएकाले समर्थन फिर्ता लिने निर्णयको कपीसहित प्रधानमन्त्रीलाई पत्र बुझाउँदै छौं,’ एमाले प्रमुख सचेतक बर्तौलाले भने, ‘हाम्रा मन्त्रीहरूले पनि राजीनामा दिनुभएको छ ।’

एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ । ७९ सिट रहेको एमालेले समर्थन फिर्ता लिएपछि अब प्रचण्ड सरकारको समर्थनमा ३२ सिटको नेकपा (माओवादी केन्द्र), २१ सिटको रास्वपा, १० सिटको नेकपा (एकीकृत समाजवादी), ७ सिटको जसपा र ६ सिट रहेको जनमत पार्टीको मात्र समर्थन बाँकी रहेको छ । अब प्रचण्डले आगामी १९ साउनभित्रमा संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ वा राजीनामा दिनुपर्ने हुन्छ ।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी थिए ।

नेपाली कांग्रेस र एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यसअघि मंगलबार एमालेले प्रधानमन्त्री प्रचण्डलाई सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको थियो । तर, प्रचण्डले राजीनामा नदिएपछि आफ्नो पार्टीले सरकालाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीलाई समेत फिर्ता बोलाउने निष्कर्षमा एमाले पुगेको हो ।

यसैबीच, कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीको बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन सुझाव दिएको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । ‘सबैभन्दा ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ, उहाँले अब मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ,’ प्रवक्ता महतले भने, ‘सहमतीय सरकारका लागि अरू दलको पनि समर्थन घोषणा भइरहेको छ, त्यसैले हामीले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छौं ।’

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको नेता सर्वेन्द्रनाथ शुक्लाले बताए ।

उनले बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र मंगलबार कांग्रेस सभापति देउवासँगको भेटघाट’boutमा ब्रिफिङ गरेको बताए । गठबन्धनमा समर्थन गर्ने निर्णय गरेपछि सरकारमा जाने नजाने अहिले कुनै निर्णय पार्टीले नगरेको उनको प्रस्टोक्ति थियो ।

‘हामीसँग सरकारमा जाने नजाने भन्ने विषयमा औपचारिक छलफल कांग्रेस र एमालेले गरेको छैन,’ शुक्लाले भने, ‘तर, संविधान संशोधनसहितको मुद्दा अघि सारेकाले हामीले समर्थन गर्ने निर्णय गरेका हौ ।’ नयाँ सरकार गठनको प्रक्रिया अघि बढेपछि ठूला दलहरूसँग छलफल गर्ने उनले बताए ।

‘एमाले र कांग्रेस गठबन्धन पश्चगमन र प्रतिगमनको दिशामा’
यसैबीच, माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको टिप्पणी गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले पछिल्लो राजनीतिक घटना’bout जानकारी गराउँदै यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेस र एमालेको मिलनले देश पश्चगमन र प्रतिगमनको दिशामा गइरहेको आरोपसमेत लगाएका छन् ।

एमालेले माओवादीसँगको सहकार्य तोड्नुको कुनै आधार नभएको दाबी गरे । ‘अहिले संविधान संशोधनको चर्चा गरिएको छ,’ माओवादी केन्द्रका महासचिव गुरुङले भने, ‘यस उपलब्धिलाई उल्ट्याएर २०४७ सालको संविधानको दिशामा लान खोजिएको आशंका उत्पन्न भएको छ, त्यसैले यो पश्चगमनको दिशामा रहेको प्रस्ट हुन्छ ।’

उनले माओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास गर्दा पनि सहमति नजनाएका दलहरूले अहिले यस विषयलाई उठाएको प्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘हामीले भन्दा कुनै दल तयार भएनन्, अहिले दुई दलले मध्यरातमा सहमति गरेर राष्ट्रिय सहमतिको भनेर हल्ला गरिएको छ, यथार्थतामा होइन, दुई दलबीच कुरा मिलेको छैन, एउटा दलले राष्ट्रिय सहमति भन्दा अर्को दल राष्ट्रिय सहमतिको होइन भन्छ ।’

उनले वामपन्थीहरूको सहकार्य छाडेर एमाले दक्षिणपन्थी दिशामा अगाडि बढेको आरोपसमेत लगाए । उनले टीआरसी विधेयकलाई रोक्नका लागि तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको जिकिर गरे ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी