कञ्चनपुरमा बाढीको वितण्डा

महेन्द्रनगर । चार दिनदेखिको भारी वर्षाका कारण कञ्चनपुर सोमबार जलमग्न भएको छ । गत शुक्रबारदेखिको भारी वर्षाका कारण जिल्लाभरीका ठूला तथा साना नदी तथा खोलामा बाढी आउँदा एक नाबालकसहित चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्् । झन्डै २ हजारबढी घर डुबानमा परेका छन्् । अत्यधिक वर्षाले महेन्द्रनगर, दोधाराचाँदनी, लालझाडी, पुनर्वास, बेलडाँडीलगायत क्षेत्रका धेरै ठाउँका घर तथा बस्ती डुबानमा परेका हुन् ।

चार जनाको मृत्यु, ११ सय परिवारका ४ हजार जना विस्थापित

कृष्णपुर नगरपालिका–१ पहरिया डुबानमा पर्दा घरभित्र सुतिरहेका सातमहिने शिशु सोनु धानुकको मृत्यु भएको छ । घरभित्र पसेको पानीमा खाटबाट खस्दा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोमबार दिउँसो तालमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । विद्यालय बिदा भएपछि पुनर्वास नगरपालिका–५ का तीन किशोरीको गाउँघरनजिकै रहेको तालमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको हो । उनीहरू गौरीशंकर माविमा अध्ययनरत थिए । मृत्यु हुनेमा लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटी छन्् । लक्ष्मी ९ कक्षामा तथा आरती र सृजना १० कक्षामा अध्ययनरत थिए । उनीहरू तीनै जना आफन्त हुन् । विद्यालय बिदा भएपछि उनीहरू घुम्न तालतिर गएका थिए । भीषण वर्षाका कारण तालमा पानीको सतह बढेकाले उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले वर्षाका कारण डुबेर मृत्यु भएका चारै जनाको सनाखत भएर आफन्तलाई बुझाइएको बताए ।

यस्तै, आइतबार दिउँसो बेलडाँडी गाउँपालिका–५ मा रहेको चौधर नदीमा माछा मारेर फर्कनेक्रममा नदी तर्नेबेला नदीको जलस्तर बढ्दा डम्बर चौधरी बेपत्ता भएका छन् । उनको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण कँुवरले बताए ।

कल्भर्ट भत्किँदा राजमार्ग अवरुद्ध
कञ्चनपुरमा कल्भर्ट भत्किँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । सोमबार बिहान वेदकोट नगरपालिका–७ सुडामा रहेको कल्भर्ट भत्किँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै, वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदानदी पस्दा बेलौरी–पुनर्वास र धनगढीबीच आवतजावत बन्द भएको छ ।

बाढीले नहर भत्काउँदा बस्ती डुबानमा
कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिकामा चौधर नदीको बाढीले नहर भत्काएको छ । बेलडाँडी गाउँपालिका–५ भुर्सानजिकै चौधर नदीमा आएको बाढीले बेलडाँडी शिवनगर मुख्य नहर भत्काएको हो ।

अविरल वर्षाले चौधर नदीमा पानीको सतह बढेसँगै सोमबार बिहान नहर भत्काएपछि नदीको पानीले बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण कुँवरका अनुसार बेलडाँँडी गाउँपालिकाका तल्लो झिलमिला, झिलमिला, इमलिया, बैवाहा, ढकनिया, खैरिघाट र बेलौरी नगरपालिकाको भुडा, शिवनगर, सडाघाटका गाउँ डुबानको जोखिममा छन्् ।

यस्तै, कञ्चनपुरको दक्षिणी क्षेत्रका दुई ठूला नदी चौधर र दोदा नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन्् । अविरल वर्षाका कारण दोदा नदीमा पानीको बहाव बढेपछि पुनर्वास र लालझाडी गाउँपालिकाका स्थानीयवासी त्रसित बनेका छन्् । दोदा नदीले लालझाडी, बेलौरी र पुनर्वास नगरका दर्जनौं गाउँबस्ती डुबानमा परेका छन् । लालझाडी गाउँपालिका–२ कञ्जका स्थानीय पुरन रानाले दोदा नदी गाउँ पस्दा लालझाडीको कञ्ज, बेलौरीको भकुण्डा, पुनर्वास नगरपालिका–५ सिमरी, रातोपुल–२ मोतीबस्तीका सयौं घर डुबानमा परेको बताए ।

नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएको स्थानीय रानाको भनाइ थियो ।

बाढीको त्रासमा जहिले दोधाराचाँदनी
महाकाली नदी पारी दोधाराचाँदनी नगरपालिका–८ मा रहेको महाकाली नदीस्थित तटबन्ध तोडेर नदीको पानी सुन्दरनगर बस्तीमा पसेको छ । बस्तीमा पानी पस्दा सिंगो बस्ती डुबानमा परेको छ । जोगबुढा नदीमा पानीको बहाव बढ्दै गएपछि दोधाराचाँदनी नगरपालिका–१० शान्तिटोल, कुतियाकबर र वडा नम्बर ८ सुन्दरनगरलगायतका बस्ती बाढीको उच्च जोखिममा परेका छन्् । जोगबुढा र महाकाली नदीको बाढीले यहाँ बर्सेनि आतंक मच्चाउने गरेको छ ।

कञ्चनपुर जिल्लाको दोधारा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा १ सय ३ मिलिमिटर वर्षा मापन गरिएको र थप वर्षा हुनसक्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ । सोको प्रभावले सो क्षेत्र भई बहने अधिकांश नदीमा जलसतह खतरा तह आसपास रहेकाले दिउँसोसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न जान अनुरोध गरिएको थियो ।

यसैबीच, जोगबुढा नदी थुनिएपछि दोधाराचाँदनी नगरपालिकाको कुतियाकबर क्षेत्रका बासिन्दा प्रभावित भएका छन्् । नदी थुनिँदा भँगालोमा फसेका ४० परिवारका सय जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा यस वर्ष सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन गर्दा कञ्चनपुरको दोधाराचाँदनीमा यस वर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ ।

महाकाली नदीपारिको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा ५ सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । नेपालको इतिहासमा यति धेरै वर्षा भएको पहिलोपटक दोधाराचाँदनीमा मापन गर्दा सबैभन्दा बढी रहेको छ । यसअघि विगतका वर्षमा हेटौंडामा ५ सय १६ मिलिमिटर वर्षाको मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अत्तरियाका कार्यालय प्रमुख सञ्जय साहले बताए ।

११ सय परिवारका ४ हजार जनालाई सुरक्षित स्थानमा सारियो
निरन्तर वर्षाका कारण कञ्चनपुर जिल्लामा बाढीबाट प्रभावित १ हजार १ सय १२ परिवारका ४ हजार १ सय ६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । भीमदत्त नगरपालिका–१८ सुकुम्बासी बस्ती महेन्द्रनगर, दोधाराचाँदनी नगरपालिका–१० कुतियाकबर र शान्तिटोल, पुनर्वास नगरपालिका–५ र ७, बेलौरी नगरपालिका–१०, बेलडाँडी गाउँपालिका–३, ४, ५ का बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा बाढीको ‘अतिउच्च जोखिम’ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले हाल सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा शक्तिशाली मौसमी प्रणाली विकसित भएको र उत्तरतर्फ फैलिनेक्रममा रहेको जनाएको छ ।

लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

भारतले खोल्यो महाकालीका सबै ढोका
महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन्् । अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघेपछि शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलिएका बताए । उनका अनुसार शनिबार आधारभन्दा बढी ढोका खोलिएकामा आइतबार बहाव बढेपछि सबै ढोका खोलिएका हुन् । आइतबार राति महाकाली नदीमा झन्डै ४ लाख क्युसेक पानीको बहाव पुगेको थियो ।

महाकाली नदीका नेपालतर्फका सबै ढोका खोलिएपछि राति तटीय क्षेत्रमा बस्तीतिर बाढी पसेको थियो । तर, अहिले बहाव घट्दोक्रममा रहेकाले जोखिम कम भएको प्रहरीले जनाएको छ । बेलुका ५ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव २ लाख २० हजार क्युसेक बगिरहेको छ । पानी रोकिएपछि पानीको मात्रा घट्नेक्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

राहत तथा उद्धारमा प्रहरी र नेपाली सेनासँगै स्थानीय तह
सुरक्षा समितिको आकस्मिक बैठक बसी जिल्लामा राहत र उद्धारका लागि स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीलगायत सबैलाई आवश्यकतानुसार खटिन निर्देशन भएबमोजिम उद्धार र राहतको काम भइरहेको छ ।

अधिकांश ठाउँमा बस्न उच्चा ठाउँ, विद्यालय, सार्वजनिक ठाउँहरू प्रयोग गरिएको छ भने खाना खुवाउने व्यवस्था पनि गरिएको प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले बताए । उनका अनुसार पानी निकास र उद्धारका लागि जिल्लामा १० भन्दा बढी जेसीबी प्रयोग गरिएको छ ।

महाकाली र चौधर नदीको बाढीले कञ्चनपुरमा हजारौंं घर डुबानमा परेका छन् । बाढीबाट प्रभावित १ हजार १ सय १२ परिवारका ४ हजार १ सय ६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । जिल्लास्थित विपद् व्यवस्थापन टोलीले ५ सय ११ घरपरिवारका मानिसको उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । टोलीले घरको छाप्रोमा बसेका २९ जनाको राति उद्धार गरेको छ । डुब्नै लागेको अवस्थाबाट उनीहरूको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

कञ्चनपुरमा यसअघि पनि महाकाली र चौधर नदी किनारका बस्तीले डुबान समस्या भोग्दै आएका थिए । यसपटक बाढी, डुबान समस्या फरक ठाउँमा देखिएको जोशीले बताए । उनका अनुसार यसपालि, भीमदत्त नगरपालिकाको बजार क्षेत्र, सालघारी, भगतपुर, ऐठपुर, वेदकोट नगरपालिका, दोधाराचाँदनी नगरपालिकाको कुतियाकबर क्षेत्रमा डुबान समस्या छ ।

‘विगतमा महाकाली किनारको भुजेला क्षेत्र र चौधर नदी किनारको बस्ती बाढी तथा डुबानको चपेटामा पर्ने गथ्र्यो,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘यस वर्ष अन्य क्षेत्रमा बढी समस्या देखियो ।’

कञ्चनपुरमै चौधर नदीको बाँध फुटेर बेलडाँडी क्षेत्र जलमग्न भएको छ । यसैगरी, दोदा नदीको बाढीले पुनर्वास नगरपालिकामा डुबान भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन विषयमा डिग्री गरेकी रजनी ३० वर्षमै मेयरको उम्मेदवार