के हरेक मानिस इन्टेलिजेन्ट छन् ?

मनोवैज्ञानिक दृष्टिमा यस संसारमा प्रतिभा नभएका कुनै मानिस छैनन् । संसारका हरेक मानिस विशेष छन्, अपांग भएका मानिस तथा सुस्त मनस्थितिको लेबल पाएका व्यक्ति आदि सबै आआफ्नो ठाउँमा महान् छन् । वास्तवमा संसारका सबै मानिस बेजोड छन्, एकसे एक प्रतिभाशाली छन् । तर, बिडम्बना के भने अधिकांश मानिसलाई आफ्नो प्रतिभा अवगत छैन, त्यसैले त धेरै मानिस त्यसै हराएर गएका छन् । गल्ती यहीनेर भएको छ । यही गल्तीका कारण नै महान् फुटबल खेलाडी हुने प्रतिभा भएको कुनै व्यक्ति भिरपाखामा हलो जोतिरहेका हुन सक्छन् । एउटा महान् कलाकारले गाउँघरमा हलोठेको बनाएर बेचिरहेका हुन् सक्छन् । महान् वैज्ञानिक खुम्चिएर स्कुलमा कखरा पढाइरहेका हुन सक्छन् ।

पढ्न नपाएर मात्र होइन, पढ्न पाएर पनि कतिपयले आफ्नो प्रतिभा पहिचान गर्न नसकेका हुन्छन् । हाम्रो जस्तो गरीब देशमा त यस्तो सम्भावना ज्यादै बढी हुन्छ । तर, ८ महिनाको उमेरमा सेरिब्रल पाल्सिबाट शारीरिक रूपमा अशक्त भएकी साहित्यकार झमक घिमिरेले आफ्नो बलबुत्ता र शुभइच्छुकको सहयोगले आफ्नो प्रतिभा उजागर गर्न सफल भएकी छन् । पूर्वी नेपालको जन्मिएकी झमकको चमक अहिले पश्चिमेली देशमा समेत फैलिएको छ । त्यसैले त उनलाई नेपालकी हैलन कैलेरको संज्ञा दिने गरिन्छ । तर, झमकको यात्रा हेलेन कैलेरको भन्दा निकै कठिन थियो । हेलेन कैलेरलाई झमकको जस्तो कठिन बाल्यावस्था झेल्नु परेन, भोक लागेको बेलामा खुट्टाले एकएक सिता भात खानु परेन, रगत चुहाउँदै झमकलेझैं खुट्टाले लेख्नु परेन । झमकले आफ्नो व्यक्तित्वमा चमक ल्याउन कति कठोर मेहनत र संघर्ष गरेकी थिइन् भन्ने बुझ्न उनको मास्टरपिस, जीवन काँड कि फुल पढ्नुपर्ने हुन्छ ।

सेरिब्रल पाल्सी एक यस्तो स्नायुरोग हो, जसले मानिसको शारीरिक गतिविधि तथा हावभावको नियन्त्रणलाई प्रभावित पार्छ । यो रोगमा शारीरिक गतिविधि नियन्त्रण गर्ने एक वा एकभन्दा बढी भागमा क्षति भएका कारणले व्यक्तिले आफ्नो मांसपेशीलाई समान्य ढंगबाट सञ्चालन गर्न सक्दैन । यसको लक्षण कतिपय अवस्थामा पक्षघात जस्तो हुन्छ । तर, यस्तो रोगबाट पीडित व्यक्तिको सोच्ने विचार गर्ने शक्ति, स्मरणशक्ति तथा सिर्जनात्मकता कतिपय अवस्थामा सामान्य वा धेरै राम्रो भएको पनि भेटिएको छ । यो कुरा झमक घिमिरेले पुष्टि गरेकी छन् ।

आफ्नो प्रतिभा पहिचान गर्न सिर्जनशील बुद्धि तथा बौद्धिक स्मरणशक्ति आवश्यक हुन्छ

हो, मनोवैज्ञानिक परीक्षण गर्ने हो भने झमकको आईक्यू कम हुन सक्दछ । तर, उनको इच्छाशक्ति, संकल्प शक्ति र सिर्जनात्मक शक्ति सामान्य मानिसभन्दा निकै उच्च भएको उनको कार्यले प्रमाणित गरेको छ । मानसिको आधुनिक जीवनमा इच्छाशक्ति, संकल्प शक्ति र सिर्जनात्मक शक्तिले धेरै महत्व राख्छ । यी यस्ता मानसिक शक्तिहरू हुन्, जसका कारण नै व्यक्तिले आफ्नो प्रतिभा उजागर गरी सफलताको झण्डा गाड्छ ।

हो, कतिपय मानिसको आईक्यू औसत वा त्यसभन्दा पनि कम हुन्छ, तर पनि उनीहरूसँग कुनै विशेष क्षेत्रमा अद्भूत दक्षता हुन्छ । एक जना बालक जसको आईक्यू केवल ५० थियो, तर त्यो बालकले कुनै पनि मिति र बार बताउन सक्थ्यो । त्यत्ति मात्र होइन उसले कुनै पनि शब्दको हिज्जे एक पटक सुनेको भरमा तुरुन्त अघिपछिबाट भन्न सक्थ्यो । लामो भाषण पनि एकपटक सुनेको भरमा जस्ताको तस्तै (अर्थ नबुझे पनि) भन्न सक्थ्यो ।

रुसका पत्रकार एसबी सेरेस्वस्की, जसलाई छोटकरीमा एस भन्ने गरिन्थ्यो, को मेमोरी ज्यादै अद्भूत थियो । उनले पढेका, सुनेका तथा अनुभव गरेका जुनसुकै विषय पनि हुबहु सम्झन्थे, शब्द–शब्द भन्न सक्थे । उनलाई विदेशी भाषाको कविता समेत याद हुन्थ्यो । रुसका न्युरोमनोवैज्ञानिक एआर लुरियाका अनुसार सेरेस्वस्कीले १४ वर्ष पहिला बताएको निरर्थक शब्दको समूहलाई समेत सहीसही बताएको पाए । तर, सेरेस्वस्की एक औसत पत्रकार थिए ।

न्युटोन र अलबर्ट आइन्सटाइन पछिका चर्चित भौतिकशास्त्री स्टिफन हाकिंग पनि सेरेब्रल पाल्सी जस्तै स्नायुरोग, मोटर न्युरोन डिजिजबाट ग्रस्त थिए । उनी हिडडुल गर्न तथा बस्न सक्दैन्थे, सुन्न र बोल्न सक्दैन्थे । राम्रोसँग सास लिन सक्दैन्थे । खानेकुरा निल्न सक्दैन्थे । टाउको उठाउन सक्दैन्थे । उनी २१ वर्षका हुँदा चिकित्सकले उनलाई उनी अब २ वर्षभन्दा बढी बाँच्न नसक्ने बताए पनि उनी ७६ वर्षको उमेरसम्म जीवीत रहे । तर, पनि उनले ब्रहमान्डको सम्बन्धमा निकै रहस्यमय तथ्य पत्ता लगाए । उनी विश्वमा सबैभन्दा बढी पढिने विज्ञान लेखक पनि हुन् ।

अतः यस्ता दृष्टान्तहरू होवार्ड गार्डनरको मल्टिपल इन्टिलिजेन्स अर्थात् बहुमुखी बुद्धिमत्ताको प्रमाण हो । होवार्ड गार्डनरको भनाइ छ कि यस संसारका हरेक मानिस प्रतिभावान् हुन्छन् । बुद्धिलाई केवल भाषा, तर्क र गणितको घेरामा राख्नु हुँदैन । प्राडा हार्वड गार्डनरका अनुसार हरेक व्यक्तिमा ९ प्रकारका प्रतिभा हुन्छन् । कुनै व्यक्तिमा दुई वा दुईभन्दा बढी प्रतिभा हुन्छ भने कतिपय व्यक्तिमा ९ प्रतिभा सन्तुलित अवस्थामा हुन्छ ।

बुद्धिमत्ताको सम्बन्धमा गार्डनरको भनाइ छ कि हरेक मानिससँग कुनै न कुनै प्रतिभा हुन्छ, जसका लागि अलग–अलग सीपहरूको आवश्यकता पर्छ । यस्ता सीपहरू मस्तिष्कका अलग–अलग केन्दसँग सम्बन्धित हुन्छन् । त्यसैले त पढाइलेखाइको जिरो फुटबल वा क्रिकेटको हिरो हुन सक्दछ । दृष्टान्तका लागि सधैं पढाइलेखाइमा अब्बल डा. बाबुराम भट्टराईभन्दा हरिवंश आचार्य तथा सीताराम कट्टेल (धुर्मुस) कम बुद्धिका छन् र ? डा. बाबुराम भट्टराईको इन्टेलिजेन्स पढाइलेखाइ हो भने हरिवंश आचार्य र धुर्मुसको इन्टेलिजेन्स कलाकारिता हो ।

शारीरिक रूपमा अशक्त साहित्यकार झमक घिमिरे आफ्नो बलबुता र शुभइच्छुकको सहयोगले आफ्नो प्रतिभा उजागर गर्न सफल भएकी छन्

हो, डा. बाबुराम भट्टराई पढाइलेखाइको आईक्यू बढी भएका व्यक्ति हुन् । तर, उनको प्रतिभा राजनीतिक होइन भन्ने व्यवहारिक रूपमा पनि पुष्टि भएको छ । बाबुराम भट्टराईको कुरा मात्र होइन, राजनीतिमा लागेका नेपालका ९९ प्रतिशत व्यक्तिको इन्टेलिजेन्ट राजनीतिक छैन । देश बदल्छु भनेर मात्र राजनीति हुँदैन । इमानदार भएर मात्र पनि पुग्दैन । राजनीतिमा सफल हुन व्यक्तिमा भावनात्मक सक्षमता (ईक्यू) हुनुपर्छ । त्यसैले देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने हो भने भावनात्मक सक्षमता (ईक्यू) भएका व्यक्ति राजनीतिमा आउनुपर्छ । तर, राजनीतिक भावानात्मक सक्षमता कम भएका व्यक्तिले आफ्नो वास्तविक प्रतिभाको के हो त्यो पहिचान गरेर त्यही पेसा अंगाल्नुपर्छ । यति धेरै अक्षम नेता र कार्यकर्ता किन चाहियो ? एउटा कुरा के स्पष्ट छ भने राजनीतिलाई पेसा बनाउने बेइमानहरू र भावनात्मक सक्षमता नभएका नेताको हातमा नै सधैं सत्ता भएका कारण यो देश यसरी पछाडि परेको हो ।

हो, हरेक मानिससँग प्रतिभा हन्छ । तर, आफ्नो प्रतिभा पहिचान गर्न सिर्जनशील बुद्धि तथा बौद्धिक स्मरणशक्ति आवश्यक हुन्छ । सिर्जनात्मक चिन्तन यस्तो प्रक्रिया हो, जो लक्ष्य निर्देशित हुन्छ । अर्थात् सिर्जनात्मकतामा व्यक्तिलाई आफ्नो लक्ष्य निश्चित थाहा हुन्छ र उसको हरेक व्यवहार यही लक्ष्यसँग सम्बन्धित हुन्छ । त्यसो त कतिपय प्रतिभालाई समयले पनि साथ दिएको हुन्छ । हाम्रो जस्तो देशमा आफ्नो प्रतिभा अवगत भएर पनि आफ्नो प्रतिभा दबाएर राख्न पर्ने स्थिति छ । त्यसो त केही वर्ष यता, मोबाइल, मिडिया र सोसल मिडियाका कारण गाउँघरका मानिसले पनि आफ्नो प्रतिभा उजागर गर्ने मौका पाएका छन् । यस्ता कतिपय व्यक्तिहरू रातरात लोकप्रिय पनि भएका छन् । कतिपयले यसलाई आफ्नो भाग्य पनि भन्ने गर्छन् । तर, यो सरासर गलत हो, सही कुरा यो अन्तर्मनको आवाज सुन्न सक्ने क्षमता र मिहिनतको फल हो । त्यसैले कुनै पनि प्रतिभामा झमकलेझैं चमक ल्याउनकालागि उच्च मनोबल र मेहनतको कुनै विकल्प छैन ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीमा बाढीले बगाएर ८ वर्षिय बालिकाको मृत्यु