अपाङ्गतामैत्री नभएपछि ह्वील चियर बहिष्कार

मकवानपुर । बजेट कार्यान्वयन देखाउनकै लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्गता सहायता सामग्री वितरणमा लापर्वाही गरेको देखिएको छ ।

असारको मसान्त नजिकिँदै गर्दा प्रदेश सरकारले वितरण गरेको अपाङ्गता सहायक सामग्री अपाङमैत्री नभएपछि समस्या भएको हो । आफूहरुलाई प्रयोग गर्न नै समस्या हुने सामग्री वितरण भएपछि अपाङ्गता भएकाहरु प्रदेश सरकार विरुद्ध खनिए । सरकारले दिएको सहायता सामग्रीले आफूहरुलाई सहजताभन्दा अफ्यारो बढी सिर्जना गर्ने भएपछि कम्तिमा १७ जनाले ह्वील चियर नै बहिष्कार गरेको जानकारीमा आएको छ ।

हेटौंडा ६ कि मेनुका खड्काले आफूलाई प्रयोगमै नआउने भएको कारण ह्वीलचियर लिइनन् । “म स्पाइलन इञ्जुरी भएको मान्छे, मन्त्रालयले दिएको ह्वील चियरमा चढ्न–झर्नै सक्दिन, मेरो लागि यो कामै छैन, त्यसैले लिन वहिष्कार गरेँ” उनले भनिन् “हाम्रो नाममा खरिद गरिने सामग्री उहाँहरुले आफ्नो मर्जिले किनेर हुन्छ त, हामीलाई कस्तो चाहिन्छ, आवश्यकतालाई ध्यान दिनु पर्दैन ?”

मन्त्रालयले दिएको ह्वील चियरको मुख्य समस्या भनेको यो फल्डिङ हुँदैन । फोल्डिङ नहुने बित्तिकै यसलाई लिएर घरबाहिर निस्कन अपाङ्गता भएकाहरुलाई झनै समस्या हुन्छ । अरु सवारीमा चढ्दा फोल्डिङ गरेर राख्नु पर्ने ह्वीलचियर सवारीको ढोकाबाटै छिराउन मुस्किल पर्छ । “उसै त हामीलाई सार्वजनिक सवारीले सकेसम्म रोक्नै माग्दैनन्, त्यसमाथि यो ह्वील चियर आफैंमा समस्याग्रस्त भयो” मेनुकाले भनिन् । यसबाट ओछ्यानमा चढ्न झर्ने नसकिने, फेरी लडेर अर्को चोट लाग्न सक्ने भएकोले आफूल ह्वील चियर नलिएको मेनुकाले बताइन् ।

“सधैं त अरु-परिवारको साहारा हुदैन सक्ने काम त हामी आफैंले पनि गर्नुपर्छ, सरकारले सामन दिएको छु भनेर आँखामा छारो मात्रै नहालोस् हामीलाई काममा आउने सामान दिओस्” उनले भनिन् “सरकारलाई कस्ता प्रकारका व्यक्तिलाई कस्ता सामग्री चाहिन्छ भन्ने थाहा नभए हाम्रो संस्थामार्फत जानकारी पनि लिन सक्थ्यो नि, यो बुझाइको समस्या नै हैन, हेपाइ हो” उनले आक्रोश पोखिन् ।

यसैगरी हेटौंडा ७ कि सुनकुमारी पन्थिले आफूलाई प्राप्त ह्वील चियर घरमा पु¥याउनै समस्या भएको बताइन् । “अरु सवारीले हामीलाई बोक्नै मान्दैनन्, अटो रिजर्भ गरेर आएको थिएँ, अब त्यै अटोमा पनि यो ह्वील चियर राख्नै अटेन” उनले भनिन् । खुट्टाको मात्रै समस्या भएकी सुनकुमारीले मन्त्रालयबाट प्राप्त ह्वील चियर ग्रहण त गरिन तर घरसम्म पु¥याउन निकै सकस भोग्नु प¥यो ।

अटो रिजर्भ गरेर कार्यक्रममा आएकी उनले आफूले पाएको ह्वील चियरको पाटपुर्जा नै खोलेर अटोमा लोड गर्नुपर्ने अवस्था आयो । “जान्ने दाजुभाईहरुले त पार्टपुर्जा खोलेर पनि गाडीमा राखिदिनु हुन्छ, सबैले कहाँ यसरी पटक पटक पार्ट पुर्जा खोलेर, हामीलाई बोकेर हड्नुहुन्छ त, सबैलाई आ आफ्नो चटारो हुन्छ” पन्थिले भनिन् “यस्तो टोक्नु न बोक्नुको सामन दिएर झारोमात्रै किन टारेको कुन्नि ?”

हेटौंडा १६ की करुण उपाध्ययले पनि ह्वील चियर आफूलाई प्रयोग गर्न समस्या भएको बताइन् । स्पाइनलकड इञ्जुरी भएकाहरुलाई मात्रै हैन, म जस्ता खुट्टामा मात्रै समस्या भएकालाई पनि त्यो ह्वील चियर चढ्न समस्या छ । आफैं चढ््न सकिदैन, अरुले चढाइदिए पनि ओर्लन सकिदैन” उनले भनिन् “खै के विचार गरेर बनाइएको हो, के सोचेर हामीलाई दिइएको हो, यो निकाम्म छ ।” सजिलोको लागि दिएको सामानले आफूहरुलाई झनै समस्या बनाएको करुणले बताइन् ।

हेटौंडा १० कि गिता माझीले पनि आफूलाई ह्वील चियर अपाङतामैत्री नभएको बताइन् । “सरहरुले यो बलियो छ भन्नुभयो तर बलियोमात्रै भएन सुविधायुक्त पनि हुनु प¥यो नि, हामीलाई प्रयोग गर्नै समस्या भयो भने बलियो भएर के काम त ?”

आफूहरुको आवश्यकता पहिचान नै नगरि मनलाग्दी हिसाबले सामन दिएपछि अपाङ्गता भएकाहरुले ह्वील चियर बहिष्कार गरेका हुन् । १० महिनाअघिदेखि अपाङ्गताको क्षेत्रमा कस्तो प्रकारको के के सामग्री के कति चाहिन्छ आफूहरुसँग समन्वय गर्न भनिरहेपछि अन्ततः प्रयोगमै ल्याउन नसकिने सामान दिएको भन्दै अपाड्डता भएकाहरुले आक्रोश पोखे ।

मन्त्रालयले गतवर्ष पनि सहायता सामग्री बाँडेको थियो । “गतवर्ष पहिलो पटक बाँड्दा जानकारीको अभाव भएको पाइएपछि यसवर्ष १० महिनाअघि देखि हामी नियमित फलोअपमा थियौ, हाम्रो कुराको सुनुवाइ नै भएन” अपाड्ड सरोकार केन्द्र मकवानपुरका अध्यक्ष गणेशचन्द्र दवाडीले भने “यो सबै कमिसन खोज्दाको परिणाम हो ।”

यता मन्त्रालयले भने ‘यस्तो प्रकार सामान’ भनेर माग नभएकोले यस्तो त्रुटि भएको दाबि गरेको छ । सामाजिक विकास मन्त्रालयका उपचसचिव गोपालप्रसाद कंडेलले मन्त्रालयलाई कस्ता प्रकारको अपाङ्गता भएकाहरु कति जना व्यक्ति छन् भन्ने जानकारी नै नभएको कारण यस्तो भएको बताए । “हामी अर्को आर्थिक वर्षबाट यस्तो त्रुटि गर्दैनौ” कंडेलले भने “जसजसले समान लिनै वहिष्कार गर्नुभएको छ, उहाँहरुलाई अर्को आर्थिक वर्षको सुरु मै फोल्डिङ भएको ह्वील चियर दिने कोशिस गरिनेछ ।”

अपाङतामैत्री नभएको ह्वील चियर वितरण गर्ने तयारी रहेको थाहा पाएपछि सरकारी संयन्त्रकै रुपमा रहेको अपाङ्गता अधिकार कार्यान्वय प्रदेश स्तरीय निर्देशन समिति सदस्यका उपाध्यक्ष दिलबहादुर स्याङ्बो, सदस्य सिता मल्ल ठकुरीलगायतले मन्त्रालयको महाशाखामा खबरदारी गरेका थिए । तर सुनुवाई भएन । “हामीले एक साताअघि नै यो हुदैन भनेका थियौ, तर हामीलाई हेपेरै सामान वितरणको कार्यक्रम राखियो” उपाध्यक्ष स्याङ्बोले भने “सरोकारवालाको आवश्यकताको सम्बोधन गर्नमा ध्यान नदिने भए किन सामान दिनु बेकार ?”

सामाजिक विकास मन्त्रालयले १५ लाख बजेटमा राष्ट्रिय अपाङ कोषको समन्वयमा खरिद गरिएको भनिएको ह्वील चियरमा ‘फ्रि ह्वील चियर फाउण्डेशन’ भनेर लेखिए छ । फ्रि भनिएको ह्वील चियर वितरण गर्न मन्त्रालयको १५ लाख बजेट कसरी खर्च भयो ? सरोकारवालाहरु झनै आक्रोशित भएका छन् ।

अपाङगता सहायता सामग्री वितरण गरिने सूचना सार्वजनिक भएपछि बागमती प्रदेशका ३० स्थानीय तहको ८०० जना अपाङ्गता भएकाहरुले फर्म भरेका थिए । जसमध्ये ५९ जनाको लागि सहायता सामग्री वितरण गरिएको प्राविधिक सहयोग समाज कल्याण परिषद राष्ट्रिय अपाङ कोष भृकुटीमण्डप काठमाण्डौको तथ्यांक अधिकृत लक्ष्मी राना मगरले बताइन् ।

जसमा ह्वील चियर, कृतिम हात खुट्टा, बैशाखी, वाकर, ट्वाइट चेयर, अपाङता भएकाहरुले प्रयोग गर्ने विशेष खालको कुर्सीलगायतको ६७ सहयक सामग्री वितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी