गीतले गुन्जन थाल्यो संसद्, एकअर्कामाथि झटारो प्रहार

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमति भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरूमाझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फत्तेमान राजभण्डारीको एउटा गीतको बोल गाएका थिए । त्यो गीत थियो, ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले ।’

सुनिए फत्तेमान, मुरलीधर, अञ्जु पन्त, रामकृष्ण ढकाल र कुन्ती मोक्तानसम्मले गाएका गीतको बोल

कांग्रेस–एमालेबीच समझदारी हुनुअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लगातार भेटवार्ता भइरहेका थिए । १५ असारमा एमाले अध्यक्ष ओलीले आफ्नो निवास बालकोटमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ३ घण्टा लामो छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले सो भेट’bout प्रस्ट पार्न ओलीलाई पटकपटक आग्रह गरेका थिए । तर, ओलीले दही चिउरा खान बोलाएको बाहेक भेटवार्ताका ‘अन्य’ केही कुरा बताएनन् ।

त्यसपछि पनि प्रचण्ड–ओलीबीच कहिले सिंहदरबार र कहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भयो । भेटवार्तामा ओलीले प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनलाई नै बलियो बनाएर लैजाने प्रतिज्ञा गरे । प्रधानमन्त्री प्रचण्डको सचिवालयले पनि त्यहीनुसारको विज्ञप्ति जारी ग¥यो । ओलीसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठकमा सरकार कुनै समस्यामा नरहेको बताए ।

साथै, राम्रोसँग काम गर्न मन्त्रीहरूलाई निर्देशनसमेत दिए । प्रचण्डले यस्तो भनिरहँदा सँगै रहेका माओवादी उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ‘मैले पाएको सूचना अलि फरक छ है’ भनेर पनि भनेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले त्यसतर्फ कुनै ध्यान दिएनन् ।

ओलीसँगको लगातारको भेटवार्ताका क्रममा ओलीले कुनै राजनीतिक ‘गेम’ नखेलेको निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड पुगेका थिए । तर, १८ असारकोे बिहान उठ्दा अघिल्लो दिन नै कांग्रेस–एमालेबीच सत्ता सहकार्यको समझदारी भइसकेको थाहा पाएपछि उनी विक्षिप्त बने ।

कांग्रेस–एमालेबीच भएको सत्ता सहकार्यको समझदारीकै भोलिपल्टदेखि एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै आएको छ । पछिल्ला दिनमा भने एमालेले राजीनामाको मागलाई झन् चर्काे बनाउँदै गएको छ । कांग्रेससँग भएको सत्ता सहकार्यको समझदारीको तीन दिनसम्म पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो । आफ्ना मन्त्रीलाई राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पठायो । त्यही दिन भावुक हुँदै प्रधानमन्त्री प्रचण्डले ओलीको बोली, व्यवहार, भनाइ अनि गराइप्रति अचम्म मान्दै फत्तेमान राजभण्डारीको सो गीत ‘यस्तो पनि हुँदो रैछ…’ गाएका थिए ।

नेपाली कांग्रेस र एमालेबीच १७ असारमा नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरंगित बनेको छ । सो सहमतिलगत्तै सत्ता साझेदार एमाले वर्तमान सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएर प्रतिपक्षी बेन्चमा बस्न थालिसकेको छ ।

प्रतिपक्षी बेन्चमा बस्न थालेसँगै एमाले प्रधानमन्त्री प्रचण्डमाथि खनिन थालेको छ । अल्पमतमा परिसक्दा पनि राजीनामा नदिएको भन्दै बैठकमा अन्य सांसदहरूले पनि दलीय प्रतिनिधित्व गर्दै एकअर्कालाई सांगीतिक झटारो प्रहार गर्नेक्रम जारी छ ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले गुनगुनाएको ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा…’ प्रसंग उल्लेख गर्दै जवाफी गीत सुनाए । बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरूले राजीनामा बुझाउनेक्रममा प्रधानमन्त्री प्रचण्डले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमीले पराइ ठानेपछि, पराइ हुन के भयो र तिम्रो मेरो बीचको नाता हुनुपर्ने के रह्यो र …’ गीत सुनाएका थिए ।

गीतको अन्तरासँगै बर्तौलाले साहित्यिक भाषाहरूकै शब्द प्रयोग गर्दै प्रधानमन्त्री प्रचण्डलाई आरोपित गर्ने प्रयास गरेका थिए । उनले भने, ‘सँगै बसेर सरकार बलियो ढंगबाट तपाईंकै नेतृत्वमा अगाडि बढाउन चाहन्थ्यौं, हामीसँग सँगै रहने तर, अर्को दाउपेचमा सँगसँगै रहने, यस खेलमा आफैं सहभागी हुनुभयो, चुलबुले स्वभाव र उथलपुथलको कार्यशैलीको मारमा हामी पर्ने अवस्था बन्यो, एमाले सरकारमा थियो, तर एक्ल्याउने र सहयात्री दललाई कमजोर बनाउने प्रयास भएपछि हामी बाहिरियौं ।’

उनले सरकारबाट बाहिरिएपछि साथी खोजिरहेको कांग्रेस भेटेको र सँगै हिँड्ने निधो गरेको उनले सुनाए । ‘सरकारबाट बाहिरिँदै गर्दा कांग्रेसलाई भेट्यौं, कांग्रेस पनि साथीको खोजीमा थियो,’ प्रमुख सचेतक बर्तौलाले भने, ‘एमाले पनि साथीको खोजीमा थियो, भेट भयो र अगाडि बढ्ने निधो ग¥यौं ।’

आइतबारको प्रतिनिधिसभा बैठकमा पनि नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गीत सुनाएका थिए । कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठनको सहमति भइसकेको अवस्था रहेको भन्दै उनले रामकृष्ण ढकालको गीत संसद् बैठकमा सुनाएका थिए । ‘गीतकार आनन्द अधिकारी, संगीतकार न्यूह बज्राचार्य र गायक रामकृष्ण ढकालको गीत छ,’ शर्माले भने ।

त्यसपछि उनले गीतको पुरै अंश पढेका थिए ।

ओराली लागेको हरिणको चाल भयो, बाँचुञ्चेलसम्म पनि मरेकै हाल भयो, छल ग¥यो मायाले !

त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै वर पा’को, माया त रहेछ धारिलो छुरा रेटिनै प¥यो नि ! रेटिनै प¥यो नि !

बासै उठाउने कस्तो यो खेल भो
जीवनमा धेरैधेरै धेरै नै झेल भो, छल ग¥यो मायाले ।

सबैको देख्छु हाँसी र खुसी, शिखरको बाटोमा
आफ्नो त बरै, भाग्य नै फाट्यो मायाकै फाटोमा
दुई चारै दिनको त्यो मृगतृष्णा के देख्न प¥यो नि
झिरैमा उनेको माछीझैं हाल भो
जीन्दगीदेखि अब खुसी नै पार भो, छल ग¥यो मायाले

कांग्रेसका सांसद शर्माले गीतका यी अन्तराहरू प्रधानमन्त्री प्रचण्डलाई समर्पित गर्न चाहेको भन्दा हाँसोको फोहोरा छुटेको थियो ।

सोमबारको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै गायक मुरलीधरको ‘उडायो सपना सबै हुरीले…’ भन्ने गीत गाउन सुझाव दिएका थिए । मुलुक प्राकृतिक विपत्तिमा परिरहेका बेलामा घोर अल्पमतमा पुग्दा पनि सरकार नछाडेको भन्दै उनले यस्तो सुझाव दिएका हुन् । सो विषयको प्रसंग उप्काउँदै गैरेले भने, ‘सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदो रहेछ कहिलेकहिले ? भन्दै गीत गाएर बसेको छ, बरु उडायो सबै सपना हुरीले भन्ने गीत गाए हुने नि !’

गैरे बोलेको केहीबेरपछि नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले पनि गीत गुन्गुनाएरै एमालेलाई जवाफ फर्काएका थिए । ‘कुन्ति मोक्तानले एउटा गीतमा भन्नुभएको छ, कति जल्छौ आरिसले अझै जल्दै गर, म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर, रे ग रे सा सा रे ग रे सा,’ उनले भने ।

साथै, उनले संसदीय राजनीतिमा सरकार बन्ने र ढल्ने स्वाभाविक प्रक्रिया भएको पनि बताए । ‘संसदीय राजनीतिक प्रणालीमा सरकार बन्ने र ढल्ने स्वाभाविक हो, मिल्नेहरूको बीचमा गठबन्धन हुन्छ, नमिल्नेहरूको कुर्सी परिवर्तन हुन्छ, यो सामान्य हो,’ माओवादी केन्द्रका सांसद घर्तीले भने, ‘संविधानमा सुधार होइन, राजनीतिक नेतृत्वको एटिच्युडमा सुधार गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

उनले प्रतिनिधिसभाका पछिल्ला बैठकमा गीतको बिम्ब प्रस्तुत गरिएकाले आफूलाई पनि गीतको हरफ आएको भन्दै राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताएका थिए । उनले यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राखेका थिए ।

राष्ट्रिय सहमति गर्ने विषयलाई पार्टीले सदैव सकारात्मक रूपमा लिएको भन्दै संविधान निर्माणदेखि पछिल्ला सरकार गठनमा पनि सहकार्य र सहमति गर्दै अघि बढेको सांसद घर्तीले बताए । उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्न सकिने धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखामा वडा अध्यक्षसहित ९ पदमा एकजनाको मात्र मनोनयन दर्ता