विपद्को घडी

पानी पर्ला, शीतल होला भन्दै २२ असारमा त ठूलै विपत्ति आइलाग्यो देशैभरि । खोलानालाकै कारण काठमाडौं मात्रै होइन, तमामक्षेत्रमा हाहाकार नै भइहाल्यो र एकैदिन १० जनाले संसार छोडे । विपत्ति सहनु नै हाम्रो नियति भएको छ । यसअघि मनसुन सुरु भएको भन्दा भन्दै पूर्वी नेपालको बग्दो अवस्था दर्दनाक रह्यो । पहिले पनि पूर्वी नेपाललाई बगाइसकेको हो । हाम्रो प्रतिकार्ययोजना केवल गफ भएको छ । बग्नेहरू त बगे, बाँकीको पीडा कसरी बाँड्ने होला ? भ्रष्ट र पतित हुँदै गइरहेको नेपाली समाजको घाउमा मलमपट्टी लगाउने को होला । कोरोनाले डल्लो पार्दा अनि यस्तै बाढीपीडितको राहतमा तर मार्ने र गोहीको आँसु बगाउने राजनीतिक नेतृत्वलाई के भन्ने ?

त्यसो त तँ आँट् मात्रै, म गर्छु बाँकी काम भन्ने ईश्वरीय वचन हो । हामी धर्मभन्दा एक फड्को अघि बढिसकेकालाई यो चेत त कसरी आउला र ! हामी नदी किनारा छेउछाउ नै बस्ती बसाल्न तँछाड मछाड गर्छौं र पछि पछुतो गर्छौं । जेठको अन्तिममा मनसुन भित्रिने र सय दिन रहने भविष्यवाणी गरिरहँदा हाम्रो विपद् न्यूनीकरण प्राधिकरणले सधैंजसो भन्ने गरेको भनाइ प्रक्षेपण गर्दै विगतदेखि नै साढे १२ लाख मानिस प्रताडित हुँदा २ लाख ८६ हजार ९ सय ९८ घरधुरी प्रभावित हुनेछन् भन्दै थियो । नभन्दै यस वर्षको मौसम भित्रियो पूर्वमा, भित्रिएन काठमाडौंमा, अनिश्चय हुँदै एकै रातमा ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा आसपास ठूलो धनजनको क्ष्ति भएको हो र पूर्वाधारको लगानीभन्दा बढीलाई एकैपटक बगाएको छ । एक रात त्यो पनि लगातार होइन, पानी परेको सबै सोलोलो पार्नेगरी । कति कमजोर संयन्त्र तयार पारेछौं हामीले ? छातीमा हात राखेर नसोची लहैलहैमा मिसन २०८४ भन्दै हामी आप्mनो दुनो सोभ्mयाउन मरिहत्ते गरेर पनि लागेका छौं । मोर्चाबन्दीतिर पनि लागेकै छौं, सिमानालगायत देश बाँध्न कोही लागेन, बरु दल बाँध्न सबैतिर होडबाजी छ । र, अब सत्ताको दौडधूप सकिएको छैन, निरन्तर जारी छ । रातरातै सत्ता ढाल्ने नेतृत्व पनि हामीसँगै छ र त्यसलाई हामीले पूजा गरेर राखेका छौं ।

हो, विपत्ति ढोलक बजाएर आउँदैन, तर सावधानी के गरेका छौं ? त्यो महत्वपूर्ण विषय हो । संसद्मा पनि होहल्लाको कमी त छैन, तर सबै रानी को भर्ने पँधेराको पानी भन्ने नेपाली उखान चरितार्थ हुँदै छ । सबैले दिने अर्ति र उपदेश, उदाहरण । आफू कोही नबन्ने र त राष्ट्रिय गौरवका आयोजनाहरूको तमाम बजेट कटौती गरेर झिल्केमिल्के नेताहरू जसले दशकौंदेखि ढुकुटी लिएर बसे उनकै निर्वाचन क्षेत्रमा यस वर्षमा पनि ओइरो लागेको छ । भात भान्सामा भ्याट लगाएर बजारलाई तेब्बर गराउन उद्यत नेतृत्व जताजता गयो, उतै राजाले सपना बाँडेजस्तै सपना बाँड्दै हिँडेको छ । देशमा परेको विपत्तिलाई पहिलो प्राथमिता दिने भन्ने सरकारले मेलम्चीको सपना धेरै देखायो । र, घरका धारामा भने पानी चुहिएको छैन ।

विपत्ति ढोल बजाएर आउँदैन, संसद्मा होहल्लाको कमी तर सावधानी र तयारी खोइ ?

हो, मनसुन सुरु भयो, तर सबैको सातो उडेको छ । काठमाडौं पनि डुबेको हो यसअघि पनि, काठमाडौं पनि सुरक्षित छैन । अतितमा देशैभरि कैयन् मानिसको हताहत र धनमाल नोक्सान भएकै हो । मनसुन सकियो भनिरहँदा, महँगीको मारमा परेर जसोतसो दसैं मानिरहँदा मूल दसैंमा अर्को बज्रपात पनि परेकै हो । आकाश गड्याङ गर्दा मेलम्चीको पानी बन्द पनि भएकै हो । कस्तो संरचना तय गर्ने हाम्रो प्राविधिक त्यो पनि वर्षौं लगाएर । मनसुन सकिँदा कात्तिक आरम्भसँगै किसानका धानबाली मात्रै डुबेनन्, दर्जनौं हताहत भएका हुन् नेपालीहरू, विगतमा । यो नियति नेपालीको भूकम्प, कोरोनाभन्दा कमको छैन । सार्वजनिक सवारीसाधन दुर्घटना भइरहन्छन् सधैं । हामीलाई प्राकृतिक विपत्ति त छँदै छ, मानव निर्मित र असावधानीका कारण हुने विपत्ति पनि सहिनसक्नु नै छ । सरकारले बोलीमा दुर्घटनाको उपचार गराइदिने भनेको छ भने नोक्सान भएका बालीको क्षतिपूर्तिका कुरा पनि गरेको छ ।

तर, स्वास्थ्य बिमाकै सुविधा पाएको अवस्था छैन, क्षतिपूर्तिको काम कसरी होला ? आर्यघाटमा गइसकेको निर्वाचनक्षेत्र विकास कार्यक्रमलाई राखिएको बजेट, राहत र उद्धारका लागि तान्नुपर्छ कि अथवा अबको ३ वर्षमा यो राजनीतिक प्रणालीलाई मसानघाटमा लग्नुपर्छ भन्दै उदाइरहेका शक्तिहरूलाई मुखबुझो लाउनुपर्छ त ? अथवा आजसम्म भएका नेता उपचारको खर्च सबै सार्वजनिक गरेर त्यो खर्च उद्योग स्थापनामा लगाई श्रमको विदेश पलायन, व्यापार घाटालाई रोक्नुपर्छ कि ? देश टन्न ऋणले किचिएकाले ऋणमुक्ति गर्न शंखधर साख्वालाई पुनर्जीवन दिनुपर्छ कि ? १५ असोजदेखि १५ मंसिरमा औसत ९० मिमी पानी पर्नुपर्ने हो, परेन । १६ मंसिरदेखि १५ फागुनको समय हिउँद हो, यस समयमा ६० दशमलव ९ मिमी पानी पर्नुपर्ने हो, परेन । मार्च महिना भनेको प्रि मौसमको समय हो, यतिबेला हावाहुरी, आगलागी, चट्याङको समस्या धेरै हुने गरेकै हो । अब त मनसुन घरदैलोमा आएको मात्रै होइन, बगाइ पनि सक्यो । सावधानी के भयो त ? वा विदेशमा जस्तै नक्कली वर्षा गराउन सकिन्छ कि वा वर्षामा खेर जाने पानीलाई सञ्चित गरी हिउँदलाई सापटीमा राख्ने कुनै योजना तया भयो कि ? होइन, बरु राजनीतिमा सबै समय सबैलाई व्यस्त गराइयो । प्रशासनदेखि प्राविधिकसम्मलाई, विद्यार्थीदेखि बृद्धसम्मलाई, भनौं हरेकलाई ।

बर्सेनि बाढी पहिरोबाट अर्बौको क्षति हुने गरेको छ भने हजारौं हताहत हुने गरेका छन् । यसको स्थायी समाधान किन हँुदैन ? विकासको मोडलमा परिवर्तन किन हुन्न र असारे माटो खन्ने, हल्लाउने, भत्काउने डोजरे विकास किन हुन्छ ? अथवा केवल सैद्धान्तिक कुरा गरेर नेपाल विश्वमा बाढी पहिरोको जोखिममा ३०औं स्थानमा छ भनेर मात्रै पुग्ला र ? देशैभरिको जनजीवन सधैं कष्टकर छ किन नभन्ने ? हेलिकोप्टरको सयरले सायद देशको यथार्थ अवस्था नआउला । अभिभावक भनिएको सरकारी संयन्त्र किन चनाखो नभएको ? समग्र कृषिक्षेत्र तहसनहस छ र सबैथरि खाद्यान्न विदेशबाट आयात हुन्छ । यहाँ खेती प्रणाली मनसुनमा छ, जसरी राजनीतिक भनसुनमा छ देश । धान रोप्नेबेला छ अहिले, तर खेत बग्ने, मल नपाउने हाम्रो नियति आजको मात्रै हो र ! वसन्त, गृष्ममा हुने गरेकोे हावाहुरी, आगजनी, चट्याङ, डढेलोको कुरा गर्दा पनि त मन चसक्क हुन्छ, नि ।

हो, मुलुक मनसुनी वर्षाले धानेको छ । हिमाली र पहाडी क्षेत्रको जमिन भिरालो छ । यहाँको भूबनोट प्राकृतिक विपत्तिका लागि सहयोगी छ । कमजोर भौगोलिक स्थिति छ, जल उत्पन्न प्रकोपहरू बर्सेनि हुने गरेका छन् । बाढी, पहिरो, हावाहुरी, चट्याङ र आगलागी र सवारी दुर्घटनाहरूले मुलुकलाई आक्रान्त पारेको छ । हामीसँग विश्वव्यापी जलवायु परिवर्तन र प्रकोप व्यवस्थापनको दक्षता, सीप र क्षमता पनि त छैन । मौसम पूर्वानुमानको संस्था नाम मात्रको छ । जनता नै सचेत छैनन्, बर्सेनि भूक्षय, बाढी, पहिरोले उर्वर मलिलो माटो दक्षिणतिर बगेको छ र पानीको धनी देश भएर पनि जीवन काकाकुलको छ हाम्रो । त्यसको उपयोग छैन, बरु बेच्नलाई अनेकौं सम्झौता गर्न सक्छौं हामी । कोशी, गण्डक, महकाली सम्झौता के भएन हाम्रो ? पानीबाटै पश्चिमी घाम हेर्न पनि लालायित भयौं । राजनीतिक खेलाडीहरूको सपना चकनाचुर भइसकेको छ, अहिले । काठमाडौं काकाकुल हुने, वर्षामा हिलो, मैलो, हिउँदमा धुलो, धुवाँ नेपाल र नेपालीको मौलिकता बनाइएको छ यहाँ ।

सप्तकोशीजस्ता ठूला नदीहरूले बस्ती उजाड गरिरहेको अवस्था, डुबान र प्रकोपबाट मानव बस्ती उजाड भइरहेको र खेतियोग्य जमिनको संरक्षण गर्न नसक्दा, सिँचाइको समुचित प्रयोग गर्न नसक्दा अनाज अरूले दिनुपर्ने अवस्था छ हाम्रो । प्रकोप न्यूनीकरण र समयमै उद्धार कार्यलाई तीव्रता दिन सकिएन । को कसको कुन दलको भनेर चिनाउनुपरेको छ । राजनीतिमा दल बलियो पार्न सबैलाई प्रशिक्षण दिइन्छ । देश बलियो पार्न प्रशिक्षण किन हुँदैन ? के विपद्का घटना भनेका आय स्रोतका माध्यम हुन् कि ? विगतमा राहत र उद्धारमा दलकै मानिस हुनुपर्ने मान्यताले पश्रय पाएकै हो, कोरोनाकालमा पनि । हरित प्रविधिको प्रयोग, नदी नियन्त्रण, बाढी पहिरो व्यवस्थापन, नदी बेसिन विस्तारका कार्यक्रम र अवधारणामा यति हलुका सोच किन ? आधुनिक र स्वचालित जल तथा मौसम मापन उपकरण एवं प्रणालीहरूको जडान गर्ने लक्ष्य मात्र लिइयो, तर काम किन भएन ? खोजी भएन ।

विपद्पीडितको सही पहिचान र तत्काल राहत तथा पुनस्र्थापनामा जताततै राजनीतीकरण भयो, निमुखाले सहारा पाएनन्

हो, हाम्रो मुलुक विपद्को उच्च जोखिममा छ । बर्सेनि हुने गरेको ठूलो धनजनको क्षतिले यसलाई पुष्टि गरेकै छ । भूकम्प, अतिवृष्टि, अनावृष्टि, बाढी र पहिरो अनि हावाहुरीलगायत आगजनीको चपेटाले मुलुक आक्रान्त छ । चट्याङ, खडेरी, महामारी मात्रै होइन । शीतलहर र हिमपात विस्फोटको सम्भावनाले पनि देशलाई आक्रान्त बनाएकै हो । हैजा र बर्डफ्लु, स्वाइनफ्लुका घटनाले पनि जीवन धराशायी भएको हो । यसका लागि तीन तहका सरकार के गर्छन् ? आपत्कालीन गोदाम घरको स्थापना, मानवीय सहायताकक्षको स्थापना, क्षेत्रीय आपत्कालीन कार्य सञ्चालन केन्द्र, जिल्ला आपत्कालीन कार्य सञ्भालन किन चुस्त हुँदैनन् ? सुरक्षा निकाय के गर्छन् ? भौगोलिक अवस्था असहज छ मात्रै भनेर पुग्ला त ? राहत र आपत् उद्धारका कार्यलाई तीव्र बनाउनुप¥यो । बाटोघाटो दयनीय किन, पुलै बगायो, बस्ती सखाप भएकै हो पहिले पनि । गाउँबस्ती पुरै डुबानमा पर्दा सवारी आवतजावत गराउन नसकिएको अवस्था उस्तै छ त । विपद् जोखिम न्यूनीकरण गर्न, खोज र उद्धार कार्यलाई मानवीय संवेदनशीलता बुझेर सुझबुझसाथ अगाडि बढ्नुपर्ने हो । सरकारी संयन्त्र भरपर्दो र चुस्त हुनु पर्ने हो । मुलुकमा विपद्का कारण हुने असर र प्रभावको वैज्ञानिक अनुसन्धान हुन जरुरी छ । भौतिक विकासको स्वरूप तय गर्दा पछि पर्नसक्ने वातावरणीय असर सम्भावना, चुनौती सबै अध्ययन र अनुसन्धान जरुरी छ । विकासको नाममा जथाभावी डोजर आतंक गरिनु भएन । माटोको अवस्था नहेरी ठूला भवनहरू निर्माण गर्नु भएन ।

विकास भनेको सहरीकरण मात्रै होइन, मानवीय सहजीकरण पनि हो । राजधानीकै सडक र अव्यवस्थित बस्ती हेर्र्दा देशमा प्राविधिक योजना शून्य छ भन्नुपर्छ । दुई–चार घण्टाको अविरल वर्षाले विकसित भनिएको काठमाडौं उपत्यका एकै क्षणमा कुरूप भइहाल्छ । बस्ती सुरक्षित छैन, दमकल, पानीको गाडी नपुग्ने टोल, बस्ती राजधानीमा धेरै छन् । दुर्गम क्षेत्र कस्तो होला ? पीडितको सही पहिचान, पीडितलाई तत्काल राहत र पुनस्र्थापनासम्बन्धी कार्यमा एकरूपता भएन । संघ–संस्थाहरूबीच समन्वयको अभाव रह्यो । जताततै राजनीतीकरण भयो, निमुखाले सहारा पाएनन् । विपद् हाम्रो सदाको नियति हो भने हामीले विपद्लाई विकाससँग जोड्न सक्नुपर्छ । दुई रूख ढले पनि चार रूख थप्ने, दुई घर ढले भने चार घर निर्माण गर्ने नीति तय हुनु जरुरी छ । अतः मानवीय क्षति अपूरणीय क्षति हुने यसलाई हचुवाको भरमा लिन मिल्दैन । सबै प्रकारका विपद्हरूको प्रभावकारी व्यवस्थापनबाट उत्थान गर्ने मुलुकको रूपमा देशको विकास गर्ने सरकारी रणनीति कागजमा सीमित गर्नु भएन त !

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेनुले लिइन् ६६६६ मतान्तरको अग्रता